खानी पीडित भन्छन् - बस्न डर छ, छोडेर जाउँ जग्गा जमिन र घर छ ! (फोटो फिचर)
भिरालो ठाउँ, माटोको घर, नौ जनाको परिवार, खेतीपातीले खान नपुग्दा पति र दुई छोरा भारततिर पसेपछि बुहारी, नाति नातिनाको पालन पोषण थेगेर बङ्गलाचुली गाउँपालिका–४, तापाकी ५५ वर्षीया शिवा पुनले आफ्नो भएको आठ/नौ कट्ठा जमिनमा खेतिपाती गर्दै हुनुहुन्छ । वर्षायाम छ । मकै र मकैसँगै रोपिएका तरकारीका झाल स्याहार्दै गर्दा शिवालाई बालीबोटको भन्दा नातिनतिना, बुहारी र आफ्नै बुढ्यौली ज्यानको पीर छ । त्यसैले होला शिवाको ध्यान घरी घरी झण्डै ५ सय मिटर माथिको चुनढुङ्गा खानीतिर छ । खानी उत्खनन् भइरहँदा कति बेला ढुङ्गा खसेर मरिन्छ भन्ने चिन्तामा रहेकी शिवा भन्नुहुन्छ, 'बाचिन्न हजुर ? कति बेला ढुङ्गा खस्छ र च्याप्छ कुनै ठेगान छैन ।'
बङ्गलाचुली गाउँपालिका–४, तापामा घोराही सिमेन्ट उद्योगले विगत १२ वर्षदेखि चुनढुङ्गा उत्खनन् गरिरहेको छ । भिरालो भुगोल, खानी उत्खनन् भइरहेकै ५ सय मिटर तलतिर तल्लो तापामा १ सय ३६ घरधुरीको बस्ती छ । माथि ठूला ठूला मेसिनले ढुङ्गा उत्खनन् गरिरहँदा तलतिरका शिवा पुनजस्तै १ सय ३६ घर परिवार सधैँ कति बेला पहिरो र ढुङ्गा लागेर मरिने हो भन्ने चिन्तामा छन् । माथिबाट खस्ने ढुङ्गाका टुक्राले चोट लागेर अङ्गभङ्गमात्रै होइन ज्यानै जाने हो कि भन्ने त्रासमा रहेका तल्लो तापावासीलाई उत्खनन्ले छिया छिया भएको जमिन ह्वात्तै खसेर बस्ती पुरिने हो कि भन्ने त्रासले सताएको स्थानीय ६६ वर्षीया देवा विकको गुनासो छ ।
उत्खनन् गर्दाको आवाज (ध्वनी प्रदूषण), सुख्खा याममा उड्ने धुलो, जमिन थर्किएर पहिरो आउने जोखिमले तापाबासी बाह्रैमास त्रासमा बाँचिरहेका छन् । खानी उत्खनन्का कारण पहिरो र ढुङ्गा खसेर मर्ने चिन्ता त छँदैछ, तापाबासीलाई अहिले खेतीपातीमै समस्या हुन थालेको छ । उत्खनन्को धुलोले उत्पादनमै ह्रास आएको उनीहरूको गुनासो छ । 'यिनै जग्गा हुन् । पहिले यसैको उत्पादन बेचेर खान्थ्यौँ । अहिले बेसाएर (किनेर) खान्छौँ । बलीनाली नै हुन छोड्यो । के गरेर खाने हो ? तापा गाउँमा चार ओटा खानेपानीका मुल थिए । अहिले सानो धारा चक्रक्क सुक्यो । ठूलो धारामा धमिलो पानी आउन थालेको छ भने दरखोला र कपेरी खोलाको पानीले तापाको तिर्खा मेटिएको छ', तल्लो तापाकी ६६ वर्षीया देवा विकले भन्नुभयो ।
खानी उत्खनन्ले पहाड थर्किएर पानीको स्रोत नै हल्लिएर पतालिएको स्थानीय लोकबहादुर पुनको भनाई छ । उमेरले ६३ वर्ष पुगिसक्नुभयो । छोरा नातिलाई शेष हस्तान्तरण गर्ने बेला पनि भयो तर बङ्गलाचुली गाउँपालिका–४, तापाकी ६३ वर्षीया ओनी घर्तीलाई बाँच्नका लागि बसाईँ सर्नु पर्ने बाध्यता आइलागेको छ । जीवनभर खने, खोस्रेको ठाउँ चुनढङ्गा खानी उत्खनन्को जोखिममा परेपछि जीवनको उत्तरार्धमा ओनीलाई थातथलो छोड्ने अवस्थाले चिन्तित बनाएको छ । पानी सुक्न थाले । खेती हुन छाड्यो । ढुङ्गा खसेर कति बेला मरिन्छ थाहा छैन । ओनीले भन्नुभयो, 'हे भगवान बसी खाने डरै डर छ । छोडी जाउँ भने घर छ । बास छ । कसैले किन्दैन । त्यत्तिकै कसरी छोडौँ ?' तापाबासीले जीवन जोखिममा परेको भन्दै घोराही सिमेन्ट उद्योगसँग मुआब्जा दिएर बस्ती उठाइदिन माग गरेका छन् । तर उद्योगले एकैपटक मुआब्जा दिन नसकिने भन्दै क्रमशः बस्ती उठाउने भनेको छ । घोराही सिमेन्टले माथिल्लो तापा क्षेत्रका २३ घरको झण्डै २ सय रोपनी मुआब्जा दिएर खरिद गरेको पनि छ र अरु विस्तारै तल्लो तापामा पनि मुआब्जा दिने बताएको छ । उद्योगको यो प्रस्ताव तापाबासीलाई मान्य छैन । ढुङ्गा खस्दा होस् वा पहिरो खस्दा अथवा धुलो धुवाँको जोखिम र पानीका मुल सुक्दा समस्या र जोखिम सबैलाई भएकाले एकैपटक सबै बस्ती उठाउनुपर्ने खानी पीडितहरूको माग छ । यही माग लगेर खानी पीडितहरूले बङ्गलाचुली गाउँपालिकाको न्यायिक समितिमा पनि निवेदन दिएका छन् । तर सुनुवाई नभएको पीडितहरूको भनाइ छ ।
बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक भक्तबहादुर जिसी तापाबासी जोखिममा रहेको स्विकार्नुहुन्छ । तर पीडितहरूको माग सम्बोधनका लागि गरिएका प्रयास सफल हुन नसकेको उहाँको भनाइ छ । 'हामी उद्योगसँग निरन्तर समन्वयमा छौँ । तापाबासीको समस्या समाधान गर्ने बारे छलफल भइरहेको छ । सकभर पीडितको माग सम्बोधन गराउँछौ, नभए जनता बचाउनतिर स्थानीय सरकार लाग्छ । खानी बन्द गर्ने निर्णयमा पुग्छौँ', उपाध्यक्ष जिसीले भन्नुभयो । उद्योगले मुआब्जा नदिने, जोखिममात्रै दिँदा तापाबासी मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । यहाँसम्म कि गरी खाने खेत समेत उत्खनन् क्षेत्रको लेदोले पुरिएर स्थानीयको उठिवास लागेको छ । बङ्गलाचुली गाउँपालिका–४, तापाका मिनबहादुर परियारको धान रोपेको दुई विगाह खेत लेदोले पुरिएको छ । त्यस्तै जीवलाल विष्टको एक विगाह, दुर्गाबहादुर विष्टको १० कट्ठा, कर्णबहादुर पुनको तीन कट्ठा, रमेश परियारको पाँच कट्ठा खेतबारी पुरिएको भन्दै क्षतिपूर्तिको माग गर्दै गाउँपालिकामा निवेदन दिएका छन् । खानी क्षेत्रबाट उत्खनन् गरी फालिएको वेस्टेज रुपला खोला र अरङ्खोलाहुँदै पहिरोसहित खेतबारीमा पसेको तापाका बाढीपीडित ५२ वर्षीय भिमबहादुर परियारले बताउनु भयो ।
घोराही सिमेन्ट उद्योले चुनढुङ्गा उत्खनन् गर्ने स्थान बङ्गलाचुली गाउँपालिका–४, तापा क्षेत्र सामुदायिक वन क्षेत्र हो । वडा नं. ३ मा पर्ने जुद्धवीर सामुदायिक वन र वडा नं. ४ मा पर्ने सरस्वती सामुदायिक वनको ३७ हेक्टर वन क्षेत्र मासेर चुनढुङ्गा उत्खनन् गरिएको छ । जहाँ सल्लाका रुखहरू थिए । स्थानीय चरिचरन क्षेत्र समेत रहेको उक्त स्थानमा उत्खनन् थालेपछि चरिचरन नै मासिएको र तापामा गाइपालन नै बन्द भएको बङ्गलाचुली गाउँपालिका–४ का वडा सदस्य दिपक परियारले बताउनु भयो । 'गौचरन मासियो । वन मासियो । खानेपानी मासिँदै छ । धुलो धुवाले बिरामी बढ्दै छन् । चुनढुङ्गा ढुवानी गर्ने टिप्परले दुर्घटना जोखिम बढ्यो । यहाँका छोरी, चेली पनि असुरक्षित भइसके बाबु हामीलाई रातभर निन्द्रा लाग्दैन । जे भयो भयो अब बन्द गराइदिनुस', खानी पीडित ६३ वर्षीया ओनी घर्तीले भन्नुभयो ।
- जयनारायण पुन
सम्बन्धित फिचरहरू
परिपूरणमा स्थानीय सरकारः निःशुल्क स्वास्थ्य बिमा गर्न द्वन्द्वपीडितहरूको माग
जवान छोरा इन्द्रबहादुरलाई २०६० चैत २५ गते सेनाले मारिदिएपछि त्यसै त पीर चिन्ताले गलेका ८० वर्षीय विन्तीराम चौधरी दमले ग्रस्त हुनुहुन्छ । उमेर ढल्कीदै जाँदा सानातिना दुख बिमारले पनि सताइरहन्छन्…
द्वन्द्वपीडित भन्छन् - न्याय पाइएला भन्ने ढुक्क त छैन, तर आशावादी छु !
बुटवल उपमहानगरपालिका–१०, कालिकानगरकी कलावती केसी ५५ वर्षकी हुनुभयो । १४ वर्षको कलिलो उमेरमा कलावतीको विवाह बुटवल उपमहानगरपालिका सूर्यबहादुर केसीसँग भएको थियो । छोरा नजन्मिएपछि जेठी छोरीको विवाह गरेमा छोरा जन्मन्छ…
बेपत्ता पारिएका व्यक्तिको परिवारले भन्नुभयो – हारहड्डी पाए किरिया गर्थेँ !
विवाह गरेको वर्षौँ बित्यो । सन्तान भएनन् । छोरी, छोरा नभए पनि एकले अर्कालाई जोरा त छ नी, भन्दै प्रेमपूर्ण जीवन बिताइरहेका थिए । रोल्पा राङकोट स्थायी घर, तर दाङको…
पुनर्स्थापनाको अभावमा कष्टकर जीवन बाँच्न बाध्य आरक्षपीडित ! (फोटो फिचर)
२०५८ सालमा विस्थापित गरिएका आरक्षपीडितहरुको पुनर्स्थापना नगरिएका कारण खुला आकाशमुनि कष्टकर जीवन जिउन बाध्य भएका छन् । वन्यजन्तुको संरक्षणका लागि २३ वर्ष अगाडि सरकारले तत्कालीन शाही शुक्लाफाँटा आरक्षको क्षेत्र विस्तार…
द्वन्द्वपीडित भन्छन्, 'छाना नभएको घरजस्तै भो हाम्रो जीन्दगी'
बुटवल उपमहानगरपालिका-१० की सरस्वती श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । मध्यम परिवारमा जन्मेकी सरस्वतीको विवाह नवलपरासी जिल्लाको तत्कालीन रामनगर गाविसका कृष्णकुमार श्रेष्ठसँग भएको थियो । विवाह गरेपछि कृष्ण पत्नी, एक…