कसरी फालूँ वहाँले दिएको चिनो

दिलशोभा पुन

आफ्नै घरको बाटो गरी सेनाले गह्रौं झोला बोकाएर लगेको पाँच वर्षबित्न लाग्दा पनि आफ्ना पति घर नर्फकदा प्रत्येक दिनको बिहानमा घर नजिकैको त्यही तेस्रो बाटोतिर हेरेर आँसु झार्छिन् शर्मिलाले ।

काखमा १२ दिनको छोरा बिमललाई लिएर घरको आँगनबाट बाटोतिर हेरिरहँदा हतियार भिरेका, बर्दी लगाएका सेनाको बीचमा घरतिर फर्केर मलिन अनुहार लगाएरु आफूसँग नजर मात्र जुधाएर सेनासँगै ओरालो लागेका पति प्रेमको उनले हालसम्म न त चिठीपत्र पाइन् न त उनी घर फर्केर आए ।

१२ दिनकी सुत्केरीलाई छोडेर गएका पति घर नर्फकेपछि आफूसँग पाँच जना परिवार पाल्ने जिम्मा शर्मिलाको काँधमा आइलाग्यो । तीन नाबालक छोरा र सासुलाई घरमा छोडेर मजदुरी गर्न जान्छिन् शर्मिला । साँझ घर फर्कंदा पतिको खबर आयो कि वा वहाँ नै पो आउनुभएको छ कि भन्दै चाल सुन्दै भित्र पस्छिन् उनी । घरमा वर्षौंको शून्यताले निरन्तरता पाइरहँदा दिनभरिको थकाइमा थप व्याकुलता थपिन्छ शर्मिलाको ।

उत्पीडित जातीय मुक्ति समाज फोक्सिङका सचिव रहेका फोक्सिङ गाविस- ४ जोगीटोलाका तत्काल २८ प्रेम विक र सोही ठाउँका ३८ वर्षीय चित्रबहादुर थापा र २१ वर्षीय जीतबहादुर रानालाई शिवदल गुल्म, तम्घास गुल्मी र पोखरा बाहिनीबाट खटिएको सेनाको गस्तीले ०५९ जेठ ७ गते फोक्सिङ गाविस- ४ बाट माओवादीको आशंकामा गिरफ्तार गरेपछि शुरु भयो प्रेमकी पत्नी शर्मिलाका दुःखका दिनहरु । पतिसँगै गिरफ्तार भएका दुई जना छुटेर घर आएको हुँदा आफ्ना पति पनि कुनै दिन घर फर्केलान् भन्ने आशा गरेर बसिन् उनी । तर चार पाँच वर्षबितिसक्ता पनि न मान्छे न खबर हुँदा दिनभर काममा भुले पनि प्रत्येक साँझ, रात र बिहानमा आँसुको घुट्को पिएर दिन काटेकी छिन् २८ वर्षीय शर्मिला विकले ।

सन्तानको नाममा एउटा मात्र छोरा, त्यही पनि पाँच वर्षम्म बेपत्ता हुँदा पनि पति वियोगमा परेर छोराको तनामा झुण्डिएर जीवन बिताएकी ६० वर्षीया धनिसरा विकको शरीर शोकले खाएर हाडछाला मात्र बाँकी छ । तर पनि उनी आफ्नो छोरा कुनै दिन जिउँदै घर आउँछ भन्ने विश्वास व्यक्त गर्दै छोरालाई सेनाले गिरफ्तार गर्दाको दृश्य यसरी सम्झना गछिन् ।

सेनाले सिठी लगायो । ४०/५० जना थिए । गुर्रर बाटोतिर दौडेर गए । छोराले डोकोमा दाउरा बोकेर आउँदै थियो । समातेर डोको फालिदिए । भकाभक पिटेर लिए । साँझ पर्न लागेको थियो । रातभरि सुतिन । भोलिपल्ट बिहान स्कुलमा लगेर राखेको छ भन्ने थाहा पाएर कपडा, रोटी र चिया लगेर निस्किएँ । बिहानको ७ बजेको हुँदो हो, आर्मीको गह्रौ झोला बोकाएर झार्दै थियो । बोल्न पाइन । घरनजिक लिएर एकैछिन उभिए । कपडा लगाऊ बाबु भनें । टल्ल परेर आँखा जुधायो । निलो फाटेको भेष्ट र कोछे लुँगी लगाएको थियो । लुगा त लगाउनुपर्छ कि भन्दै झोला भुइंमा बिसाउन खोज्दै थियो । दिएनन् । रुँदै पछिपछि तलसम्म गएँ । कोखामा बन्दुक तेर्साएर फर्की, तेरा छोरालाई चार दिनपछि ल्याइदिन्छौं भने । मेरो छोरा आजसम्म आएन, बाउ बितेर कुन दुःखले पालेँ मेरो बाबुलाई, पाँच वर्षम्म नदेख्ता मलाई कस्तो भएको होला, मलाई अरु केही चाहिने थिएन, मेरो बाबुलाई जिउँदै घर ल्याइदिए हुन्थ्यो ।

गिरफ्तारपछि जनकल्याण माविमा एक रात राखी ०५९ जेठ ८ गते बिहान ७ बजे फोक्सिङबाट हिडाइएका प्रेम विक, चित्रबहादुर थापा र जीतबहादुर रानालाई पूर्तिघाट, सेतीबेनी हुँदै गुल्मी र स्याङजाको सिमाना मिर्मी पुर्‍याएर बास बसालियो । राति ३ बजे मिर्मीबाट हिडाएर स्याङ्जाको गल्याङबाट पश्चिममा पर्ने, मिर्मीबाट आएको मोटर बाटो जोडिने स्थान जिरोमा पुर्‍याई ४ बजे चित्रबहादुर र जीतबहादुरलाई गुल्मीको टोलीले पाल्पातिर ल्याएको प्रेमलाई पोखराको टोलीले गल्याङतर्फलगिएको कुरा शिवदल गुल्ममा २४ दिन सैनिक हिरासतमा बसी रिहा भएका चित्रबहादुर बताउँछन् ।

चित्रबहादुरका अनुसार प्रेमलाई उनले ८ गते राति भाग्न पनि भनेका थिए । किनभने उनले बाटोमा हिड्दै गर्दा सेनाले प्रेमका बारेमा गरेको कुरा सुनेका थिए । त्यसकारण तँलाई खतरा छ । हुरीबतास, पानी आएको छ, भाग् भनेका थिए । तर प्रेमले भाग्न चाहेनन् । सत्य सत्य नै हुन्छ, मैले के गल्ती गरेको छु र भाग्ने- भनेर चित्रबहादुरको सल्लाह मानेनन् । बिहानको ४ बजे सेनाले छुट्याएर गल्याङतिर लगेका प्रेमको हालसम्म पनि स्थिति सार्वजनिक गरिएको छैन । यद्यपि, श्रीमती शर्मिलाले पतिको स्थिति सार्वजनिकका लागि उत्पीडित जातीय मुक्ति समाज, गुल्मी, जिल्ला प्रशासन कार्यालयमा निवेदन गरिन् । तर कतैबाट केही खबर नआउँदा निरास बनेकी छन् उनी ।

बाह्र दिनको सत्केरी थिइन् शर्मिला । दिनको १२ बजेको हुँदो हो । टाउकोमा रुमाल बाँधेर पेटीमा सुतेर बच्चालाई दुध चुसाउँदै गर्दा ४०/५० जनाको समूहमा सेना घरमा आउँदा उनलाई के थाहा तिनीहरु आफ्नो खुशी खोस्न आएका हुन् भनेर । कोहीले घर घेरा हाले, कोही घरभित्र पसेर खानतलासी गरे ।

खानतलासीपछि एउटा रातो कपडा हातमा लिएर यी भेटिइहाल्यो नि, कहाँ गयो त्यो फटाहा भन्दै शर्मिलालाई हप्कायो एक जनाले । आफूलाई खाना खुवाएर निस्केका पति कता गए, थाहा थिएन शर्मिलालाई । कुन्नि कता जानुभो भरखर यहीं हुनुहुन्थ्यो, उनले भनिन् । त्यसपछि सेना यही रातो कपडा लिएर त्यहाँबाट गए । कता गए उनलाई थाहा भएन ।

साँझ जंगलबाट दाउरा लिएर आउँदै गर्दा श्रीमतीलाई बाटोबाटै समातेर लगे भन्ने थाहा पाइन् । तर कता लगे के गरे भनेर सोधखोज गर्न उनले सकिनन् । भोलिपल्ट बिहानै ०५९ जेठ ८ गते घरनजिकैको तेर्सो बाटोमा बर्दी लगाएका आर्मीको बीचमा झोला बोकेर उभिएर आफूसँग नजर जुधाएर ओरालो लागेका पतिलाई प्रत्येक दिन बिहान पाँच वर्षम्म पछि पनि देख्छु भन्छिन् शर्मिला ।

"बाबालाई सेनाले लैजाँदा ठूलो छोरा सिजन ८ वर्षो, माइला घनबहादुर ५ वर्षो र कान्छो छोरा बिमल १२ दिनको थियो । चार वर्षम्म जेठा र माइलालाई माइतमा राखेँ । अहिले जति दुःख भएपनि सँगै राख्छु भनेर घरमै ल्याएकी छु तर कसरी स्कुल पठाउने, के गरेर उनीहरुको पेट पाल्ने भन्ने चिन्ताले झन् पिरोल्न थालेको छ ।"

कान्छो छोरो अहिले ५ वर्षो भएको छ । उनले बाबालाई देख्न र चिन्न पाएको छैन । तर दशैंमा छिमेकमा आफ्ना साथीका बाबाहरु घरमा आउँदा मम्मी, हाम्रो बाबा पनि दशैंमा घर आउनुहुन्छ हैन- भनी सोध्छ । छोराको प्रश्नको जवाफमा आँसु झार्नुबाहेक अर्को विकल्प छैन बिचरी शर्मिलाको ।

प्रेम विक गिरफ्तारपछि बेपत्ता भएको लामो समय हुँदा पनि उनको स्थिति अज्ञात रहेको हुँदा सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उनका घरमा पुगेका इन्सेकका गुल्मी प्रतिनिधि, एडभोकेसी फोरम पोखराका भुपेन्द्र खनाल र मानवअधिकार सचेतन संस्थाका प्रतिनिधि नरेश भण्डारीसँग शर्मिलाले आशा निराशा दुवै व्यक्त गरिन् । तपाईहरु यति दुःख गरेर मेरो घरसम्म आइसकेपछि निश्चय पनि मेरो श्रीमान्लाई खोजिदिनुहुन्छ होला । यो गाउँमा मेरो श्रीमान्लाई खोजिदिने कोही भएन । बाघले कुकुर लैजाँदा त कत्रो हल्ला हुन्छ । तर मान्छेले मान्छेलाई आफ्नो आँखा अगाडि लगेर यत्रो वर्षहराउँदा पनि कोही बोल्दैनन् ।

"मारेका भए मारिम् भने हुन्थ्यो । तर त्यसै कसरी फालूँ वहाँले दिएको चिनो, यो चुरा, पोते अनि सिन्दुर ।"

गुल्मी । जेठ २०६४

 

-