के हामीले साच्चै अब पढ्न नपाउने नै हौं त ?
प्रकाश चन्द्र भट्टराई
एउटा कोठामा १५ जना जति १२/१५ वर्षीय बालबालिका मुढा बुन्न सिक्दैछन् । ती बालबालिका आफ्नो सोखका लागि यो तालिम लिइरहेका छैनन् । कलम समाउने उमेरमा बाँसका खवटा र हँसिया समाउनु उनीहरुको बाध्यता हो किनकि यी तालिमे सबै आफ्ना बाबुआमा एचआईभी एड्सबाट पीडित भएपछि शिक्षाको उज्यालो घामबाट वञ्चित भएका बालबालिका हुन् ।
तनहुँका करिब २ सय ५० जना बालबालिका घरको न्युन आर्थिक अवस्थाको कारण उनीहरु अध्ययन गर्नबाट वञ्चित भएका छन् । विद्यालय छुटेपछि आर्थिक उपार्जनका लागि उनीहरुले मुढा बुन्ने तालीम लिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यलयको प्राविधिक सहयोगमा तनहुँ सहयोगी समूहले ती बालबालिकालाई एक हप्ते मुढा बुन्ने तालीम दिएको हो ।
तालिमे बालबालिकामा अधिकांश ग्रामीण क्षेत्रका न्यून आय भएका व्यक्तिका छोराछोरी रहेका छन् । एचआईभी एड्स प्रभावितहरुको हकहितको लागि विगत केही समयदेखि तनहुँमा काम गरिरहेको गैरसरकारी संस्था तनहुँ सहयोगी समूहकी अध्यक्ष तारादेवी थापाका अनुसार यसरी पढाइ छाड्नेमा १२ देखि १५ वर्षउमेरका बालबालिका रहेका छन् । पढाइ छाडेकामध्ये धेरै बालबालिकाको बुवाआमामध्ये एक जनाको मृत्यु भएको पनि थापाले बताइन् । बाबुआमाले नियमितरुपमा औषधि खानु परेको कारण आर्थिक अवस्था कमजोर भएको र काम गर्न नसक्ने अवस्था भएपछि छोराछोरीले बीचमै पढाइ छाड्नुपरेको थापाले बताइन् । उनका अनुसार जिल्लामा अध्ययनबाट वञ्चित भएका यस किसिमका बालबालिकाको संख्या करिब २ सय ५० जति रहेको छ ।
थापाका अनुसार व्यास नगरपालिकाका अतिरिक्त काहुँशिवपुर, भिरकोट, वैदी, राम्जाकोट, ऋषिङरानीपोखरी,कोटदरवार, फिरफिरे, ढोरफिर्दि, केशवटार, दुलेगौंडा लगायतका करिब १ दर्जन गाविसमा बढी मात्रामा एचआईभी एड्सबाट प्रभावित व्यक्तिहरु रहेका छन् । न्यून आय भएका ग्रामीण क्षेत्रका कतिपय व्यक्तिहरु रोजगारीको लागि भारत लगायतका मुलुकमा जाने र फर्केर आउँदा एचआईभी संक्रमित भएर आउने अध्यक्ष थापाले बताइन् । समूहको तथ्याङ्क अनुसार एड्स संक्रमित हुनेमा प्राय दलित र जनजातिका व्यक्तिहरु रहेका छन् ।
पढाइ छाडेका वालवालिकामध्ये अधिकांशले अभिभावकले काम गर्न नसक्ने र घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएको कारण पढाइ बीचमै छाड्नुपरेको बताए । 'पढ्न मन त लाग्छ तर के गर्ने' घरको स्थिति नै छैन' मुढा बनाउने तालिम लिन दमौली आएकी व्यास न.पा.-९, अधेरीभञ्ज्याङकी १४ वर्षीय लक्ष्मी परियारले भनिन्- '६ कक्षामा पढ्दै थिएँ, बुवा बिरामी हुनुभयो, बुबालाई सधै औषधि खुवाउने परेपछि घरको पैसा सकियो, आम्दानी गर्ने बुवा नै थला परेपछि खानलाउन नै समस्या पर्यो, त्यसपछि बाध्यताले पढाइ छोड्नुपर्यो ।'
उनको जस्तै अवस्था सबै बालबालिकाको छ । काहु“शिवपुर गाविस-४, चारघरेकी वालकुमारी थापाको त एड्सबाट बुबाको मृत्यु भइसकेको छ । उनले तीन वर्षघि नै ४ कक्षामा पढ्दा पढ्दै छाडेको बताइन् । 'बुवालाई एड्स लागेपछि आमालाई पनि सर्यो, आमा औषधि खाँदै हुनुहुन्छ' थापाले भनिन्-'पढ्न पाए त हुन्थ्यो के गर्ने घरको अवस्थाको कारण पाइएन' घरमा काम गर्ने कोही छैन ।' उनी आफ्नो परिवारमा परेको पीडा अझ कोट्याउँछिन् र भन्छिन् '८ वर्षो भाइ अहिले १ कक्षामा पढ्दैछ, मैलै सके भने भाइलाई पढाउने छु नत्र भाइलाई पनि छोडाउनुपर्ने हुन्छ ।'
शिक्षा लिन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो भन्ने कुरा त सामान्य रुपमा थाहा छ उनीहरुलाई तर के गर्नु अधिकारभन्दा बढी बाध्यताले बाँधेको उनीहरु सबैलाई । बालबालिकाको लागि प्रत्येक वर्षसरकारले निशुल्क शिक्षा दिइएको छ भन्छ सरकारले तर उनीहरुसँग विद्यालयमा उठाउने भर्ना शुल्क र परीक्षा शुल्क तिर्नेसम्मको पैसा पनि छैन । ती बालबालिका भन्छन्- सरकारले निशुल्क पढाउने भनेर के गर्ने - निजी स्रोतमा राखेका शिक्षकलाई तलब खुवाउन भनेर स्कुलले समयसमयमा शुल्क उठाउने गर्छ । त्यही शुल्क तिर्न सक्ने अवस्था पनि छैन उनका अविभावकसँग । समूहका अध्यक्ष थापा अनुसार पढाइ छोडेका बालबालिकालाई पढाउने व्यवस्था गर्न सो संस्थाले नसक्ने बाध्यात्मक अवस्था सुनाउँछिन् ।
बाल श्रम निर्मुलीकरणको अभियान सञ्चालन भएको अवस्थामा यस प्रकारका शिक्षाबाट वञ्चित भएका बालबालिकाको एउटै मात्र उपाय भनेको बाल श्रम नै हो । थापाका अनुसार पढाइ छाडेका वालवालिका प्रायःले बाल श्रम गर्न बाध्य भएका छन् ।"यसले गर्दा दमौली बजार लगायत शहरी क्षेत्रमा बालश्रमीकको अवस्थामा बृद्धि भएको छ" भन्छन् जिल्ला बाल कल्याण समितिका कार्यक्रम अधिकृत बरुण पौडेल ।
आधिकारीक तथ्याङ्क त कसैसँग छैन एड्स संक्रमित आमा बाट जन्मेका कतिपय बालबालिकाहरु बर्षदिन पनि नकाट्दै मृत्युको मुखमा पुगेको समूहकी अध्यक्ष थापा दाबी गर्छिन । सो संस्थाको तथ्याङ्कलाई हेने हो भने अझै करिब ५० जना बालबालिका एड्सबाट पीडित छन् । अझ एउटा डरलाग्दो तथ्य त के छ भने सन् २००७ को अवधिमा मात्रै तनहुँ जिल्लामा करिब १ दर्जन बालवालिकाको एचआईभी एड्सको कारण मृत्यु भएको समूहको तथ्याङ्कमा छ ।
तर जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख डा.इश्वरी प्रसाद अधिकारी उक्त समूहको तथ्याङ्कसँग असहमत छन् । उनी भन्छन् "एड्सले सक्रंमण गर्नको लागी कम्तीमा पनि १० वर्षलाग्दछ त्यो भन्दा गगाडी कोही पनि एड्सको कारण मर्ने सम्भावना हुँदैन ।" सम्बन्धित निकायको आधिकारिक भनाइ जे भए पनि बालबालिकाहरु पनि एड्सबाट पीडित भएको चाँहि सत्य हो । अनि पढ्न नपाएर श्रम गर्न बाध्य भएका बालबालिकाको तथ्याङ्क पनि सत्य हो । बर्षनी बालबालिकाका लागि काम गर्ने भनेर थुप्रै गैरसरकारी संस्थाहरु कार्यक्रम लिएर जिल्लामा आँउछन् तर अध्ययनबाट वञ्चित यस्ता बालबालिकाको लागि मन फुकाएर काम गर्ने कुनै भेटिदैनन् । यस्तो अवस्थामा ती बालबालिकाले भने झै उनीहरुले पढ्न पाउने दिन कहिल्यै आउला जस्तो लाग्दैन र सँगै तिनको भविष्य उज्यालो बनाउने मौका पनि ।
तनहुँ । ०६४ पुस
-
सम्बन्धित फिचरहरू
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…
बीस वर्षदेखि छोराको प्रतिक्षामा छन् बेपत्ता पारिएका व्यक्तिका परिवार
छोरो बेपत्ता परिएको २० वर्ष भयो । तर पनि अझै मानबहादुर र धनकुमारी मगर भने छोरोको प्रतीक्षामा नै हुनुहुन्छ । रामेछापको सुनापति गाउँपालिका-३, हिलेदेवीका राजकुमार थापा मगरलाई सशस्त्र द्वन्द्वको बेलामा…
समस्यामा भूकम्प प्रभावित : ‘घरले थिच्यो ,भाग्यले बाँचियो’
दार्मा गाउँपालिका–२ लिरापाजाका हर्कु खत्री उमेरले ८१ वर्षको हुनुभयो । घरायसी काम गर्न नसकेपनि उहाँले वरपर गर्ने, घरको देखदेख गर्ने, नातिनातिनाको रेखदेख गर्ने गर्नुहुन्छ । उहाँका कान्छा छोरा टेक बहादुर…