छोरा मारिएको सात वर्षपछि क्षतिपूर्तिखोज्दै बाबु सदरमुकाममा

रामबहादुर जिसी

मैलो कपडा र त्यस्तै झोला बोकेका तथा हातमा लौरो समातेका ५५ वर्षीय मनबहादुर विक आजभोलि बागलुङ बजारमा दौडधुप गरिरहेका देखिन्छन् । उनी कतिबेला जिल्ला प्रशासन कार्यालयमा पुग्छन् त कतिबेला मानवअधिकारवादीकोमा पुग्छन् र एउटै गुनासो गर्छन्- मैले न्याय पाउन सकिन ।

न्याय खोज्दै उनी एक हप्तादेखि बागलुङ जिल्ला सदरमुकाममा दौडिरहेका छन् । ससस्त्र द्वन्द्वका क्रममा सेनाले छोरालाई गोली हानेर मारिदिएपछि बेसहारा बनेका बागलुङ जिल्लाको खुङ्गा गाविस-६ का मनबहादुर यतिबेला यसरी बजार बजारमा क्षतिपूर्तिको माग गर्दै भौतारिरहेका छन् ।

'बुढेसकालको सहारा छोरालाई सेनाले गोलीले उडाए,' उनले मानवअधिकारवादीसमक्ष पीडा सुनाए-'हाम्रा लागि राहतको व्यवस्था मिलाइदिनुपर्‍यो ।' उनका अन्य दुई छोरा विदेश छन् । उनी भन्छन्- सानैदेखि घर नछोडेको माइलालाई देशमा शान्ति सुरक्षा गर्नेहरूले गोली ठोकेर मारे ।

२२ वर्षीय छोरा थमबहादुर विकलाई ०५८ फागुन १५ गते अधिकारीचौर गाविसस्थित ससुरालीमा दुरान जाने क्रममा सेनाले माओवादीको आरोपमा गिरफ्तार गरेर १७ गते गोली हानेर हत्या गरेको वृद्ध मनबहादुरले बताए ।

माओवादीको आरोपमा गिरफ्तार गरी बुर्तिबाङमा पुर्‍याएर त्यहाको बोर्डिङ स्कुलमा २ दिन यातना दिएर गोली हानी हत्या गरेको उनी बताउँछन् ।

छोरा मारिएको खबरले आफू र थमबहादुरकी आमा नौमति विकसहित परिवार शोकमा डुबेपनि छोराको मरेकै भएपनि तत्काल मुख हेर्न जान सकिने अवस्था नभएकाले रुदै बसेको उनले बताए ।

उनले अहिलेसम्म पनि छोराको काजक्रिया गरेका छैनन् ।

बुर्तिबाङ गाविसका पूर्व अध्यक्ष तुलसीराम उपाध्याय, गाविसका पियन र धनगौज्योति मावि तमानका प्रधानाध्यापक मनबहादुर बुढाथोकीले थमबहादुरको सदगद गरिदिएका थिए ।

छोरा मारिएपछि दुःखजिलो गरेर दिन बिताउँदै आएका मनबहादुरलाई धनगौज्योती माविका प्रधानाध्यापक बुढाथोकीले राहतका लागि पत्र लेखेर रेडक्रसमा जानुस् भनेपछि सदरमुकाम झरेको उनले जानकारी गराए ।

'हेडसरले यी चिठी दिएका हुन्, बागलुङ गयापछि रेडक्रसले केही सहयोग गर्छ भनेर बुढीलाई घरमा एक्लै छोडेर म बजार आयाको हुँ' उनले प्रधानाध्यापक बुढाथोकीको पत्र देखाउँदै भने ।

पटकपटक डाको छोड्दै रुँदै र पुन सम्हालिदै वृद्ध मनबहादुरले छोराको अनाहकमा ज्यान गएपछि देशको ऐन कानुनसँग पनि औधी रिस उठेको गुनासो गरे । 'बाटोमा हिड्दै गरेको केटोलाई पक्रेर मार्नु त न्याय भएन नि ।'

इन्सेक प्रतिनिधिसँगको भेटमा उनले कसरी हुन्छ उनका बुढाबुढीलाई बाँच्ने आधारका लागि सहयोग गर्न माग गरे।

'छोरा मारिएपछि शोकका कारण हामी दुवै काम गर्न नसक्ने भएका छौं उनले भने । सहारा पनि भाँचियो, ज्यान पनि थाकिसक्यो, अब कसरी बाँच्ने हो !'

आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले बुहारीले माइतीमा बसेकी र हाल अर्केसँग विवाह गरेको पनि उनले बताए ।

मनबहादुरका छोरा जस्तै बागलुङमा झण्डै १ सय भन्दा बढी मानिस सशस्त्र द्वन्द्वका क्रममा राज्य र माओवादी पक्षबाट मारिएका छन् । माओवादी पक्षबाट मारिएका केहीले क्षतिपूर्ति पाएपनि राज्यपक्षबाट मारिएका कसैले पनि क्षतिपूर्ति पाएका छैनन् ।

बागलुङ । ०६४ मंसिर

 

-