कपिलवस्तु घटनाका विस्थापितः यस्तो पीडाकसैले भोग्न नपरोस्
नन्दराम पौडेल
खेतमा लहलह धान पाकिरहेको छ, वर्षदिन खाने अन्न खेतमा सडिरहेको छ आफू र परिवारको बास खुला आकास मुनि चउरमा छ । कसैले दया गरे मुखमा माड पर्ने हो मिठो खानु र राम्रो लगाउनु आकासको फल सरह छ । वर्षदिनको महान चाड दशैं आँसुको रोदनले बितेको छ भने तिहार पनि उसरी नै बित्ने निश्चित छ । मसानघाट जस्तै लाग्ने जलेका घर र डडेलो लागेको गाउँ हेरेर बस्न बाध्य छौं, भन्छिन् खुरुहुरीया गाविस-९ की सीता न्यौपाने ।
"आफ्नै आखां अगाडि श्रीमानको कुटिकुटि हत्या भएको त्यो दृ्श्य आँखाअगाडि झलझली घुमिरहेको छ । जे भएपनि सहनु बाहेक अन्य कुनै चारो छैन । आफूले केवल हेरिरहने बाहेक केही गर्न सकिन" बिसनपुर गाविस-३ देवीपुरकी.तुलसी सुनार भन्छिन् ।
पटकपटक सुरक्षाको अभावले कपिलवस्तुको पश्चिम क्षेत्र प्रभावित भइ पीडाको शिकार हुनु परेको छ । यो घटना ०६४ भदौ ३० गते र यसपछिका केही दिनमा भएकोमा सीता न्यौपाने र तुलसी सुनारका जस्ता पीडा कपिलवस्तुका अन्य पीडित विस्थापितहरुको पनि आलै छ ।
भदौको ३० गते लोकतान्त्रिक मधेशी मोर्चाका नेता अब्दुल मोहित खाँको अज्ञात समूहद्वारा हत्या गरिएपछि उत्पन्न हिंसात्मक घटनाका कारण अन्य निर्दोष १४ जना नेपालीले ज्यान समेत गुमानुपर्यो भने अरवौको सम्पत्ति ध्वस्त भयो ।
शिवपुर-५ बालापुरमा मोइत खाँ हत्यापश्चात मोहित खाँलाई माटी दिन जानुपर्छ भनी स्थानीय मधेशी वा मुस्लिम समुदायका केही व्यक्तिहरुले ती सुकुम्बासी टोलका अगुवाहरुलाई एकै ठाउमा जम्मा हुन भनी के भनिरहेका थिए एक्कासि चारैतिरबाट घेरा हाली नाइकेहरु कुनकुन हुन् भनी तिनीहरुलाई लाठी, छुरा, खुकुरी, भाला प्रहार गर्न थाले, महिलाहरुलाई लछारपछार गर्नुनगर्नु गर्न थाले, केटाकेटीहरुलाई जिउँदै आगोमा हाल्न प्रयास गर्न थाले भने कतिले लुटपाट, आगजनी गर्दै एकैछिनमा शान्त देवीपुरलाई रणभूमि पारे । मेरै अगाडि श्रीमान् शोभाराम सुनार र मेरो सहोदर देवर दिलबहादुर सुनारको हत्या भयो, भन्छिन् मृतक शोभाराम सुनारकी श्रीमती तुलसी सुनार ।
हरि बस्नेत, झविन्द्र खनाल, राम बहादुर थापासमेत गरी सात जनाको यस गाउँमा मृत्यु भएको थियो । त्यसै गरी अन्य स्थानमा सात गरी घटनामा १४ जनाले ज्यान गुमाउन पुगेका थिए । सो घटनामा बिसनपुरमा मात्र १२३ घर आगजनी भई ध्वस्त भएका थिए । यसरी यस घटनामा सबभन्दा बढी सुकुम्वासीहरु प्रभावित भएका छन् । आगलागी भएका ५२० घरहरुमध्ये अधिकांश घर सुकुम्बासी बस्तीका छन् ।
जीवन कुन ठाँउमा सकिने हो, कसरी दिन बिताउने हो, खाना पकाइदिने मानिस कोही छैन, कुन बेला के हुने हो,आखा“भरि झल्लझल्ती घटना याद आइरहन्छ । भएका सम्पत्ति सम्पूर्ण नष्ट भयो । छोरालाई एक जना यादवले बचाइदियो । म सुतिरहेको बेला हुल आएको हल्लाले म भाग्न सफल भए भन्छन् अव्दुल मियाँ।
देशमा राजनीतिक परिवर्तन हुँदा वा राज्यमा संकटको अवस्था आउँदाको यस जटिल परिस्थितिमा कपिलवस्तुको पश्चिम क्षेत्रलाई कुनै न कुनै बहानाले छोई वस्तुस्थितिलाई भिन्न बनाई एकआपसमा रहेको सद्भावलाई एक्कासि खल्बलाइन्छ । यस्तै चालको परिणाम हो भदौको ३० गते लोकतान्त्रिक मधेशी मोर्चाका नेता अब्दुल मोहीत खाँको अज्ञात समूहद्वारा भएको हत्या र यसपछि विनाकारण गुमेको १४ जना नेपालीको ज्यान र ध्वस्त अरबौको सम्पत्ति ।
०४७ सालको खुरुहुरिया घटना होस् वा ०५६ सालको इकवाल खाँको हत्यापश्चात चन्द्रौटामा भएको घटना होस् या ०५९ सालमा खुरुहुरियाकी विन्जौरी नेपालीको श्रीमान्को हत्याको घटना होस् या ०६१ सालमा माओवादी प्रतिकारको नाममा भएको घटना होस् या भर्खरै भदौ ३० गतेको घटना होस् यी सबै राजनीतिक परिवर्तन वा संकटका घडीमा सामान्यतया ३/४ वर्षो फरकमा शक्ति केन्द्रित वा आपराधिक तत्व तथा साम्प्रदायिक भड्काव गराई आफ्नो अनुकुल राजनीतिक फाइदा लिने तत्वहरुद्वारा भएको पाइन्छ ।
यस क्षेत्रमा निश्चित रुपमा धनी र गरीब वर्गहरुबीच निकै खाडल छ । सामन्ती सोचले जरा गाडेका कारण गरीब किसान, मजदुर, सुकुम्वासी र जमिन्दारहरुबीच एक आपसमा सधैंभरि विश्वासको संकट छाइरहेको छ । श्रमको चरम शोषण छ । यस क्षेत्रमा विभिन्न समयमा मजदुर र मालिकबीच भएका विवादित घटनाबाट स्पष्ट हुन्छ जसको एउटा उदाहरण भर्खरै भएको पीडादायी घटनाले प्रत्यक्ष रुपमा अधिकांस मजदुर, गरीब किसान र सुकुम्वासी वर्ग प्रभावित भएको पाइन्छ ।
घटना भएको डेढ महिना भइसक्दा पनि विस्थापितहरु संम्झन्छन् भदौ ३० गतेको घटना । यस्तो कसैलाई नपरोस् र फेरि नदोहोरियोस् भनी कामना गर्दछन् । शुरुका दिनमा राहत केही आएपनि हाल शिविरमा दैनिक विभिन्न समस्याहरु परिरहेका छन् । आलु, प्याज, खुर्सानी र मसलाको मुख नदेखेको एक हप्ता भयो, रातमा सुत्न निकै कठिनाइ छ । ८/१० जना परिवारबीच २/३ वटा कम्बल र त्रिपाल मात्र छ । त्रिपालबाट पानी चुहिन्छ, दिउँसो पोल्छ । यस्तो वातावरणमा दुई जना शिशुको चिसोको कारण निमोनिया भई मृत्यु भइसक्यो,पीडित शेरबहादुर तारामु जानकारी दिन्छन् ।
तरामु भन्छन्- विस्थापितहरुको २५५ ओटा घरपरिवारका लागि जम्मा दुई ओटा खानेपानीका धारा छन् जसले गर्दा खानेपानीका लागि लाइनमा बस्नुपर्ने बाध्यता छ । खाद्यान्न पनि कात्तिक १५ गतेसम्मलाई मात्र छ । त्यसपछि के गर्ने हो अन्यौल छ ।
विस्थापितहरु आफ्नो बासस्थानमा सुरक्षाको कारण तत्काल फर्कन नसक्ने भएकोले अस्थायी रुपमा भएपनि बसालेको शिविरमा राज्यले व्यवस्था गर्नुपर्ने कुरा पीडितहरुको माग छ । यस विषयमा राजनीतिक दलहरुले समेत खासै चासो नदिएको गुनासो विस्थापितहरुको छ ।
सुरक्षा व्यवस्था भए घर फर्कनुहुन्छ भनी सोधिएको प्रश्नमा प्रशासनप्रति शंका र रोष प्रकट गर्दै पीडित दिनेश चापागाईले भने- अन्य समयमा तस्करहरुलाई सहयोग र सुरक्षा दिने प्रशासनले अहिले कसरी हामीलाई सुरक्षा दिन सक्छन्, अहिले पनि खुलेआम घटनाका दोषीहरु हिडिरहेका छन् । "सम्पूर्ण धनसम्पत्ति नष्ट त गरे नै अब बाँकी के नै रहयो र - फेरि पनि पटकपटक धम्की आइरहन्छ", पीडित मोहम्मद तसलिन बताउँछन् ।
आफ्नो घरजमिनमा गई बस्न मन त लाग्छ नै तर सुरक्षा अभावले जान भने सकिदैन । अहिले दिउँसोमा अन्नसम्म स्याहर्नका लागि गाउ“मा जान थालेको देवीपुरका खेतुलाल रानाले बताए । उनका अनुसार विसुनपुर,विरपुर, पत्थरदेइया र जवाभारीमा बस्ने मधेशी र मुस्लिम समुदायले सामाजिक सद्भाव कायम गरी आउँदा दिनमा यस्ता घटना नदोहोर्याउने लिखित प्रतिबद्धता व्यक्त गरे आफू लगायत केही परिवार घर फर्कने विचारमा रहेको बताउँछन् ।
विस्थापितहरुको पीडालाई साच्चै कागजमा उतार्ने हो भन्ने एउटा ठूलो फेहरिस्त तयार हुन सक्छ । विभिन्न समयमा भएका घटनाहरुलाई ध्यान दिदैं सीमा सुरक्षा र स्थानीय रुपमा जनताले सुरक्षाको महसुस गर्न पाउनुपर्छ र त्यसको दायित्व राज्य पक्षले लिनुपर्छ । अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कुनैपनि बहानामा छुट दिई दण्डहीनताको अवस्था ल्याउन हुँदैन र पुनः यस्ता पीडादायी घटना कुनैपनि बहानामा हुन नदिनका लागि राज्य पक्ष संवेदनशील भई दूरदर्शी र चनाखो हुनु आवश्यक छ, अन्यथा यसभन्दा पनि ठूला घटना नहोला भन्न सकिदैन ।
कपिलवस्तु । ०६४ कात्तिक
-
सम्बन्धित फिचरहरू
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…
बीस वर्षदेखि छोराको प्रतिक्षामा छन् बेपत्ता पारिएका व्यक्तिका परिवार
छोरो बेपत्ता परिएको २० वर्ष भयो । तर पनि अझै मानबहादुर र धनकुमारी मगर भने छोरोको प्रतीक्षामा नै हुनुहुन्छ । रामेछापको सुनापति गाउँपालिका-३, हिलेदेवीका राजकुमार थापा मगरलाई सशस्त्र द्वन्द्वको बेलामा…
समस्यामा भूकम्प प्रभावित : ‘घरले थिच्यो ,भाग्यले बाँचियो’
दार्मा गाउँपालिका–२ लिरापाजाका हर्कु खत्री उमेरले ८१ वर्षको हुनुभयो । घरायसी काम गर्न नसकेपनि उहाँले वरपर गर्ने, घरको देखदेख गर्ने, नातिनातिनाको रेखदेख गर्ने गर्नुहुन्छ । उहाँका कान्छा छोरा टेक बहादुर…