आउनूस् मिलाऊँ, हाम्रा मनहरू.....

जब सखिया र मघौँटा नाच लिएर थारु टोली पहाडी टोलमा पुग्नु । अनि पहाडी पनि थारुका आँगनमा देउसी भैलोको भाका गाउँदै मादलको तालमा ननाचे चार्डपर्व नै खल्लो लाग्ने । दुवै समुदायले एक अर्कालाई गच्छे अनुसारका उपहार दिएर खुसी पार्दथे । थारुको घरको ढिक्री रोटीको स्वाद नलिएका विरलै पहाडी होलान् । सेलरोटी नचुँडने थारु पाउन उत्तिकै मुश्किल होला ।

 

एक अर्काको दुःख-सुख ,मेलापातमा आलो पालो गरेर सहयोग हुँदै आएको छ । मिठो- मसिनो बाँडेर खायो । माघीले पहाडीलाई खुसी पार्यो । तिहारले थारुलाई रमायो । कैलालीको हरेक बस्ती एक समुदाय अर्कोप्रति आश्रति रहँदै आएको छ । आत्मीयता यति गहिरो छ कि कुनै घरमा थारु बुहारी छन् त कुनै थारुका छोरी पहाडीका बुहारीहरू बनेका छन् ।

 

यतिबेला त्यो आत्मीयतामा कुहिरो लागेको देखिन्छ । कुहिरो धेरै काल रहन्न पनि । जब सूर्यको लाली चढ्दै जान्छ, कुहिरोको अस्तित्व पनि मेटिँदै जान्छ । कुममा कुम जोरेर हिँड्ने थारु र पहाडी समुदायबीच धमिलो पर्खाल उभिएको छ । आजभोलि टिकापुर बजार सुनसान छ । साउन २२ गतेदेखि बन्द कैलालीले निकास पाउन सकेको छैन ।

 

खेतीपाती सकिएर चाडबाड शुरु हुने बेला कर्फ्यूको उपहार पाएको छ  कैलालीले । कर्फ्यूको अन्त्य कहिले हो भन्ने कुरा त्यसका लागि आदेश दिनेलाई पनि पत्तो छैन । कर्फ्यू कहिलेसम्म ? भन्ने प्रश्न गर्दा"वातावरण जहिले सहज हुन्छ" भन्ने रेडिमेड उत्तर आउँछ । वातावरण कहिले सहज हुन्छ ? यसको यकिन उत्तर भने कसैसँग छैन ।

 

रमाइलो र शान्त बस्ती भएको टीकापुर नगरपालिका यतिबेला मुलुकभर दङ्गाग्रस्त क्षेत्र भनेर परिचित छ । बजार सुनसान छ । त्यहीँको खडकचोकको सडकछेउ चार पाँचदिन अघि मरेको कुकुरको लाश गन्हाउन थालिसकेको छ । सडकमा छिनछिनमा सेना, पुलिस्, पत्रकार र मानवअधिकारकर्मीका गाडी कुद्छन् । स्थानीयवासी घरका झ्यालबाट चिहाउँछन् ,मानौँ यी गाडीहरूबाट हाम्रा दुःख र पीरका दिनहरू हरिनेछन् । केही दिन अघि प्रहरीका एसएसपी सहित आठ जनाको हत्या भएपछि पूरा बस्ती अत्तालिएको छ । भदौ ७ गते भएको हिंसाको प्रतिछायाँ अनुहारहरूमा सजिलै देख्न सकिन्छ । अनि ठम्याउन सकिन्छ, अन्यौल र त्रासका रेखाहरू ।

 

थरुहट/थारुवान प्रदेश मागेर लामो समयदेखि प्रदर्शन गरिरहेका थारुहरूको मागप्रति प्रमुख दलहरू निष्कर्षमा पुग्न सकेका थिएनन् । सात प्रहरी र एक दुई वर्से बालक बर्बरतापूर्वक मारिए । आन्दोलनरत्मध्ये कैयन् यस्तो पाशविकताको निन्दा गरिरहेका छन् ।

 

हिंसा यतिमै सकिएन । भदौ ८ गते प्रतिहिंसाको आगोमा छानी छानी थारुहरूको घर कार्यालय खरानी पारियो । एकपक्षले गरेको अपराधको न्याय आफूले अर्को अपराध गरेर पाउने अमानवीय जुक्ति देखियो ।

 

सो घटना हुनु अघिल्लो दिन पनि जिल्ला प्रशासन कार्यालय कैलालीमा आन्दोलनरत् अखण्ड सुदूरपश्चिम र थरुहट दुवै पक्षले सहमति गरेः आगामी दिनमा कुनै पनि प्रकारका उच्छृङ्खल गतिविधि नगर्ने भनेर । सायद प्रशासन सोही निर्णयले ढुक्क भएको हुनुपर्छ जसकारण एसएसपी सहितको सानो प्रहरी टोलीलाई लौरो बोकाएर सुरक्षामा खटायो । सानो जुलुस आउने अनुमानमा खटाइएको प्रहरी टोलीले जुलुसलाई अगाडि नबढ्न आग्रह गर्यो तर, जुलुसले आग्रह अस्वीकार गरेपछि अन्तिममा भाग्नुपर्ने अवस्था देखियो ।

 

अनि आरम्भ भयो-मानवेतर हिंसाको खेल । ती खेलका कुन पात्रको के भूमिका थियो, त्यसको अनुसन्धान समय क्रममा होला नै । अब प्रश्न रहन्छ कति दिन प्रहरी र सेनाको पहरामा बस्छन् जनता ? एकले अर्कोसँग मिल्नुको विकल्प छैन । सहयोग गर्नुको विकल्प छैन । कुन घरमा नुन सकियो, कुन घरमा तेल? प्रशासनलाई के थाहा ? को विरामी हुँदा कुरुवा पालो कस्ले दिने रिक्सा चलाउने मजदुर, ज्याला मजदुरी गरेर गर्जो टार्ने समुदाय भोकभोकै परेको धेरै दिन भइसक्यो । आशा एउटै छ, माथिल्लो तहदेखि तल्लो तहका नेताहरूको सुझबुझ देखाउनासाथ पुराना दिनझैँ खुसियाली फेरि छाउनेछ, कैलालीको मुहारमा ।

 

 

कैलालीका जनतालाई फेरि उस्तै सौहाद्रमा बाँच्ने इच्छा छ । बनाउने पनि हामी नै हौँ । उजाड्ने पनि हामी नै । हाम्रा हठ त्यागौँ । आफ्ना माग अलिकति छोडौँ, अरुका कुरा स्वीकारौँ । दिनदिनै प्रशासनको पहरामा कट्ने जिन्दगी चाहिएको छैन हामीलाई । मानवता हराएको यो शुन्य समयमा म मान्छे हुँ र अर्को पनि मान्छे हो भन्ने सम्झौँ ।

 

कोही कोही भन्दा फरक छैन । आन्दोलनरत् पक्षहरूले धेरैपटक सहमति गरे । हात धेरै पटक मिलाए,अब पालो मन मिलाउने । मन मिले मात्र सबै कुरा मिल्न सक्छ । आउनुस् मिलाऊँ हाम्रा मनहरू ।

 

- सुमित्रा भट्टराई, इन्सेक प्रतिनिधि कैलाली