कृषि श्रमिकको पीडाः दिनभरी काम गरे पनि जीविका चलाउनै धौ धौ
कालिका गाउँपालिका-३ का भीमबहादुर मगर खेतीकै काममा दिन बिताउँछन् । अचेल कृषि श्रमले जीवीका धन्न मुस्किल हुन थालेको छ । उहाँहरू मात्र होइन धेरैले कृषिमा श्रम गरेर जीवीका धान्न निकै कठिन हुन थालेको छ ।
जग्गाको खण्डिकरणले टुक्रा टुक्रा भएको छ भने खेतीपाती वन्यजन्तुले नष्ट गरिदिएको कारण उत्पादन हुन छाडेको छ । गाउँघरमा अहिले दिनभर बाँदर आतङ्क हुन्छ । खेतीबाली जोगाउन निकै हम्मे हुन्छ ।
भीमहादुर मगरले भन्नुभयो, 'बिहानदेखि साँझ नपरेसम्म बाँदरले हैरानी दिन्छ राती, दुम्सी, भालुलगायतका जङ्गली जनावरले मकै खाएर हैरान परेको छ ।' गाउँगाउँमा भालुलगायत जङ्गली वन्यजन्तुको आक्रमण बढेको छ । वन्यजन्तुबाट हुने क्षति बढ्दै गएको छ ।
'गाउँमा के काम गर्ने ? कृषि गर्नुको विकल्प छैन । कि त बस्ती नै छोडेर हिँड्नुपर्यो', स्थानीय निमा लामाले भन्नुभयो । सरकारले जग्गा बाँझो राख्न नदिने नीतिलाई बाँदर आतङ्कका कारण चुनौती सिर्जना गरेको छ ।
आजभोली बाँदरले खेतीबाली मात्र नभई मानिसमाथि पनि सङ्गठित रुपमा घेरा हल्न थालेको छु, उत्तरगया गाउँपालिका-४ का ५८ वर्षीय कृष्णप्रसाद आचार्यले भन्नुभयो । पहिले जङ्गलमा बाँदरको आहारा प्रसस्त पाइन्थ्यो अहिले जङ्गलमा खानेकुरा नपाउने र गाउँमा पनि बोट बिरुवा हुर्केर जङ्गल जस्तै भएकोले बाँदर गाउँमा पसेको हो । आचार्यले भन्नुभयो, 'बाँदरले घेरा हालेर मार्न खोज्यो म बारीमा घाँस काट्न गएको थिएँ साथमा खुर्पा थियो र आफ्नो ज्यान बल्ल तल्ल बचाएर भागेँ, अब एक्लै गाउँमा हिँड्न पनि नसक्ने भयो ।'
उत्तरगया गाउँपालिका-४ की मिठुमाया तामाङ कृषि श्रमिक हुनुहुन्छ । पुखौँदेखि चलिआएको परम्परागत खेतीबाट अहिले परिवार पाल्न धौ धौ छ । वर्ष दिनसम्म मरिमेटेर खेती गरेपनि ५/६ महिना मुस्किलले जीविका चल्ने गर्थ्यो अब त एक महिना पनि चल्दैन ।
लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र भएकोले वन, वन्यजन्तु र वनस्पति संरक्षणको मात्र एकोहोरो कुरा गर्ने गरेकोले महिला श्रमिकले जीविका चलाउन कठिन हुने गरेको स्थानीय मिठु तामाङको भनाइ छ ।
यस अघि यही जमिनमा आश्रित भएर बाँचेका र अहिले फल्न नपाइ वन्यजन्तुले खेतबारीको अनाज नास्ने काराण जीविका चलाउन नसेकेर बसाइ सराइ गर्नु पर्ने अवस्था आएको तामाङले बताउनु भयो । पटक पटक लाङटाङ राष्ट्रिय निकुञ्ज र कालिकास्थान पोष्टमा भाएपनि सुनुवाइ नभएको उहाँले उल्लेख गर्नुभयो ।
नौकुण्ड गाउँपालिकाको आरुखर्कमा गत वर्ष भालुको आक्रमणमा परेर तीन जना गम्भीर घाइते भए । जङ्गली जनावर भालु, मृग, घोरल, बाँदरले खेतीबाली नष्ट गर्ने गरेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङले बताउनु भयो । भालुको आक्रमणबाट तीन जना घाइते भए । उनिहरूको उपचार राजधानीको अस्पताल भयो ।
त्यसैगरी आमाछोदिङमो गाउँपालिकामा एक महिला भालुको आक्रमणमा परेर घाइते हुनुभयो । गाउँमा अहिले जङ्गली जनावरको आक्रमण बढ्दै छ । घरभित्र राखिएको अन्नसमेत बाँदरले क्षति गरेपछि कृषक लामो समयदेखि यस्तो समाधानको खोजीमा छन् ।
आमाछोदिङमो गाउँपालिका-२ की ३९ वर्षीया भेलमेन्दो तामाङ गिट्टी कुटेर जीविका चलाउनुहुन्छ । उहाँ कृषि श्रमबाट जीवन नधान्ने भएपछि नजिकैको जलविद्युत आयोजनाका लागि गिट्टी कुट्ने काममा लाग्नुभएको हो ।
खेतीपातीकै कामले उत्तरगया गाउँपालिका-३ की सिता विकलाइ दिनहुँ भ्याइनभ्याइ हुन्छ । तर वर्षभरी गरेको दुःखले तीन/चार महिना पनि खान पुग्दैन । ज्याला मजदुरीले नुनतेल, चामल र घर खर्च चलाउनु पर्छ । उहाँ ढुङ्गा फुटाउन र गिट्टी कुट्ने काम पनि गर्नुहुन्छ ।
भेलमेन्दोले गिट्टी कुट्न थालेको पनि धेरै वर्ष बिते । महिनामा उहाँले कमाउने १०/११ हजार रुपियाँले तीन छोराछोरी पढाउन, नुनतेल, दाल चामल जुटाउन हम्मे पर्छ । कहिले त गिट्टीको भाउ आउँदैन ।
खेतीमा बँदेल, भालु, बाँदर जस्ता जङ्गली जनावरले हैरान परेपछि अहिले खेती छाडेर श्रम बेच्न गिट्टी कुट्न थाल्नुभएको हो । उहाँले भन्नुभयो, 'दिनभर बाँदर रातभर अन्य वन्यजन्तुले खेतीबाली नष्ट गर्ने भएपछि विकल्प नदेखेर खेती गर्न छाडेको हो ।' अब किसानले खेतीपाती छाड्नुको कुनै बिकल्प छैन ।
गोसाइँकुण्ड गाउँपालिका-५, ब्राबलका कृषक ढिण्डुप लामाले भन्नुभयो, 'गाउँमा दुम्सी, बाँदर, मृग, भालु, बँदेल, जस्ता वन्यजन्तुले बालीनाली खाने, नष्ट पार्ने गरेपछि स्थानीयहरू चिन्तामा छन् ।' वन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नु पर्ने भए पनि वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको उहाँले बताउनु भयो ।
वन्यजन्तुबाट पीडित किसानलाई राहत वितरण सुरु भयो । बाँदरले क्षति गरेको भन्ने धेरै गुनासो आउँछ तर नीतिले हामी केही गर्न सक्दैनौँ उहाँले भन्नुभयो । सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, निर्देशिका परिमार्जन गरी मानवीय, पशुधन, घरगोठ, भण्डारणमा गरेको अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन, २०७४) अनुसार राहत वितरण गर्ने काम भइरहेको छ । वन्यजन्तुले क्षति गरे अनुसार क्षतिपुर्ति दिन सकिँदैन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षयकोषको ब्याजबाट राहत वितरण गरिएको निकुञ्जले जनाएको छ । वन्यजन्तुले मान्छेलाई आक्रमण गर्ने, घर पालुवा पशुलाई मार्ने तथा अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् ।
हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जङ्गली बदेल, ध्वासे चितुवा, जङ्गली कुकुर, अर्ना, मगर गोही, गौरीगाई र अजिङ्गरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था छ । २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो ।
मुलुकमा २०७२ सालमा नयाँ संविधान बने पनि पुरानै वन ऐन परिमार्जन नभएका कारण समस्या रहेको छ । निकुञ्जको वन्यजन्तुको मात्र संरक्षण गर्ने कानुन छ । मानवको जीविकाको अधिकार बारे सरकारको ध्यान छैन । आर्थिक तथा सामाजिक अधिकार प्रभावित भएको गोसाइकुण्ड गाउँपालिका-५ की नोर्साङ तामाङले बताउनु भयो । 'पञ्चायतकालीन वन र निकुञ्ज ऐन र नियम अझैसम्म छ, हामीले कसरी लोकतन्त्रको अनुभूति गर्ने र ? हाम्रो बस्ती सार्नु पर्यो कि वन्यजन्तु मात्र संरक्षण गरेर पाल्नु पर्छ', उहाँले भन्नुभयो ।
बल्लतल्ल लगाएको खेतीबाली जङ्गलबाट आउने बँदेल, दुम्सी, बाँदरले खाएको कारण यहाँका किसानले जीविका चलाउन निकै कठिन रहेर किसानको आधारभूत अधिकार प्रभावित भएको तामाङले जानकारी दिनुभयो ।
जिल्लाको पाँच ओटै गाउँपालिकामा किसानहरू वन्यजन्तुबाट सास्ती खेप्न बाध्य छन् । वन्यजन्तुले खेती नष्ट गर्नाले जमिन बाँझो राख्ने पनि बढेको छ । उत्तरगया गाउँपालिका-१, करुमर्याङका ६७ वर्षका सोमवर तामाङ कृषि कर्मले जीविका चलाउनुहुन्छ । उहाँको अनुभवमा बाँदरको सङ्ख्या ह्वात्तै बढेको छ । पहिले पनि कहिले काहीँ त बाँदर आउँथ्यो एक पटक लखेटेपछि १०/१५ दिन फर्केर आउँदैनथ्यो । 'अचेल त ४/५ सयको सङ्ख्यामा बाँदरको बथान आउँछ गाउँले भेला भएर पालैपालो खेतबारी कुर्न बैठक नै गरियो ।', उहाँले भन्नुभयो ।
जिल्लाको गोसाईकुण्डको थुमन, ठूलोस्याफ्रु, ब्राबल, आमाछोदिङमो गाउँपालिका मात्र नभई जिल्लका पाँच गाउँपालिका खेतीबाली नष्ट गरेर वन्यजन्तुको प्रभाव परेको छ ।
जैविक विविधताको संरक्षणमा हाम्रो देश सफल मानिन्छ । जुन वन्यजन्तुको गणना हुँदै आएको छ, त्यसको सङ्ख्या बढ्दो दरमा छ । वन्यजन्तु व्यवस्थापनको समग्र अवधारणालाई राज्यले राम्रोसँग कार्यान्वयन गर्न सकेका छैन । त्यसले वन्यजन्तुबीचको द्वन्द्व बढेको देखिन्छ । नेपालको वन्यजन्तु संरक्षणका लागि सबैभन्दा ठूलो समस्या यही नै हो ।
नेपालमा नीति फेरिए पनि प्रवृति फेरिन नसकेको देखिन्छ । खासमा नेपाली समाज रुपान्तरण कसरी हुन्छ र ? कागजमा बनेको नीति कार्यान्वयनका लागि पनि सरकार तथा सरोकारवालाहरूले भूमिका खेलेको देखिन्न ।
जङ्गल छेउमा बस्नेहरू प्रायः जसो गरिब नै हुन्छन्, वन्यजन्तुसँगको द्वन्द्वमा सबैभन्दा धेरै पीडित उनीहरू नै हुन्छन् । वन्यजन्तुबाट पीडित भएकाहरूले अहिले प्रश्न गर्न थालेका छन् के निर्वाचनमा भोट पनि वन्यजन्तुले नै हाल्ने हो र ? नत्र हाम्रो जीवनको रक्षाको अधिकार खोइ र ?
मानव र वन्यजन्तुबीचको द्वन्द्व शून्य बनाउनु असम्भव देखिँदैन तर मानव अन्यजन्तु सहअस्तित्वको खोजी गर्ने कार्यक्रम बनाउनु पर्ने गोसाइकुण्ड गाउँपालिका-५ का दावा तामाङ बताउनुहुन्छ ।
लम्की स्किन जस्तो घातक राेग फैलिएकोले कृषि श्रमिकले ठूलो समस्या भाेग्नु परेकाे र बीमा कम्पनीले दावी भुक्तानी नगरेकोले धेरैले क्षति भाेग्नु परेको नौकुण्ड गाउँपालिका-१ की फुलमाया तामाङले बताउनु भयो । गाई गाेरु लगायत पशुमा यस वर्ष लम्की स्किन जस्तो घातक राेग फैलिएकोले कृषि श्रमिकले ठूलो समस्या भाेग्नु परेकाे र बीमा कम्पनीले दावी भुक्तानी नगरेकोले धेरैले क्षति भाेग्नु परेको नौकुण्ड गाउँपालिका-१ की फुलमाया तामाङले जानकारी दिनुभयो ।
२०६९ सालमा सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका जारी गरेसँगै यसको सुरुवात भयो । तामाङले भन्नुभयो, 'राहत दिएर मात्र समस्या समाधान हुने होइन । समस्याको समाधानका लागि रोकथाममा ध्यान केन्द्रित गर्नुपर्छ ।'
विश्वव्यापिकरणको युगमा महिला श्रमिमको सर्वाङ्गीण विकासका लागि उनिहरूमाथिको नीतिगत तथा परम्परागत व्यवहारमा गरिने भेदभाव अन्त्य गर्न समतामुलक समाजको विकास गर्न जिम्मेवारी तथा अवसरको सुनिश्चित गर्न ढिला गर्नु हुँदैन । यसका लागि तीन तहको सरकारले ध्यान दिन जरुरी देखिन्छ ।
- हेमनाथ खतिवडा
सम्बन्धित फिचरहरू
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…
बीस वर्षदेखि छोराको प्रतिक्षामा छन् बेपत्ता पारिएका व्यक्तिका परिवार
छोरो बेपत्ता परिएको २० वर्ष भयो । तर पनि अझै मानबहादुर र धनकुमारी मगर भने छोरोको प्रतीक्षामा नै हुनुहुन्छ । रामेछापको सुनापति गाउँपालिका-३, हिलेदेवीका राजकुमार थापा मगरलाई सशस्त्र द्वन्द्वको बेलामा…
समस्यामा भूकम्प प्रभावित : ‘घरले थिच्यो ,भाग्यले बाँचियो’
दार्मा गाउँपालिका–२ लिरापाजाका हर्कु खत्री उमेरले ८१ वर्षको हुनुभयो । घरायसी काम गर्न नसकेपनि उहाँले वरपर गर्ने, घरको देखदेख गर्ने, नातिनातिनाको रेखदेख गर्ने गर्नुहुन्छ । उहाँका कान्छा छोरा टेक बहादुर…