उपचारलाई खर्च छैन भन्दै अपाङ्गता भएका व्यक्तिलाई खोरमा !

पाल्पा । ०७८ भदौ २३ गते

गाउँको पाखो बारी भन्दा तल ठुलै ढिक छ । ढिक मुनी टिनको छानो लगाइएको दुई तले सानो घरको पिँढीमा बाख्रा थुन्न बनाइएको जस्तै बाँसले बारेको खोर छ । झट्ट हेर्दा जो कोहीले पनि बाख्रा वा कुखुरा थुन्न बनाएको खोर होला भन्ने अड्कल गर्छन् । तर, त्यही खोरमा जान्नेबुझ्ने भएदेखि नै थुनिएर बस्न बाध्य हुनुभएको छ, ३४ वर्षीय तुलाराम कामी ।

तानसेन नगरपालिका–१० तेल्घा बाँझोबारीका तुलाराम मानसिक बिरामी रहेको भन्दै उहाँका आफन्तहरूले थुनेर राख्दै आएका छन् । उहाँ जन्मदै शारीरिक तथा मानसिक रूपमा अपाङ्गता हुनुहुन्थ्यो । आफूहरू दिनभर काममा हिँड्नुपर्ने र छोरालाई घरमा एक्लै बाहिर छोड्दा हराउने, लड्ने, गाउँमा अरूलाई दुःख दिने डरले खोरमा थुनेर राख्ने गरेको तुलारामकी आमा मनसरी कामीले बताउनु भयो ।

मैलिएर पुरानो भइसकेको लुगा, शीरमा पुरानै ढाका टोपी लगाएर एउटा गुन्द्री र सामान्य बिछ्यौनामा खोरभित्र बस्नुभएका तुलारामका दैनिकी यसरी नै बित्ने गरेको छ । उहाँ बोल्न सक्नुहुन्न । सामान्य रुपमा हिँड्डुल गर्न नसकेपनि घस्रिएर गाउँ नजिक नजिकसम्म पुग्न भने सक्नुहुन्छ । उहाँले घरका आमा बाबु र भाइबाहेक अन्य कसैलाई पनि चिन्न सक्नुहुन्न ।

दिउँसोको समयमा छोरालाई पिँढीको खोरमा थुनेर राख्ने गरेको र रातिको समयमा घर भित्र लैजाने गरेको मनसरीले बताउनु भयो । तुलारामलाई हिँड्डुल गर्न सक्ने अवस्थादेखि नै यसरी राख्ने गरिएको उहाँले बताउनु भयो । ‘हामी काममा जानु पर्छ । उसैलाई कुरेर बस्न सम्भव पनि भएन त्यसैले थुनेरै राख्छौँ ।’–उहाँले भन्नुभयो–‘जन्मदा पनि सानो पुड्को थियो । अहिले पनि होचै छ । पछि बोल्छ कि भन्ने लाग्या थियो तर बोल्न पनि सकेन । आखिरमा मानसिक समस्या पनि देखियो ।’

छोराको उपचार र नियमित फिजियोथेरापी गराउने हो भने निको हुन्छ भनेर धेरैले भन्ने गरेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचार र फिजियोथेरापी गर्ने ठाउँसम्म लैजान नसकिएको उहाँले बताउनुभयो । मनसरीका पति तेजबहादुर कामी पनि बोल्न सक्नु हुन्न । अरूले भनेको कुरा बुझ्ने र सोही अनुसार काम गर्ने गर्नुहुन्छ । तेजबहादुर मेलापात र मिस्त्री काम गर्नुहुन्छ । फुर्सदको समयमा डोको बुन्ने काम पनि गर्नुहुन्छ । उहाँकै कमाइबाट यो परिवारको गुजारा चलेको छ ।

उहाँका दुई छोरा र दुई छोरी हुन् । छोरीहरूमा कुनै पनि समस्या छैन । तर, दुवै जना छोरा भने अपाङ्गता भएका छन् । कान्छा छोरा शिव कामी २८ वर्षको पुग्नु भयो । उहाँ पनि बोल्न सक्नु हुन्न । घरमा दुवै जना बोल्न नसक्ने भएकोले निकै दुःख भएको मनसरी बताउनु हुन्छ । आफूहरू बुढाबुढी बाचुञ्जेल छोराहरूको रेखदेख जसोतसो गरेपनि त्यसपछि छोराहरूलाई कसले हेरबिचार गर्ला ? कसले खान देला ? भन्ने पिरलोले सताउने गरेको मनसरीले बताउनुभयो ।

तानसेन नगरपालिका–१० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनाले आफु निर्वाचित भएलगत्तै तुलारामको अवस्था थाहा पाएपछि सदरमुकाम लगेर ०७६ सालमा तुलारामको नागरिकता बनाइ दिएको बताउनु भयो । पछि जिल्लास्तरीय टोली नै घरमै ल्याएर २०७६ माघ महिनामा तुलारामलाई पुर्ण अपाङ्गताको परिचय पत्र बनाएर सरकारको तर्फबाट मासिक ३ हजार रुपियाँ भत्ता उपलब्ध गराउँदै आएको तिमिल्सिनाले बताउनु भयो । बाबु र अर्को छोरा पनि अपाङ्गता भएपनि उहाँहरूले भत्ता पाउनु हुन्न । उहाँलाई हरियो रङको परिचय पत्र उपलब्ध गराइएको छ । सदरमुकाम नजिकैको गाउँमा उचित उपचारको अभावमा यसरी युवा थुनिएर बस्न बाध्य हुनु दुःखद् रहेको बताउँदै उहाँले सहयोगी व्यक्ति र संस्थाहरूलाई तुलारामको उपचारका लागि सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।
photo20210908palpa (1)

photo20210908palpa (2)

photo20210908palpa (3)

photo20210908palpa (4)

photo20210908palpa (6)

photo20210908palpa (7)

photo20210908palpa (5)

- यज्ञमूर्ति तिमिल्सिना