चौधविसमा रोकिएन बालविवाह, २० वर्ष नपुग्दै आमा बन्छन् युवती !

जुम्ला । ०७९ असार २२ गते

तथ्याङ्कीय रुपमा हेर्ने हो भने नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा बढी बालविवाह हुने गरेको पाइन्छ । यहाँको अन्य ठाउँको तुलनामा भन्दा जुम्लाको पूर्वी भेग चौधविस क्षेत्र अर्थात पातारासी गाउँपालिकामा बालविवाह बढी हुने गरेको पाइन्छ ।

यो क्षेत्रमा बालविवाह न्यूनीकरण गर्नका लागि सरोकारवाला निकाय, स्थानीय सरकारदेखि गैरसरकारी संस्थाले सचेतीकरण गर्दै आएका छन् । तर पनि चौधविस भेग अर्थात पातारासी गाउँपालिकामा बालविवाह देखिन्छ ।

मुलुकी देवानी संहिता ऐन २०७४ ले विवाह गर्नका लागि न्यूनतम २० वर्ष पुग्नु पर्ने परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि बालविवाह गर्नेको सङ्ख्या र अवस्था चिन्ताजनक देखिएको छ ।

पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा गएको साउन महिनादेखि असार तेस्रो हप्तासम्म ५२ जना गर्भवती महिला स्वास्थ्य परीक्षण र सुत्केरी हुन आएको तथ्याङ्क छ । यसमध्ये १२ जना बालिका २० वर्षमुनिका १५÷१६ वर्षको उमेरमै आमा बनेका छन् । उमेरकोआधारमा स्वास्थ्य चौकीमा १२ जना बालिकाले २० वर्ष नपुग्दै विवाह गरी बच्चा जन्माएको तथ्याङ्क छ ।

स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गर्न आएकी १९ वर्षीया युवतीले कानुनले तोकेअनुसार उमेर नपुगी विवाह गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो एक वर्ष अघि विवाह भएको हो । अहिले गर्भवतीले स्वास्थ्य संस्थामा परीक्षण गर्न आएको हुँ ।

स्कुल पढ्ने क्रममै २२ वर्षीय युवासँग विवाह भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो अहिले उमेर नपुगी सानैमा विवाह हुनुमा आमाबाबा अभिभावक कसैको दोष छैन । हामीलाई बालविवाह गर्नु हुदैन भन्ने थाहाँ हुँदा पनि अरु सार्थीभाईको देखासिकी लहलहैमा विवाह हुदो रहेछ । काम गर्ने जनशक्ति बढाउनका लागि पुरुषले विवाह गर्न खोजिरहेका हुन्छन । हामी पनि जानी नजानी त्यही चपेटामा पर्दा रहेछौँ ।

यस्तै १७ वर्षीया अर्की बालिका पनि बालविवाह भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो खै के हो यहाँ यस्तै चलन छ । सानै उमेरमा सबै विवाह गर्छन् । हामीले पनि विवाह ग¥यौ ।

डिल्लीचौर स्वास्थ्य चौकी सिनियर अनमी केमा लामाका रावलका अनुसार स्वास्थ्य चौकीमा नियमित गर्भ चेकजाँच गर्न आउने युवती प्रायः २० वर्ष मुनिका छन् । २० वर्ष नपुग्दै गर्भ जाँच गराउने युवतीहरूको सङ्ख्या हेर्दा बालविवाहको अवस्था न्यूनीकरण हुनु पर्नेमा अझै भयावह रहेको देखिन्छ ।

शिक्षा, चेतनाको अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान रहेको छ । जसका कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट बन्चित हुनुपर्ने बाध्यता कायमै रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ८ देखि १० कक्षासम्म अध्ययन गर्ने १५ देखि १७ वर्ष उमेर समूहका छात्राको बढी विवाह गर्ने गरेका छन् ।

प्रजनन अङ्ग परिपक्क नभएर सानै उमेरमा विवाह गरेर होला कम तौल भएका बच्चा जन्मिने गरेका छन् । कम्तिमा साढे दुई केजी भन्दा बढी तौल भएका बच्चा जन्मिनु पर्ने हो । तर दुई केजीका मात्रै बच्चा जन्मिने गरेको उहाँले बताउनु भयो । यहाँका युवतीहरू सानै उमेरमा प्रजनन अङ्ग परिपक्क नभएर बच्चा जन्माउने भएपनि शिशु र मातृ मृत्युदर शून्य रहेको छ ।

गत आर्थिक वर्ष जुम्लामा ८ सय ६० युवती २० वर्ष नपुग्दै आमा बनेको पाइएको थियो । जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ०७७÷७८ मा जुम्लाका आठ वटै स्थानीय तहका ८ सय ६० जना २० वर्षमुनिका युवती गर्भवती भएका थिए । अघिल्लो आर्थिक वर्ष ०७६÷०७७ मा ८ सय ५५ जना २० वर्षमुनिका युवती गर्भवती भएका थिए ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाको तथ्याङ्कअनुसार गत आवमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात् आमा बन्नेको सङ्ख्या कुल ८ सय ६० जना रहेकोमा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना युवती थिए ।
पातारासीमा १ सय ३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १ सय ४० र हिमामा ७७ गरी जम्मा ८ सय ६० जना जुम्लाका युवती गत आवमा उमेर नपुग्दै आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

गत वर्षमा १ सय ८० जनाले कम तौल भएका बच्चा जन्माएका थिए भने २० वर्षमाथिका ३ सय ७६ र २० वर्षमुनिका ३० युवतीले गर्भपतन गराएका थिए । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायतका समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको प्रमुख सापकोटाले जानकारी दिनु भयो ।

गत आर्थिक वर्षमा ८१ प्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् । १ हजार ७ सय ५२ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । यीमध्ये ९९ प्रतिशत बालबालिकाले बिसिजी खोप लगाइसकेको स्वास्थ्य प्रमुख सापकोटाको भनाई छ । यस वर्षको तथ्याङ्क अभिलेख भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले जुम्लामा बालविवाह निकै हुने गरेको देखिएको बताउनु भयो । उहाँले भन्नुभयो तर प्रहरीमा उजुरीका रुपमा बालविवाहको कुनै पनि घटना आएका छैनन् । बालविवाह गरेका तीन वर्षअघि प्रहरीमा दुई वटा उजुरी मात्रै दर्ता भएको प्रहरीमा तथ्याङ्क छ । त्यसपछि कुनै उजुरी आएका छैनन् ।

यस्तै स्वास्थ्य संस्थाको तथ्याङ्कलाई हेर्ने हो भने समाजमा बालविवाहले विकराल रुप लिएको देखिने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो विद्यालयदेखि समाजमा अभिभावकलाई बालविवाह विरुद्धको सचेतीकरण शिक्षासहित कानुनी प्रावधानको शिक्षा दिनुपर्ने आवश्यक छ ।

स्थानीय तहले बालविवाहलाई पूर्ण रूपमा विस्थापित गर्ने योजना बनाएका छन्, तर प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकेका छैनन । बालविवाहलाई गाउँपालिकामा निषेध गर्ने निर्णय गरिएको छ । प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउन सकिएको छैन, तर प्रयत्न भने भइरहेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताउनु भयो ।

Jumlaphoto20220706 (1) Jumlaphoto20220706 (2) Jumlaphoto20220706 (3) Jumlaphoto20220706 (4) Jumlaphoto20220706 (5)

- मानदत्त रावल