कहिलेसम्म रहने प्रश्न अनुत्तरित

नवराज पथिक

सादा पोशाकमा आएका १५/२० जना ०६० कात्तिक २१ गते साँझ ८ बजेतिर बागबजारको एक कोठामा पसे । त्यहाँबाट एक युवकलाई समातेर लग्दै गर्दा युवकका घरबेटीले देखे । उनले कपाल कटाइ हेरेर ती व्यक्ति सीपाही भएको चिने तर युवकलाई कहाँ लैजान लागेको भनी सोध्ने आँट भने भएन ।

ती युवक थिए रामेछाप जिल्लाको पूरानागाउँ गाविस- ६ का ३२ वर्षीय पुष्पकुमार गिरी । जीउ चिलाउने, सुन्निने,तथा विभिन्न खालका दाग आउने समस्याबाट पीडित भएपछि उपचारका लागि ०६० साउन १९ गते काठमाडौं गएका त्यसपछि गाउँ फर्किएका छैनन् । सेनाद्वारा चार वर्षअघि बेपत्ता बनाइएका रामेछाप जिल्लाको पुरानागाउँ गाविसका पुष्पकुमार गिरीको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । उनी मरेबाँचेकोसमेत पत्तो लागेको छैन । गिरी फर्कने बाटो हेर्दा हेदै आँखा टट्याइसकेका छन् तैपनि पति र्फकने आशा भने मरेको छैन उनकी पत्नी मीनाको ।

पति बेपत्ता भएको थाहा पाए पछि मीनाले विभिन्न मानवअधिकारवादी संघसंस्थाहरुमा हारगुहार गरिन् । पत्रकारहरुलाई भनिन् । उनका कुरा मानवअधिकारवादी र पत्रकारहरुले पनि नसुनेका हैनन् । उनीहरुले उनी बेपत्ता भएको कुरा सार्वजनिक रुपमा प्रचारप्रसार पनि गरे तर जसले सुन्नु पर्ने थियो त्यसको कानमा बतासै लागेन ।'पत्रकारलाई भनें, मानवअधिकारवादीहरुलाई पनि भनें । उहाँहरुले पनि नगरेको हैन । देशभरि प्रचार भयो । उहाँ हराएको कुरा सबैतिर हल्ला भयो तर सन्नेले नसुने पछि के लाग्यो र । सेनाले उहाँको अवस्था सार्वजनिक नै गरेन'- मीनाले भनिन् ।

मीनाका अनुसार ०५८ सालको फागुन महिनामा विदेश जान भनी काठमाडौं गएको बेला पनि विदेश जाने तयारी गरिरहेकै बेला ०५९ जेठ २१ गते भैरवनाथ गणका सैनिकहरूले गिरीलाई नयाँबजारस्थित आफ्नै कोठाबाट गिरफ्तार गरेको थियो । सेनाले उनलाई चार महिनापछि असोज ४ गते मात्र हनुमानढोका प्रहरीमा बुझाएको थियो । आफन्तहरूले उनलाई असोज ८ गते मात्र भेटेका थिए । त्यसपछि २९ दिनसम्म हनुमान ढोकामा राखी उनलाई तीन महिनाको लागि सेन्टर जेल पठाइएको थियो । पुनः ०५९ माघ ४ गते सेन्टर जेलबाट हनुमानढोका ल्याएर सुरुमा एक हप्ता, त्यसपछि १५ दिन र एक महिनाको तारिखमा गिरीलाई राखिएको थियो ।

अघिल्लो पटक सेनाले गिरफ्तार गर्दा दिएको यातनाका कारण लामो समयसम्म बिरामी परेका गिरीको हातगोडा सुन्निने, जीउ चिलाउने तथा फुस्रा दागहरू आउने समस्या देखिएको थियो । सोही रोगले सताएपछि उनी उपचारको लागि काठमाडौं गएका थिए । उपचार गराउने क्रममा बसेको बेला उनलाई साँझ ८ बजे कोठामा सादा पोसाकमा गएका मानिसहरूले गिरफ्तार गरी लगेका थिए । आफ्नो पतिलाई गिरफ्तार गर्ने सेना नै भएको कुरामा आफू विश्वस्त भएको गिरी बताउँछिन्, तर सेनाले यस विषयमा केही बताएको छैन ।

"मेरो पतिलाई सेनाले नै लगेको छ । उहाँको अवस्था अहिलेसम्म पनि सार्वजनिक भएको छैन । उहाँ जीवित भए पनि कहाँ हुनुहुन्छ जानकारी पाउनुपर्žयो । मारिएको भए पनि कहाँ कहिले मारिएको हो, लास देखाइदिनु पर्žयो । यसको लागि सरकार, सम्पूर्ण मानवअधिकारवादी, पत्रकारले पनि सहयोग गरिदिनुपर्žयो । लोकतन्त्र आयो भनेको छ । लोकतान्त्रिक सरकारले पनि मानिसलाई बेपत्ता बनाइराखे । यो के को लोकतान्त्रिक सरकार हुनु । उस्तै निरंकुशता नै रहिहाल्यो नि ।" मीनाले भनिन् । उनका अनुसार आफ्ना पति कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नभए पनि गाउँलेहरूले पारिवारिक रिसइबीका कारण सेनालाई झोसपोल गरेर उनलाई गिरफ्तार गर्न लगाएको उनको भनाइ छ ।

मीनाको ओठमा हाँसो हराएको वर्षा बितिसकेको छ । ०५२ सालमा विवाह वन्धनमा वाँधिएकी मीनाका दुई ओटा छोराहरू छन् । सासुसँग बस्दै आएकी उनको जेठो छोरो मिलन ११ वर्षलागेका छन् भने कान्छो छोरा रोशन ९ वर्षा छन् । दुवै छोराहरू स्थानीय पुण्य प्राविमा ५ कक्षामा पढ्दछन् । एकातिर लामो समयदेखि पतिको अवस्था सार्वजनिक नहुँदा उनी ज्यूँदै मरे जत्तिकै भएकी छिन् भने अर्कोतिर घर व्यवहार एक्लै चलाउनुपर्ने बोझ थपिएको छ । छोराहरुले 'आमाबाबा कहिले आउनुहुन्छ' भनेर प्रश्न गरिरहन्छन् तर त्यसको जवाफ न मीनासँग छ, न वर्तमान लोकतान्त्रिक सरकारले नै दिन सकेको छ । मीना मात्र हैन रामेछापमा यस्ता १९ परिवारका बालबच्चाहरुले आफूभन्दा ठूलालाई यस्तो प्रश्न गरी रहने गर्दछन् । त्यसको जवाफ न ती परिवारका सदस्यले दिन सक्छन् न सरकारले नै दिन सकेको छ । यो अनुत्तरित प्रश्न कहिलेसम्म रहिरहने हो .....-

रामेछाप । ०६४ फागुन

 

-