कम सुविधामा बोटे बालबालिकाको धेरै जिम्मेवारी सम्हाल्दै हेरालु शिक्षिका

पाल्पा । ०८१ असार ११ गते

बिहान ८ बज्ने बित्तिकै रुपा बोटेको दैनिकी सुरू हुन्छ । रुपाको ८ बजेलगत्तै गाउँका बोटे बालबालिकाका घरमा पुग्ने र सबैलाई जुटाउँदै विद्यालयसम्म ल्याउने जिम्मेवारी छ । दिनभरी विद्यालयमा पढाउनहुन्छ रुपाले । ४ बजे विद्यालय बन्द भएपछि फेरि उस्तै गरी उनै बोटे बालबालिकालाई घरघरमा छोडेर आफ्नो घर फर्कँदा साँझको ६ बज्छ ।

बगनासकाली गाउँपालिका-६, यम्घा दर्पुककी रुपा बोटेको दैनिकी ५ वर्षदेखि यसै गरी बितिरहेको छ । उहाँको जिम्मेवारी सुन्दा तपाइँलाई लाग्न सक्छ सेवा सुविधा पनि त राम्रै होला नि ? तर ५ वर्षदेखि रुपाले ज्यादै न्यून तलवमा काम गर्दै आउनुभएको छ ।

स्थानीय भगवती आधारभुत विद्यालयमा रुपा हेरालु शिक्षकको रुपमा नहुँदा बोटे बालबालिकाहरूको विद्यालयमा नियमितता थिएन । विद्यालय आएका बालबालिका पनि अन्तिम घण्टीसम्म बस्दैनथे । तर अहिले यहाँका बोटे बालबालिकाहरूको विद्यालयमा नियमितता छ । यसमा रुपको भूमिका महत्त्वपूर्ण छ ।

५ वर्ष अघि स्थानीय बालमैत्री गाउँपालिका घोषणाको तयारीको समयमा बोटे बालबालिकाको शैक्षिक निरन्तरताका लागि भन्दै बगनासकाली गाउँपालिकाले मासिक ५ हजार रुपियाँ पारिश्रमिक दिने गरी रुपालाई हेरालु शिक्षकको रूपमा नियुक्त गरेको थियो । गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न रुपाको भूमिका महत्त्वपूर्ण छ । त्यतिबेला रुपाले भर्खर कक्षा १२ को परीक्षा दिनुभएको थियो । अहिले स्नातक चौथो वर्षमा पढ्दै हुनुहुन्छ । गाउँपालिकाले मासिक ५ हजार बाहेक पोशाक भत्ता समेत उपलब्ध नगराएको रुपाले बताउनु भयो । विद्यालय पोशाक पनि आफूले सोही ५ हजारबाट किन्नुपरेको रुपाको भनाई छ ।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार निर्धारण गरेको छ । त्यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपियाँ थियो । अब श्रमिकले मासिक आधारभूत पारिश्रमिक ९ हजार ३ सय ८५ र महङ्गी भत्ता ५ हजार ६ सय १५ पाउनेछन् । दैनिक ज्यालादारी गर्नेको पारिश्रमिक ५ सय ७७ र घण्टाको हिसाबमा काम गर्दा ७७ रुपियाँ पाउने व्यवस्था छ ।

बगनासकाली गाउँपालिका आफैले समेत अहिलेको अवस्थामा अदक्ष कामदारको पारिश्रमिक प्रतिदिन ७ सय १५ रुपियाँ र दक्ष कामदारको लागि ९ सय ४५ रुपियाँ तय गरेको छ । यसरी अदक्ष कामदारले समेत मासिक कम्तीमा १८ हजार रुपियाँ पारिश्रमिक पाउँछन् ।

भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक वेदप्रसाद न्यौपानेले रुपाको पारिश्रमिक बढाउने विषयमा गाउँपालिकामा अनौपचारिक छलफल गरिएको बताउनु भयो । उहाँले बोटे बालबालिकाको शैक्षिक निरन्तरतामा रुपाको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । बगनासकाली गाउँपालिका-६, दर्पुकमा ९० घर बोटे जातिको बसोवास छ । यहाँ बोटे जातिको जनसङ्ख्या ४ सय हाराहारी रहेको बगनासकाली गाउँपालिका-६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताउनु भयो । रुपा दर्पुकका बोटे जातिबाट पहिलो एसएलसी पास गर्ने व्यक्ति हुन् ।

स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा इसिडी देखि कक्षा ८ सम्म छात्र २९ जना र छात्रा ४० जना गरी जम्मा ६९ जना बोटे बालबालिका छन् । यो विद्यालयबाट २०७० सालदेखि २०८० सालसम्मको अवधिमा बोटे जातिबाट ६४ जना बालबालिकाले कक्षा ८ उत्तीर्ण गरेका छन् । तर यो समुदायबाट अहिलेसम्म छात्र ६ जना र छात्रा ९ जना गरी १५ जनाले मात्र एसएलसी (एसइइ) उतीर्ण गरेका छन् । त्यस्तै ३ जना छात्र र ३ जना छात्रा गरी ६ जनाले मात्र प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेका छन् ।

बोटे बालबालिकाहरूमा अझै पनि किताब, कापी, पोशाक र खाजाको समस्या छ । दिवा खाजाका लागि सरकारले उपलब्ध गराउने दैनिक १५ रुपियाँ पर्याप्त छैन । कतिपय विद्यालयमा अहिले पनि खाजा बापत आउने रकमबाट खाजा खुवाउनुको साटो एकमुष्ठ पैसा दिइन्छ । विद्यालयमा खाजा कार्यक्रम अनिवार्य लागु गरिनुपर्छ । यसो हुँदा विद्यालयप्रति बोटे बालबालिकाको आकर्षण बढ्ने प्रधानाध्यापक वेदप्रसाद न्यौपानेले बताउनु भयो । उहाँले आधारभुत तहको शिक्षा गाउँमै उपलब्ध भए पनि माध्यमिक तहको शिक्षाका लागि टाढा जानुपर्ने बाध्यता भएको उल्लेख गर्नुभयो ।

यसर्थ बोटे जातिका बालबालिकालाई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनका लागि गाउँपालिकाले विशेष कार्यक्रम ल्याउन सकेको छैन । माध्यमिक तहमा अध्ययनरत बोटे बालबालिकालाई आवासीय सुविधा प्रदान गर्न सके कक्षा निरन्तरतामा सहयोग पुग्ने स्थानीयको भनाइ छ । स्थानीय विद्यालयमा आन्तरिक शिक्षक छनौट तथा सरकारी गैरसरकारी संस्थाहरूमा बोटे जातिको प्रतिनिधित्व र छनौटमा विशेष ग्राह्यता दिनुपर्छ । यसबाट पढ्नुपर्छ पढ्नेहरूले अवसर पाइन्छ भन्ने चेतनाको विकास हुने यहाँका स्थानीयको विश्वास छ ।

उच्च शिक्षा हासिल गर्न चाहने बोटे जातिका बालबालिकाहरूलाई अध्ययन सहयोगार्थ विशेष छात्रवृत्तिको व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ । अभिभावकमा अझै पनि चेतनाको कमी छ । उनीहरूलाई चेतनाशील कार्यक्रम चलाउनुपर्छ । अभिभावकहरूको स्वरोजगारका लागि पनि विशेष कार्यक्रम आवश्यक छ ।

बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले रुपाको योगदानले विद्यालय नजाने बालिबालिका विद्यालय जान थालेको बताउनु भयो । उहाँले रुपाको पारिश्रमिक ज्यादै कम भएको विषयमा आफूहरूको पनि ध्यानाकर्षण भएको र आगामी दिनमा समय सापेक्ष पारिश्रमिक बढाउने विषयमा गाउँपालिकाले निर्णय गर्ने बताउनु भयो ।

Photo25062024Palpa

- यज्ञमूर्ति तिमिल्सिना