खोप केन्द्र र अस्पतालमासमेत अपनाइँदैन स्वास्थ्य सुरक्षा मापदण्ड

पाल्पा । ०७८ भदौ ४ गते

खोप केन्द्र र अस्पतालमासमेतस्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउदा कोभिड जोखिम बढेको छ । भदौ ४ गते बिहान १० नबज्दै पाल्पा दरबार परिसरमा कोभिड विरूद्धको खोप लगाउनका लागि झण्डै २ सय मानिसहरू भेला भइसकेका थिए ।

खोप लगाउने स्वास्थ्यकर्मीहरू ११ बजेपछि मात्र आइपुगे । खोप लगाउन सुरू गरिएको १ घण्टापछि मात्रै विस्तारै भीड कम भयो । जिल्ला प्रशासन कार्यालय नजिकैको  खोप केन्द्रमा यो दृश्य एउटा प्रतिनिधिमुलक मात्रै हो । यहाँ दैनिक जसो खोप केन्द्रमा यसैगरी मानिसहरूको भीडभाड हुने गरेको छ ।

भदौ ४ गते पाल्पा उद्योग वाणिज्य सङ्घ र पाल्पा व्यापार सङ्घ आवद्ध ५ सय व्यापारीहरूलाई खोप लगाउने निर्धारण गरिएको थियो । जिल्लाभरका ५ सय व्यापारीहरु एकै दिन एकै जसो समयमा खोपका लागि लाइनमा बस्दा थप जोखिम बढेको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत ओमप्रकाश पन्थीले बताउनु भयो ।

तानसेन नगरपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको खोप केन्द्रका लागि फरक फरक स्थानमा खोप लगाउने व्यवस्था मिलाउन सके भीडभाड कम हुने अनुरोध गरिएपनि एकै ठाउँमा खोप केन्द्र तय हुँदा भीडभाड हुने गरेको उहाँले बताउनु भयो ।

इन्सेकको पहलमा गठन गरिएको मानव अधिकार रक्षक सञ्जालका संयोजक भगवान भण्डारीले खोप केन्द्र व्यवस्थित गर्न नसक्दा कोभिड फैलने डर बढेको बताउनु भयो ।

अस्पतालमा रेफर लिनेको उस्तै भीड

पाल्पामा निषेध आदेश  जारी नै छ । स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक भीडभाड नगर्न र हिडड्लु गर्न आग्रह गर्दै आएको छ तर पाल्पा अस्पतालमा रेफर लेटर बनाउनकै लागि दैनिक ६ सय जनासम्मको भीड लाग्ने गर्दछ । सरकारको अव्यवहारिक निर्णयका कारण रेफर लेटर बनाउनकै लागि बिरामीहरू कोभिडको जोखिम मोलेरै अस्पतालमा भीड लाग्ने गरेका छन् ।

पहिलो चरणको कोभिड महामारी सुरू भएपछि थप कोभिड फैलिन सक्ने भन्दै ०७६ चैतबाट २०७७ पुसम्म रेफर लेटर सिस्टम हटाएर  बिरामी सिधै सम्बन्धित अस्पतालमा जान पाउने व्यवस्था मिलाइएको थियो । यो समयमा बिरामीहरूलाई सहज भएको थियो । पुनः २०७७ माघदेखि रेफर सिस्टम अनिवार्य गरिएको छ ।

बिमितले पहिलो पटक सरकारी अस्पताल उपचारका लागि जानुपर्ने र त्यहा“ उपचार सम्भव नभए सरकारी अस्पतालले नै अन्य अस्पतालमा रिफर गर्न पाउने व्यवस्थाका कारण सरकारी अस्पतालमा बिरामीहरूको भीडभाड लाग्ने गरेको हो ।

बिमा कार्डको नम्बर सहित बिरामीको डिटेल कम्प्युटरमा इन्ट्री गर्नुपर्ने भएकोले एक जना बिरामीको नाम दर्ता गर्न कम्तीमा दुई मिनेट समय लाग्छ । अस्पतालमा दुई वटा स्थानबाट बिरामीको नाम दर्ता काम गरिएपनि पर्याप्त हुन सकेको देखिँदैन ।

तानसेन नगरपालिका–३ का यादवराज शर्माले कोभिडको महामारीमा पनि बिरामीहरू यसरी रेफर लेटर लिनकै लागि लाइन बस्नुपर्ने अवस्था दुखद रहेको बताउनु भयो । प्रशासनले भीडभाड नगरौँ भनेको छ तर अस्पतालमा मानिसहरू भीडमा बस्न बाध्य भएका छन् । यो समस्याको तत्काल समाधान हुनु आवश्यक देखिन्छ । उहाँले भन्नुभयो ।

अस्पतालाका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर जगदिश कुँवरले जिल्ला अस्पतालमा दैनिक ६ सय जना सम्म बिरामी आउने गरेको बताउनु भयो ।

जसमध्ये ६० प्रतिशत बढी रेफर लेटर बनाउन आउने गरेको उहाँले बताउनु भयो । ज्येष्ठ नागरिकहरूले जति बेला आएपनि रेफर बनाउन पाउने व्यवस्था मिलाएको र थोरै जनशक्तिले धेरै काम गर्नुपर्दा समस्या भएको उहाँले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले आफु पाल्पा आउने बित्तिकै बिमा समस्या बारे धेरै पटक गुनासो सुन्दै आएको बताउनु भयो । आफुले यसको समाधानका लागि पहल गरिरहेको भएपनि नीतिगत समस्याका कारण कार्यान्वयन गर्न नसकिएको उहाँले बताउनु भयो ।

कोभिडको समयमा अस्पतालमा भीडभाड भएको भन्ने गुनासो आइरहेको छ तर यो बिषयमा सङ्घीय सरकारले नीतिगत व्यवस्था नगर्दासम्म यो समस्या समाधान गर्न नसकिने उहाँले बताउनु भयो ।

photo20210820palpa (1)

photo20210820palpa (2)

photo20210820palpa (3)

photo20210820palpa (4)

photo20210820palpa (5)

- यज्ञमूर्ति तिमिल्सिना