कायमै छ, बालीघरे प्रथाः श्रम बढी मूल्य कम

भोजपुर । ०७८ कात्तिक २६ गते

सखारै बिस्तारा छोडेपछि हातमुख धोएर आरनमा पुग्नु हुन्छ, टेम्केमैयुङ गाउँपालिका–९ का ४९ वर्षीय हर्कबहादुर बिक । कोइला तताउँदै फलाम पिट्दै उहाँको दैनिकी सुरूआत हुन्छ । देश, विदेशका खबरप्रति उहाँलाई कुनै चासो छैन् । पाँच जनाको परिवारको साँझ बिहानको जोहो गर्दै ठिक्क छ, उहाँलाई । पुर्खादेखि गर्दै आएको पेशालाई उहाँले न त छोड्न सक्नु भएको छ न त वैकल्पिक उपाय नै छ । देशमा जस्तोसुकै परिवर्तन आएपनि जिल्लाका ग्रामीण क्षेत्रमा अहिले पनि बालीघरे प्रथा कायम नै छ ।

गाउँमा फलाम पिट्ने काम न्यूनतम ज्यालाको रूपमा बाली लिएर काम गर्न बाध्य हुनुहन्छ हर्कबहादुर बिक । अन्य पेशा गरौँ भने पनि नपाउने अवस्थाले आफ्नो र परिवारको पेट पाल्न र आवश्यकता पूरा गर्न अरू कुनै विकल्प नहुँदा मेहनत अनुसार ज्याला नपाए पनि काम गर्नु पर्ने बाध्यता उहाँलाई छ ।

टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका गोरे बिक पनि  वर्षौँदेखि बालीघरे काम गर्दै आउनु भएको छ । उहाँले २०४२ सालदेखि बालीमा नै फलाम पिट्ने काम गर्दै आउनु भएको छ । बालीघरेमा काम गर्दा उहाँको आर्थिक अवस्था सुरूआती दिनमा जस्तो थियो, अहिले पनि उस्तै छ ।

पुस्तौ देखि बालीघरे काम गर्दै आएको उहाँको भनाइ छ । ‘‘पेशामा दुःख छ । वषौँ भरि फलामको काम गर्नुपर्छ । परिवारको गुजरा चलाउन नै समस्या छ । आर्थिक अवस्था जहिले कमजोर नै छ । छोराछोरीलाई राम्रोसँग पढाउन  सकिएको छैन । बालीघरे प्रथा मेरो बाध्यता हो । यो पेशा छाडेर पनि त अरू के काम गर्नु ?’’ उहाँले फलाम पिटेर नौ जनाको परिवार पाल्नु परेको छ ।

रामप्रसादराई गाउँपालिका–४ दलगाउँका बहादुर दर्जी पनि बालीघरे प्रथाका आधारमा फलाम पिट्नु हुन्छ । वर्षभरी एक परिवारको लुगा सिलाएको दशपाथी अन्न दिने गरेको उहाँको भनाइ छ । दर्जी भन्नुभयो,‘‘ धेरै वर्षअघिबाट यहाँ यही चलन छ । हामी त्यसरी नै काम गर्दै आएका छौँ । एक परिवारको वर्षभरी कपडा सिलाएको नौ पाथी अन्न, दशैं, तिहार लगायत चाडपर्वमा केही रकम र अन्न दिन्छन् ।’

२०६८ सालको जनगनणा अनुसार भोजपुरमा १५ हजार ८ सय ५२ जना दलितको सङ्ख्या छ । जसमा करिब १२ हजार घरपरिवार बालीघरे प्रथामा आश्रति रहेको दलित सञ्जाल भोजपुरले जनाएको छ । दलित समुदायका करिब ८५ प्रतिशत जनसङ्ख्या बालीघरे प्रथामा आश्रति रहेको सञ्जालको तथ्याङकमा उल्लेख छ ।

जिल्लाको अन्नपूर्ण, नागी, लेखर्क, दलगाउँ, औलिया, बास्तीम, जरायोटार लगायत नौ ओटै स्थानीय तहका विभिन्न ठाउँका १२ हजार दलित घरपरिवारले बालीमा अरूको काम गरी जीवीका चलाइरहेका छन् । जसमा अधिकांशको भूमि छैन ।

बालीघरे प्रथा भन्नाले वर्ष भर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथालाई भनिन्छ । जस अन्तर्गत केही रकम लिएर गाउँभरीका घरमा हुने फलाम कुट्ने वा कपडा सिलाउने कामको जिम्मेवारी हुने गर्छ । कपडा सिलाउने काम गरे बापत वर्षदिनको प्रति घर दश पाथी अन्न, चाडपर्वमा भाग भनेर फलाम पिट्नेले दशैंमा खसी गर्धन र कपडा सिलाउनेले पुच्छर र साउने तथा मागे  संग्रातीमा दुईमाना चामल नून, सेल रोटी दिने गरिएको छ । यसरी दिने गरिएको अन्नलाई बजार मूल्यअनुसार हेर्दा मकै प्रतिपाथी १ सय ६० रुपियाँ, धान १ सय ५५ रुपियाँ पर्दछ । यसरी फलामको काम गरे बापत हरेक घरबाट फलामको काम गर्नेले वर्षभरीमा १ हजार ५ सय ५०  देखि १ हजार ६ सय रुपियाँसम्म पाउने गरेको देखिन्छ ।

दलित सञ्जालका अध्यक्ष दुर्गा रणपहेलीले गरिबीको कारण दलित परिवार बालीघरेमा काम गर्न बाध्य भएको बताउनु हुन्छ । अध्यक्ष रणपंहेलीले भन्नुभयो,‘‘देशमा धेरै खालका परिवर्तन आएको छ । सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझैपनि धेरै वर्ष अघिबाट चल्दै आएको बालीघरे प्रथा हट्न सकेको छैन । ग्रामीण क्षेत्रका ८५ प्रतिशत दलित समुह अहिले पनि बालीघरे प्रथामा नै निर्भर छन् ।’’

बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा अहिलेका युवा पुस्ताले विस्तारै यो पेशा छोडेको उहाँको भनाइ छ । बालीघरे प्रथा अनुसार काम गर्दा अन्नबालीको रूपमा न्यूनतम ज्याला लिन पर्ने बाध्यता त छँदैछ । त्यस माथि दलितहरूलाई यो प्रथा अनुसार काम गर्दा व्यक्तिगत र सामाजिक रूपमा गरिने अपमान र विभेदपूर्ण बोली र व्यवहारले पनि दलितको सम्मानमा चोट पुग्ने गरेको छ । बालीघरे प्रथामा काम गर्ने दलितहरूको समस्या समाधान गर्ने दायित्व राज्यले लिनुपर्ने अभियानकर्ता चित्रलाल बिकको भनाइ छ ।

देशमा विभिन्न कालखण्डमा दलितहरूको हकहितमा काम गर्ने भन्दै आन्दोलन भए पनि तर पनि नौ १० पाथी अन्नमा वर्ष भर काम गर्नु दलितहरूको बाध्यता रहेको बालीघरेमा काम गर्ने हर्कबहादुर विकले बताउनु भयो । अहिले उहाँ टेम्केमैयुङ गाउँपालिका–९ लेखर्क र वडा–८ गोगनेका ८५ घरपरिवारबाट वर्षको १० पाथी अन्न लिएर काम गर्नुहुन्छ । परिवारका एक दुईजनाको त बाली सङ्कलन गर्र्दै महिनौ बित्ने बिकले बताउनुभयो । बालीघरे प्रथामा काम गर्ने व्यक्तिहरूले वार्षिक काम गरे बापत पाउने अन्नबाली धेरै थोरै देखिन्छ । यसरी काम गरी प्राप्त गर्ने धान, मकै र अन्य बालीलाई पैसामा रूपान्तरण गर्दा न्यूनतम वार्षिक रूपमा अधिकतम ६० हजार देखि ९५ हजार रुपियाँसम्म आम्दानी हुने देखिन्छ ।

तर, ज्यालाको रूपमा थोरै अन्न पाउने धेरै छन् । दक्ष सीप भएका व्यक्तिले हालको अवस्थामा दैनिक रूपमा आफ्नो खाना खाएर आठ सय रुपियाँ ज्याला लिने गरेका छन् । यसले पनि बालीघरे प्रथामा काम गर्ने व्यक्तिहरूको दैनिक कम्तीमा सात सय रुपियाँ ज्याला पर्ने गरी मकै, धान तथा अन्य अन्न दिनुपर्ने व्यवस्था गरिनुपर्ने र यस विषयलाई नीतिगत रूपमा राज्यले सम्बोधन गर्न पहल गर्नु पर्ने पौवादुङमा गाउँपालिका–३ का मोहन दुरालले बताउनु भयो ।

भोजपुुर सदमुकाम, दिङला बजार, प्याउली बजार, घोडटार बजारलगायतका ठाउँमा टाठाबाठा तथा हुने खाने दलितहरू पसल थापेर बसेका छन् । तर दुरदराजका दलितहरूको पीडा भने जस्ताको त्यस्तै छ । उनीहरूले अहिले पनि बालीघरे प्रथामै काम गरीरहनु परेको छ ।

दलितहरूको क्षमता विकासका लागि जिल्लामा नगरपालिकामा नगरस्तरीय दलित सञ्जाल गठन गरेर सिलाई बुनाई, खुकुरी बनाउने लगायत तालिमा सञ्चालन गरीरहेको नगरस्तरीय दलित सञ्जाल भोजपुरका सचिव राजकुमार नेपालीले बताउनु भयो । यतिले मात्र बालीघर प्रथा नहट्ने उहाँको भनाई छ । दलितको ठूलो सङ्ख्या अझै पनि बालीघरे प्रथा मै निर्भर भएकाले राज्यले नै बृहत योजना बनाएर मात्र समाधान गर्न सक्ने दलित अगुवाहरूको भनाइ छ ।

Photo 20211112 Bhojhapur (1)

Photo 20211112 Bhojhapur (2)

Photo 20211112 Bhojhapur (3)

- गणेश विष्ट