घटन सकेन द्वन्द्वपीडितको पीडा

'बुढेसकालमा छोराले कमाएर पाल्छ कि भन्ने आशा थियो तर के भयो के भयो -'। रिस्ती गाविस-१ सोतीबेसीका ७१ वर्षीय होमनाथ अधिकारीको बिलौना हो यो । घर-व्यवहार सन्तानको काँधमा सुम्पेर आनन्दसँग बस्ने उमेर भए पनि होमनाथको दुःख घटेको छैन, बरु चिन्ता थपिन थालेको छ । साना-साना नाति नातिनाको पालनपोषण गर्ने सबै जिम्मा होमनाथको बुढो थाप्लोमा आइपरेकोछ । ती अवोधहरूको भविष्यबारे जति सोच्यो, त्यति उनलाई चिन्ताले गाँज्ने गरेको छ ।

नेकपा (माओवादी)ले गरेको सशस्त्र युद्धको क्रममा होमनाथको परिवारका चार जना सदस्यले ज्यान गुमाए । उनकी २१ वर्षीया छोरी इन्दू अधिकारीको २०५५ मङ्सिर २६ गते गोरखा जिल्लामा सुरक्षाकर्मीले गिरफ्तार गरेपछि हत्या गरेको थियो । छोरी मात्र होइन, उनका दुई छोरा र एक बुहारी पनि सुरक्षाकर्मीबाट मारिएका थिए ।

उनका माइला छोरा भरतचन्द्र अधिकारी र बुहारी कलावती अधिकारीको ०५८ माघ २३ गते तनहुँ जिल्लाको कोछाङ गाविसको साउनेपानीमा सुरक्षाकर्मीले गिरफ्तार गरेपछि हत्या गरेको थियो । सो क्रममा सेनाले माओवादीका ९ जना कार्यकर्तालाई गिरफ्तार गरेर सामूहिक हत्या गरेको थियो । यो घटनालाई युद्धको क्रममा तनहुँमा भएको सर्वाधिक चर्चाको घटनाको रूपमा लिने गरिएको छ । पेशाले शिक्षक रहेका अधिकारी दम्पति सुरक्षाफौजले दुःख दिन थालेपछि शिक्षण पेशा छाडेर माओवादी जनयुद्धमा होमिएका थिए ।

होमनाथको दुख यतिमै टुङगिएन । उनले फेरी अर्का बज्रपात सहुनु पर्žयो । छोरा-बुहारीको हत्या भएको चार महिना नपुग्दै अर्का छोरा गजेन्द्रको २०५९ वैशाख १६ गते सेनाले लम्जुङमा गिरफ्तार गरेर हत्या गर्žयो । दाजु,दिदी भाउजूको हत्यापछि होमनाथका बाँकी रहेका कान्छा छोरा र कान्छी छोरी युद्धको क्रममै माओवादीमा लागे । होमनाथका जेठा छोरा भने घरजम गरेर चितवनमा बस्दै आएका छन् । घरमा अहिले अधिकारी दम्पति र भरतका १० र ७ वर्षीय २ छोरा मात्र छन् ।

आफ्नो दुःख त छदै छ होमनाथलाई त्यसमाथि छोरा-छोरीको सम्झनाले बुढेस कालमा पनि खुबै सताउँछ ।'देशमा परिवर्तन ल्याउन भन्दै छोरा, छोरी र बुहारी युद्धमा लागे तर देशमा परिवर्तन आए पनि आफूहरूको दुःखमा केही कमी भएको छैन'होमनाथले मनको बह पोखे ।

सामान्य खेती गरेर जीविका चलाइरहेका अधिकारीको परिवारमा अहिले दैनिक घर खर्च धान्न समेत समस्या परेको छ । उनले घर खर्च धान्न आफूलाई आर्थिक समस्या परेको बताए । उनले भने-'मलाई जस्तो पीडा कसैले भोगनु नपरोस् ।' 'जसोतसो नातिहरूलाई पढाउन सके हुन्थ्यो, त्यो पनि समस्या पर्दै आएको छ' उनले भने-"मेरो त परिवारकै बिचल्ली भएको छ ।' हालै मात्र उनले शान्ति तथा पुन निर्माण मन्त्रालयबाट जिल्ला प्रशासन कार्यलयमार्फत वितरण गरिएको राहत रकम पाएका छन् । सरकारले दिएको पैसाले ऋण तिर्न समेत नपुग्ने होमनाथले बताए । बाँकी जिवनमा नातिनातिनालाई कसरी हुर्काउने र पढाउने भन्ने नै चिन्ता रहेको छ उनलाई ।

होमनाथको जस्तै समस्या छ द्वन्द्वको क्रममा मारिएका तनहुँका १ सय ८६ जनाको परिवारलाई । राज्यका तर्फबाट मारिएकाहरूको मात्र होइन माओवार्दीबाट मारिएकाहरूको पीडा झन त्योभन्दा ठूलो रहेको छ । माओवादीबाट मारिनेमा अधिकांश सुरक्षाफौज सँग आबद्ध भएका भएपनि त्यतीकै सङ्ख्यामा सर्वसाधरण निर्दाष नागरिकहरू रहेका छन् जसलाई माओवादीहरूले सुराकीको आरोपमा हत्या गरेका थिए ।

सुराकीको आरोपमा माओवादी कार्यकर्ताले ०६० मङ्सिर १२ गते अपहरण पश्चात् भिरबाट खसालेर हत्या गरेका देवघाट गाविस-७ ज्यामीरेका मोतीलाल गुरुङ्गको परिवारको अवस्था झन दयनीय रहेको छ । कमाउने पतिको हत्याको पीडा एकातिर छ भने अर्कातर्फमाओवादी कार्यकर्ताहरूले दिएको धम्कीको डर छ मनसरी गुरुङ्गलाई । उनलाई पतिको हत्या गरेपछि पनि माओवादी कार्यकर्ताहरूले घटनाको बारेमा कसैलाई नभन्न धम्की दिए । माओवादीको धम्कीलाई आज्ञाकारी विद्यार्थीले शिक्षकको आदेश माने झैं मानिरहिन् मनसरीले । उनले चार बर्षम्म त्यो घटनाको बारेमा कसैलाई बताउन सकिनन् । उनीमात्र होईन् सिङ्गो ज्यामीरे गाउँका जनताले सो घटनाको बारेमा कसैलाई भन्ने साहस गरेनन् । सिङ्गो गाउँ पीडामा तड्पिरह्यो । निम्न आर्थिक अवस्था भएका गुरुङ्गको हत्यापछि पाँच जना छोरा छोरी हुर्काउने जिम्मा मनसरीको काँधमा आयो । सम्पतिको नाउँमा एक रोपनी पाखो बारी र एउटा सानो झुप्रोबाहेक केही छैन उनीसँग । छिमेकीको मेला र पर्ममा गएर जसो तसो छोरा छोरीलाई एकछाक खुवाउन सम्म सकेकी छिन् मनसरीले ।

होमनाथ र मनसरी त प्रतिनिधि पात्र मात्र हुन् सशस्त्र द्वन्द्वपीडितहरूको । उनीहरूको जस्तै समस्या छ द्वन्द्वको क्रममा मारिएका तनहुँका १ सय ८६ जनाको परिवारलाई । युद्धको क्रममा राज्यपक्षले ५९ जना र माओवादी पक्षले १२७ जना तनहुँका नागरिकको हत्या गरेको थियो ।

सशस्त्र युद्धको नेतृत्वकर्ता नेकपा माओवादी संविधानसभाको निर्वाचनमार्फत सबै भन्दा ठूलो दल बने पनि द्वन्द्वपीडितका समस्यामा खासै ध्यान नदिएको पीडितका परिवारहरूले बताएका छन् । सरकारले सहिद परिवार,बेपत्ता परिवार र अपाङ्गता भएका परिवारका सामु गरेको प्रतिबद्धता भुलेर सत्तामा रमाएको देख्दा द्वन्द्वपीडित परिवारहरू विस्मित भएका छन् ।

प्रकाशचन्द्र भट्टराई

-