छोरीहरू आफन्तबाटै असुरक्षित

२०८१ जेठ १३

बलात्कारका घटनाहरू अपरिचितबाट भन्दा आफन्तबाट बढी हुने गरेको छ । पछिल्ला केही वर्षका घटनाक्रमले पीडितहरू ८० प्रतिशतभन्दा बढी आफन्त र नजिकका व्यक्तिहरूबाट यौन हिंसा र मानव बेचबिखनको शिकार बनिरहेका छन् ।

प्यूठानकी १६ वर्षीया बालिका आफ्नै काकाबाट पटक पटक बलात्कृत हुनुभयो । सामान्य परिवारमा जन्मनुभएकी बालिकाको आर्थिक अवस्था असाध्यै कमजोर थियो । बालिका भन्नुहुुन्छ, 'सामान्य गरिब परिवारमा जेठो सन्तानको रूपमा जन्मिए । बुबाले ज्याला मजदुर गर्नुहुन्छ । आमाले घरको काम गर्नुहुन्छ । मेरो घरमा बुबाआमा भाइ बहिनी र काकाकाकीसँगै बस्छौँ । दश कक्षासम्म दु:खसुख गरेर पढेँ । अरु माथि कक्षामा पढ्ने रहर गरिबीको कारण टुङ्गियो । मैले पढ्न पाइन् । घरमा गाई बाख्रा थिए । पढ्न छोडेपछि बिहान बेलुका घरको काममा आमालाई सघाउँथे र दिउँसो बाख्रा चराउन जान्थेँ ।' सबै राम्रै चलेको थियो । एकदिन बाख्रा चराउन जङ्गल गएको बेलामा काकाले आफूलाई जबर्जस्ती संवेदनशील अङ्गमा समात्न खोजेको उहाँले बताउनु भयो । बल्लबल्ल त्यहाँबाट उहाँ भाग्नुभयो । उहाँ आफ्नो सपनामा झस्केको जस्तो हुनुभयो । आफ्नै बुबा समानको मान्छे बुबाको भाइले कसरी यस्तो हर्कत गर्नसक्छन र ? मनमा विभिन्न कुराहरू खेले किन आफूलाई यस्तो व्यवहार गरेको होला ? 'मेरो बुबा आमा सोझो हुनुको फाइदा उठाएको जस्तो अनुभूति गरेँ । मैले ममाथि काकाले गरेको हर्कत र मैले खेपेको पीडा घरमा भन्दा विश्वास गर्लान् की नगर्लान् मलाई उल्टै गाली गर्ने पिटाइ गर्ने गर्छनकी यो कुराले मलाई छटपटी भयो । बेचैन बनायो । तर न आमालाई भन्न सक्छु न बुबालाई । त न काकीलाई । बिस्तारै म काकादेखि टाढा र होसियार हुन खोजेँ । एउटै घरमा बस्ने, एउटै भान्साको खाना खाने, गाई बाख्रा हेर्न जङ्गल त्यही पापीसँग जानुपर्ने मेरो बाध्यता भयो', उहाँले भन्नुभयो ।

यसरी बाख्रा चराउन जाँदा काकाले आफूलाई धेरै पटक आक्रमण गर्न खोजेको र आफू पटक पटक भागेर जोगिएको उहाँको भनाइ छ । एक दिन बाख्रा गोठालो गएकै बेला काकाले किन डराएकी मैले केही गर्दिन भन्नुभयो । फोनमा भिडियो हेर भन्नुभयो र आफूलाई जबर्जस्ती समातेर बलात्कार गर्‍यो । आँखाभरी आँसु धरधरी बगाउँदै गर्दा काकाले केही हुँदैन् अब सँधै यस्तै गर्नुपर्छ भन्यो । 'म चिच्याएँ, रोएँ कराए तर जङ्गलमा मेरो आवाज कसले सुन्ने ? काकाले आफूलाई मन लाग्दासम्म लुछिरह्यो । आजको कुरा कसैलाई नभन्नु भन्दै परिवारलाई मार्ने धम्की दिन थाल्यो । मैले डरले कसैलाई भनिन् । म मरिसकेको थिएँ । बाँच्न मन पटक्कै लाग्न छोड्यो । योबाट कसरी बच्न सकिन्छ र यसलाई जेल हाल्न सकिएला भन्ने हुन्थ्यो तर मेरो केही लाग्दैनथ्यो ।'

गरिब परिवारमा जन्मेकै कारणले त होला आफूलाई घरकै बुबा समानको मान्छेले यसरी बलात्कार गरेको । चार महिनाको समयमा आफूलाई सात पटकसम्म बलात्कार गर्‍यो । मानसिक यातना दियो । आफ्नो परिवारको मान सम्मान सबै माटोमा मिलाई दियो । 'म धेरै पटक आत्महत्या गर्ने सोँच पनि बनाएँ तर अवसर भएन । धेरै पहिला यस्तो हर्कत नगर्दै पनि मलाई भारत जाउँ घुम्न भन्थ्यो । मैले पढाइ विगारेर को घुम्न जान्छ भन्थेँ । मेरो पढाइको लागि बुबा आमाले धेरै दु:ख गर्नुभएको छ । मैले केही गर्नुपर्छ भन्थेँ । काकाले मलाई धेरै पहिलेदेखि नै बेच्न खोजेको रहेछ ।' सोही क्रममा आषिश भन्ने संस्थाले पीडितलाई उद्धार गरी आश्रय दिइरहेको छ । आषिशको सहयोगमा उहाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । अहिले आरोपित काकामाथि जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी कसुरमा मुद्धा चलिरहेको छ । आरोपित पुर्पक्षका लागि कारागार छन् । पछिल्लो समय समाजमा यस्ता थुप्रै घटनाहरू घटेका छन् ।

प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७६/७७ मा ४ सय ४३ जना, ०७७/७८ मा ५ सय ६९ जना, ०७८/७९ मा ५ सय १४ जना, ०७९/८० ४ सय ४७ जना र ०८०/८१ मा ९१ जना पीडित भएको छ । तथ्याङ्क अनुसार आ.व. ०७६/७७ मा रुपन्देहीमा सबैभन्दा धेरै ६३ जना र सबैभन्दा कम रुकुम पूर्वमा पाँच जना पीडित भए, त्यस्तै आ.व. ०७७/७८ मा रुपन्देही र दाङ्गमा सबैभन्दा बढी ८० जना र सबैभन्दा कम रुकुम पूर्वमा चार जना पीडित भए । त्यस्तै ०७८/७९ सबैभन्दा बढी पीडित दाङ जिल्लामा ८३ जना र सबैभन्दा कम अर्घाखाँची र रुकुम पूर्वमा चार/चार जना पीडित भएको तथ्याङ्क छ । त्यस्तै ०७९/८० मा सबैभन्दा बढी दाङमा ८५ जना र सबैभन्दा कम अर्घाखाँचीमा ६ जना पीडित भएका छन् भने ०८०/८१ मा दाङ र रुपन्देहीमा २१ जना पीडित भएको लुम्बिनी प्रदेश प्रहरीको तथ्याङ्कमा रहेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको विगत पाँच वर्षको तथ्याङ्कलाई विश्लेषण गरेर हेर्दा बालिकाविरुद्ध हुने यौनजन्य हिंसाको तथ्याङ्क विगतको तुलनामा डरलाग्दो देखिन्छ । इन्सेकको तथ्याङ्क अनुसार सन् २०१८ मा १ सय ५८ ओटा घटना घटेकोमा २०१९ मा २ सय ४८ जना, २०२० मा २ सय ८३ जना, २०२१ मा २ सय ८० जना, २०२२ मा २ सय ९५ जना र २०२३ मा २ सय ४२ जना पीडित भएको देखिन्छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतका अनुसार इन्सेकले हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकारको समग्र अवस्थाको चित्र आउँछ । सोही अनुरुप इन्सेकले आफ्ना कार्यक्रमहरूलाई अगाडि बढाएको छ । घरभित्र हुने यौनजन्य हिंसाका पीडितहरूले सुरक्षाको वातावरण नभएको कारण पीडालाई दबाएर राख्ने, समयमा उजुरी दिन नजाने, घरपरिवारभित्र घटेका घटनाहरूमा भरसक घरमै दबाउने भएकाले इन्सेकले यस्ता बढी घटना घट्ने जिल्लाहरूमा स्थानीय तहहरूमा मानव अधिकार समूह गठन तथा क्षमता अभिवृद्धि गरी उनीहरूलाई परिचालन गर्ने, मानव अधिकारमैत्री संस्कृतिको विकासमा जोड दिने जस्ता कार्यक्रमहरू मार्फत सचेतीकरण तथा पैरवी गरेको छ । महतले पीडितलाई न्यायमा पहुँच पुर्‍याउनका लागि संरचनागत सुधार, उजुरी लिने प्रहरीको क्षमता अभिवृद्धि, यस्ता घटनाहरूलाई प्राथमिकतामा राख्ने र बलात्कार विरुद्ध शून्य सहिष्णुताको नीति अवलम्बन गरी पीडितलाई न्यायको पहुँचमा पुर्‍याउनुपर्ने बताउनु भयो ।

पीडितको सुरक्षा, प्रमाणको संरक्षणदेखि लिएर समाजमा पुनर्स्थापनाकाे काममा समेत स्पष्ट रूपमा सरकारी नीतिको कार्यान्वयनको अभाव, कानुनी कारबाही प्रभावकारी नभएको अवस्था छ । जसले गर्दा दोषीहरू उम्कने वा कम सजाय पाउने अवस्थाले पनि ‘कतिपय अवस्थामा मुद्दाका फाइल पल्टाउँदा थुप्रै ठाउँमा खोजिनुपर्ने तथ्यहरू नखोजिएर संवेदनशिलता र गम्भीरतालाई कसरी कमजोर बनाइएको छ भन्ने पनि भेटिएका तथ्य छन् । बलात्कारका घटनाहरू अकस्मात बढेको भने पक्कै होइन । पहिले लुकाइने त्यस्ता घटनाहरू अहिले बाहिर आउन थालेकाले सङ्ख्या बढेको भन्ने लाग्छ । बलात्कारको मुख्य कारण महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक सोँच भएकाले छोरीहरू असुरक्षित हुन्छन् ।

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश प्रमुख सोमनाथ सुवेदीले घरभित्र हुने यौन हिंसा विरुद्ध पीडितले लड्न र न्यायमा पहुँच पुर्‍याउन सक्ने वातावरण राज्यले ग्यारेण्टी गर्नुपर्ने बताउनु भयो । सुवेदी भन्नुहुन्छ, घरभित्र परिवारका सदस्यहरूबाटै हुने यौन हिंसाका विषयमा यस्ता हिंसाहरू जघन्य अपराध हो । यसका विषयमा विद्यालयस्तरको पाठयक्रममा राख्नुपर्छ । यसरी पाठ्यक्रममा राख्दा कस्ता कस्ता हिंसाहरू हुन सक्छ, हिंसा भइहाले कसरी प्रतिवाद गर्न सकिन्छ । कसरी उजुरी गर्ने, कहाँ गर्ने लगायतका विभिन्न विषयमा जानकारी दिन सके सचेतना बढाउन सकिन्छ । अर्कोकुरा जसको लागि कानुन निर्माण गरिएको हो । ती नागरिकहरूले जानकारी पाएका छैनन् । यी विषयमा जानकारी दिने दायित्व राज्यको हो । राज्य यस्ता विषयमा संवेदनशील भएर नागरिकलाई सचेतीकरण गर्ने, कसरी गर्ने भन्दा विभिन्न मिडियाहरूमा पत्रपत्रिकामा लेखर, रेडियो टिभीमा बोलेर सूचनाको प्रवाह गर्न सकिन्छ त्यस्ता विषयमा राज्यले लगानी गर्नुपर्छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले बलात्कार र मानव बेचविखन तथा ओसार पसारका आरोपितहरूमध्ये अधिकांश घरभित्रै र नजिकका मान्छे भएकोले कतिपय अवस्थामा इज्जत जाने मानप्रतिष्ठा घट्ने कारणले उजुरी आउँदै नआउने वा उजुरी ढिला आउने गरेको बताउनु भयो । यस्ता खालका अपराधहरू घटाउनका लागि जनचेतना मूलक कार्यक्रमहरू र कानुनी शिक्षामा जोड दिएर उक्त घटनामा पीडितको न्यायका साथै सुरक्षाका लागि विभिन्न निकायहरूसँग समन्वय गरेर पीडितलाई सुरक्षित आवास गृहमा पठाउने, अपराधीलाई कानुन बमोजिम सजायका लागि कारबाही अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

- रीमा बिसी