गिट्टी कुटेर नुनतेलको जोहो
हरेक दिनजसो सल्यानको थारमारे–बडागाउँ–चौरजहारी खडकखण्डको थारमारे नजिकै झिरमारे खोलामा एक हुल महिलाहरु भेटिन्छन् । पिठ्यूँमा डोको बोकेका उनीहरुको हातमा कुटो र हथौँडा हुन्छ । नुनतेलको जोहोका लागि ती महिलाहरु हातमा ठेला बसे पनि ढुंगा फोडेर गिट्टी बनाउन ब्यस्त हुन्छन् ।
उनीहरु सडक छेउमा गिट्टी कुटेर बसेको धेरै समय भयो । कोही दुईचार वर्षदेखि गिट्टी कुट्दै आएका छन् भने कोही दुईचार महिनादेखि । ६/७ जनाको समूहले यही गिट्टी कुटेर नुन तेलको जोहो गरिरहेको छ । बागचौर नगरपालिका–२ की केवली बोहरा पनि यही गिट्टी कुट्न आएकी छिन । बिहान साँझ घरको काम गर्ने केवली दिउँसोको समय भने गिट्टी कुटेर बिताइरहेको बताउँछिन । ‘साँझ र बिहान त घरकै काम गर्न ठिक्क हुन्छ’ उनी भन्छिन ‘दिउँसोको समय भने गिट्टी कुट्न आउँछु, सकेसम्म दैनिक आउँछु, एक हप्तासम्म कुट्यो भने एक ट्याक्टर गिट्टी हुन्छ ।’
दैनिक नबिराई ढुंगा कुटे महिनामा चारपाँच ट्याक्टरसम्म गिट्टी बनाउन सकिने अर्का स्थानीय मनकली बुढाथोकी बताउछिन । ‘घरको कामले खासै फुर्सद हुँदैन, कहिलेकाहीं त एक ट्याक्टर गिट्टी बनाउन एक महिनासम्म नि लाग्छ, दिनदिनै आउने हो भने महिनामा चारपाँच ट्याक्टरसम्म बनाउन सकिन्छ’ उनले भनिन ।
गिट्टी कुट्न लागेको धेरै समय भए पनि सोचेअनुसारको मूल्य नपाएको उनीहरु बताउँछन् । अहिले एक ट्याक्टर गिट्टी तीन हजार रुपैयाँमा बिक्री भइरहेको छ । उनीहरुले मासिक न्यूनतम तीन हजार देखि १० हजारसम्म आम्दानी गर्दै आएका छन् । अर्का स्थानीय मैमा बोहराले आफूहरुले कुटेको गिट्टीले भाउ नपाएको दुखेसो गरिन ।
‘दिनभरि बसेर गिट्टी कुट्नुपर्छ, ढाड, हात दुख्छन्, हातमा ठेला नै बसेका छन्, घामपानी भन्नु छैन तर गिट्टीले सोचेजस्तो भाउ पाएन, अहिले सबै चिज महंगो छ, एक ट्याक्टर गिट्टीको भाउ चार हजार / ४ हजार पाँचसय सम्म भए हुन्थ्यो’ उनी थप्छिन ‘सस्तोमा बेचेको गिट्टीको पनि पूरा पैसा आउँदैन, कोही पछि पैसा दिम्ला भनेर लिन्छन् तर दिदैनन् ।’
गिट्टी कुट्ने महिला आफूले गरेको कामप्रति गर्व गर्छन् । उनीहरु लजाउँदैनन् । एक महिलाले भनिन् ‘आफ्नो खाएर काम गर्नु के को लजाउनु । आफू त सानैदेखि दुःख गरेको मान्छे । समयको सदुपयोग पनि हुने कमाइ पनि हुने ।’ उनी थप्छिन् ‘अरुको चोर्नु, अरुलाई ढाँट्न पो लजाउनुपर्छ ।’
धन कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बनाएकाका लागि यहाँका महिला उदाहरणीय बनेका छन् । यहाँ कुटेका गिट्टी थारमारे, बागचौर, पिपलनेटा, दमाचौर, खरिबोट, बांगेलाकुरी हुँदै जिमालीसम्म जाने गरेको छ । गिट्टी कुटेर आएको पैसाले नुन तेलको जोहोदेखि समूहमा किस्ता तिर्नेसम्म पुग्ने गरेको छ । तर गिट्टी कुट्ने काम व्यवस्थित नहुँदा समस्या भएको उनीहरु बताउँछन् ।घरको कामसँगै फुर्सदको समयमा गिट्टी कट्ने उनीहरुले सरकारले स्वरोजगारमूलक कामको व्यवस्था गरिदिए सजिलो हुने बताउँछन् ।
- बुद्धिमान पुन
सम्बन्धित फिचरहरू
बाढीपहिरो पीडितहरूको अवस्था बुझ्न अधिकारकर्मीहरूद्वारा अवलोकन (फोटो फिचर)
इन्सेक, नेपाल शान्ति संस्था र महिला एकता समाजका प्रतिनिधि सम्मिलित एक टोलीले असोज २१ गते काठमाडौँ र ललितपुरमा बाढीपीडितको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको छ । टोलीले काठमाडौँको वङ्शीघाटमा बसोबास…
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
'न सकिन्छ गरी खान, न सकिन्छ मरी जान बुढेसकालैमा हो हो बुढेस कालैमा ।' बुद्धभुमी नगरपालिका–१, पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ ।…
‘यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ?’
‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नपा–११ पात्लेखेतका ५५ वर्षीय शिक्षक सदानन्द धिताल असोज १७…
उज्जवल भविष्यको चिन्तामा अभिभावक विहीन बालबालिका
बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी नौ वर्षीया सोनिया खाम्चाले स्थानीय सिद्धि माविमा कक्षा ४ मा पढ्नुहुन्छ । सोनियाका बुबाको निधन सात वर्ष अघि भइसक्यो । बुबाको निधन भएपछि आमाले पनि अर्कै विवाह…
बुढेसकालमा कष्टकर दैनिकी बिताउँदै दृष्टिबिहीन ज्ञानमति
पिँढीमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । चार/पाँच ओटा मसिना दाउरा संगेलेपछि एउटा हातले दाउरा समाएर अर्को हातले भुइँ छाम्दै घरभित्रको चुलो छेवैमा पुग्नुभयो । सलाइ चुलो छेउमै थियो…