आगलागी पीडितको गुनासो - ‘आगोले सम्पत्ति सक्यो सरकारले ऋण थप्यो’ !
गत वर्ष इस्मा गाउँपालिका–२ की बसुन्धार कुवरको घर गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा रुप्पे नगद र एक गेडा अन्न जोगिएन् । कुवँरका आँखै अगाडि घरगोठसँगै आठ बोका, पाँच बाख्रा र दुई भैँसी जलेर खरानी बने । आधा घण्टामा जीवनभरको कमाई स्वाहा बन्यो । सोही गाउँकै चन्द्र बहादुर कुवँरको पनि घर, कुटानी पिसानी गर्ने मिल, किराना पसल र गोठ जलेर एक छिनमै पूर्णरुपमा जलेर नष्ट भएपछि पालको बास भएको छ । पीडा भुल्नुको विकल्प रहेन् । दुवै जनाले अहिले चिटिक्कका घर निर्माण गरेका छन् ।
गाउँपालिकाले दिएको केहि पैसा अनुदानले घडेरी खनेर घर सुरु गरे । घर निर्माण भएका पनि सात/आठ महिना भए । तर, सरकारले सम्झौता अनुसारको रकम भुक्तानी दिएको छैन् । घर निर्माणको लागि तीन तहका सरकारले पाँच लाख दिने व्यावस्था थियो । तर, स्थानीय सरकारले मात्रै एक लाख दिएको छ । प्रदेश र सङ्घीय सरकारले दिने चार लाख अझै नपाउँदा क्रृण खोजेका आगलागी पीडितको थप बिचल्ली भएको छ । आगलागी पीडित मिना रायमाझीले घर ठेक्कामा दिएर निर्माण गरेकाले ठेकेदारले अत्याएर हैरान भएको गुनासो गर्नुभयो । निर्माण व्यावसायीलाई पनि कामदारले पैसा मागेर अत्याउने र सरकारले पैसा नदिएका कारण आफूहरूको पनि तिर्ने उपाय नहुँदा पीडामाथि सास्ती खेप्नु परेको रायमाझीले बताउनु भयो ।
इस्मा गाउँपालिका–२ मा २६ घरगोठ जलेर नष्ट भएका छन् । चार दर्जन पशुचौपाय पनि जलेर मरेका छन् । गर्मी र तिव्र हावाहुरीका कारण जङ्गलको आगो गाउँ पसेपछि इस्मा गाउँपालिकाकै वडा नं ४ को कोटकोटेरीमा पनि नौ घरगोठ पाँच मिनेटमा सखाप बने । स्थानीय ऋषि राम खनाल, बल बहादुर दर्जीसहित नौजनाको घरगोठ पूर्ण रुपमा जलेर नष्ट भएपछि बर्षातमा ओत नहँुदा पीडित बेचैन बने । ‘पाँच मिनेटमा गाउँनै जलेर सकियो । सरकारकै आग्रहमा क्रृणधन गरेर ओत बनाएका छौँ' - वल बहादुर दर्जीले गुनासो गर्नुभयो । पहिले आगोले घर छोड्ने बनायो, अब सरकारले बनाउँदैछ । दर्जीले चार लाख रकम तिर्ने उपाय कोहिसंग नभएकाले निर्माण व्यावसायीलाई पैसा तिर्न नसकेपछि घरमा बस्न समेत इच्छा नभएको बताउनु भयो ।
इस्मा मात्रै ०८१ वैशाख ८ गतेको आगोलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए । सबै आगलागी पीडितले घर गोठ निर्माण गरेका छन् । तर, सबैलाई एउटै पिरलो छ घर निर्माणको लागि पाउनु पर्ने पैसा सरकारले दिएन । अग्नीपीडित परिवारले आवास निर्माणका लागि पाँच लाख पाउने व्यवस्था छ । त्यसमध्ये इस्मा पालिकाले एक लाख र चार लाख प्रदेश तथा सङ्घ सरकारले उपलब्ध गराउनुपर्ने हो ।
इस्मा गाउँपालिकाले एक लाख रुपियाँ दिएपनि सङ्घ र प्रदेशबाट चार लाख रुपियाँ आगलागी पीडितले नपाएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । आगलागीबाट जिल्लाभर सवैभन्दा क्षती भएको इस्मा गाउँपालिका भएकोले आफूहरूले जिल्ला विपद् व्यावस्थापनदेखि सङ्घ र प्रदेशमा ध्यानाकर्षण गराउँदा पनि पैसा नआएको खड्काले गुनासो गर्नुभयो । उहाँले फेरि पनि हावाहुरी र गर्मी बढिसकेकाले नयाँ काम गर्नुपर्ने अवस्थामा गत वर्षहरूका पीडितको लागि काम गर्न नसकिएको अवस्थामा भर्खरैको १७ औ गाउँ सभाबाटपनि सङ्घ र प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र पठाएको बताउनु भयो ।
इस्माको सिदुङखामा स्थानीय सहयोग सङ्कलन समिति बनाएर पनि रकम सङ्कलन गरिएको थियो । समितिले १६ लाख बढी रकम सङ्कलन गरेर क्षतिको अवस्था मूल्याङ्कन गरेर पीडित परिवारलाई हस्तातरण गरिएको स्थानीय राहत सङ्कलन समिति अध्यक्ष रमेश थापाले बताउनु भयो । आगलागी पीडितले ऋण खोजेर घर बङ्गाला निर्माण गरे पनि सरकारले दिनुपर्ने रकम नआउँदा समस्या भएको थापाले बताउनु भयो । जिल्ला भर रहेका आगलागी पीडितहरूले आवास निर्माण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट लाभग्रही कायम गरेर रकम निकासाका लागि माग गरिएको छ । तर, हालसम्म रकम निकास नभएकाले समयमै भुक्तानी गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले बताउनु भयो ।
जिल्लामा गत वर्ष वैशाख महिनामा आगलागीका कारण १ सय ६९ घर गोठ जलेर नष्ट भएका थिए भने सय बढी पशुचौपाय जलेर मरेका थिए । जिल्लाका १२ ओटा स्थानीय तहहरू मध्ये मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्र गाउँपालिकामा बढी क्षति भएको थियो । जिल्लामा विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौँको क्षति भएको हो । जिल्लाका ८० ओटा सामुदायिक वनमा आगोलागी भएको थियो । सयौँ नागरिक घरबार बिहिन भएका छन् । जिल्ला भर दुई हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
वनमा आगो लगाउने व्यक्ति पहिचाहन र कारबाही निकै भएका छन् । स्थानीय नागरिकले सहयोग नगर्दा आगो लगाउने व्यक्तिहरु पहिचाहन गर्न समस्या हुने गरेको कार्यालय बताउँछ । डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेयले आगो लागाउने व्यक्तिको पहिचान गोप्य हुने र सूचना दिएमा पुरस्कार दिने व्यवस्था समेत रहे पनि कसैले सहयोग नगर्ने बताउनु भयो । गुल्मी जिल्लामा पछिल्लो दुई दशकमा ०७३ साल पछि आगोलागीको ठूलो घटना गत बैशाख महिनामा भएको थियो । ०७३ सालमा मुसिकोट नगरपालिका–४ दजाकोटमा स्थानीय सामुदायिक वनबाट आगो बस्तीमा पुग्दा ५८ ओटा घर जलेर नष्ट भएका थिए ।
- टोपलाल अर्याल
सम्बन्धित फिचरहरू
न्यायको पर्खाइमा द्वन्द्वमा बेपत्ता पारिएकाहरूका परिवार !
वीरेन्द्रनगर नगरपालिका–१२ की ५१ वर्षीय मायादेवी हमाल सशस्त्र द्वन्द्वमा आफूले पाएको पीडा र भाइलाई राज्य पक्षले बनाएको बेपत्ताप्रति राज्यमाथि प्रश्न गर्दै आउनु भएको छ । उहाँको पुरानो घर जुम्ला हो…
कि मुक्ति, कि मृत्यु देउ सरकार !
७० वर्षको वृद्ध शरीर, एउटा हातमा प्ले कार्ड, अर्को हातमा हिँड्ने सहायताका लागि लौरो । माघको चिसोले कठ्याङग्रीएका हात, खुट्टा चलाउन धौ धौ भइरहेका बेला घोराही उमनपा–१४ झिगौँराका प्रभु चौधरीलाई…
सुत्केरी आमाको बिचल्ली, पीडित भन्नुहुन्छ - ‘मेरो पीडाभन्दा बच्चाको भविष्यको चिन्ता रह्यो !’
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…
सङ्घर्षले बदलिएको तुलसीको जीवन !
भनिन्छ नि ! दुःखपछि सुख आउँछ । हो त्यस्तै जीवनमा थुप्रै दुःखहरू भोग्दै आइरहनुभएकी वीरेन्द्रनगर नगरपालिका–१ की २८ वर्षीया तुलसी गिरीको जीवन पनि बदलिएको छ । जब उहाँका पति दिनेश…
द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय…