खानेपानीको लागि हारगुहार गर्दै रेक्चावासी !
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिव ९० किलोमिटर पश्चिम पहाडको खोचमा सुनसान अनि रमणीय, पहाडको काखैमा एउटा सुन्दर बस्ती छ । बस्ती सुन्दर भए पनि सदियौँदेखि पानीको अभाव झेल्दै आएको छ । त्यो बस्ती हो, चौकुने गाउँपालिका–५ को रेक्चा । यो बस्तीले सदियौँदेखि पानीको अभाव झेलिरहेको छ । पानीकै अभावमा प्रत्येक वर्ष यहाँको बस्ती बसाइँसराई हुँदै आएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य र कृषिमा समेत प्रत्यक्ष प्रभाव परेको छ । पानीकै अभावमा बस्ती नजिकै भएका बोटबिरुवा पनि सुकेका छन् ।
सुन्दर ठाउँ भए पनि सदियौँदेखि पानीको अभाव यो बस्तीले झेल्दै आएको छ । यहाँको पानीको मुख्य स्रोत भनेकै आकासे पानी हो । त्यसबाट कुवा र तालमा जम्मा भएको पानीले स्थानीयहरू तिर्खा मेटाउँछन् । जम्मा १८ ओटा कुवामध्ये आठ ओटा कुवा मात्रै व्यवस्थित छन् । अन्य १० कुवा जीर्ण छन् । अहिले वर्षको सिजन भएकोले पानीको समस्या छैन । तर, फागुनदेखि असारसम्म कुवामा मानिसलाई नै प्रर्याप्त पिउने पानी नभएपछि गाई वस्तुले दिनहुँ जसो पानी पिउन नपाउने, नुहाइधुवाईका लागि दुई घण्टा धाउनुपर्ने बाध्यता रेक्चावासीलाई छ ।
चौकीदार लगाएर दुई गाग्री पानीले खाना पकाउने, खाने र शौचालयमा प्रयोग गर्नुपर्ने अवस्था छ । सिचाईंको त कुरै छोडौँ पिउने पानी समेत दुई गाग्री मात्रै मिल्ने गरेका चौकुने गाउँपालिका–५, रेक्चाका वडा सदस्य तथा खानेपानी समस्या समाधान सङ्घर्ष समितिका संयोजक तपेन्द्र बुढाक्षेत्रीले बताउनु भयो ।
‘विवाह, ब्रतबन्ध तथा मृत्यु संस्कारमा मात्रै गाउँको सहमति अनुसार दुई चार गाग्री पानी बढी दिइन्छ । पानीकै अभावमा प्रत्येक वर्ष यहाँको बस्ती बसाइँसराई हुँदै आएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य र कृषिमा समेत प्रत्यक्ष प्रभाव परेको छ । यहाँको समस्या लिएर अदालतसम्म पुग्यौँ । अदालतले पनि खानेपानीको समस्या समाधान गर्न सरोकारवाला निकायलाई आदेश गर्यो तर, अहिलेसम्म त्यो आदेशको कुनै सुनुवाई भएन’ - उहाँले भन्नुभयो ।
अदालतले खानेपानीको व्यवस्था गर्न आदेश दिँदा पनि सम्बन्धीत निकाय बेखबरजस्तै बनेको ७० वर्षीय पदम सिंह बुढाले गुनासो गर्नुभयो । ‘पानी खान पाउँ भनेर हामी अदालतसम्म पनि गयौँ । अदालतले हाम्रो पक्षमा आदेश जारी गर्यो । तर, स्थानीय, प्रदेश सरकार आश्वासन मात्रै दिन्छन् । नागरिकहरू पानीले काकाकुल हुँदा पनि राज्य मुख दर्शक भएको बनेको छ’ - उहाँले भन्नुभयो । पखाला, ज्वरो जस्ता सामान्य बिराम लागेपनि नजिकमा स्वास्थ्य चौकी र एम्बुलेन्स नहुँदा बाहिर डोकामा तीन घण्टा बोक्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
महिनावारीका बेला समेत नुहाउन पानीको समस्या पर्ने गरेको स्थानीय निर्मला जैसीले बताउनु भयो । ‘खडेरीमा महिनावारी भएपछि चार दिनमा मात्रै नुहाउन पानी पाइन्छ । अन्य व्यक्तिले समेत महिनामा दुई बाल्टीले मात्रै एक दिन नुहाउन पाउँछन् । यहाँका नागरिकलाई चैतबाट जेठसम्म पानी ल्याउन तीन घण्टा पैदल हिँडेर रानागैरा र धारापानीसम्म जानुपर्छ’ - उहाँले भन्नुभयो ।
नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारामा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ । त्यस्तै खानेपानी तथा सरफाई ऐन २०७९ को पररच्छेद–२ को (२) उपदफा (१) को (क) मा स्वच्छ खानेपानीमा सबै नागरिकको पहुँचको अधिकारलाई समेत सुनिश्चित गरेको छ । त्यस्तै राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० ले पनि खानेपानी र सरसफाइको अधिकारलाई समेटेको छ । तर, रेक्चाका नागरिकहरू संविधान प्रदत्त अधिकारबाट समेत वञ्चित भएका छन् ।
घट्दो जनसङ्ख्या
पानीकै अभावका कारण उत्पादन हुन छोडेपछि यहाँको बस्ती समेत बसाइसराईं गरेर गाउँ रित्तिन थालेको छ । पाँच वर्ष पहिलेसम्म १ सय ८० घरधुरी भएको रेक्चामा अहिले घटेर ७० मा पुगेको छ । चार वर्षको बिचमा यहाँको आधा सङ्ख्या बसाईँ सरेको वडाको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिले पनि ३ सय जना मतदाता रहेका छन् । नजिकै पानीका स्रोत समेत छैनन् । पानीको समस्याका कै कारण मानिसहरू बस्न नरुचाउने गरेको लक्षिराम बुढाले बताउनु भयो । ‘बाजेका पालादेखि हामीले राम्रो पानी खान पाएका छैनौँ । कुवामा दुई गाग्रीका हिसाबले नापेर पानी खाएका छौँ । २०४८ सालपछिका हरेक निर्वाचनमा नेताहरूले पानी दिने आशा देखाएर हाम्रो मत लिइरहेका छन्' - उहाँले भन्नुभयो । बुढाका अनुसार यहाँका नागरिकहरू बिजौरा, मायाताल, गुटु, वीरेन्द्रनगर र कैलालीमा बसाईँ सरेर गएका छन् ।
घट्दै विद्यार्थी सङ्ख्या
रेक्चाको जनकल्याण आधारभुत विद्यालयमा १० वर्ष पहिलेसम्म ३ सय ५० को हाराहारीमा विद्यार्थी हुन्थे । तर, बसाइसराईंका कारण अहिले ७० जना मात्रै विद्यार्थी रहेका छन् । बालशिक्षामा १० जना र कक्षा १ देखि ८ कक्षासम्म ६० जना मात्रै छन् । विद्यार्थीले समेत पिउने पानी घरबाटै ल्याउनुपर्छ । कुवाबाट ल्याउने पानी हिलो भएका कारण शुद्ध गर्नको लागि कपडाले छानेर पानी पिउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रध्यानाध्यापक लोकराज देवकोटाले बताउनु भयो । ‘यहाँ गरिब र विपन्न समुदायका बालबालिका मात्र अध्ययनरत गर्छन् । ८ कक्षा पास गरेपछि ९ देखि माथि पढ्न गुटु वा बिजौरा भाडामा कोठा लिएर पढ्नुपर्छ । बालशिक्षामा विद्यार्थीको सङ्ख्या बढेपनि माथिल्लो कक्षा गएपछि बसाइँसराईका कारण विद्यार्थी पनि घट्छन् । विद्यालयमा खानेपानी नहुँदा शौचालय प्रयोगविहिन र जीर्ण छ' - उहाँले भन्नुभयो ।
उत्पादनमा ह्रास
समयमा आकासे पानी नपर्दा पहिले जस्तो उत्पादन हुनै छाडेको कृषक उपेन्द्र बहादुर शाहीले बताउनु भयो । ‘जम्मा १५ रोपनी जग्गा छ । पहिला त्यसैले परिवार धान्थ्यो । पछिल्ला वर्षहरूमा त वर्षंभरी खानै पुग्दैन । समयमा पानी नपर्दा गहुँ र मकै लगाउन ढिला हुन्छ । त्यसैले पनि राम्रो उत्पादन हुँदैन । यस वर्ष १५ रोपनीमा सात मुरी मकै मात्रै फल्यो । गहुँ पनि पहिलेजस्तो हुँदैन' - उहाँले भन्नुभयो । १० रोपनी जग्गामा पानी अभावकै कारण उत्पादन हुन छोडेको प्रेम थापाले बताउनु भयो । उहाँले सिजन अनुसार चार मुरी धान, मकै र गहुँ उत्पादन हुँदा चामल किन्नुपर्ने बाध्यता रहेको बताउनु भयो । जग्गामा उत्पादन भएको अन्नले नपुगेपछि बाख्रापाठा बेचेर चामल खानुपरेको उहाँले सुनाउनुभयो । रेक्चाका ७० घरधुरीकै अन्न उत्पादनमा कमी भएपछि किन्नुपर्ने बाध्यता छ । यी सबै घरधुरी पानीको प्रत्यक्ष चपेटामा छन् । गाउँमा बाटो त छ तर, नाम मात्रको बाटो छ । तर, सवारी साधन पुग्दैनन् । ठूला–ठूला मोड र उकालोका कारण बाटो अवस्था पनि दयनीय छ ।
प्रभावकारी भएन सरकारी काम
आर्थिक वर्ष २०७९/८० मा इनारहरूलाई व्यवस्थित गर्न कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ४५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । जसबाट जीर्ण तथा पुराना इनार मर्मत गर्ने र पानी झिक्नका लागि सहज हुने उपकरण जडान गरी इनार बनाइए । तर, उक्त काम पनि प्रभावकारी भएको छैन । कतिपय कुवा फेरि पुरानै अवस्थामा फर्किएका छन् । रेक्चावासीका लागि लिफ्टमार्फत पानी पुर्याउन प्रदेश सरकारको भौत्तिक पूर्वाधार विकास निर्देशनालय र चौकुने गाउँपालिकाको संयुक्त साझोदारीमा २०७७ फागुन २५ गते १ करोड २७ लाखमा ‘रवीन्द्र निर्माण सेवा’ ले ठेक्का लिएको थियो । तर हालसम्म पनि उक्त काम सम्पन्न हुन सकेको छैन ।
सम्झौता अनुसार २०७८ असार २५ गतेसम्म चार महिनामा काम पूरा हुनुपर्ने थियो । ठेक्काको म्याद सकिएको तीन वर्ष हुँदा पनि काम पूरा भएको छैन । काम पूरा नहुँदा हालसम्म बनेका कतिपय संरचनाहरू जीर्ण हुन थालेका छन् । बस्तीदेखि तीन किलोमिटर तल रहेको कर्णाली नदीबाट लिफ्ट खानेपानी आयोजनाका लागि मुहानसम्म विद्युतको ट्रान्सफर्मर पुर्याउने सडक नहुँदा पनि काम अघि बढ्न नसकेको निर्माण कम्पनीले जनाएको छ ।
खानेपानीको माग राख्दै ०८१ जेठ ३२ गते रेक्चावासीले गाउँपालिकामा खाली गाग्री लयाएर धर्ना समेत दिएका थिए । रेक्चावासीलाई पानी दिनका लागि पालिकाले निरन्तर पहल कदमी गरेपनि विद्युत अभावका कारण उद्देश्य पुरा हुन नसकेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनु भयो । ‘रेक्चावासीलाई पानी खुवाउने ठूलो लक्ष्य छ । तर, त्यहाँ पानीको मुहान छैन । नदीबाट पानी माथि ल्याउन विद्युतको आवश्यकता पर्दछ । त्यहाँ आवश्यक पर्ने विद्युत छैन । स्थानीय तहको सिमित स्रोत र साधनले मात्रै खानेपानीको समस्या समाधान गर्न सकिएको छैन । विभिन्न निकायसँग समन्वय गरेर काम भइरहेको छ' - उहाँले भन्नुभयो ।
विदेशी संस्थाको आश
रेक्चाको समस्या समाधान गर्नका लागि हङ्कङ्गको कादुरी नामक संस्थाले डिप बोरिङ्ग मार्फत बनाउने गरी प्रक्रिया अगाडि बढाएको रेक्चा खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष जगत शाहीले बताउनु भयो । संस्थाले स्थानीयको सहभागितामा जनश्रमदान र संस्थाले प्राविधिक, सामग्री र सम्पूर्ण लागत सहयोग गर्ने गरी ०८१ साउन ८ गते सम्झौता भइसकेको छ । ‘सरकारले त केही गर्ला भन्ने आश मरिसकेको छ । कादुरीले आयोजना सम्पन्न गर्ला भन्ने आशा जगाएको छ । तीन वर्षमा काम सक्नेगरी संस्थाले समितिसँग सम्झौता गरेको छ । तर यहाँसम्म आउने सडकको अवस्था राम्रो नभएका कारण तत्कालका लागि काम गर्न सकिएको छैन । ट्याङ्कीका लागि जग्गा स्थानीयले निशुल्क दिइसकेका छन् । ३० टन सामग्री सामग्री ल्याएर आउने बाटोको आवश्यक छ' - उहाँले भन्नुभयो ।
अध्यक्ष शाहीका अनुसार संस्थाले बाटोको जिम्मा स्थानीय र प्रदेश सरकारलाई दिएको छ । तर त्यसमा सरकारले खासै चासो देखाएको छैन । ५ सयदेखि ९ सय मिटरको गहिराईमा ड्रिल गर्ने संस्थाको योजना छ । समयमा नै सडक र बत्तिको समाधान भए काम छिटो हुने उहाँको भनाइ छ ।
- जगतदल जनाला विक
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…