खान पुग्दैन, कसरी पढ्ने !

सुर्खेत । ०७८ फागुन ९ गते

दैलेखको तल्लो डुङ्गेश्वर खोलाको छेउमा सानो झुपडि । त्यही झुपडिमा बस्छन् १२ वर्षीय नविन बादीको परिवार । दैलेखका विभिन्न स्थानमा पुगेर दैनिक मागेर गुजारा टार्छन् उनका बुवा, आमा । परम्परागत पेशा नाँच गान गर्ने, मादल, सुल्पा बनाउने, जाल बुन्ने जस्ता पेशाबाटै विहान बेलुकाको छाक टार्ने र छोराछोरी पढाउने गरेका उनीहरूको पछिल्लो समय पुर्खेउली पेशाबाट जीवीका चलाउनै मुश्किल बन्दै गएको छ ।

आम्दानीको स्रोत नभएपछि नविनका बुवा, आमा नबिनलाई लिएर रोजगारीका लागि ०७८ असार अन्तिम साता सुर्खेत हुदैँ भारतको यात्रा तय गरे । कक्षा पाँचमा पढ्दै गरेका नविन बुवा आमासँगै जाँदै गर्दा बादी समुदायका अगुवा हिक्मत बादीले सुर्खेतमै रोक्नुभयो । बुवा र आमा मजदुरी गर्न भारततर्फ लाग्नुभयो भने, नविन अहिले वीरेन्द्रनगरस्थित एक होस्टेलमा भाइ र बहिनीसँगै बसिरहेका छन् ।

घरमा साँझ बिहान हातमुख जोड्न नपाएपछि आफूबा’आमासँगै भारत जान तयार भएको बेला भविष््य नबिग्रीयोस भनेर हिक्मतले सुर्खेतमै राखेको नबिनको भनाइ छ ।

नविन जस्तै तल्लो डुङ्गेश्वरकै कमला वादीलाई पनि परिवारले मुश्किलले कक्षा १० सम्म पढाए । खान नपुग्ने भएपछि बुवा आमा अहिले पनि मजदुरी गर्न भारतमै हुनुहुन्छ । ‘मुश्किलले १० कक्षासम्म पढाउनु भयो, अनि बुवा आमा इण्डीया जानुभयो’ कमला भन्नुहन्छ,–‘सुर्खेतमा पढ्ने भनेर बसेको करिव एक वर्ष हुनथाल्यो, कसैले पढादिएको भए हुन्थ्यो ।’ कमलालाई सानैदेखि डाक्टर बन्ने धोको थियो । बुवा आमाको आर्थिक अवस्था कमजोर हुँदा डाक्टर त के १० कक्षा पास गर्नसक्ने स्थिती बनेन ।

नविन र कमला जस्तै दैलेख, कालिकोट, सल्यान, जाजरकोट, सुर्खेत लगायतका बादी समुदायका विद्यालय जाने उमेर समूहका एक सय २० जना बढी बालबालिका आफ्नो पढाइलाई निरन्तरता दिने सपना लिएर वीरेन्द्रनगरमा भाडाको घरमा बस्दै आएका छन् । बादी सरोकार मञ्चले वीरेन्द्रनगर–१० खजुरास्थित नीजि भवन भाडामा लिएर बालबालिकाको बस्ने र खाने व्यवस्थापन गर्दै आएको छ । सात महिनादेखि बस्दै आएका प्रदेशका विभिन्न जिल्लाका बादी बालबालिकालाई अहिले थप समस्या हुँदा दाताहरू गुहार्दै आएका छन् ।

‘गाउँमा रोजगारी र खेती गर्ने जमिन नहँुदा रोजगारी गर्न अविभावक भारत लगायतका स्थानमा जानुपर्ने अवस्था छ, पढ्ने उमेरका बालबालिकाको भविष्य नबिगारौँ भनेर व्यक्तिगत खर्चमा मैले बालबालिकाहरू यहाँ राखेको छु’ मञ्चका अध्यक्ष हिक्मतले भन्नुभयो,–‘लामो समय भैसक्यो, भाडामा घर लिएर राखेका छौँ, के खाने, कसरी सुताउने समस्या भएको छ ।’

Photo 20220221Skt 1

बालबालिकाको खानपिन र बसोवासका लागि प्रदेश अस्पतालमा कार्यरत डाक्टर नवराज केसीले प्रदेश अस्पतालबाट आउने मासिक रूपमा सहयोग गर्दै आएका छन् । बालबालिकाको खान र बस्नका लागि सहज होस्भनेर सहयोग गरेको बताउँदै डा.केसीले भन्नुभयो, –‘बालबालिकाको अवस्था निकै दयनिय छ, मैले ठूलो सहयोग गर्न नसकेपनि आफूले पाउने पारिश्रमिक वापत केहि रकम उनीहरूको खान र बस्नका लागि सहज होस् भनेर सहयोग गरिरहेको छु ।’बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि क्रियाशिल सामाजिक संघ, संस्था तथा व्यक्तिहरूलाई सहयोग गर्न उहाँको आग्रह छ ।

त्यस्तै, मञ्चका अध्यक्ष बादीले पनि अन्य विभिन्न सामाजिक संघ संस्थालाई पनि सहयोग गर्न अनुरोध गर्नुभएको छ । बालबालिकाको अध्ययन, अध्यापनका लागि थप सहयोगिहरूको सहयोग आवश्यक रहेको उहाँले सुनाउनुभयो । ‘खाने र बस्ने खर्च जुटाउनै मुश्किल भइरहेको छ, कहाँ पढाउने, पोषक, कापि कलम कसरी व्यवस्थापन गर्ने एकदमै समस्या छ’ उहाँले भन्नुभयो । बालबालिकाको पढाई, लेखाइका लागि प्रदेश सरकारसँग जाँदा आश्वासन बाहेक ठोस काम हुन नसकेको बादी समुदायका अगुवाको दुःखेसो छ ।

मादल, सुल्पा बनाउने, जाल बुन्ने माछा मार्ने/बेच्ने, नाँच गान गर्ने गाउँघुम्दै मागेर जीविकोपार्जन गर्ने जस्ता पुर्खेउली पेशा अहिले सङ्कटमा छन् । न उनीहरूसँग खेती गर्न जमिन छ, न रोजगारी । जसले गर्दा पनि पढाउन त परको कुरा उनीहरूलाई हात मुख जोड्नसम्म मुश्किल छ । त्यसैले कर्णालीका विभिन्न जिल्लाका बादी समुदायले ०७७ फागुनमा १७ दिन प्रदेश सरकारको दैलोमा धर्ना दिएका थिए ।

घरघडेरी र खेतीयोग्य जमिनको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि खुला चौरमा धर्ना दिएका बादी समुदाय र प्रदेश सरकारबीच पाँच बुँदे सहमति गरेका थिए । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म झिटी गुन्टा लिएर आन्दोलनमा उत्रिएका बादी समुदायसँग त्यति बेला प्रदेश सरकारले दुई महिना भित्र यथार्थ परक प्रतिवेदन पेश गर्न तीन सदस्यीय कार्यदल गठन गर्ने, शिक्षामा सहुलियत तथा उद्यम गर्ने युवाहरूलाई ऋणमा व्याज अनुदान लगायतका सहमति भएको थियो । सहमतिमा बादी समुदायको बालबालिकाको शिक्षा दिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भनिए पनि सहमति एक वर्ष हुँदासमेत पनि कार्यान्वयन हुन नसक्दा समस्या जस्ताको तस्तै रहेको बादी समुदायको गुनासो छ ।

‘दुई महिना भित्रै हामीलाई सत्य तथ्य प्रतिवेदन पेश गरेर बादी समुदायको माग विशेष गरी बालबालिकाको शिक्षालाई पहिलो प्राथमिकता भनेर सहमति भएको हो’ उहाँले भन्नुभयो,–‘अहिलेसम्म प्रदेश सरकारले कार्यान्वयनमा कुनै चासो देखाएको छैन्, हामी पटक पटक भेटन् पुग्दा गर्छाैं, गर्छांै मात्रै भन्नुहुन्छ काम सुरू नै भएको छैन् ।’ अहिले शिक्षाको काम स्थानीय तहले हेर्ने हुँदा प्रदेशसँग कुनै कार्यक्रम नभएको शिक्षा विकास निर्देशनालयको भनाइ छ । ‘शिक्षाको सबै काम स्थानीय तहमा हुन्छ, त्यसो भएर प्रदेशले भवनहरू बनाउने, केही छात्रवृत्तिबाहेक अन्य त्यस्तो कुनै कार्यक्रम छैन्’ शिक्षा विकास निमित्त निर्देशक दिपा हमालले भन्नु भयो ।

Photo 20220221Skt 2

यता, प्रदेश सरकारले बादी समुदायको माग सम्बोधनका लागि पहल भइरहेको जनाएको छ । जमिन उपलब्ध गराउने बाहेक अन्य मागहरू कार्यान्वयनको चरणमा रहेको आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिनुभयो ।
‘खाना, नाना र छाना कार्यक्रम अन्र्तगत बादी समुदायको मागलाई सम्बोधन गर्ने गरी काम अघिबढाएका छौँ’ उहाँले भन्नुभयो,–‘खेतीयोग्य जमिन उपलब्ध गराउने विषय प्रदेशमा अधिकार नहुँदा संघीय सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।’

- पूर्णबहादुर खड्का