आएन लोकतन्त्र घर्ती परिवारलाई

दुर्गा थापा

न मर्ने बेलामा पत्नीको मुख हेर्न पाइयो, न त काजक्रिया नै गर्न । यो उमेरमा यसरी बिछोड होला भनेर कल्पना समेत गरेको थिइनँ । मर्ने बेलामा एक अँजुली पानी हालिदिन पाएको भए आत्माले उसको शान्ति पाउने थियो । तर कर्मको खेल नै यस्तै रहेछ । सबै छोराबुहारी, नातिनातिनासँग वर्षौंदेखि एक ठाउँमा बस्न पाएको छैन । सहँबाँडीचुडी खाने परिवारमा अहिले कसले खाएको छ, को भोकभोकै बसेको छ, कसलाई के थाह । कर्मलाई धिक्कारेर बस्नु बाहेक मसँग विकल्प छैन । यसरी कतिदिन बाँच्ने ।

कुनै बेला सुखदुःख काट्दै १९ परिवार सदस्यका साथ साधारण जीवन यापन गरिरहेका जाजरकोट जिल्ला दह गाविस १ निपानेका ६३ वर्षीय रामबहादुर घर्तीमगरको पीडा देख्दा मुलुकमा लोकतन्त्र आएको जस्तो कसैलाई पनि लाग्दैन । विगतको द्वन्द्वका कारण तितरबितर भएको घर्तीको परिवार जनयुद्वको नमीठो पीडा भोगिरहेको छ ।

नेपाली काँग्रेसका सक्रिय सदस्य घर्ती र उनका चार जना छोरालाई ०५४ फागुन महिनामा भिन्न मत राखेकै कारण माओवादी कार्यकर्ताले कुटपिट मात्र गरेनन् जनअदालतमा उपस्थित हुनुपर्ने उर्दी पनि जारी गरे । माओवादी त्रासका कारण घरका पुरुषहरुले घर छोडेर हिड्नु नै श्रेयस्कर देखे । आफ्नी पत्नी पुनी घर्ती, तीन जना बुहारी र कलिला नातिनातिनालाई दैव भरोसा छाडेर रामबहादुर हिडे । छोराहरु पनि उसरी नै ज्यान जोगाउन रातारात दैलेख, सुर्खेत र जाजरकोटमा पुगे । घरका पुरुष सदस्य भागेको थाहा पाई माओवादीले रामबहादुरका लालाबालासहितका बुहारी र वृद्ध पत्नीलाई घरमै आई कुटपिट गरेर निकाला गरेपछि सर्वस्वहरण गरेको घोषणा पनि गरे । उनी र उनका दुई छोरा जाजरकोट, दुई छोरा सुर्खेत र महिला र केटाकेटीहरु दैलेखमा छरिए ।

रामबहादुर भन्छन् छोराहरु र म एकैदिन फरकफरक बाटो भई भाग्यौ“। त्यसको दुई दिनपछि माओवादीले लालाबालासहितका बुहारी र बुद्व श्रीमतीलाई घरबाट निकाला गरिदिए'। दुई जना छोरासहित आफू जाजरकोटमा बस्दा दैलेखमा पुगेकी श्रीमती बिरामी परेको खवर त पाएँ । तर त्यहा“सम्म पुग्ने खर्च पनि थिएन अनि माओवादीको पनि डर थियो । जान सकिन । बुहारीले के गरे कसो गरे होलान् भनेर अझ चिन्ता थपियो । छोराहरुले पनि गर्न सक्ने केही थिए । घर छोडेको दुई वर्षछि ०५६ असोज २४ गते उसले संसार छाडी । त्यस बेला त्यहाँ बुहारीहरु र नातिनातिना मात्रै साथमा थिए ।

केही समयपछि उनका कान्छा छोरा जनक कामको खोजीमा भारत पुगे तर ०५७ असार महिनामा उनको उही मृत्यु भयो । घर छोड्नपरेको पीडा भन्दा पनि मर्ने बेलामा पत्निको मुख हेर्न र कान्छो छोराको पनि काजक्रिया गर्न नपाएको सम्झदाँ रामबहादुर अहिले पनि भक्कानिन्छन् । उनका जेठा छोरा चीजबहादुर हाल काठमाण्डौमा सशस्त्र प्रहरीमा कार्यरत छन् । उनका दुई जना छोरा,तीन जना छोरी र पत्नी सुर्खेतमा बस्छन् । माइला छोरा भत्तबहादुरको सात जना र साइला छोरा तेजबहादुरको चार जनाको परिवार भारत गएयता हालसम्म घरमा फर्केका पनि छैनन् । जेठा छोराका परिवारसँगै बस्दै आएका बस्दै आएका रामबहादुरले आफ्नो परिवार छिन्नभिन्न भई बसेको र ०५४ यता चीजबहादुरको परिवारबाहेक कसैस“ग भेटघाट समेत गर्न नपाएको पीडा खपिनसक्नु भएको एक भेटमा बताए ।

काँग्रेसमा आस्था राखेकै कारण माओवादीले हामीहरुमाथि यस्तो ज्यादती गरेका हुन् । छोराबुहारीहरु घरमा फर्किएलान् भन्ने आशा पनि मरिसक्यो । अहिलेसम्म मुग्लान पसेका छोराबुहारी कहाँ छन् भन्ने खबर पनि छैन । चीजबहादुरसँग यसपटकको दशैमा मात्र भेटघाट भयो । घरको श्री सम्पत्ति र जग्गा अहिले पनि माओवादीले प्रयोग गर्दै आएका छन् । कुनै छोरा नफर्किएपछि म बूढो मात्र घरमा फर्केर के गर्ने - घर्तीले गहका आँसु पुछ्दै भने ।

"लोकतन्त्र त आयो भन्छन् तर मेरोजस्तो टुक्रिएको परिवारलाई एकै ठाउँमा बसाउने लोकतन्त्र अझै पनि आएको जस्तो लाग्दैन"। माओवादी त्रासकै कारण अझैपनि घरमा फर्की आँट गर्न नसकेका घर्ती परिवारले हालसम्म कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग पाएका छैनन् । मानवअधिकारवादी संघसंस्थाले पहल गरिदिए छोराबुहारी, नातिनातिनाहरुको खोजी गरी घरमा फर्कने तीब्र इच्छा छ रामबहादुरको ।

रातारात आफुहरु घरबाट भागेको, लालाबाला सहितका तीन बुहारी र आफ्नी पत्नीलाई कुटपिट गरी घर निकाला गरिदिएपछि फरकफरक ठाउँमा बस्दा हातमुख जोर्न धौ-धौ परेको,। परिवारका सदस्यबीच भेटघाट नहुँदा भोग्नु परेको पीडा सम्झँदा भक्कानिने घर्ती आफ्नै घरआँगनमा फर्कन पाएमा मात्र हालसम्म आफनो मुटुमा बिझेको काँडा निकालिएको जस्तो लाग्ने बताए ।

लोकतन्त्र सबै नेपालीको लागि आएको हो भने मेरो परिवारले पनि घरमा गई ढुक्कसँग बस्न पाउनुपर्छ । भिन्न मत राखेको कारण यस्तो बिजोग सहनु पर्‍यो । अब कतिदिन सहने । सर्वस्वहरण गरिएको घरजग्गा श्रीसम्पत्ति जस्ताको तस्तै फिर्ता दिए पुग्छ । यो बुढेसकालमा अर्काको घरमा बस्नुपरेको छ । मेरो अन्तिम इच्छा आफ्नै घरमा मर्ने छ । यो भएमा मेरो मात्र होइन, श्रीमतीको आत्मालेपनि शान्ति पाउने थियो ।

सुर्खेत । ०६४ भदौ

 

-