कपिलवस्तुमा घरमै सुत्केरी हुनेको सङ्ख्या बढ्दो

कपिलवस्तु । ०८१ असार २१ गते

सरकारले संस्थागत सुत्केरीका लागि प्रोत्साहन गरिरहेको बताएको भए पनि कपिलवस्तुमा घरमै सुत्केरी हुनेको सङ्ख्या बढ्दो रहेको छ ।

कपिलवस्तु नगरपालिका–५ की आशा वेल्दारले ०८० भदौ २३ गते तेस्रो सन्तानको रूपमा घरमै छोरालाई जन्म दिनुभयो । जन्मेकै पाँच दिनमा छोराको मृत्यु भयो । गर्भमा बच्चा रहेदेखि नै आफूलाई सासुले घरमै बच्चा जन्माउँदा केही फरक नपर्ने भन्दै अस्पताल जान नदिएको बेल्दारको भनाइ छ । सासुले सबै छोराछोरी घाँस काट्दा काट्दै र धान काट्न खेतमा जाँदा जन्माएको भनेपछि घरमै सुत्केरी हुने गरेको दुखेसो पोख्नुभयो ।

आशाका पति विरेन्द्रर बेल्दार इटाभट्टामा काम गर्नुहुन्छ । आशा भन्नुहुन्छ, 'दुई बच्चा पेटमै मरेर आफै खेर गए । धेरै समयसम्म रगत बग्ने समस्या झेलेर बसेँ । अस्पताल जाउँ भन्दा सासु र बुढाले आफै ठिक भइहाल्छ । कसैले पनि यस्तो अवस्थामा अस्पताल जानुपर्छ भनेनन् । न घरकाले भने न बाहिरका छिमेकीले भने । अहिलेसम्म पाँच सन्तान गर्भमा रहे तर अहिले दुई जना मात्र जीवित छन् ।

अस्पताल गए पैसा खर्चहुन्छ, कहाँ गएर ल्याउने भन्छन् । त्यसैले घरमै बच्चा जन्माउनु पर्‍यो उहाँले मलिनो स्वरमा भन्नुभयो । आशालाई नियमित गर्भ जाँच गरेमा र स्वास्थ्य संस्थामा सुत्केरी भए यातायात खर्च र प्रोत्साहन बापत पैसा पाइन्छ भन्ने जानकारी रहेनछ । सरकारले यातायात खर्च र समयमा चेक गराए बापत् प्रोत्साहन भत्ता दिन्छ भन्दा उहाँले छक्क पर्दै भन्नुभयो, 'यस्तो थाहा भए त लैजान्थे होला । मलाई पठाउँथे होला । खै थाहा नभएर होला । अब त म अस्पताल जान्छु र सरसल्लाह लिन्छु ।'

अहिले पनि आशा दुई जीउकी हुनुहुन्छ । आशाको गर्भमा चार महिनाको हुर्कँर्दै गरेको बच्चा छ । अस्पतालमा बच्चा जन्माउँदा नियमित जचाउँदा सरकारले पैसा दिन्छ भन्दा उहाँ छक्क पर्नुभयो । त्यसै गरी आ.व. ०८०/८१ मा जिल्लामा ५ सय ८५ जना आमाहरू घरमै सुत्केरी हुने गरेको र सबैभन्दा बढी कपिलवस्तु नगरपालिकामा रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्कमा उल्लेख रहेको छ ।

जिल्लाका घरमै बढी सुत्केरी हुने आमाको सङ्ख्यालाई विश्लेषण गरेर हेर्दा १० ओटा स्थानीय तहमा रहेको जिल्लामा सबैभन्दा बढी घरमा सुत्केरी हुनेको सङ्ख्या कपिलवस्तु नगरपालिकामा रहेको छ । कपिलवस्तु नगरपालिकामा आ.व. ०८०/८१ मा २ सय १६ जना, महाराजगञ्ज नगरपालिकामा ९५ जना, बुद्धभूमि नगरपालिकामा ७६ जना, कृष्णनगर नगरपालिकामा ४५ जना, मायादेवी गाउँपालिकामा ४२ जना, यशोधरा गाउँपालिकामा ४१ जना, विजयनगर गाउँपालिकामा ३४ जना, सुद्धोधन गाउँपालिकामा ३१ जना र शिवराज नगरपालिकामा पाँच जना गरी जम्मा ५ सय ८५ जना रहेका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लाको विश्लेषण गर्ने हो भने पनि सबैभन्दा बढी घरमा सुत्केरी हुने जिल्ला कपिलवस्तु र सबैभन्दा कम बर्दिया जिल्लामा आठ जना रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै प्यूठानमा २ सय ३५ जना, अर्घाखाँचीमा १ सय ५४ जना, दाङ्गमा १ सय ९ जना, रुपन्देहीमा १ सय २ जना, रोल्पामा ९५ जना, रुकुम पूर्वमा ६६ जना, गुल्मी ३३ जना, पश्चिम नवलपरासीमा ६६ जना, पाल्पामा २५ जना र बाँकेमा १ सय ३२ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले घरमै सुत्केरी हुनेको सङ्ख्या घट्न नसकेको बताउँदै अहिलेकै अवस्थामा घरमै सुत्केरी हुने अवस्था मात्र नभएर जनस्वास्थ्यका अन्य सूचकहरू पनि खस्कँदो अवस्थामा रहेको बताउनु भयो । उहाँले आधारभूत स्वास्थ्य सेवा नितान्त स्थानीय सरकारको जिम्मेवारी भित्र परे पनि स्थानीय सरकार उपचारात्मक तर्फमात्र केन्द्रित रहेको प्रदेश र सङ्घीय सरकारको ध्यान पनि उपचारात्मक विषयमा मात्र केन्द्रित हुने र विकास भनेको भौतिक पूर्वाधार हो भन्ने बुझाईका कारण अस्पताल बनाउने, खोल्ने तर्फ मात्र ध्यान गएको र जनस्वास्थ्यका सचेतना मूलक क्रियाकलाप असाध्यै कम भएको, रुढीबादी र परम्परागत मुल्यमान्यतामा बढी विश्वास गर्ने समुदायहरू भएको र व्यवहार परिवर्तनका विषयमा खासै महत्त्व नदिएको कारण पनि घरमै सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि भएको हुनसक्ने बताउनु भयो ।

त्यस्तै स्वास्थ्यकर्मीको बिरामीप्रतिको संवेदनशिलता र जवाफदेहिता कमजोर बन्दै जानु, हाम्रा संरचनाहरू र स्वास्थ्य प्रणाली पसल थापे सरह भए बिरामी आए उपचार गर्ने अन्यथा वास्तै नगर्ने गर्भवती खोजी र परामर्शको अवस्था कमजोर हुनु, सानै उमेरमा विवाह गर्नु, गर्भवती हुनु, परिवारका सदस्यहरूको सहयोग नपाउनु, पूर्व तयारी गर्न नसक्नु जस्ता समस्याहरू रहेका छन् । हुन त जहाँ समाज शिक्षित हुन्छ, त्यहाँको वातावरण राम्रो हुन्छ चाहे स्वास्थ्य होस वा शिक्षा होस् । समाज जहाँ शिक्षित छ, त्यहाँ संस्थागत सुत्केरी हुनेको सङ्ख्या राम्रो हुँदै जाने र जहाँ अशिक्षा रहेको छ, त्यहाँको अवस्था पनि पनि दयनीय हुन्छ । स्वास्थ्यप्रति हेल्चेक्राइ, समाज र परिवारले साथसर्पोट नगरेका कारण पनि घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको यहाँका स्वास्थ्यकर्मीहरू बताउँछन् ।

घरमै सुत्केरी हुँदा विभिन्न खालका जोखिमहरू व्यर्होर्नु परेका समाचारहरू बेला बेला आउने गरेका छन् । जिल्लामा गत ११ महिनाको तथ्याङ्क अनुसार जन्मँदा नै मृत अवस्थामा जन्मिएको बालबालिकाको सङ्ख्या १ सय ७ जना रहेको, जसमा सात दिनभित्रको नवजात शिशु १० जनाको मृत्यु भएको र आठ दिनदेखि २८ दिनभित्रको एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क रहेको छ ।

त्यस्तै गरी मृत्यु हुने आमाको सङ्ख्या हेर्दा गर्भ अवस्थामा एक जना र सुत्केरी अवस्थामा तीन जना गरी चार जना आमाहरूको मृत्यु भएको तथ्याङ्क रहेको छ । प्रदेश सरकारले मातृ मृत्यु बढी भएका स्थानीय तहहरूमा विशेष आमा सुरक्षा कार्यक्रम, धेरै मातृ मृत्यु हुने स्वास्थ्य क्लिनिक सञ्चालन, आपतकालिन अवस्थाका गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, जिल्लामा अवस्थित अस्पतालहरूबाट रेफर गर्दा एम्बुलेन्स सेवा सहज बनाउने कार्यक्रमहरू अगाडि बढाएको छ ।

मातृ मृत्यु तुलनात्मक रुपमा तराईका जिल्लाहरूका आमाहरू सबैभन्दा बढीले ज्यान गुमाउने गरेका छन् । गर्भवती आमालाई अस्पताल नै नलैजाने, लगिहाले पुर्‍याउन ढिलाई हुने, निर्णय लिन ढिलाई गर्ने र स्वास्थ्य संस्थाहरूले रेफर गर्न ढिलाई गरेका कारण धेरै आमाहरूको अकालमै मृत्यु हुने गरेको छ । नेपाल सरकारले १९९७ देखि आमा सुरक्षा कार्यक्रममा उल्लेखनीय बजेट खर्चेको भए पनि गर्भवती भएदखि सुत्केरी भएको ४५ दिनसम्म नियमित चेकजाँच निःशुल्क प्रसूति सेवा, यातायात तथा पोषण खर्च वितरण गरेको भएपनि कपिलवस्तुका अधिकांश आमाहरूको पहुँच पुग्न सकेको छैन् ।

कपिलवस्तु अस्पताल, तौलिहवाका पूर्व मेडिकल सुपरिटेण्डन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विपिन जायसवालले गर्भवती अवस्थामा खतराको चिन्हबारे ज्ञान नहुनु, जनचेतनाको कमी, संस्थामा सुत्केरी हुँदा सुरक्षित भइन्छ भन्ने विषयमा जानकारी नहुनु, पारिवारिका सपोर्ट नभएको कारणले पनि घरमै सुत्केरी हुने गरेको बताउनु भयो ।

डा. जायसवालले अस्पताल पुर्‍याउन घरपरिवारले सहयोग नगर्ने, अस्पतालमा सुत्केरी हुँदा सुरक्षित भइन्छ भन्ने विषयमा जानकारीको अभाव, स्वास्थ्य संस्थाप्रतिको विश्वासको कमी, स्वास्थ्य संस्थामा भन्दा घरमै सुत्केरी हुँदा राम्रो भन्ने भ्रम र रुढीबादी सोचका कारणले पनि घरमै सुत्केरी हुनेको सङ्ख्या बढेको जोखिममा पनि त्यत्तिकै बढेको बताउनु भयो ।

लुम्बिनी प्रदेशमा मातृ मृत्युदर देशकै उच्च रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार प्रदेशमा १ लाख जीवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेको पाइएको हो । यो तथ्याङ्क देशका सात प्रदेशमध्येकै उच्च हो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा दुर्गम मानिने सुदुरपश्चिम र कर्णाली प्रदेशमा भन्दा पनि लुम्बिनी प्रदेशमा बढी २ सय ७ जना र सबैभन्दा कम बागमती प्रदेशमा ९८ जना आमाहरूको मृत्यु भएको तथ्याङ्क छ ।

त्यसैगरी जिल्लागत अवस्थाको विश्लेषण गर्ने हो भने सबैभन्दा बढी बाँके जिल्लामा ३६ जना र सबैभन्दा कम रुकुम पूर्वमा एक जना आमाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । रुपन्देही जिल्ला मातृ मृत्युको हिसाबले दोस्रो स्थानमा रहेको छ । कपिलवस्तु २८ जना, रुपन्देहीमा ३० जना, बर्दिया १४ जना, दाङमा १५ जना, प्यूठानमा ६ जना, गुल्मी सात जना, अर्घाखाँची चार जना, रोल्पामा ६ जना, पाल्पामा चार जना र पश्चिम नवलपरासीमा सात जना गरी २ सय ७ जना आमाको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म शतप्रतिशत संस्थागत सुरक्षित सुत्केरी गराउने र मातृ मृत्युदर ७० जना प्रतिलाखमा झार्ने लक्ष्य राखेको छ । तर अहिलेको यही अवस्थामा भने चुनौती देखिन्छ । यसका लागि सबैभन्दा बढी स्थानीय सरकार गम्भीर हुन आवश्यक रहेको छ ।

- रीमा बिसी