खतराको सङ्केत मात्रै राखिदिएको भए ...

नन्दराम पौडेल

६ भाद्र ०६२

कपिलवस्तु । जयनगर गाविसस्थित शिवदल गण गोरुसिंह ब्यारेकलाई घेरिएको तारभित्र बाख्रा पसेपछि सोही ब्यारेकको पश्चिम-दक्षिण छेउमा रहेको सुकुम्बासी बस्तीमा बस्ने मंगलसिंह दर्जीकी नौ वर्षीया छोरी तुलसी परियार पनि बाख्रालाई हकार्दै तारभित्र छिरिन् । बाख्रा धपाउँदै गर्दा त्यहाँ राम्रो दाउरा देखी टिप्ने प्रयास मात्र के गरेकी थिइन्, एक्कासी एम्बुस विस्फोट भयो । विष्फोटनका कारण तुलसी गंभीर घाइते भइन् र उनको कम्मरदेखि तलको भाग बमको छर्राले छिया छिया हुन पुग्यो ।

घटना ०६२ बैशाख २५ गते बिहान १० बजेको हो । घाइते तुलसीको एउटा खुट्टा घुँडादेखि तल काम नलाग्ने भएकोले काट्नु पर्‍यो । र्छराले छिया छिया भएको अर्को खुट्टा निको पार्न उनलाई तीन महिनासम्म अस्पतालमा राख्नु परेको थियो । यस अवधिमा ६०-७० हजार रु. खर्च लागेको पीडितका बाबु मंगलसिंह बताउँछन् । "छोरीको उपचार त जिनतिन ऋण गरेर गरेँ । तर साहुको ऋण कसरी तिर्ने चिन्ता छ ।" उनी भन्छन् । सम्पत्तिको नाममा एक कट्ठा ऐलानी जग्गामा खरको झुपडी र तरकारी लगाउने ठाउँबाहेक उनको अरु जग्गा जमिन छैन । अन्य आय श्रोतमा तीनओटा हाँसका पोथी र एउटा कुखुराको पोथी तथा जेठो छोराले चलाउने कपडा सिउने एउटा मेसिन छ । त्यही मेसिनमा दिनभरि नटाँसिए आठजनाको परिवारको बिहान-बेलुकाको छाक र्टर्दैन । यस्तो अवस्था भएकाले औषधि उपचारमा लागेको खर्च वापत लागेको त्यो ऋण तिर्ने उपाय नभएको बताउँछन् अशक्त अवस्थाका ६० वर्षीय मंगलसिंह ।

यस्तो दुखदायी घटना हुँदासमेत उनलाई न सरकारले सहयोग गर्‍यो न अन्य संघ संस्थाले । जिल्ला प्रशासन कार्यालयले त निवेदनसम्म पनि दर्ता गरेन । सरकारका निकायहरूको सुरक्षार्थ एम्बुस राखिएकोमा उनको केही भन्नु छैन, तर यहाँ खतरा छ भनेर लेखिदिएको भए र खतराबाट बालबालिकालाई बचावटका लागि प्रभावकारी उपाय पनि गरेदेखि त्यस्तो दुःखद् घटना हुँदैनथ्यो भन्ने चाहिँ उनलाई लागिरहन्छ । आफ्नी छोरी अपाङ्ग भएकोमा उनी जति पीडित छन्, ब्यारेक नजिकै नजिकै बसोबास गर्ने सुकुम्बासीका अरु कुनै आफन्त भविष्यमा अपाङ्क हुने हुन् कि भन्ने चिन्ता पनि उत्तिकै लागेको छ उनलाई । "कम्तीमा खतराको जनाउ मात्र दिन सके पनि धेरैजना सचेत हुन र जोगिन सक्छन्, त्यसैले सुरक्षाफौजले यस कुरालाई ध्यान दिए हुन्थ्यो ।", उनी भन्छन्।

-