आकाश, धर्ती र आलोक पनि सहिद !

कुशादेवी गाविस-५ निवासी १९ वर्षीय जगत भनिने शालिकराम हुमागाइँ र सर्लाही जिल्लाकी २० वर्षीय मिना तामाङ ०६१ जेठ १२ गते बिहान भुमेडाँडा गाविसनजिकै अमिलचौरमा सुरक्षाकर्मीले प्रहार गरेको गोलीद्वारा मारिए । आफ्नो पति माओवादीमा लागेका कारण भेट्नका लागि जाँदै गर्दाको अवस्थामा अमिलचौरमा सुरक्षाकर्मीसँग जम्काभेट भई विना सोधपुछ गोली प्रहार गरिएको भन्ने समाचार त्यतिबेला पत्रिकामा छापिए । घटनामा आफ्नो छोरा मारिएको भनि मृतककी आमाले जिल्ला प्रशासनमा राहतका लागि निवेदन दिएकी छन् । उता कुशादेबीकै शालिकराम हुमागाईँले घटनामा मारिएकी मिना तामाङसँग जनयुद्धमा बिवाह गरेकाले राहत पाउँ भनी गाविस कार्यालयमा निवेदन हालेका छन् । गाविसले मिना तामाङ त्यतिबेला मारिएका शालिकरामको पत्नी हो कि अहिले जिउँदो शालिकरामको पत्नी हो - यकिन गर्न नसकेर प्रहरीलाई पत्र लेखेको देखिन्छ ।

सरकारले ०६५ पुस ९ गतेको मन्त्रीपरिषद्को बैठकद्वारा माओवादी 'जनयुद्ध' मा मारिएका सात हजार छ सय ३५ जनालाई सहिदको मान्यता दिन प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्ले यसअघि नै सहिद मापदण्डभित्र परेका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिने सैद्धान्तिक निर्णय गरि सकेको थियो । माओवादीका जिल्ला कमिटीबाट प्रस्तावित 'सहिद सूची' मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएको सार्वजनिक जानकारीमा आएको छ । जसमा काभ्रे जिल्लाका एक सय ७९ जनाको नाम समावेश देखिन्छ । जसमा कुशादेवीका शालिकराम हुमागाईँ र मिना तामाङको पनि नाम उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयमा माओवादीले दर्ता गराएको निवेदनमा हिमाल, पहाड र तराई मात्र होइन् आकाश,धर्ती र आलोकलाई पनि सहिदको सूचिमा राखेको देखिन्छ । काभ्रेका आलोक भनिने यानप्रसाद गौतमलाई माओवादीले कहिल्यै राम्रो मान्छे भनेन् । केन्द्रका अध्यक्षदेखी सामान्य कार्यकर्तासम्म गलत कुरालाई पुष्टि गर्नुपर्दा 'आलोक प्रवृत्ति' भने । माओवादीका अध्यक्ष पुष्पकमल दाहललाई सिधा चुनौती दिनसक्ने यानप्रसाद गौतमलाई सहिद नभनेर माओवादीले सधैजसो 'गद्दार' को सुचीमा राख्यो । पैसा पाइने भएपछि माओवादीले'गद्दार' को सूची विर्सियो । अहिले काभ्रेका माओवादीले बनाएको सहिद सूचीमा उनको नाम पनि समावेस देखिन्छ । माओवादीले आफूले मारेका केही व्यक्तिका परिवारलाई पनि सहिदको सूचीमा राखेको छ । माओवादीको सूचीमा केही व्यक्तिको नाम दोहोर्žयाएर उल्लेख गरिएको छ । अरुलाई मार्न भनेर हिँड्दा बम पडि्कएर आफै मरेका माओवादीहरू पनि सहिद सूचीमा देखिन्छन् ।

सशस्त्र द्वन्द्वमा धेरै मानिसहरू मारिएका छन् । यसरी मारिएका व्यक्तिहरूका परिवारलाई शान्ति प्रक्रियामा क्षतिपूर्ति, राहत र केही सुविधाहरू राज्यले उपलव्ध गराउनुपर्छ । तर, विडम्वना अहिलेसम्म यसरी मारिएकाहरूको पहिचान हुनसकेको छैंन । शान्ति तथा पुर्ननिमार्ण मन्त्रालयले ०६५ पुस मसान्तसम्ममा सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिहरूको बारे सम्वन्धित जिल्लाको प्रशासन कार्यालयमा सूचीकृत गर्नका लागि सार्वजनिक सूचना जारी गरेको छ । यस अगाडि पनि शान्ति मन्त्रालयले एउटा कार्यदल बनाई त्यस्ता मृतकहरूको जानकारी संकलन गरेको थियो । यस कार्यदलले संकलन गरेको सूचीमा धेरै कमीकमजोरी देखिन्छ ।

रविओपी गाविस-९ का २४ वर्षीय बलराम थापाको मृत्यु द्वन्द्वका समयमा दक्षिणकालीमा ०६१ मंसिर २८ गते भएको भनी राहतका लागि गाविसको सिफारिससहित हकवालाले निवेदन दिएको देखिन्छ । प्रहरीले परिवारलाई दिएको पत्रमा - 'आतंककारीहरूले मारेको भन्ने जाहेरी दरखास्त पर्न आएको' भन्ने देखिन्छ । चितवनको दारेचोक गाविस-३ स्थित राजमार्गमा ०५४ चैत २४ गते सवारीसाधन चलाउँदै गर्दा अज्ञात व्यक्तिहरूले ढुंगा हानेर पाँचखाल गाविस-७ का २५ वर्षीय पदमप्रसाद गौतमको मृत्यु भएको भनी पत्नी गंगामायाले प्रशासनमा राहतका लागि निवेदन दिएकी छिन् । यसरी द्वन्द्वका समयमा कोहीलाई आपराधिक समूहले मारेका, कोही विष खाएर मरेका त कोही झुण्डिएर मरेका पनि हुनसक्छन् । द्वन्द्वका समयमा मारिएका व्यक्तिहरूको खोजी गर्ने हो भने सयौं होइन्, हजारौं हुनसक्छ ।

गाविस सचिवहरूले केही सिफारिसमा क्षतिपूर्ति, राहत र नियमित भत्ता उपलव्ध गराइदिनु हुन भनी प्रजिअलाई सिफारिस गरेको देखिन्छ । सशस्त्र द्वन्द्वमा मृत्यु भएकाहरूका परिवारलाई राज्यले नियमित भत्ताको व्यवस्था गरेको भए त धेरै राम्रो हुन्थ्यो । गाविस सचिवहरूले माओवादी नेताहरूको आदेश मान्दै नियमित भत्ता उपलव्ध गराउन भनेर सिफारिस गरेका छन् । फेरी नाता प्रमाणित गर्दा अधिकांश सचिवहरूले मृतकको निवेदकसँगको नाता जोडेर मात्र गरेको देखिन्छ । कतिपयले छोरीहरूको नाम उल्लेख नगरी छोराहरूको नाम मात्र उल्लेख गरेका छन् । नाता प्रमाणित भनेपछि मृतकका हकवाला वा आश्रति परिवार सबैको विबरण आइदिएको भए बालबालिका,बृद्ध अर्थात महिलाहरूलाई राज्यका निकाय अर्थात संघ-संस्थाहरूले यही सूचीका आधारमा सहयोग गर्न सजिलो हुने सरोकारवालाहरू बताउँछन् ।

सशस्त्र द्वन्द्वमा मृत्यु भएकामध्ये केहीका परिवारलाई गाविस सचिवहरूले मृत्यु दर्ताको प्रमाण-पत्र नदिएर राहतका लागि निवेदन गर्न सकेका छैनन् । केही मरेको हो कि जिउँदै - यकिन नभएर मृत्यु भएको भन्ने कि बेपत्ता दोधारमा छन् । केही गाविस सचिवले सर्वदलीय बैठक गरेर सर्जिमिन मुचुल्कासहित राहतका लागि सिफारिस गरेका छन् तर अन्यत्र जिल्लामा मरेकाहरूको हकमा गाविसस्तरको सर्वदलीयले हचुवाका भरमा सिफारिस लेखेका छन् ।

सापिङ गाविस-४ निवासी भीमबहादुरले आफ्नो छोरा प्रशान्त भनिने सुजन विश्वकर्मा ०६२ पुस १७ गते घर्तीछाप भिडन्तमा मरेको भनी राहतका लागि प्रशासनमा निवेदन दिएका छन् । माओवादीको सिफारिसमा पनि यहि कुरा उल्लेख भएपनि उक्त मितिमा घर्तीछापमा भिडन्त भएको देखिन्न । उनका छोरा प्रशान्त ०६२ मंसिर ३ गते फलामेटार गाविस-६ सोलाभन्ज्याङमा भिडन्तमा मरेको भनी त्यतिबेला पत्रपत्रिकामा आएको थियो । सशस्त्र द्वन्द्वमा मारिएकाहरूका बारे भीमबहादुर जस्तै धेरै व्यक्ति आफ्नो सन्तान कहाँ, कहिले, किन र कसरी मारिएको हो भन्ने बारेमा प्रष्ट छ्रैनन् । गाविस र माओवादीले भटाभट सिफारिस दिएको पाइन्छ । परिवारका चार जनालाई सोध्दा चारथरी उत्तर आएका छन् । चितवन जिल्ला खैरहनी गाविस-६, पुरानो पर्सा मारिएको व्यक्तिलाई पर्सा जिल्लाको बजार भनेर पनि राहत दाबी गरिएको देखिन्छ । सशस्त्र द्वन्द्वमा मारिएका हरेकका परिवारले कहाँ, कहिले र कसरी आफ्नो आफन्त मारिएको हो भन्ने जान्न पाउनु उनीहरूको अधिकार हो ।

नासिका साँगा गाविस-१ निवासी नेपाली सेनाका अमल्दार २७ वर्षीय रवीन्द्र विष्टलाई आइसीआरसी र राष्ट्रिय मानवअधिकार आयोगको बेपत्ता सूचीमा राखिएको छ । मृतकको पत्नीको निबृत्तभरण पट्टामा २०६१ बैशाख ३० गते रविन्द्र विष्टको मृत्यु भएको लेखिएको छ । नेपाली सेनाले कतिपय व्यक्तिगत घटनाका पीडितलाई सशस्त्र द्वन्द्वका समयमा भएको भनी आफ्ना कर्मचारीहरूको पक्षमा जिकिर गर्दै आएको पाइन्छ । नेपाली सेनाले मृतकका परिवारलाई दिने जानकारीमा 'जंगी कार्बाहीमा मृत्यु' मात्र लेखेको पाइन्छ । जसका कारण आफ्नो सन्तान कहाँ र कसरी मारिएको भनेर सवै परिवार यकिन भएको देखिन्न ।

काभ्रे जिल्ला प्रशासनमा पीडितहरूको निवेदन आउनेक्रम जारी भएपनि मारिएकाहरूको पहिचान भएको छैन । जिल्ला तहमा बनाउनु पर्ने शान्ति समिति अहिलेसम्म बनेको छैन । इन्सेकको अभिलेख अनुसार यस जिल्लामा सुरक्षाकर्मीबाट एकसय ३९ जना, माओवादीबाट एकसय ४९ जना मारिएका छन् । अन्यत्र जिल्लामा मारिएकामा यस जिल्लाका नागरिकमा सुरक्षाकर्मीबाट ७६ जना र माओवादीबाट ५४ जना गरी चारसय १८ जना मारिएको आँकडा छ । यसरी मर्नेमध्ये तीन सय नौ जना काभ्रेली देखिन्छन् । माओवादीले मारेका एक सय ३० जना भने सहिदको सूचीमा नपर्ने भएका छन् । मुख्यगरी सशस्त्र द्वन्द्वमा मृत्यु भएका, बेपत्ता, अङ्गभङ्ग र विस्थापन समस्यालाई तत्काल समेट्ने सरकारी नीति भएपनि यस जिल्लामा पहिचानको काम भएको छैन ।

भोजराज तिमल्सिना

काभ्रे । पुस १५ गते

 

-