काठको टहरामा विपन्न महिलाको वास !
गाउँको बिचमा एक कोठे काठको टहरो । त्यही पनि चुहिने । वरिपरि केही जस्ता पाताले त केही माटोले छायका घर छन् । एउटा कुनामा छन्, फाटेका र पुराना कपडाहरू जोडेर बनाइएका मैलो देखिने ओड्ने, ओछ्याउने । त्यसैमा दैनिकी चलेको छ ३९ वर्षीया विजमाया जैशीको । त्यहीँ हुर्कीँदैछ एक छोरा र दुई छोरीको जीवन पनि । घरमा शिक्षा तथा खान लाउने अवस्था राम्रो नभएपछि जेठी छोरीले १८ वर्षमै विवाह गरिन् ।
सदरमुकाम खलङ्गादेखि पूर्वीभेगमा पर्ने गुठीचौर गाउँपालिका–५ फोइगाउँस्थित यहि टहरोमा छोरा छोरीको पालन, पोषण, शिक्षा, स्वास्थ्य उपचार गर्ने जिम्मेवारी बोकेकी छन्, विजमायाले । अरू विकल्प पनि त छैन उनीसँग । माइतीले दिएको थोरै जग्गामा बनाएको सानो घर । त्यहि पनि गत वर्ष पुस महिनाको हिमापातले भत्किएपछि उनले टहरो बनाइन । त्यसैलाई वर्षाको झरीले चुहिने बनाएको छ । उनीसँग जग्गा जमिन सम्पत्तिको नाममा एक रोपनी खेत मात्रै छ ।
०६७ कात्तिक महिनाको दोस्रो साता व्यापारका लागि सामान लिने भनेर ०६७ कात्तिक महिनाको दोस्रो साता नेपालगञ्ज गएका पति ४३ वर्षीय धर्मदत्त जैशी फर्केर नआएपछि दैनिकी दयनीय भएको उहाँ बताउनुहुन्छ । घरको उत्पादनले दुई महिना पनि खान पुग्दैन । ज्याला मजदुरी गरेरै गुजारा चलेको छ । माइतीको अवस्था पनि उस्तै छ । आश गर्ने ठाउँ छैन । घरमा पर्याप्त जग्गा छैन । उहाँले भन्नुभयो ‘धेरै ठूलो सपना केही छैन । घर पुनर्निर्माण कसरी गर्ने होला भन्ने चिन्ताले संधैजसो पिरोल्ने गर्छ ।’
नजिकैको सामुदायिक विद्यालयमा छोरा, छोरी पढ्न जान्छन् । मजदुरी गरेरै उनीहरूको कापी, कलम, लुगा किन्ने गरेको उहाँले बताउनुभयो । ‘मिठो मसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागि सपना भयो, दुई छाक गाँस र एक सरो कपडाका लागि सङ्घर्ष गर्दै आइरहेको छु’ विजमायाले दुःख सुनाउँदै भन्नुभयो,–‘बालापनमा बुबा र किशोरावस्थामा पति साथमा नहुनु मेरो भाग्य नै खोटो हो ।’ १५ वर्षको विवाह भयो । पति बेखबर छन् ।
०७७/०७८ मा सम्पन्न मुख्य मन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक बनाउँदा मजदुरी गरेको २० हजार रूपियाँ अहिलेसम्म नपाएको उहाँको गुनासो छ । एक महिना काम गरेको रकम नदिएर ठेकेदार भागेर गएको उहाँले बताउनुभयो । ठेकेदारले श्रमिकको ज्याला मजदुरी ठगेपछि नजिकै रहेको प्रहरी चौकीमा निवदेन दिएपनि सुनुवाई नभएको बिजमायाले बताउनुभयो । अघिल्लो पुस महिनामा वर्षादले घर भत्केपछि गाउँपालिका १५ हजार रूपियाँ राहत उपलव्ध गराएको थियो । त्यसैबेला छोराको खुट्टा भाँचिएपछि त्यो रकम उपचारमै खर्च भयो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को भदौँ महिनामा साना ठुला गरी १० ओटा बाख्रा पनि दिएको छ । उहाँले भन्नुभयो ‘बालबच्चा स्कुल पढ्ने भएपछि अर्काको भरमा वनमा छोड्दा पाटनको विष खाएर ०७८ सालको कात्तिकमा मरे । आफैले घर बनाउन सक्ने अवस्था छैन । चिन्ता र पिरले ज्यान पनि सन्चो हुदैन । शरिर पनि कमजोर हुदै गएको छ ।’ पशु बिमा नभएकोले क्षतिपूर्ति पनि नपाएको उहाँले बताउनुभयो ।उहाँले भन्नु भयो ‘अहिले ११ वर्ष भयो, मरे बाँचेको खबर छैन ।’ पतिको खोजीका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा ०७८ भदौ १७ गते इन्सेक जिल्ला प्रतिनिधिको सहयोगमा निवेदन दिनुभएको छ । डिएसपी युवन चौधरीले खोज तलासका लागि नेपालका सबै प्रहरी कार्यालयमा हुलियासहित पत्रचार गरीरहेको बताउनुभयो । ‘धेरै जिल्लाका प्रहरी कार्यालयमा पत्रचार गरेका छौँ तर, अहिलेसम्म कतैबाट पत्रको जबाफ प्राप्त भएको छैन ।
गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले गतवर्ष पुस महिना महिलाको घर भत्केपछि राहत स्वरूप १५ हजार रूपियाँ उपलव्ध गराएको जानकारी दिनुभयो । गाउँपालिका तहबाट गर्ने सहयोग गरिएको भन्दै उहाँले जीविकोपार्जनका लागि १० ओटा बाख्रा पनि उपलव्ध गरिएको बताउनुभयो । सहयोगी दाताहरू जुटेर उहाँको बस्ने बाँस घर बनाइदिएको भए हित हुने अध्यक्ष भण्डारीको भनाइ छ ।
पीडित महिलाका विषयमा इन्सेक जिल्ला प्रतिनिधि र पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले जिल्ला प्रशासन कार्यालय जुम्लामा जानकारी गराएपछि सात वटा कम्बल उपलव्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँले बताउनुभयो । पीडित महिलाको आवास पुनर्निर्माणका लागि गृह मन्त्रालयमार्फत संघीय पुनर्निर्माण आयोजनाको कार्यालयसँग पनि पहल भइरहेको प्रजिअ प्रसाइँको भनाइ छ ।
- मानदत्त रावल
सम्बन्धित फिचरहरू
तुइनमै बग्छ व्याँसीबासीको सपना !
व्याँस गाउँपालिका–२, दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपालतर्फ आउने क्रममा तुइन चुँडिँदा असार २२ गतेदेखि बेपत्ता हुनु भएको छ । वर्षौदेखि तुइनमार्फत वारपार गर्दै उहाँ महाकाली नदीको…
चौधविसमा रोकिएन बालविवाह, २० वर्ष नपुग्दै आमा बन्छन् युवती !
तथ्याङ्कीय रुपमा हेर्ने हो भने नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा बढी बालविवाह हुने गरेको पाइन्छ । यहाँको अन्य ठाउँको तुलनामा भन्दा जुम्लाको पूर्वी भेग चौधविस क्षेत्र अर्थात पातारासी गाउँपालिकामा बालविवाह…
गिट्टी नकुटी जुट्दैन गाँस, हरेक दिन खोलाकै बास
सल्यान जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगर स्थित शारदा नदिको किनार, दिउँसोको चर्को घाम होस या बिहानको चिसो सिरेटो अनि एक्कासी आउने मुसलधारे पानी नै किन नहोस तर खोला किनारमा उही दृश्य…
बिजमायालाई आवासको अधिकार खोई सरकार !
देश संघीय संरचनामा गएपछि तीन तहका सरकारले जनजीविकाका सवालमा काम गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तह मध्ये सवै भन्दा नागरिकको नजिकमा छरछिमेकीको रुपमा रहेको स्थानीय सरकार हो ।…
बेनी नगरपालिकाले सुरू गर्यो नसर्ने रोगको शिविर
म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरू गरेको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले…