आलै छ पाँच वर्षपुरानो घाउ
कृष्णबहादुर बिक
कुरा हुँदै थियो । उनी जुरुक्क उठे । घरभित्र पसे । थाहा छैन किन हो - उनले कुरा गर्न मन नगरेको जस्तो लाग्यो । मिनेटभरमा उनी घर बाहिर आए । गहभरि आँशु देखिन्छ । हातमा लेमिनेशन गरेको एउटा फोटो छ । आफूले हेर्दै फोटो हामीलाई पनि देखाउँछन् । अनि फोटो सुम्सुम्याउदै भावविहृवल हुँदै आँखाबाट बर्रर आँसु झार्दछन् । फोटालाई म्वाई खान्छन् । त्यो दृश्यले हामीलाई स्तब्ध बनाउँछ । उनका आँखाबाट बगेका आँशुका धाराहरू देख्दा जसको पनि मन खिन्न हुन सक्छ
डोटी जिल्ला बर्छेन गाविस-९ बीपीनगरबाट विस्थापित भई हाल कैलालीको धनगढी बस्दै आएका ५४ वर्षीय लालबहादुर कलेल कुरा गर्दागर्दै माओवादी सशस्त्र युद्धका बेलामा गुमेका आफ्ना दुई छोरालाई सम्झेर भक्कानिएर रुन थाले । उनको रुवाइमा उनकी पत्नी पनि साथ दिन थालिन् ।
०५७ देखि डोटीको बर्छैनमा माओवादी प्रभाव बढेपछि कलेल परिवारको दुःखका दिनहरू शुरु भए । लालबहादुर कलेलको परिवार र गाँउकै एक जना छिमेकी कमलसिंह मन्नीसँग घरायसी झगडाका कारण कुटाकुट भएको थियो । मन्नी केही समयपछि माओवादीको पूर्णकालीन कार्यक्रर्ता भएर काम गर्दै आएका थिए । उनीसँग कलेलको मुद्दा चलिरहेको थियो । लालबहादुर कलेल भन्छन् "कमल सिंह मन्नीले मेराविरुद्घ विभिन्न आरोपहरू लगाउनका साथै छेडामा भएको घटना पनि यसैका छोराका कारण भएको हो भनी कुरा लगाएपछि तेजबहादुरलाई माओवादीले मारेका हुन् ।"
डोटीको छेडामा ०५९ वैशाख १९ गते सुरक्षाफौजले माओवादी सेनामाथि गरेको आक्रमणमा माओवादी पक्षमा ठूलो क्षति भएको थियो । सो घटना गराउन सुराकी गरेको आरोप लालबहादुर कलेलका छोरा तेजबहादुर कलेलमाथि लगाई ०५९ वैशाख २८ गते माओवादीहरूले पाशविक तवरले हत्या गरेका थिए ।
सो दिन मिलमा काम गरिरहेका तेजबहादुरलाई माओवादीले अपहरण गरी बन्दुकको कुन्दा र लाठीले कोदो चुटेजस्तै चुटे । बाबा बाबा भनेर तेजबहादुर कराए । ज्यान नलिन लागि बिन्तिभाउ गरे । मनमा रत्ति पनि दयामाया नभएकाहरूले ढुङ्गाले किचेर उनको हत्या गरे । त्यो हृदयविदारक घटना र छोराको चित्कार लालबहादुरको मुटुमा गढेर बसेको छ ।
यसरी एउटा छोराको हत्याले व्यथित कलेल परिवारमाथि फेरि अर्को बज्रपात भयो । विस्थापित भएर बस्दा घर खर्च जुटाउन नसक्ने भएपछि कलेलका माइला छोरा दीपकले साझेदारीमा धनगढीमा मोटर ग्यारेज खोले । तर ग्यारेजको साझेदार एक जना भारतीय नागरिकले ०६१ भदौ ८ गते उनको हत्या गरी ग्यारेजको सबै सम्पत्ति लुटेर साझेदार फरार भयो ।
उसो त कलेल परिवार विपन्न कहाँ हुन र ! ०३९ सालमै १ लाख ५० हजार लगानी गरेर डोटीको बीपीनगरमा पसल शुरु गरेका थिए । ०४६ मा त्यहाँ पानीबाट चल्ने मिल पनि चलाएका थिए । त्यही मिलको आयस्रोतबाट उनले त्यही समयमा धनगढीमा सानो टुक्रा जग्गा पनि किनेका थिए । कलेल राजनीति नबुझेका मानिस पनि हैनन् । ०४९ देखि ०५४ सम्म नेपाली काँग्रेसका तर्फबाट बर्छैन गाविसका अध्यक्षसमेत भएका थिए तर छोराको हत्या र विस्थापित जीवनपछि उनी राजनीतिबाट अलग्गिए ।
हाल लालबहादुर कलेल धनगढीमा नै बस्दै आएका छन् । परिवारको दैनिक खर्च र छोराछोरीहरूको पढाई खर्च सबै ऋण लिएर चलाउँदै आएको उनी बताउँछन् । गाउँमा राम्रो बन्दोबस्त मिलाएर सुखी जीवन बिताएका कलेललाई आजभोलि खान लगाउनको निम्ति निकै समस्या छ । उनकी पत्नीले एउटा भैसी पालेकी छिन् । दुध बेचेर आएको थोरै पैसाले परिवारको खर्च जुटाउन निकै गाह्रो छ । दुध बेचेको पैसा र मजदुरी गरेर ल्याएको आर्जनबाट एउटा छोरालाई काठमाडौंमा पढाइरहेका छन् भने छोरी धनगढीस्थित पञ्चोदय माध्यामिक विद्यालयमा पढ्दै छिन् । तर सरकारी शिक्षालय भएर पनि उनीहरूको मासिक शुल्क मिनाहा गराउने र अरु केही राहत दिने काम कहीँ कसैबाट भएको छैन् ।
कलेल दम्पत्तिलाई एकातिर विस्थापित जीवन बिताउनुका अप्ठेराहरू छन् भने अर्कातिर दुईदुई जना छोरा गुमाउनुको पीडामा घाउहरूलाई मलमपट्टी कसले लगाउने हो -
यो एउटा उदारण मात्र हो । द्वन्द्वका समयमा सुदुरपश्चिमका विभिन्न जिल्ला र कैलालीका ग्रामीण भेगबाट विस्थापत हुन पुगेका विस्थापितहरूको पीडा पनि सुनि नसक्नुको छ । माओवादीका कारण विस्थापित भएकाहरू कैलाली जिल्ला, धनगढी नगपालिका क्षेत्रमा मात्र ९८ घर परिवार दुखदायी जीवन बिताउन विवश छन् । बृहत् शान्ति सम्झौतामा सरकार र नेकपा माओवादीले विस्थापितहरूलाई ससम्मान पुनर्स्थापना गर्ने कुरामा हस्ताक्षार गरेका छन् । तर विस्थापितहरूका समस्या भने जस्ताको तस्तै छ । त्यसो त अन्तरिम संविधानमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरेर कलेलजस्ता पीडितहरूलाई राहत पुग्ने मनसाय जाहेर भएको छ । त्यो कत्तिको सम्भव छ भविष्यले नै बताउला ।
कैलाली । ०६४ पुस
-
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…