इन्सेकको पहलमा निरन्तर पढ्ने मौका पाउँदै बोटे बालबालिका

पाल्पा । ०८१ असार १८ गते

बगनासकाली गाउँपालिका-७, खानीगाउँ दैलातुङको बोटे गाउँमा २०७४ कात्तिक २६ गते सबेरै इन्सेक प्रतिनिधि पुग्दा १४ वर्षीया हेमा बोटे र उहाँका भाइ १० वर्षीय सन्तवीर बोटे (बुद्ध) ले आमा बुबाको मृत्युपछि कष्टकर दैनिकी बिताउँदै थिए ।

खरको छानो लगाइएको एक तले घर पानीले चुहिने भएपछि माथिबाट प्लाष्टिक कागजले ओताइएको थियो । घरको लिपपोत नभएको पनि वर्षौ भए जस्तो देखिन्थ्यो । पुरानो घरले विश्राम लिन खोज्दै थियो । आमा बुबाको मृत्युपछि हेमा र बुद्ध बेसाहारा मात्रै नभएर बेवारिसे जस्तै थिए । दिदी हेमा शारीरिक रुपले समेत अशक्त भएकोले हिँड्डुल गर्न र विद्यालय जान समेत सक्नुहुन्थेन । भाइ बुद्ध भने स्थानीय दैलातुङ आधारभुत विद्यालमया कक्षा १ मा भर्ना भए पनि विद्यालय कहिले कसो मात्रै जानुहुन्थ्यो ।

आमाको २०७१ सालमा निधन भएको थियो । आमाको मृत्युपछि खुट्टा सम्बन्धी रोगले ग्रस्त भएका बसबाको पनि २०७३ सालमा निधन भयो । बुबा आमाको निधनपछि उनीहरू आफ्नै घरमा हजुरआमासँगै बस्दै आएका थिए । उनी हजुरआमाको पनि ०७४ भदौ महिनामा निधन भएपछि थप समस्यामा परेका थिए । घरमा आय आर्जन नभएपछि खान लाउन समस्या थियो ।

जसका कारण बोटे दिदी भाइ बिचल्लीमा परेका थिए । ०७४ कात्तिक २६ गते इन्सेक अनलाइनमा "बोटे बालबालिका जसले कष्टकर जीवन गुजार्दै छन्" शीर्षकमा फोटो फिचार छापिएको थियो । कात्तिक २६ गते इन्सेक अनलाइनमा उक्त समाचार छापिएपछि बगनासकाली गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णप्रसाद बस्याल सहित वडा अध्यक्ष लगायत सरोकारवालाहरू हेमा र बुद्धको घरमै पुगेर उनीहरूका लागि केही खाद्यन्न र लत्ता कपडा उपलब्ध गराउनुभएको थियो ।

कात्तिक २७ गते नै इन्सेकको पहलमा पाल्पा जिल्लामा गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहले पाल्पाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवम् बालकल्याण समिति पाल्पाका अध्यक्ष विष्णुप्रसाद ढकाललाई बोटे बालबालिकाहरूको उचित व्यवस्थापनका लागि ध्यानकर्षण पत्र बुझाएका थिए ।

इन्सेक जिल्ला प्रतिनिधि, मानव अधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी, इन्द्रेणी समाज केन्द्रका कार्यक्रम संयोजक रुद्र मश्राङ्गी, पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेल, पाल्पा आवाज पत्रिकाका दयाराज न्यौपाने, श्रीनगर टेलिभिजनका विष्णुप्रसाद घिमिरे, सुर्योदय टेलिभिजनका कमल बस्याल, मानव अधिकार निगरानी समूहका माया नेपालीले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरी बुझाउनुभएको थियो ।

बगनासकाली गाउँपालिका–७, खानीगाउँ वडा कार्यालयमा कात्तिक २९ गते हेमा र बुद्धलाई ल्याई उनीहरूको जन्मदर्ता बनाइएको थियो र सोही दिन नै उनीहरूलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ल्याई छलफल पश्चात दुबै बालबालिकाको सहमतिमा तानसेन स्थित सिलोम बालगृहमा राखिएको थियो । हेमामा अहिले पनि शारीरिक अपाङ्गता छ । उहाँ सहज रुपमा हिँड्डुल गर्न सक्नुहुन्न र विद्यालय जान सक्ने पनि अवस्था छैन ।

बुद्ध बोटे अहिले कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । तानसेन स्थित भुसलडाँडा माविमा उहाँ आउने जाने गर्नुहुन्छ । खान, बस्न, पढ्ने सबै सुविधा सिलोम बालगृहले नै मिलाएको छ । सिलोम बालगृहका कार्यकारी निर्देशक पुननारायण श्रेष्ठले बुद्ध र हेमा दुबै दिदी भाइ अनुशासित रहेको बताउनु भयो । इन्सेक प्रतिनिधिसँगको भेटमा बुद्धले खुशी व्यक्त गर्नुभयो । आफूले राम्रोसँग पढ्ने र देशमै सेवा गर्ने सोँच रहेको बुद्धले बताउनु भयो । आफूहरू दिदी भाइलाई अप्ठ्यारो अवस्थाबाट ल्याएर निरन्तर पढ्ने मौका दिने कुरामा पहल गरेको भन्दै बुद्धले इन्सेकलाई धन्यवाद दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्यालले बुद्धले अनुशासित रूपमा पढ्दै आएको बताउनु भयो । पढाइको अतिरिक्त विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि बुद्धको राम्रो सहभागिता र प्रस्तुति रहको प्रधानाध्यापक बस्यालले भन्नुभयो ।

Photo02072024Palpa

- यज्ञमूर्ति तिमिल्सिना