घरभित्र आफन्तबाटै असुरक्षित छन् महिलाहरू

०८१ असार ४ गते सिन्धुपाल्चाेक

आफूलाई जन्म दिने बुबा, ससुरा, देवर, छोरा जस्ता घरभित्रकै आफन्तबाटै बलात्कृत भएको पीडा । न घरमा पुनर्स्थापित हुन सकियो, न त घरका अरू आफन्तसँग भेटघाट नै । घर भित्रकै आफन्तबाटै पटक पटक बलात्कृत भएका महिलाहरूले भोगेका तनाब, खेपेको सास्तीलाई बोलीमार्फत साट्न चाहन्थे, जुन सम्भव नभएपछि आँशुमार्फत पीडा पोख्न बाध्य छन् । अरू बिकल्प पनि थिएन । आँशुको भाषा बुझ्ने दोस्रो मान्छे उनीहरूसँग कोही छैन  ।

बुबाबाट पटक पटक बलात्कार पर्नु भएकी १९ वर्षीया किशोरीले आफूमाथि भएको घटनाको पीडा सहनु परेको छ । घटनापछि अन्य आफन्तले आफैँलाई दोषी देखाउदाको थप पीडा र एक्लोपनले  बाँच्न पनि पटक्कै मन नभएको बताउनु हुन्छ ।

सामान्य परिवारमा जन्मनुभएकी १९ वर्षीया किशोरी सात कक्षामा पढ्दादेखि कक्षा १० पुग्दासम्म तीन वर्ष आफ्नै बुबाबाट पटक पटक बलात्कृत हुनु भयो । घरको आर्थिक अवस्था कमजोर, बल्लतल्ल विद्यालय पढ्न पाएकी किशोरी भन्नुहुन्छ ‘चार जनाको परिवार थियो । भाई सानै छ, आमा घरको काम गर्नुहुन्छ । म विद्यालय पढेर घर आएपछि साँझमा आमाको काम सघाउथे । बेलुकी खाना खाएपछि स्कूलको होमर्क गर्दा रातको ९, १० बज्थ्यो । आमा र भाइ निदाएपछि बुबा आएर मलाई बलात्कार गर्थे र सुत्थे’ । ‘मलाई अत्यन्त पीडा हुन्थ्यो ।

बुबाले मलाई किन यस्तो व्यवहार गरेको होला भन्ने लागेर आयो । घटना बारे अरूलाई कसरी भन्नेहोला, अरूले पत्याउने हुन् की होइनन् भन्ने मलाई लागिरहेको थियो, जतिखेर म १६ वर्षको थिए । तीन वर्षसम्म यो क्रम रोकिएन । एक दिनको घटना आमाले थाहा पाउनु भएछ । भोलिपल्ट छिमेकी काकासँग आमा गएर घटना बारे छलफल चलाउनु भएछ । त्यसपछि मलाई आमाले सोधपुछ गर्नुभयो, मैले सुरूदेखिकै सबै घटनाक्रम आमालाई सुनाएपछि प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।

जिल्ला अदालतले आरोपितलाई २५ वर्ष कैदको फैसला गरेको छ । घटनापछि महिला पुर्नस्थापना केन्द्रमा बस्दै आएकी पीडितलाई एक्लोपनको महसुस भएको छ । परिवारका अन्य सदस्य तथा आफन्त इष्टमित्रहरूले आफैँलाई दोषी भएको आरोप लगाउदा आफूलाई थप पीडा भएको पीडित बताउनु हुन्छ ।

यसैगरी, २० वर्षीया युवती ७१ वर्षीय ठूलो बुबाबाट भेडिगोठमा बसेको अवस्थामा बलात्कृत हुनु भयो ।  विद्यालय जानसमेत नपाएकी युवती  खर्कमा भेडा चराउने काम गर्नु हन्थ्यो ।  घटनाबारे कसैलाई भनेमा राम्रो नहुने समेत ठूलो बुबाले धम्की दिएको पीडितको भनाइ छ । बलात्कारपछि उनको पेटमा गर्भ रहन गयो । घरमा आमा मात्र भएको र दाजु मजदुरीको लागि भारतमा गएका कारण उनलाई  सहयोग गर्ने कोही भएनन् । गाउँले समाजले उल्टै पीडितलाई नै दोषी ठानेपछि पीडितकी आमाले हारगुहार गर्दै न्यायको लागि जिल्ला प्रहरी कार्यालय उजुरी दिनु भयो । हाल आरोपित फरार रहेका छन् ।  पीडितले चौतारा स्थित महिला पुनर्स्थापना केन्द्रमा बसेकै अवस्थामा छोरीलाई जन्म दिनु भयो । जन्मेकी छोरी हाल बाल गृहमा राखिएको छ भने घटनापछि पीडित घरमा पुनर्स्थापना हुन सक्नु भएको छैन ।

यस्तै पतिको मृत्यु भएर एकल भएकी ३० वर्षीया महिला आफ्नै देवरबाट बलात्कृत हुनु भयो । घाँस काट्न गएको अवस्थामा २९ वर्षीय देवरबाट घटनामा परेपछि  गर्भ समेत रह्यो । विधुवा महिलाको पेटमा गर्भ आएपछि घर परिवारबाट समेत तिरस्कार सहनु पर्यो । पीडितले घटनाका बारेमा  प्रहरीमा उजुरी दिनु भयो । प्रहरीले आरोपितलाई  गिरफ्तार गर्यो । पीडितले पुनर्स्थापना गृहमा बसेकै अवस्थामा छोरी जन्म दिनु भयो । आफ्नो घर जान खोज्दा परिवारले स्वीकार नगरेपछि आफू अलपत्र भएको पीडितले  बताउनु हुन्छ । बच्चा र आफू बिमारी हुँदा कसले उपचार गरिदिने होला भन्ने चिन्ता लागेको पीडितको गुनासो छ ।

सौतिनी छोराबाट बालात्कृत भएकी ३८ वर्षीया महिला कष्टपूर्ण जीवन बिताउदै हुनुहुन्छ । २१ वर्षीय सौताको छोराले बलात्कार गरेपछि घरबाट निस्कन बाध्य भएकी उहाँ हेलम्बु गाउँपालिका स्थित एक होटलमा भाँडा माझेर अहिले आफू र बलात्कार पछि जन्मेकी छोरीको गुजारा गर्दै हुनुहुन्छ । आरोपित जेलमा भए पनि गाउँलेहरूले कुरा काट्ने र आफैलाई दोषी ठानेकाले घरबाट निस्कनु परेको पीडितले बताउनु भयो ।

३६ वर्षीया महिला ६२ वर्षीय ससुरा र ३१ वर्षीय देवरबाट पटक पटक बलात्कृत हुनु भयो । गाउँलेहरूको सहयोगमा पीडितले प्रहरी उजुरी दिनु भयो । जिल्ला अदालतले आरोपितहरूलाई धरौटी तारेखमा छाडेकोमा अहिले पनि डर भएको पीडित बताउनु हुन्छ । बलात्कारपछि महिला गृहमा बस्दै आउनु भएकी पीडितले छोरा जन्म दिनु भयो ।  पतिले बेवास्ता गर्ने, गाउँलेहरूले दोषी ठान्ने र घरमा जान नसक्ने अवस्था भएपछि पीडितको आमा छोरा अहिले भक्तपुरको एक घरमा घरायसी काम गरी गुजारा गर्दै हुनुहुन्छ ।

२८ वर्षीया एक महिलालाई २९ वर्षीय भतिजाले गोठमा गएको अवस्थामा बलात्कार गरेको पीडितको आरोप छ । बलात्कार पछि पीडित प्रहरी कार्यालय पुगेर उजुरी गदिनु भयो । जिल्ला अदालतले आरोपितलाई धरौटीमा रिहा गरेपछि आफूले न्याय नपाएको पीडितले बताउनु भयो । परिवार र माइतीसमेतले बेवास्ता गरी आफैलाई दोषी ठानेपछि अर्को विवाह गरी घर त्याग्न बाध्य भएको पीडितको भनाइ छ ।

६६ वर्षीय आफ्नै हजुर बुबबाट बलात्कृत भएकी सात वर्षीया बालिका परिवारको माया नपाएपछि स्वास्थ्यमा समस्या भएको छ । घटना बाहिरिएपछि आरोपित हजुर बुबाको  हृदय गति बन्द  भएर मृत्यु भयो । घटनापछि परिवारबाट वञ्चित भएकी पीडित बालिका हाल बाल गृहमा रहनु भएको छ । पीडितको सानै उमेरमा स्वास्थ्यमा समस्या भएको बाल गृह सञ्चालकले बताउनु भयो ।

१४ वर्षीया बालिका ३८ वर्षीय बुबाबाट  बलात्कार प्रयासको घटनाबाट पीडित  भएर विस्थापित हुनु पर्यो । घटनापछि काठमाडाेँ स्थित रक्षा नेपालमाको स‌रक्षणमा रहनु भएको छ ।

माथि उल्लेखित सबै घटनाहरू घर परिवारका आफन्तबाट पीडित बनाइएका सिन्धुपाल्चोक जिल्लाका महिलाहरूको जीवनी हो । यी प्रतिनिधि मूलक घटना पनि हुन् । समाजमा यस्ता धेरै घटनाहरू उजागर हुन सकेका छैनन् ।

बलात्कारका घटनाहरू घर बाहिरका अपरिचितबाट भन्दा घरभित्रैका आफन्तबाट बढी हुने गरेको छ । घरपरिवार भित्रका आफन्तबाट बलात्कृत भएर पीडित भएकाहरू सामाजिक, साँस्कृतिक तथा आर्थिकरुपले समेत समस्यामा परेका छन् । यस्ता घटनाबाट पीडित भएकाहरू घर छाड्नु पर्ने, गास बासको ग्यारेण्टी नहुने, अरूको साहारामा बाच्नुपर्ने जस्ता समस्यामा परेको चौतारा स्थित महिला पुनर्स्थापना केन्द्रका प्रमुख हरिकला भट्टले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयको बिगत तीन वर्षको तथ्याङ्क अनुसार सिन्धुपाल्चोक जिल्लामा सन् २०२१ मा ४० जना महिला बलात्कार घटनाबाट पीडित भएका थिए । त्यसैगरी, सन् २०२२ मा २३ जना र सन् २०२३ मा २५ जना महिला बलात्कार घटनाबाट पीडित भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले बताउनु भयो ।

घरपरिवारका आफन्तबाट हुने बलात्कार जस्तो जघन्य अपराधका घटनाहरू इज्जत जाने डर, कूलको मानप्रतिष्ठा माथि आँच आउने भयले गर्दा कतिपय घरभित्रै मिलाउने गरेकोले उजुरी नआउने गरेको डिएसपी भट्टराइले बताउनु भयो ।

घरभित्रै हुने यस्ता जघन्य अपराधका घटनाहरू न्यूनीकरणका लागि गाउँवस्तीहरूमा जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरेर घटना न्यूनीकरण हुने डिएसपी भट्टराईको तर्क रहेको छ ।

- नातिबावु धिताल