आरनबाटै जीविका चलाउँदै कालीगढहरू !

सल्यान । ०८१ पुस २३ गते

सल्यान सारदा नगरपालिका–२, खलङ्गाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि नै आरनको काम गर्दै आउनुभएकाे छ । पाँच वर्षको उमेरदेखि नै उहाँले फलामका हतियार बनाउन सिक्नुभएको थियाे । उहाँका बाजेदेखि बुबासम्मका पुर्खाले यही आरन पेशा गरे । त्यही भएर पनि उहाँले आफूसँगै आफ्ना छोराहरूलाई समेत आरनमा जोडे । सशस्त्रमा रहेका उहाँका माइला छोराले दाङमा सल्यानी खुकुरी एन्ड कृषि औजार हस्तकला उद्योग चलाउनुभएकाे छ ।

उहाँको आरनमा सल्यानी ब्राण्डका खुकुरीहरू बन्छन् । आरनका अन्य कामहरूभन्दा सल्यानी ब्राण्डका खुकुरी, खुँडा र घरेलु हतियार बनाउँदै आएको विष्णु बताउनुहुन्छ । ‘तीन छोरा मध्ये दुई छोरा सशस्त्र प्रहरी छन् । अर्का एक छोरा पढिरहेका छन् । उनीहरू तीनै जनाले खुकुरी र आरनको काम सिकेका छन् । जागिरबाट रिटायर्ड भएपछि उनीहरूले गर्ने पनि यही नै हो । हामीले बनाएर पो सल्यानी ब्राण्डको चर्चाहुन्छ । यदी भोलीका पीढिले गरेनन् भने इतिहास नै मेटिन्छ । त्यसैले म यो काम छोड्न सक्दैन’ - उहाँले भन्नुभयाे । २०५५ सालमा सन्तोष खुकुरी उद्योग दर्ता गरेर व्यवसायिक रूपमा नै खुकुरी उत्पादनमा लागेका उहाँले पहिला बालिघरेबाट अहिले नगदमा आएपछि आम्दानीमा वृद्धि भएको सुनाउनुभयाे । ‘पहिला त एक दुई पाथीमा काम गरिन्थ्यो । अहिले नापेर बेचिन्छ । मासिक ६० हजार रुपियाँसम्म बचत हुन्छ । सरकारले सामाजिक सुरक्षा भत्ता पनि दिएकै छ । कहिलेकसो प्रशिक्षक भएर समेत विभिन्न जिल्ला जान्छु’ - विष्णुले भन्नुभयाे । विष्णुले हतियार बनाउने सिप भएको आफू सातौँ पुस्ताको रूपमा रहेको भन्दै घरबाटै सामग्रीहरू बिक्री गर्ने गरेको बताउनु भयाे । विष्णुले बिरहरुको पाइलासहितको ‘पाटीवाल’ खुकुरी बनाउनुहुन्छ । यो नै सल्यानी खुकुरीको मुख्य ब्राण्ड हो । त्यसैले पनि ग्राहकहरूको रोजाईमा उक्त खुकुरी पर्ने गर्दछ ।

उहाँले औँलाको १ सय ६० का दरले खुकुरी र खुँडाहरू बेच्ने गरेका छन् । १५ सय देखि १० हजार रुपियाँसम्मका खुकुरी र खुँडाको मूल्य पर्छ । ‘सल्यानी खुकुरीलाई ग्राहकले चिन्ने भनेको नै विरहरुका पैतला र पाटीवाल हो । खुकुरीमा तीन ओटा पाटा हुन्छन् । त्यसले हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्छन् । धारको भाग नदीनालाको संकेत हो भने विरका पैतलाले उनीहरूले लडाईंमा गरेको योगदान भन्ने बुझिन्छ । अरुपनि विभिन्न सङ्केतहरु हुन्छन्’ - उहाँले थप्नुभयाे । प्रदर्शनीमा समेत आफूले बनाएका खुकुरीले पुरस्कार पाएको भन्दै बाबुबाजेले बनाएका सल्यानी खुकुरी राजदरबारसम्म पुगेको उहाँको भनाई छ ।

त्यस्तै ४२ वर्षीय अर्का कालीगढ कुलबहादुर विक पनि २० वर्षदेखि खुकुरी बनाएर बेचिरहनुभएकाे छ । उहाँले दैनिक एकदेखि दुई खुकुरीसम्म बनाएर बेच्नुहुन्छ । कुलबहादुरका बुवा बाजेले पनि यहि आरन पेशा गर्थे । एक छोरा र दुई छोरीलाई यही पेशाबाटै पालनपोषण र पढाई लेखाई गराएको उहाँले बताउनु भयाे । उहाँले उत्पादन गरेका खुकुरीहरू केही फुटकरमा बिक्री गर्नुहुन्छ भने अधिकांश खुकुरी र खुँडाहरू स्थानीय सल्यानी खुकुरी उद्योगलाई औँलाको १ सय ४० का दरले बेच्नुहुन्छ । ‘लामो दिनमा दुई ओटासम्म खुकुरी बनाइन्छ । आजभोली त एक मात्रै बनाउन सकिन्छ । कोही घरमै आएर लिन्छन् । बाँकी सबै सल्यानी खुकुरी उद्योगमा बेच्छु । यसोगर्दा पनि ७० देखि ८० हजारसम्म कमाउने गरेको छु । घरव्यवहार यसैबाट चलाएको छु’ - उहाँले भन्नुभयाे । उहाँले आरनमा फलाम तताउनका लागि कोइला ५० रुपैयाँ प्याक किन्ने गरेको र टल्काउनका लागि विद्युतबाट चल्ने ग्राण्डिङ मेसिनबाट काम गर्दै आएको बताउनु भयाे । तर, वनबाट कोइला ल्याउन नपाएपछि व्यवसाय गर्न समस्या परेको उहाँले सुनाउनुयाे । उहाँका पाँच भाईमध्ये चार भाइले यहि आरन पेशा गर्दै आएका छन् । सानोमा ८ औंलादेखि ४२ औलासम्मको खुकुरी र खुँडा बनाउने गरेको उहाँको भनाई छ ।

खलङ्गाकै ३६ वर्षीय राजु विकले १५ वर्षदेखि आरन चलाईरहनुभएकाे छ । उहाँले दुई तीन वर्ष भारतको सिम्लामा काम गर्नुभयाे । पछि उहाँलाई अर्काको गुलामी बन्नभन्दा बुबा बाजेको पेशा अँगाल्ने सोच आएपछि आरनमा मनग्य आम्दानी कमाई रहनुभएकाे छ। ‘भारततिर गैयो । त्यहाँ दुःख पाइयो । त्यहाँबाट फर्किएपछि मात्रै यो काम गर्न थालेको हुँ । अहिले ५० हजार रुपियाँसम्म मासिक कमाई गर्छु । मेरा ग्रहाकहरू विभिन्न जिल्लाका कर्मचारी र पर्यटकहरू हुन् । मागअनुसार पुर्‍याउनै सकेको छैन' - उहाँले भन्नुभयाे । उहाँको आरनमा सानादेखि मार हान्ने ठूला खुकुरी र खुँडा बन्छन् । त्यस्तै पेस्तोल खुकुरी, डाँफे खुकुरी, माछी खुकुरी बनाएर पनि बेच्छन् । ग्राहकको माग अनुसार आफुले पुर्याउन नसकेको उहाँको भनाई छ । उनले खुकुरी बनाउनका लागि आवश्यक पर्ने फलाम दाङको तुलसीपुरका कबाडीखानाबाट एक सय रुपैयाँ किलोसम्म ल्याउने गरेका छन् । कबाडीबाट नपुगेपछि मात्रै उनीहरुले पसलबाट फलाम ल्याउँछन् । विष्णु, कुलबहादुर र राजु मात्रै होइनन् । सल्यानका आठ जना कालीगढले सल्यानी खुकुरीको ब्राण्डिङ गरिरहेका छन् । तर, आफूहरूलाई सरकारी निकायले आवश्यक स्रोत, साधन र कोइला व्यवस्थापनमा सहयोग नगरेको उनीहरुको गुनासो छ ।

कालीगढका उत्पादन विक्रि केन्दमा

कालीगढले उत्पादन गरेका खुकुरी, खुँडा लगायतका हतियारहरु खलङ्गामै रहेको सल्यानी खुकुरी सङ्कलन तथा बिक्री केन्द्रले खरिद गर्दै आएको छ । केन्द्रले विगत १० वर्षदेखि आरनमा कालीगढले उत्पादन गरेका सामग्रीहरू औंलाको १ सय ४० का दरले खरिद गर्दै आएको संचालक निस्ता विश्वकर्माले बताउनु भयाे । ‘हामीले १० वर्षदेखि आरनमा स्थानीय कालीगढले बनाएका खुकुरी र खुँडाहरु हामीले खरिद गछौँ । १ सय ४० मा ल्याउँछौँ । २ सयमा बेच्छौँ । जसले गर्दा कालीगढलाई पनि रोजगारी हामीलाई पनि व्यवसाय भएको छ’ - उहाँले भन्नुभयाे । सल्यानी खुकुरीको ब्राण्डलाई सङ्कलन तथा उत्पादन केन्द्रले थप प्रोत्साहन गरेको सञ्चालक विश्वकर्मा बताउनुहुन्छ। काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, दाङ, चितवन लगायतका ठाउँमा खुकुरी पठाउँदै आएको उहाँको भनाई छ ।

Photo08012024Salyan

Photo08012024Salyan1

Photo08012024Salyan2

Photo08012024Salyan3

Photo08012024Salyan4

Photo08012024Salyan5

- जगतदल जनाला विक