आगलागी पीडितलाई छैन: गाँस, बास र कपास

रामेछाप । ०८० चैत ५ गते

रामेछाप नगरपालिका–९ राताटारकी मनकुमारी श्रेष्ठको परिवारको तीन दिनदेखि खुल्ला आकाश मुनिको बास छ । आगलागीले मनकुमारीको घर मात्र होइन, सिङ्गो गाउँ नै खरानी बनाइदियो ।

आगलागीबाट राताटारका १३ घर परिवारका घर, गोठ जलेर खरानी भए । गाउँलेहरूले घर, गोठमा भएका केही सामान निकाल्न भ्याएनन् ।

रामेछाप नगरपालिका–९ राताटारमा ०८० चैत १ गतेको आगलागीको कारण घर गोठ जलेपछि श्रेष्ठ परिवार अहिले आकाशको छानोमुनि सहयोगी दाताले दिएको चिउरा र दालमोठले छाक टारिरहेका छन् ।

‘घरको सबै सामान जल्यो, घरमा भएको केही निकाल्न भ्याइएन, गोठमा बाँधेका बाख्रा त फुकाउन भ्याइएन, सात ‌ओटा बाख्रा गोठमा नै जलेर मरे, शरीरमा लगाएको एकसरो लुगा बाहेक केही बाँकी रहेन’, श्रेष्ठले भन्नुभयो ।

गोठमा बाँधेका बाख्रा बस्तु समेत फुकाउन भ्याएनन् । ‘आगलागीबाट गाउँका ६० बढी बाख्रा जलेर मरे । दुई वटा भैँसी मरे । केही जलेर घाइते अवस्थानमा छन्’, रामेछाप नगरपालिका–९ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले भन्नु भयो ।

आगलागी पीडित सबैको अवस्था उस्तै छ । बास बस्न कसैका घर छैनन् । लगाउने लुगा छैन । खाने अन्न छैन । पकाउने भाँडाकुँडा छैनन् । सबै जलेर खरानी भएका छन् । ‘हामीसँगका त अब खरानीको धुलो बाहेक  केही बाँकी रहेन’, स्थानीय पुष्प श्रेष्ठले भन्नुभयो ।

नजिकैको हर्देनी पाखाबाट सुरू भएको आगो गाउँमा पसेपछि सिङ्गो गाउँ नै खरानी बनायो । गाउँलेहरूले गाउँलाई आगोबाट जोगाउन सकेनन् । आँखै अगाडि सिङ्गो गाउँ दन्कियो । ‘हेर्दा हेर्दै एकैछिनमा सिङ्गो गाउँ नै खरानी भयो, अब हामीसँग केही बाँकी रहेन’, आगलागी पीडित रमेश श्रेष्ठले भन्नुभयो ।

आगलागी पीडित केही नजिकैको विद्यालयमा शरण लिएर बसेका छन् । सिङ्गो गाउँ नै पीडामा परेपछि गाउँमा सघाउने कोही छैन । केही भने आगलागीबाट जोगिएका जस्ताका घरमा रात काट्दै छन् । ‘न बस्ने ठाउँ छ, न खाने सामान, न पकाएर खाने भाँडा नै छन्, अब कसरी जीवन काट्ने हो थाहा छैन’, पीडित उत्तरकुमारी श्रेष्ठले भन्नुभयो ।

मन्थली नगरपालिका, नेकपा एमाले, रामेछाप र रामेछाप रेडक्रसले पीडितहरूलाई केही चामल, चिउरा, दाल, तेल, चाउचाउ लगायतका समाग्री सहयोग गरेका छन् । तर त्यो पीडितहरूका लागि प्रयाप्त छैन ।

‘आफ्नो केही बाँकी छैन, अर्काले दिएकोले के पुग्थ्यो, एक थोक जोड्यो अर्को थोक हुँदैन, अर्को थोक जोड्यो अर्को थोक हुँदैन, बालबालिका बचाउन गाह्रो पर्यो’, पीडित नरबहादुर तामाङले भन्नुभयो ।

आगलागीबाट सबै प्रभावित भएका छन् । तीन दिनदेखि शरीरमा  लगाएको बाहेक फेर्ने कुनै लुगा छैन । एक जोर लुगाकै भरमा गाउँलेहरू बसेका छन् । खरानीको धुलो उडेर आँखा हेर्न नमिल्ने अवस्था छ भने राती सुत्ने ठाउँ ओढ्ने ओछ्याउन समस्या परेको स्थानीय चतुरमान श्रेष्ठले बताउनु भयो ।

आगलागीबाट विद्यालय जाने बालबालिकाहरूका पढ्ने बालबालिकाका किताब, कपि  र ड्रेस पनि जले । परीक्षाको मुखमा किताब, कपि, कलम केही छैनन् ।

आगलागी पीडितलाई बासको व्यवस्था पहिलो प्राथमिकता भएको वागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ बताउनु हुन्छ । पीडितहरूलाई आवास निर्माण गर्न राज्यले नै सहयोग गर्नुपर्ने उहाँको धारणा छ ।

आगलागि पीडितको आवास राज्यले बनाइदिनु पर्ने र यसको लागि प्रदेश सरकार समक्ष पहल गर्ने श्रेष्ठले बताउनु भयो ।

photo2024031801ramechap

photo2024031802ramechap

- नबराज पथिक