जिल्लामा शीघ्र कुपोषणको जोखिम बढ्दै

२०८१ जेठ ३

शीघ्र कुपोषण भएका बालबालिकाका लागि पोषण पुनर्स्थापना गृह बरदान भएको छ । विभिन्न कारणले कुपोषणको शिकार भएका बालबालिकाहरूको स्वास्थ्य उपचार र हेरचाह गर्दै आएको छ ।

बुटवल उपमहानगरपालिका-१७, मोतिपुरकी अनिशा न्यौपाने २३ वर्षको हुनुभयो । २५ महिने छोरा आयन्स न्यौपानेसँगै १३ दिनदेखि पोषण गृहमा बस्नुभएको छ । खाना खान मन नगर्ने, एक्कासी तौल घट्न थालेपछि उपचारका लागि अस्पताल ल्याउदा कुपोषणका कारण यस्तो भएको थाहा पाएपछि निकै तनाव बनाएको न्यौपाने बताउनुहुन्छ । 'सात महिनामा छोरो जन्मियो । जन्मदा १ किलो ३ सय ग्राम थियो' जति ठूलो हुँदै गयो तौल बढ्ला भन्दा बढेन । डाक्टरले बच्चाको उमेर र उचाइअनुसार १० किलोभन्दा माथि हुनुपर्छ भन्नुहुन्छ । बुबाको ७ किलो ३ सय ग्राम मात्र थियो । यहाँ आएको १३ दिन भयो ७ किलो ७ सय ग्राम पुगेको उहाँले भन्नुभयो । उहाँले पहिलो बच्चा भएकोले खाना खुवाउने तरिका, कसरी के के खुवाउने मिलाएर खुवाउन नजान्दा कुपोषणको शिकार हुनुपरेको भन्दै डाक्टरले एक महिना राखेर हेरौँ भन्नुभएको बताउनु भयो । अब धेरै कुरा जानकारी भयो । जाउलो, लिटो कसरी बनाउने, कसरी खुवाउने, कति समयको फरकमा खुवाउने भन्नेमा पोषण गृहको जसरी नै अब घर गएर खुवाउने उहाँको भनाइ छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-१, चैनपुरकी ठगनी थारु ४० वर्षको हुनुभयो । ठगनी लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको पोषण पुनर्स्थापना गृहमा आफ्नी ६ महिनाकी छोरी आशा थारुसँगै एक महिनादेखि हुनुहुन्छ । ६ महिने दुधे बालिकाको एक्कासी शरीर सुक्दै जाने, आमाको दुध खान पनि वास्ता नगर्ने र दुब्लाउँदै गएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याउनुभयो । २ किलो मात्र तौल भएकी बालिकालाई डाक्टरले शीघ्र कुपोषण भएको भन्दै पोषण पुनर्स्थापना गृहमा उपचारका लागि पठाउनु भयो । एक महिना अघिदेखि पोषण गृहमा बसेको आशाको तौल अहिले ३ केजी १ सय ग्राम भएको छ । ६ केजी तौल पुगेपछि मात्र घर पठाउन सकिने डाक्टरको सल्लाह रहेको उहाँले बताउनु भयो । थारु भन्नुहुन्छ, 'यहाँ आएपछि बच्चाको कसरी स्याहार सुसार गर्ने, दिनमा कति पटक के कस्ता खाना कसरी खुवाउने भन्ने विषयमा आमाहरूलाई सिकाउने र समय अनुसार खुवाउने गरेकाले आफ्नो छोरीको तौल बढेको छ ।'

बुटवल उपमहानगरपालिका–३, गोलपार्ककी २४ वर्षीया दीपा पौडेल एक वर्षीया छोरी प्रिन्सा खरेलसँगै १४ दिन अगाडिदेखि पोषण गृहमा हुनुहुन्छ । खाना खान मन नगर्ने, केही खाए वान्ता गर्ने, तौल घट्दै जाने समस्या भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याउनु भएकी पौडेललाई शीग्र कुपोषणको शिकार भएकाले यस्तो अवस्था भएको हो भन्ने थाहा पाएपछि छाँगाबाट खसेझैँ भएको बताउनु भयो । पौडेल भननुहुन्छ, 'एक वर्षकी भइन्, ठूली होलिन् भन्दा झन सानो हुँदै गइन्, अस्पताल ल्याउँदा २ किलो ५ सय ग्राम तौल थियो, पोषण गृहमा बसेको १५ दिन भयो अहिले ६ किलो ६ सय ग्राम भएको छ । धेरै खुशी छु ।' अब धेरै सुधार भएको छ । पोषण गृहमा खाना खुवाउने समय तालिका, कसरी खाना खुवाउने, जाउलो कसरी बनाउने, दिनमा कति पटक कसरी खुवाउने सबै क्यालेन्डर अनुसार खुवाइन्छ । घरमा यस्तो कहाँ हुन्थ्यो र । खुवाउने तरिका घरमा र यहाँ धेरै फरक छ । अब घरमा गएर आफूले लागु गर्ने र अरुलाई पनि आफूले जानेको बताउने उल्लेख गर्नुभयो ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिकाकी ३० वर्षीया सविता थारु पनि १६ महिनाकी छोरी सहित पोषण गृहमा हुनुहुन्छ । एक्कासी तौल घटेर पोषण गृहमा ल्याइएकी बालिकाको तौल उचाइ अनुसार ८ किलो बढी हुनुपर्नेमा कम भएपछि भर्ना गरेर उपचार तथा हेरचाह गरिएको छ । कुपोषणका कारण खाना खान मन नगर्ने, तौल घट्दै जाने भएपछि उपचारका लागि ल्याइएकी छोरीको स्वास्थ्यमा सुधार भएको सविता थारु बताउनुहुन्छ । डाक्टरका अनुसार आवश्यकता अनुसार खानाको मात्र नपुगेर, थाइराइड लगायतका समस्याहरू पनि देखिएकोले चिकित्सकको निगरानीमा उपचार गर्न सुझाव दिएकाले गृहमा बसेर उपचार तथा हेरचाह गरिरहेको अहिले धेरै राम्रो भएको बताउनु भयो ।

अर्घाखाँचीको भुमिका स्थान नगरपालिका–३ की २९ वर्षीया सीता खनाल आठ महिने छोरा दामोदर खनाल सहित पोषण गृहमा हुनुहुन्छ । खाना खान मन नगर्ने, केही खुवायो वान्ता गर्ने दुब्लाउँदै जाने र अति कमजोर भएपछि १४ दिन अगाडिदेखि पोषण गृहमा हुनुहुन्छ । प्यूठान जिल्ला अस्पतालमा उपचार गर्न लैजाँदा डाक्टरले शीघ्र कुपोषण भएको बताउनु भयो । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लैजानुस् निःशुल्क उपचार तथा हेरचाह हुन्छ भनेपछि बुटवल आउनुभयो । आउँदा दामोदरको तौल ४ किलो ८ सय ग्राम थियो । डाक्टरका अनुसार दामोदरको तौल उचाइ अनुसार ७ किलो हुनुपर्छ । अस्पतालमा आएपछि कुपोषण बाहेक पनि मुटुमा समेत समस्या देखिएको थियो । दामोदरको तौल भने अन्य बच्चाहरू जस्तै बढेको छैन् । १४ दिन बस्दा जम्मा ६० ग्राम तौल बढेको र केही खाने बित्तिकै वान्ता र पखाला लाग्ने भएको आमा सीता खनालले बताउनु भयो ।

पोषण पुनर्स्थापना गृहमा लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका ५ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूले सेवा लिइसकेका छन् । अहिले पोषण गृहमा रुपन्देही, कपिलवस्तु, अर्घाखाँची जिल्लाका ६ महिनादेखि तीन वर्ष मुनीका बालबालिकाहरूले सेवा लिइरहेका छन् । १० जनाको क्षमता भएको पोषण पुनर्स्थापना गृहमा अहिले सात जना बालबालिकाले सेवा लिइरहेका छन् । २०७० वैशाखदेखि सुरू भएको पोषण गृहमा अहिलेसम्म १ हजार ९० जना बालबालिकाहरूले उपचार तथा सेवा लिएको पोषण पुनर्स्थापना गृहका प्रमुख प्रतिक्षा थापाले बताउनु भयो । पोषण पुनर्स्थापना गृहमा सेवा दिनका लागि नरर्सिङ्ग स्टाफ तीन जना, पोषण अधिकृत एक जना, कार्यालय सहयोगी दुई जना, कुक एक जना र सफाइकर्मी एक जना गरी जम्मा आठ जनाले सेवा दिइरहेका छन् ।

प्रमुख थापाले भन्नुभयो, ‘कडा कुपोषणका कारण परिवारले आशै मारिसकेका बालबालिकलाई समेत स्वस्थ्य बनाएर घर पठाउन सकेका छौँ । विपन्न परिवारका मात्र होइन हुनेखाने परिवारकै बालबालिकामा समेत शीघ्र कुपोषण भएर आउने गरेको छ ।’ सम्पन्न परिवारले बच्चालाई बजारिया खानेकुरा खुवाउन जोड दिएका कारण कुपोषण हुने गरेको बताउनु भयो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण फोकल पर्सन कौशल भण्डारीका अनुसार लुम्बिनी प्रदेशमा तीन ओटा पोषण पुनर्स्थापना गृह र १ सय ९२ ओटा ‘पोषण गृह बाहेकका कुपोषित बालबालिकाको उपचारका लागि केन्द्रहरू छन् जसमध्ये रुपन्देहीमा ४४ ओटा केन्द्रहरू रहेका छन् । यी गृहमा कुपोषित बालबालिकाको निःशुल्क उपचार हुन्छ । पोषण गृहमा कुपोषित बच्चासँगै बच्चा आमा तथा परिवारका कोही एक सदस्य अनिवार्य बस्नुपर्छ । गृहमा एक महिनासम्म बच्चालाई पोषिलो खानेकुरा खुवाइन्छ । यस अवधिमा गृहमा आवासीय रूपमा बस्ने आमा तथा अभिभावकलाई पोषिलो खानेकुराबारे जानकारी दिनुका साथै स्थानीय स्तरमा खाद्यान्न उत्पादनको तौरतारिका सहित खाने तरिका पनि सिकाइन्छ । बालबालिका र अभिभावकले गृहमा यी सबै सेवा निःशुल्क पाउँछन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी वरिष्ठ बालरोग विशेषज्ञ डा. नेत्र रानाले दुर्गमदेखि सहरी क्षेत्रका कुपोषित बालबालिकाका लागि पोषण पुनर्स्थापना गृह बरदान सावित भएको बताउँदै कुपोषित बालबालिकाको उपचारसँगै पोषण पुनर्स्थापना गृहले बाल मृत्युदर घटाउन ठूलो सहयोग गरेको बताउनु भयो । डा. रानाले भन्नुभयो,‘यस्ता गृहले बच्चाको जीवन बचाउनुका साथै ती बालबालिकाको स्वास्थ्यमा समेत सुधार ल्याइरहेको छ ।'

कुपोषण भएमा शारीरिक र मानसिक विकासमा गम्भीर असर पर्छ । आइरन, आयोडिन, भिटामिन ए, जिङ्क जस्ता सूक्ष्म पोषणतत्व नपुगेमा बालबालिकालाई विभिन्न सङ्क्रामक रोगले सताउँछ । डा. राना भन्नुहुन्छ, ‘पोषकतत्व नपुग्दा बच्चालाई रोगले सताउने मात्र होइन मृत्यु समेत हुनेगर्छ । अझै पनि दुर्गम जिल्लामा कुपोषणका कारण ज्यान जुमाउने बालबालिका धेरै छन् । सरकारका कार्यक्रम ती क्षेत्रमा बढी लक्षित हुनुपर्छ ।’

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार बालबालिका कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु मात्र होइन मानसिक रुपमा पनि कमजोर हुनु हो । संसारमा जति पनि रोगहरू छन्, तीमध्ये धेरैको कारक तत्त्व कुपोषण नै हो । यही तथ्यलाई मनन् गर्दै सरकारले बालबालिकालाई राम्रो पोषणको व्यवस्था गर्ने कार्यक्रममा जोड दिइरहेको पोषणमा जोड दिइरहेको पोषण फोकल पर्सन भण्डारीको भनाइ छ  ।

मानिसको मस्तिष्कको ८० प्रतिशत विकास दुई वर्षभित्र हुने भएकाले त्यही उमेरभित्र पोषणको अवस्था सुधार गर्न कार्यक्रम लक्षित छन् । साथै बच्चाका आमा लक्षित पोषण कार्यक्रम पनि चलेको छ । नेपालमा कुपोषणको दर घट्दै गएको र स्वस्थ बच्चा हुर्कंदै गएको पुष्टि केही महिनाअघि सार्वजनिक भएको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गरेको छ । सर्वेक्षण अनुसार कुपोषणका कारण बालबालिकामा हुने पुड्कोपनको समस्या घटेर ३६ प्रतिशतमा आएको छ । पाँच वर्षअघि पुड्कोपनको दर ४१ प्रतिशत थियो । यस्तै, सर्वेक्षण अनुसार १० प्रतिशत बालबालिकामा उचाइअनुसार कम तौल (जसलाई शीघ्र कुपोषण भनिन्छ) र २७ प्रतिशत बालबालिकामा उमेर अनुसारको कम तौल देखिएको छ । पाँच वर्ष अघि ११ प्रतिशतमा उचाइ अनुसार कम तौल र २९ प्रतिशतमा उमेर अनुसार कम तौलको समस्या थियो ।

डब्लुएचओका अनुसार बच्चा जन्मँदा साढे २ देखि ३ केजीसम्मको तौललाई सामान्य मानिन्छ । बच्चाको उमेर ५ देखि ६ महिनासम्म पुग्दा जन्मदाको तौलभन्दा दोब्बर र वर्षदिनमा तेब्बर हुनुपर्छ । त्यसपछि दोस्रो वर्षमा बच्चाको तौल साढे २ केजी थप हुनुपर्छ । डब्लुएचओका अनुसार सामान्यतया बच्चा जन्मिँदा औसत ५० सेन्टिमिटर उचाइको हुन्छ । त्यसपछि पहिलो वर्षमा २५ सेन्टिमिटर उचाइ थपिनुपर्छ । यसैगरी, दोस्रो वर्षमा १२.५ सेन्टिमिटर उचाइ थपिनुपर्छ । यस हिसाबमा हेर्दा, २ वर्षको उमेरसम्ममा बच्चाको उचाइ औसतमा ८७.५ सेन्टिमिटर हुनुपर्छ । बच्चाको उचाइ २ वर्षको उमेरमा जति हुन्छ, युवा अवस्थामा ठिक त्यसको दोब्बर हुनुपर्छ । अर्थात् युवा अवस्थामा औसतमा मानिसको उचाइ एक मिटर ७५ सेन्टिमिटर हुनुपर्छ ।

डा. रानाले जन्मजात कुपोषण, पौष्टिक खाद्य, खानाबारे अज्ञानता, गर्भावस्थामा आमाले पोषक तत्त्व सहितको खाना खान नपाउनु, नखानु, पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भोकमरी, भिटामिन तथा खनिज पदार्थको कमी, अस्वस्थ वातावरणको असर, विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग, समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु, बिरामी पर्नु जस्तै शिशु बालबालिकालाई दीर्घ झाडापखाला, निमोनिया र बारम्बार बिरामी भइराख्नु जस्ता समस्या भएको बताउनु भयो । त्यस्तै गर्भवती आमामा कुपोषणको असर, गर्भ तुहिने, समयपूर्व जन्म हुने, कम तौल र उचाइको जन्म, सुस्त वा मन्द बुद्धि हुने, शारीरिक, बौद्धिक अपाङ्गता हुने, छिट्टै सङ्क्रमण हुने वा बिरामी हुने, झाडापखाला हुने, खाना नपच्ने, बालमृत्यु हुने जस्ता समस्या रहेका हुन्छन् ।

कुपोषणको रोकथाम गर्भावस्था पूर्व स्वास्थ्य जाँच तथा हानिकारक मध्यपान, धुम्रपान र औषधिको सेवनमा नियन्त्रण गरेर रोकथाम गर्न सकिन्छ । गर्भावस्थामा सिफारिस गरिएबमोजिम नियमित स्वास्थ्य जाँच गराउँदा कुपोषण व्यवस्थापन गर्न सकिन्छ । गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन् । जन्मना साथ बिगौती (पहेलो) दुध खुवाउने, छ महिनासम्मका शिशुलाई पूर्ण स्तनपान अनिवार्य गराउने, छ महिना पछि पूरक खाना खुवाउनाले पनि कुपोषणको सम्भावना कम हुन्छ । हरेक महिना शिशुको वृद्धि अनुगमन गरी शीघ्र कुपोषण पहिचान र स्थानीय पौष्टिक आहार उपभोग गरेर कुपोषणबाट जोगिन सकिने विज्ञहरूको सुझाव रहेको छ ।

Photo15042024Rupandehi

Photo15042024Rupandehi1

Photo15042024Rupandehi2

Photo15042024Rupandehi3

Photo15042024Rupandehi4

- रीमा बिसी