चिसोसँगै खाद्यान्नको अभाव झेल्दै राउटे समुदाय ! (फोटो फिचर)
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को सिमाना गिरीघाड खोला किनारमा बस्दै आएका छन् । केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएको राउटे समुदाय केही समयअघि मात्रै गिरीघाट खोलामा बसाइँ सरेको हो । केवल त्रिपालको झुप्रो र केही खरले छाएको छानामा बस्दै आएका राउटे समुदायलाई जाडोले सताएको छ । हिउँदको जाडोका कारणले समस्या भएको अहिले खानका लागि समस्या रहेको राउटे दीपक शाही बताउनुहुन्छ ।
‘जाडोका समयमा कपडा छैनन् । खाने चामल पनि छैन । रातमा आगो बालेर रात कटाउँछौँ’ - उहाँले भन्नुभयो । ०७८ को जनगणनाअनुसार हाल यो समुदायमा कुल ४६ घरधुरी छन् भने जम्मा राउटेको जनसङ्ख्या १ सय ४३ छ । बाँदरको सिकार तथा जङ्गली फलफुल उनीहरूको प्रमुख आहार हो । काठका भाँडाकुँडा बनाएर बिक्री गर्न थालेपछि यो समुदायमा अहिले भने केही परिवर्तन आएको छ । आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा देशभर ४१ घरधुरी छन् । राउटेसँग काम गरिरहेको गैरसरकारी संस्था सोसेक नेपालका अनुसार २०७५ असारदेखि हालसम्म यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ ।
मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक र बालबालिका छन् । उनीहरू अहिले सुर्खेतको बराहताल गाउँपालिका–२, गिरीघाटमा बसिरहेका छन् । पछिल्लो १० वर्षमा यो समुदायको जनसङ्ख्या २६ प्रतिशतले घटेको छ । २०७१ सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति सुर्खेतमार्फत् राउटेहरूको जनगणना गरेको थियो । त्यसबेला सुर्खेतमा बसोबास गरेका राउटेको सङ्ख्या १८२ जना थियो । पछिल्लो आधुनिकीकरणले राउटेको अस्तित्व नै सङ्कटमा परेको लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले बताउनु भयो । जङ्गल क्षेत्र घट्दै जाँदा बाँदरलगायतका जनावरहरू नभएपछि उनीहरूको जीवनयापन गर्ने परम्परागत स्रोतहरूमाथि प्रत्यक्ष असर परेको उहाँले बताउनु भयो । स्वास्थ्य सेवा र पोषण सुधार र उनीहरूको जीवनशैलीसँग मेल खाने दीर्घकालीन संरक्षण कार्यक्रमको व्यवस्था गर्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।
जङ्गलमा फिरन्ते जीवन बिताइरहेको राउटे समुदायले पढलेख गर्नु, सिलाएका कपडा लगाउनु, अस्पतालमा उपचार गर्नु जस्ता विषयहरू आफ्नो परम्परा विपरीत मान्छन् । राउटे समुदायमा तीन ओटा समूह छन् । जसमा रास्कोटी, कल्याल र शोवंशी छन् । दैलेखको गुराँस गाउँपालिकाले राउटेको अपनत्व लिएको छ । राउटे परिचयपत्र बनाएर गाउँपालिकामार्फत यो समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ । उनीहरूको मुख्य बसोबास दैलेख, अछाम, जाजरकोट, सुर्खेत र सल्यानमा छ ।
यी ठाउँहरूमा उनीहरू सिजनअनुसार बस्ती सार्ने गर्छन् । २०८१ जेठमा राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायको संरक्षण, सुरक्षा र उनीहरूको प्रथासँग सम्बन्धित अभ्यासको निरन्तरताका लागि विशेष कानुनी व्यवस्था गर्न तीन तहका सरकारलाई निर्देशन दिएको थियो । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई यस्तो निर्देशन पठाएको थियो ।
- जगतदल जनाला विक
सम्बन्धित फिचरहरू
न्यायको पर्खाइमा द्वन्द्वमा बेपत्ता पारिएकाहरूका परिवार !
वीरेन्द्रनगर नगरपालिका–१२ की ५१ वर्षीय मायादेवी हमाल सशस्त्र द्वन्द्वमा आफूले पाएको पीडा र भाइलाई राज्य पक्षले बनाएको बेपत्ताप्रति राज्यमाथि प्रश्न गर्दै आउनु भएको छ । उहाँको पुरानो घर जुम्ला हो…
कि मुक्ति, कि मृत्यु देउ सरकार !
७० वर्षको वृद्ध शरीर, एउटा हातमा प्ले कार्ड, अर्को हातमा हिँड्ने सहायताका लागि लौरो । माघको चिसोले कठ्याङग्रीएका हात, खुट्टा चलाउन धौ धौ भइरहेका बेला घोराही उमनपा–१४ झिगौँराका प्रभु चौधरीलाई…
सुत्केरी आमाको बिचल्ली, पीडित भन्नुहुन्छ - ‘मेरो पीडाभन्दा बच्चाको भविष्यको चिन्ता रह्यो !’
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…
सङ्घर्षले बदलिएको तुलसीको जीवन !
भनिन्छ नि ! दुःखपछि सुख आउँछ । हो त्यस्तै जीवनमा थुप्रै दुःखहरू भोग्दै आइरहनुभएकी वीरेन्द्रनगर नगरपालिका–१ की २८ वर्षीया तुलसी गिरीको जीवन पनि बदलिएको छ । जब उहाँका पति दिनेश…
द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय…