कोभिड परीक्षण गर्न घण्टौँ लाइन (फोटो फिचर)

बैतडी / ०७८ असार २३ गते

पछिल्लो समय नेपाल सरकारले परीक्षणको दायरा घटाउन निर्देशन दिएपछि जिल्ला अस्पताल, बैतडीमा कोभिड–१९ को परीक्षण गर्नेको सङ्ख्यामा अत्याधिक बृद्धि भएको छ । नेपाल–भारत सिमानाका जुलाघाट र पाटन नगरपालिकाको खोड्पेमा गर्दै आएको एन्टिजीन परीक्षणको मात्रा घटाएपछि जिल्ला अस्पतालमा परीक्षण गराउनेको चाप बढेको जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अन्त ठाउँमा हुने परीक्षण घटेपछि यहाँ आउनेहरुको सङ्ख्या उल्लेख्य भएपछि भिड बढेको हो ।’अहिले तीन / चार घण्टा लाइन बसेर मात्रै कोभिड परीक्षण हुने गरेको सेवाग्राही धिरेन्द्र चन्दले गुनासो गर्नु भयो ।
रोजगारीका लागि भारत जाने नेपाली नागरिकको यसअघि सिमानाकामा एन्टिजीन बिधिबाट कोभिड–१९ को परीक्षण हुँदै आएको थियो । तर, अहिले उक्त परीक्षण नहुँदा समस्या भएको हो ।
भारतले कोभिड–१९ को नेगेटिभ रिपोर्ट प्रमाणित भएपछि मात्र आफ्नो देश भित्रिन दिने नियम बनाएपछि रोजगारीका लागि भारत गएका नागरिकहरु अलपत्र परेपछि अहिले दुई दिन जिल्ला सदरमुकाममा बसेर भएपनि कोभिड–१९ को परीक्षण गरेर मात्रै भारत जाने गरेका छन् ।
गाउँमा कुनै रोजगारी नभएपछि रोजगारीका लागि भारत जानेहरुले अनिवार्य कोभिड परीक्षण गर्नु पर्ने भएकाले जिल्ला अस्पतालमा भीड बढेको हो ।
भारत जान कोभिड परीक्षण गर्न जिल्ला अस्पतालमा आएका बझाङका हरीस बोहराले भने ‘पहिले नाकामै परीक्षण हुन्थ्यो । १५ मिनेटमै रिपोर्ट पाइन्थ्यो तर अहिले दुई दिन लगाएर जिल्ला अस्पतालमा आएर कोभिड परीक्षण गर्नु पर्ने बाध्यता छ । घरबाट रिन काढेको पैसा सबै सकियो ।’
अहिले जिल्ला अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न आउने ७५ प्रतिशतभन्दा बढी रोजगारीका लागि भारत जाने युवाहरु रहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनु भयो ।

photo20210707baitadi (7)

photo20210707baitadi (6)

photo20210707baitadi (5)

photo20210707baitadi (4)

photo20210707baitadi (3)

photo20210707baitadi (2)

photo20210707baitadi (1)

- नरी बडु