आमा माओवादी श्रमजेलमा परेपछि बालककोविचल्ली

राजु शाक्य

एक दशक लामो सशस्त्र द्वन्द्वपछि नेकपा माओवादी सत्तामा पुगिसकेको छ । संविधानसभाको निर्वाचनमार्फत नयाँ नेपाल निर्माण गर्ने संकल्पमा राजनीतिक दलहरु लागिरहेका छन् तर युद्धकालीन समयमा आपराधिक घटनाहरुमा संलग्न रहेको आरोप लगाउँदै माओवादीद्वारा श्रमकैदमा राखिएका मानिसहरुले भने लोकतन्त्र प्राप्तिको कुनै अनुभुति गर्न पाएका छैनन् ।

माओवादीले आधा दशकदेखि एक स्थानीय गाउँले महिलालाई अपहरण गरी हालसम्म पनि श्रमजेलमा राखेपछि ती महिलाका दुई बालबालीका बिचल्लीमा परेका छन् । आफ्नै पति गोरखबहादुर रावतको हत्या गरेको आरोपमा खलंगा गाविस-९ रावत गाँउ बस्ने २८ वर्षीय कलावती रावतलाई आफन्तहरुकै जाहेरीबाट माओवादीको सशस्त्र समूहले ०६० सालमा अपहरण गरेका थिए । अपहरणपछि माओवादीको तत्कालिन न्यायपरिषदले एक दशक लामो श्रमकैदको फैसला सुनाएपछि हालसम्म कलावती रावत माओवादीकै कब्जामा रहेकी छन् ।

उनका ९ वर्षीय छोरा वीरेन्द्र रावत र ६ वर्षीय विवेक रावत उनीहरुकी ७८ वर्षीय वृद्धा हजुरआमा रामकली रावतको सहारामा बाँचिरहेका छन् । माओवादीले आमा रामकली रावतलाई अपहरण गर्दा जेठा छोरा वीरेन्द्र ५ वर्ष र कान्छो छोरा विवेक डेढ वर्षको थिए ।

हाल जेठो छोरा वीरेन्द्र रावत स्थानीय दिपेन्द्र प्राथमकि विद्यालय, रावत गाउमा कक्षा १ मा अध्ययनरत् छन् । अर्को छोरा विवेकलाई आर्थिक अभावका कारण विद्यालय पठाउन नसकेको रामकली बताउँछिन् ।

'के गर्ने कापी कलम किन्ने पैसा छैन, कसरी पढाउने आफ्नो उमेर गइसक्यो । बाँचुन्जेल यिनलाई हेनै पर्žयो । आइपरेपछि यी लालाबाला बितारामा पर्ने भए' बज्यै रामकली आँखाभरि आँसु पार्दै विरह पोख्छिन् । आमा कलावतीलाई माओवादीले श्रमजेलमा राखेपछि ती दुई बालकलाई हुर्काउन बज्यै रामकलीलाई कठिन परेको छ ।

उता माओवादी श्रम जेलमा छ वर्षेखि बन्दी जीवन बिताइरहेकी मनकला रावतको दिनचर्या पनि माओवादीको माओवादी बाल संरक्षण केन्द्रमा आश्रति बालबालिकाहरुलाई भात पकाएर खुवाउने र दाउरा बोकेर दिन बित्ने गरेको छ । स्थानीय गाउँलेको व्यक्तिगत रिसइविकै कारण उनले अनाहकमा माओवादी श्रमजेलमा दुःखपूर्ण जीवन बिताइरहेकी छिन् ।

आफूलाई माओवादीले रिहा गरेपछि गाउँमा नबस्ने र माइतमा बसेर आफ्ना टुहुरा बालकको हुर्काउने श्रमजेलमा रहेकी कलावती भन्छिन् । उनी भन्छिन्- अब त ती दुई छोराले आफुलाई बिर्सिसकेका होलान्, एक छिन भएपनि आफ्ना छोराको अनुहार हेन पाए हुन्थ्यो ।

यी दुइजनाता केवल प्रतिनिधिमूलक घटना मात्र हुन् जाजरकोटको माओवादी श्रमजेलमा हाल चार जना बन्दी रहेको र ती बन्दीहरुलाई 'निकट भविष्यमै स्थानीय प्रशासनसमक्ष बुझाइने' माओवादी जिल्ला इर्ञ्चाज गणेशबहादुर सिंह बताउँछन् । तर विगतदेखि नै यस्ता आश्वासन बारम्बार दिइँदै आएपनि कार्यान्वयन नभएको हुनाले यस पटक समेत उनीहरुको आश्वासन कार्यान्वयन हुनेमा बन्दीहरु ढुक्क छैनन् । जाजरकोट मात्र नभई मध्यपश्चिमको प्युठान तथा सल्यान लगायतका जिल्लामा पनि करिब एक दर्जन मानिसहरु हालसम्म पनि माओवादीको श्रमकैदमा रहेका छन् ।

जाजरकोट । ०६४ फागुन

 

-