गिट्टी नकुटी जुट्दैन गाँस, हरेक दिन खोलाकै बास

सल्यान । ०७९ असार १९ गते

सल्यान जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगर स्थित शारदा नदिको किनार, दिउँसोको चर्को घाम होस या बिहानको चिसो सिरेटो अनि एक्कासी आउने मुसलधारे पानी नै किन नहोस तर खोला किनारमा उही दृश्य । नदि किनारको वारीपारी हातमा हथौँडा लिएर गिट्टी फुटालिरहेका दर्जनौँ मजदुरहरू । वर्षौँदेखि देखिएको यो दृश्य न त बदलिन सक्यो न त दृश्यमा देखिएका पात्रहरूको दिनचर्या नै बदलियो ।

खोला किनारको छेउमै अधिकाँश बादी समुदायका विपन्न परिवारको बाक्लो बस्ती छ । खोलाको किनारमा देखिएको उक्त दृश्यका अधिकांश पात्रहरू यहि वस्तीका हुन् । तर आयआर्जन गर्न न जग्गा छ, न त अन्य कुनै पेशा नै । साँझ बिहानको छाक टार्न यस समुदायका अधिकांश मानिस शारदा नदिको गिट्टीको भर पर्ने गरेका छन् । जनता आवास कार्यक्रममार्फत बनेको घर बाहेक उनीहरूसँग अरु केही छैन ।

शारदा नगरपालिका–१ शान्तिनगरकी २८ वर्षीया दीर्घ बादी बिहान सबेरैदेखि राति अबेरसम्म शारदाको किनारमै भेटिन्छिन् । ट्वाक्क ट्वाक्क हतौडाले ढुंगा फुटाएर गिट्टी कुटेपछि मात्रै उनले साँझ बिहानको छाक टार्न सक्छिन् । कुनैदिन भने नदि किनारको गिट्टीबालुवा सङ्कलनमा व्यस्त हुन्छिन् । दिनभरी गिट्टी कुटेपछि मात्रै बेलुका उनले हातमा पैसा थाप्न पाउछिन र त्यसैले उनले खानेकुरा र अन्य दैनिक आवश्यकताका सामान किनेर घरमा लैजान्छिन् ।

स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएर देशले कोल्टे फेरिसकेपनि उनको दैनिकिले भने कोल्टे फेरेको छैन । निर्वाचनका ताका दिनहुँजसो विभिन्न पार्टीका उम्मेदवार तथा कार्यकर्ता उनले गिट्टी कुट्दै गरेको ठाउँमै पुगेर विभिन्न खालका मिठा आश्वासन पनि दिए । तर चुनावपछि तिनिहरू शारदाको पानी जस्तै कहिल्यै फर्केर नआएको उहाँ बताउनु हुन्छ । नेताहरू भोट माग्न आउने बेला ठुला ठुला आश्वासन दिन्छन्, तर खै हाम्रा दुःखका दिन उस्तै छन् । ‘हामी गरिबको समस्या कस्ले पो बुझी दिन्छ र उहाँले भन्नु भयो, ‘गिट्टीबालुवा सङ्कलन नगरे साँझ बिहानको छाक टार्नै गाह्रो हुन्छ ।’ अन्य आयश्रोत केही पनि छैन् ।

सोही ठाउँकी निर्मला परियारको पनि समस्या उस्तै छ । शारदा नदी किनारमा गिट्टीबालुवा सङ्कलन नगरे उनको घरमा पनि चुलो बल्दैन । ०७४ को स्थानीय तह निर्वाचनमा बादी समुदायका एक घर, एक रोजगारीको नारा ल्याएर आएका नेताहरूले त्यसपछि फर्केर नहेरेको उनको गुनासो छ । स्थानीय सरकार दुई पटक बदलिसके तर खै आफुहरूलाई भने न कसैले रोजगारी दिए न त अरु केहि । कम्तीमा सीपमूलक तालिम दिएको भए पनि आफूहरू आत्मनिर्भर बन्ने उनले बताइन् ।

आफूहरूलाई भने गाँसकै चिन्ता भएको बादी बस्तीकी निर्मला बादीले बताउनुभयो । ‘विगतमा नेताहरूले बारम्बार विपन्नको स्तर उकास्ने भन्ने नारा लगाए, उनले भनिन् ‘तर जितेपछि सबै योजना र बजेट टाढाबाठामा मात्र सीमित गरे । नेताहरूकै बेवास्ताले आफूहरूको आर्थिक अवस्था झनै कमजोर बन्दै गएको उहाँको भनाई छ ।

सबै चुनावमा उम्मेदवारले गर्ने बाचा प्रतिबद्धता र बोलीमा मात्रै सीमित भएको स्थानीय मजदुर कमानसिंह विकले गुनासो गर्नु भयो । स्थानीय तहको पहिलो कार्यकालको बजेट टांठाबाठाले नै रजाँई गरेको उहाँको आरोप छ । ‘दुई पुस्तादेखि पूर्जाविहीन घरमा बस्नुपरेको उहाँको भनाई छ ।

मजदुरी गरेको सालाखाला आठ सय रुपियाँ दैनिक ज्यालाले पाँच जनाको परिवार पाल्नुपरेको उहाँको गुनासो छ । बढ्दो महङ्गी र भन्नेबित्तिकै काम नपाउने समस्याले कतिपय रात भोकभोकै समेत सुत्नु परेको उहाँले दुखेसो गर्नु भयो ।

शारदा नगरपालिका–१ श्रीनगर निवासी लिला थापा पनि शारदा नदि किनारमा बालुवा चाल्दै गरेको भेटिने एक पात्र हुन् । घरायसी तथा व्यक्तिगत खर्च व्यवस्थापनका लागि शारदा नदीको किनारमा बालुवा चाल्ने गरेको उहाँ बताउनु हुन्छ । रोजगारीका अन्य अवसर नभएपछि जीवन निर्वाह गर्नकै लागि बालुवा चाल्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

खोलामा भएका ढुङ्गा, गिट्टी हटाएर बालुवा निकाल्छौँ, पाँच दिनमा एक ट्याक्टर हुन्छ, त्यसलाई २ हजार रुपियाँमा बिक्री गर्छौ । ५ सय रुपियाँ कर तिर्नुपर्छ, बाँकी १ हजार ५ सय रुपियाँ हातमा पर्छ । थापाले भन्नु भयो ‘त्यसैले दैनिक जिवन तथा छोराछोरीको पढाई खर्च जुटाउने गरेकी छु ।

यस्तै कपुरकोट गाउँपालिका–५ रिम घर भएर श्रीनगरमा बस्दै आउनु भएकी बबिता बोहराले २ वर्षदेखि शारदा नदीको छेउमा बालुवा चाल्दै आउनु भएको छ । सानो बच्चासँग श्रीनगर बजारमा मजदुरी गर्न समस्या भएपछि आफूले बालुवा चाल्न लागेको उहाँले बताउनु भयो । ‘रोजगारीको कुनै उपाय नभएपछि बाध्य भएर बिहान ७ बजे खोलामा आउँछु, दिनभर बालुवा जम्मा गरेर बेलुका ५ बजे मात्रै कोठामा जान्छु,उहाँले भन्नु भयो ।

आर्थिक रूपमा बिपन्न हुदाँ रोजगारी पनि नपाइने र दैनिक निर्वाहको लागि अन्य विकल्प नभएपछि साँझ बिहानकै छाक टार्न गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उहाँहरूको भनाई छ ।

केन्द्र, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका रोजगारमुलक कार्यक्रमहरू लक्षित वर्गसम्म नपुग्दा समस्या भएको शारदा नगरपालिका–१ शान्तीनगरकी विमला बादीको दुखेसो छ ।

सरकारी तवरबाट स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नको लागि वार्षिक रूपमा करोडौँ रुपियाँ खर्च भएपनि टाठाबाठाको हातमा मात्रै पर्दा विपन्न परिवारलाई जीवन निर्वाहको लागि घाम पानी नभनेर गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

आर्थिक रूपमा विपन्न हुँदा रोजगारी पनि नपाइने र जीवन निर्वाहको लागि अरू कुनै पनि विकल्प नभएपछि साँझ बिहानको छाक टार्न पनि गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उहाँहरू बताउनु हुन्छ ।
यसरी शारदा नदी र आसपासका खोलाहरूमा गिट्टी कुट्ने र बालुवा चालेर दैनिकी चलाउने परिवारको सङ्ख्या कति छ भन्ने विषयमा समेत एकिन तथ्याङ्क सार्वजनिक भएको छैन ।
विपन्न परिवारलाई रोजगारीमा जोड्न प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरिएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले बताउनु भयो ।

चालु आर्थिक वर्षमा नगरपालिका भित्रका करिब ५ सय जनालाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनु भयो । हामीहरू विपन्न र गरिवलाई कसरी रोजगारका अवसर दिलाउन सकिन्छ भनेर दिनरात लागिपरेका छौँ नगरप्रमुख भण्डारीले भन्नु भयो यसका लागि सबै पक्षले होस्टेमा हैँसे गर्नु जरुरी छ । उहाँहरूको सीप विकासका लागि पनि हामीले केही काम गरिरहेका छौँ उहाँले भन्नु भयो, मैले उहाँहरूलाई कसरी आर्थिक रुपमा माथि उठाउन सकिन्छ भनेर सोचिरहेको छु ।

Salyanphoto20220703 (1) Salyanphoto20220703 (3) Salyanphoto20220703 (3)

- मिना बुढाथोकी