आर्थिक अभावका कारण आमालाई डिप्रेसन हुँदा छोरा छोरीको बिजोग

२०८० चैत ३०

छत्रदेब गाउँपालिका-७, भुसखाताका ४८ वर्षीय मित्रलाल पाण्डेको पत्नी ३६ वर्षीया जानका पाण्डे आर्थिक अभाव भएका कारण दुई महिना अगाडिदेखि मानसिक तनाबले बिरामी भएर काम गर्न नसक्दा खानेकुरा जुटाउन र बाल बच्चाको स्याहार सम्भार गर्न समस्या भएको छ ।

मित्रलाल पाण्डे भन्नुहुन्छ, ‘म अपाङ्गता छु तर मेरो कार्ड छैन, भत्ता पाउँदिन । मेरो आँखाको समस्या, खुट्टाको समस्या र शरीरको समस्याको कारण हेर्न, हिँड्न र काम गर्न सक्दिन । पत्नी जानकी मानसिक बिरामी भएपछि छोराछोरीले राम्रोसँग खान पाएका छैनन् । जानकीलाई उपचार गर्न लैजान पैसा छैन । छिट्टै उपचार गर्न सके सञ्चो हुने थियो । आम्दानीको श्रोत केही छैन, मेरो आमाको मृत्यु भएपछि झन् ठूलो समस्या हुँदै गएको छ ।’

घर सम्पत्ति छ तर लालपुर्जा छैन । आफ्नो बारी भएपनि खनजोत गर्न सक्नुहुन्न । खेती गरे जङ्गली जनावरले सखाप पारिदिन्छ । जानकी बिरामी नहुँदा गाउँमा निमेक गरेर ल्याएको अन्न पैसाले चलेको उहाँ बताउनुहुन्छ । अहिले त्यही पनि छैन । घरबाट पढाउन नसकेर १५ वर्षीया ठूली छोरी र १३ वर्षीया माइली छोरी आफन्तको घरमा काम गरेर पढ्न पठाएको उहाँले उल्लेख गर्नुभयो । अब घरमा नौ वर्षीया कान्छी छोरी, पाँच वर्षीय ठूलो र तीन वर्षीय कान्छो छोरा छन् । यी छोरा छोरीहरू कसरी पाल्ने, पढाउने र पत्नीको उपचार कसरी गर्ने भन्ने चिन्ता छ मित्रलाल पाण्डेलाई ।

मित्रलालको माइली छोरी १३ वर्षीया आशा पाण्डेले आमा बिमारी हुनुभएको थाहा पाएपछि फुपुदिदीको घरबाट बिदा मागेर धेरै प्रयास गरे पनि आमाको समस्या निको भएन । 'फर्केर नजाउँ पढाई बिग्रिन्छ जाउँ भने घरमा यस्तो छ कसरी जाउँ', उहाँ बताउनुहुन्छ ।

सानातिना सहयोग छिमेकले गर्न सकिने रहेछ र गर्दै आएका छन् । जानका बिमारी भएपछि परिवारकै बिजोग भएको छिमेकी नेत्र प्रसाद पाण्डेले उल्लेख गर्नुभयो । आम्दानीको श्रोत, कमाउने मानिस नहुनु र छोराछोरी धेरै हुनुको कारण उहाँ बिरामी हुनुभएको छिमेकी पाण्डेले बताउनु भयो । उपचार गर्न पैसाको अभाव भएकोले टाढा अस्पताल लैजान सकेका छैनन् । वैशाख ६ गते नजिकको गुल्मी अस्पताल, तम्घासमा यस्तै बिरामी चेक जाँच गर्ने डाक्टर आउने भएको हुँदा तम्घास लैजाने छिमेकीबाट सल्लाह भएको उहाँले उल्लेख गर्नुभयो ।

परिवारको लागि वडा र स्थानीय तहबाट हालसम्म कुनै पनि सहयोग भएको छैन । उहाँले अपाङ्गता कार्ड बनाउन पनि सक्नुभएको छैन । खानेपानीको केही समस्या छ, लिफ्टिङ्ग खानेपानीको धारा जडान गर्न बढी महङ्गो भएको हुँदा जोडिदिन सकिएको छैन । तर टोलमा सबैको घरमा लिफ्टिङ्ग खानेपानीको धारा जडान भएका छन् ।

श्री सरस्वति माध्यमिक विद्यालय, भुसखाताका सहायक शिक्षक बाबुराम पाण्डेले राज्यले व्यवस्था गरे अनुसार बालिकाहरूको लागि दिने छात्रावृत्ति र ड्रेसका कपडा दिएको बताउनु भयो । उहाँले कापी र कलम निःशुल्क उपलब्ध गराए पनि घरको अवस्था दयनीय बन्दै गएको उहाँ बताउनुहुन्छ ।

सोही विद्यालयको शिक्षिका जुना पाण्डेले मित्रलाल पाण्डेको अपाङ्गता कार्ड बनाएर भत्ता पाउने व्यवस्था मिलाउन पाए उहाँलाई राहत मिल्ने बताउनु भयो । सङ्घ संस्थाहरूको सहयोग अति आवश्यक छ तर जानकी पाण्डेको उपचार गर्न राज्य पक्षले पनि सहयोग गर्दा राम्रो हुने उहाँले उल्लेख गर्नुभयो । उक्त परिवार र बालबालिकालाई विशेष सहयोगको आवश्यकता भएको उहाँले बताउनु भयो ।

छत्रदेब गाउँपालिका-७ की वडा सदस्य शान्ता पाण्डे क्षेत्रीले महिलाले गर्दा घर परिवार राम्रो चल्ने बताउनु भयो । महिला कमजोर र अशक्त हुँदा परिवार र छोराछोरीको बिजोग बिचल्ली हुने उल्लेख गर्नुभयो । जानकी बिरामी नहुँदासम्म उहँको घरको समस्या धेरैलाई चासो भएको थिएन । अरुको काम गरेर व्यवस्थापन गर्नुभएको थियो । उहाँको उपचार भएन भने छोराछोरीको ठूलो दुर्दशा हुने देखिएको वडा सदस्य पाण्डेले भन्नुभयो । सबैतिरबाट सहयोग जुटाएर भएपनि उपचार गर्न लैजाने उहाँले बताउनु भयो ।

छत्रदेब गाउँपालिका-७ का वडाध्यक्ष नारायण प्रसाद पाण्डेले मित्रलाल पाण्डेको घरमा समस्या हुँदै गएकोे थाहा पनि छ तर वडाबाट तत्काल ठूलो सहयोग गर्न केही नसकिने बताउनु भयो । खानेपानीको लागि पाइप व्यवस्था गरी दिने, लिफ्टिङ्ग खानेपानीको धारा जडान गर्न पहल गर्ने र मित्रलालको अपाङ्गता कार्ड बनाउन पनि सहयोग पुर्‍याउने कुरा भएको उहाँले उल्लेख गर्नुभयो ।

छत्रदेब गाउँपालिका कार्यालयको महिला तथा बालबालिका शाखा प्रमुख शारदा बिकले मित्रलाल र जानकी पाण्डेको घर परिवारको यस्तो अवस्था भएको हुँदा आफूहरू सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । यस विषयमा गाउँपालिका कार्यालयमा छलफल गरेर गर्न सकिने सहयोग गर्ने उहाँले बताउनुभएको छ ।

Photo12042024Arghakhanchi

Photo12042024Arghakhanchi1

Photo12042024Arghakhanchi2

- कुलबहादुर नेपाली