उज्जवल भविष्यको चिन्तामा अभिभावक विहीन बालबालिका

पाल्पा । ०८१ असोज ९ गते

बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी नौ वर्षीया सोनिया खाम्चाले स्थानीय सिद्धि माविमा कक्षा ४ मा पढ्नुहुन्छ । सोनियाका बुबाको निधन सात वर्ष अघि भइसक्यो । बुबाको निधन भएपछि आमाले पनि अर्कै विवाह गर्नुभयो । अहिले सोनिया मावली हजुरआमासँगै बसेर पढ्नुहुन्छ ।

भविष्यमा नर्स बन्ने योजना छ सोनियाको । 'बुबा आमा साथमा नभए पनि हजुरआमासँगै बसेर पढ्दैछु, धेरै पढ्ने र राम्रो मान्छे बन्ने सोँच छ', सोनियाले भन्नुभयो । सोनिया जस्तै अभिभावक विहीन बालबालिकाहरूको सङ्ख्या बगनासकाली गाउँपालिकामा मात्रै १९ जना छन् । आफूहरूले परिस्थितिले अभिभावक गुमाए पनि राम्रोसँग पढ्ने र समाजमा राम्रो पहिचान बनाउने सोँच यी बालबालिकाहरूको छ ।

माथागढी गाउँपालिका–४, झडेवाकी १४ वर्षीया नेत्र कुमारी ढेङ्गा पनि अभिभावक विहीन हुनुहुन्छ । नेत्रकुमारी चार वषको हुँदा उहाँको बुबाको निधन भयो । आमाको पनि गत वर्ष टिप्परको ठक्करबाट निधन भयो । नेत्रकुमारी अहिले बगनासकाली गाउँपालिका–२, पोखराथोकको सतसँग आश्रममा रही स्थानीय विष्णु माविमा कक्षा ९ मा पढ्नुहुन्छ । नेत्रकुमारीकी दिदीले कक्षा १२ र बहिनीले कक्षा ६ मा पढ्छन् । नेत्रकुमारीले पनि अभिभावक विहीन हुँदा आफूहरूले धेरै समस्यासँग जुध्नुपरेको र दुःखसुख गरी पढ्दै आएको बताउनु भयो । 'बुबा आमा हुनुहुन्न । उहाँहरूको सपना साकार पार्न पनि हामी दिदी बहिनीले धेरै पढ्नुपर्छ भन्ने सोँच बनाएका छौँ', उहाँले भन्नुभयो । पढ्ने लेख्ने कुरामा आफ्नो बुबाआमा भएजस्तो नहुने उहाँको भनाइ छ ।

बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराका १६ वर्षीय रोहित नेपालीको पनि पीडा उस्तै छ । उहाँले स्थानीय ग्राम्य माविमा कक्षा ११ मा पढ्नुहुन्छ । रोहित पाँच वर्षको हुँदा उहाँको बुबाको निधन भयो । आमाले अर्को विवाह गरेपछि रोहित सानी आमासँगै बस्नुहुन्छ । दुःखसुख गरी पढेर भविष्यमा असल नागरिक बन्ने सोँच छ रोहितको पनि । उज्जवल भविष्यको चिन्ताले सताउने गरेको रोहितको भनाइ छ । जिल्लाका विभिन्न स्थानीय तहहरूले पालिकाभित्र रहेका अभिभावक विहीन बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूको अभिभावकत्व ग्रहण गर्ने प्रयास गरेका छन् । तर पर्याप्त छैन ।

बगनासकाली गाउँपालिकाले स्थानीय तह भित्रका १९ जना अभिभावक विहीन बालबालिकाहरूलाई मासिक १ हजार रुपियाँका दरले शैक्षिक सहयोग भत्ता प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो । गत वर्ष १९ जना बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरी प्रति बालबालिका मासिक १ हजार रुपियाँका दरले गाउँपालिकाले उनीहरूका लागि शैक्षिक सहयोग खर्च उपलब्ध गराएको अध्यक्ष चिदीले बताउनु भयो । गाउँपालिकाको लोककल्याणकारी कार्यक्रमको रूपमा अगाडि बढाइएको यो कार्यक्रमबाट अभिभावक विहीन बालबालिकाहरूको शिक्षाका लागि राम्रो सहयोग पुगेको छ । जसबाट अभिभावक विहीन बालबालिकाहरू खुशी छन् । यो वर्षका लागि विद्यालयहरूबाट निवेदन आह्वान गरिएको र वडाहरूबाट निवेदन सङ्कलन भइ आउने क्रम जारी रहेको उहाँले बताउनु भयो । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको र नागरिकहरूका अप्ठेरोहरूमा सदैब सँगै रहेको अनुभूति गराउने गरी काम गरिरहेको बताउनुहुँदै अध्यक्ष चिदीले अभिभावक विहीन बालबालिकाहरूको शिक्षाका लागि सहयोगी होस् भन्ने उद्देश्यले मासिक १ हजार रुपियाँ गाउँपालिकाबाट उपल्ब्ध गराउँदै आएको बताउनु भयो ।

पूर्वखोला गाउँपालिकाले स्थानीय तहभित्रका २९ जना अभिभावक विहीन बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले अभिभावक विहीन बालबालिकाहरूको अभिभावकत्व ग्रहण गर्दै मन्टेश्वरी कक्षामा अध्ययनरत बालबालिकाका लागि वार्षिक ३ हजार नगद र सोही बमोजिमको स्टेशनरी सामाग्री, प्राविमा अध्ययनरत बालबालिकाका लागि ३५ सय नगद र सोही बमोजिमको स्टेशनरी सामाग्री, निमावि तहका लागि ४ हजार नगद र सोही बमोजिम स्टेशनरी सामाग्री तथा मावि तहमा अध्ययनरत बालबालिकाका लागि ४ हजार ५ सय नगद र सोही बमोजिम स्टेशनरी सामाग्री प्रदान गरिएको पूर्वखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकहरि देवकोटाले बताउनु भयो ।

गाउँपालिकाले अभिभावक विहीन बालबालिकाहरूको शिक्षाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले यसप्रकारको सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनु भयो । उहाँले शिक्षा क्षेत्रको विकास महत्त्वपूर्ण रहेकोले आफूले शैक्षिक विकासका लागि महत्त्व दिएको बताउनु भयो ।

अभिभावक विहीन बालबालिकाहरूको तथ्याङ्क वार्षिक रूपमा अद्यावधिक हुने गरेको छ । यो सुविधा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकालाई प्रदान गर्ने गरिएको छ । अभिभावक विहीन बालबालिकाभित्र बुबा आमा दुबै नभएका, बुबा आमा कारागारमा रहेका व्यक्तिका छोराछोरी लगायत रहेको र गाउँपालिकाले अभिभावकत्व ग्रहण गरेपछि अभिभावक विहीन बालिकाहरूमा विद्यालय जाने र पढ्ने थप हौसला मिलेको अध्यक्ष थापाले बताउनु भयो । उहाँले गाउँपालिका स्थानीय सरकार मात्रै नभएर स्थानीय नागरिकहरूको असल र नजिकको अभिभावक पनि भएकोले पनि यसरी अभिभावक विहीन बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेको अध्यक्ष थापाको भनाइ छ ।

माथागढी गाउँपालिकाले ६४ जना बालबालिकाहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूको पठनपाठनका लागि आवश्यक पाठ्पुस्तक, कपि, कलम तथा अन्य स्टेशनरी, पोशाक जुत्ता उपलब्ध गराएको छ । गाउँपालिकाले अभिभावक विहीन बालबालिकाहरूको अभिभावकत्व सम्बन्धी कार्यविधि नै बनाएको छ । कार्यविधिमा कस्ता प्रकारका बालबालिकाहरूलाई अभिभावक विहीनको रूपमा लिने भन्ने विषय स्पष्ट रहेको छ ।

नेपालको संविधान (२०७२) मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ जसमा सबै नागरिकलाई आधारभूत शिक्षामा पहुँचको प्रत्याभूत गरिएको छ । त्यसैगरी आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिए पनि उनीहरूका लागि आवश्यक स्टेशनरी र पोशाक नहुँदा कतिपय बालबालिकाहरूले विद्यालय नजाने र गएकाहरू पनि नियमित नहुने, कक्षा छोड्ने दर बढी भएकोले गाउँपालिकाले यो अभ्यास गरेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनु भयो । 'गाउँपालिकाले अभिभावकत्व ग्रहण गरी १२ कक्षासम्म यसै गरी सहयोग प्रदान गर्दै जानेछौँ', अध्यक्ष चिदीले भन्नुभयो ।

जिल्लाका अन्य सात ओटा स्थानीय तहहरूले पनि अभिभावक विहीन बालबालिका लक्षित विभिन्न कार्यक्रम ल्याएका छन् । जिल्लाभर अभिभावक विहीन बालबालिकाको सङ्ख्या ३ सय जनाभन्दा बढी रहेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था, पाल्पा सिविआरका कार्यक्रम संयोजक कृष्ण गहतराजले बताउनु भयो । स्थानीय सरकारले अभिभावक विहीन बालबालिकाको सहयोगार्थ केही पहल गरे पनि पर्याप्त नभएको उहाँको भनाइ छ । ग्राम्य माध्यमिक विद्यालय चिर्तुङधाराका प्रधानाध्यापक दयाराज कँडेलले अभिभावक विहीन बालबालिकाहरूको शैक्षिक निरन्तरता सँगै उनीहरूको पोषणको पनि समस्या रहेको बताउनु भयो ।

- यज्ञमूर्ति तिमिल्सिना