आँखै अगाडि खरानी बने घरः पीडित भन्छन्, 'सम्पत्ति होइन प्यास मेट्ने एक बोत्तल पानी रहेन'
इस्मा गाउँपालिका-२ की बसुन्धार कुवँरको घर गोठ पुर्णरुपमा जलेर नष्ट हुँदा सम्पती नाममा एक अम्खोरा पानी समेत छैन् । कुवँरका आँखै अगाडि घर गोठसँगै आठ ओटा बोका, पाँच ओटा बाख्रा र दुई ओटा भैँसी जलेर खरानी बने । उहाँलाई बिपत्तिले छिमेकीको आश्रयमा पुरायो । सोही गाउँकै चन्द्र बहादुर कुवँरको पनि घर, कुटानी पिसानी गर्ने मिल, किराना पसल र गोठ एक छिनमै पूर्ण रूपमा जलेर नष्ट भएपछि त्रिपालमा बास भएको छ ।
इस्मा गाउँपालिका-२ मा १६ घरगोठ जलेर नष्ट भएका छन् । चार दर्जन पशुचौपाय पनि जलेर मरेका छन् । गर्मी र तिव्र हावाहुरीका कारण जङ्गलको आगो गाउँ पसेपछि इस्मा गाउँपालिका-४ को कोटकोटेरी नौ घर पनि पाँच मिनेटमा सखाप बने । स्थानीय ऋषि राम खनाल, बल बहादुर दर्जीसहित नौ जनाको घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएपछि अहिले पीडित परिवार अस्थायी टेण्टमा गर्मी खेपेर बसिरहेका छन् । पाँच मिनेटमा गाउँ नै जलेर सकियो । एक गेडा अन्न र एक मुठी पानी रहेन । स्थानीय ऋषि राम खनालले भन्नुभयो,‘गाउँमा मरेका पशुचौपायको दुर्गन्ध फैलन थालेर अर्को आपत छ ।’
गुल्मीका विभिन्न स्थानमा वैशाख ८ गते भएको आगलागीको कारण घरगोठ जलेका परिवारको बिचल्ली भएको छ । वैशाख ८ गते मात्रै जिल्लाका १३ ठाउँमा लागेको आगलागीका कारण ३७ घर र ४६ गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी शङ्कर प्रसाद पोख्रेलले जानकारी दिनुभयो । आगलागीकै कारण एक ट्याक्टर, दुई कुटानीपिसानी मिल, दुई किराना पसल, एक मन्दिर पूर्ण जलेका छन् । घरगोठसँगै आगलागीका कारण ७५ पशुचौपाया जलेर मरेका छन् । डढेलोबाट दुई जना मानिस र सात पशुचौपाया जलेर घाइते भएको पोख्रेलले जानकारी दिनुभयो ।
आगलागीका कारण करोडौको भौतिक क्षति भएको छ । गाउँमा पाइपहरू जलेपछि खानेपानीको प्यासमा डढेलो पीडित तड्पिएका छन् । गर्मी र हावा आएकाले पालको बसाई सहज छैन् । नगद, खाद्यान्य, लत्ताकपडासहितका वस्तुहरू जलेकाले पीडित परिवारको बिचल्ली भएको छ । जिल्लाको इस्मा गाउँपालिकाको वडा नं. १, २ र ४ मा ठूलो क्षति भएको छ । इस्मा गाउँपालिका-४, दोहलीको हुल, मड्किना र कोटकोटेरीमा आगलागीका कारण नौ ओटा घर, १९ ओटा गोठ र एउटा मन्दिर जलेर नष्ट भएको छ । साथै पाँच ओटा भैँसी र १८ ओटा बाख्रा आगलागीका कारण मरेको इस्मा गाउँपालिका-४ का वडाध्यक्ष राजु बस्नेतले जानकारी दिनुभयो । घटनास्थलमा ठूलो सङ्ख्यामा मरेका पशुचौपायको व्यावस्थापन तत्कालको लागि निकै चुनौति देखिएको उहाँले बताउनु भयो ।
गर्मी र डढेकाले दुर्गन्ध फैलिन सुरु भएको छ । मान्छे नै जोगाउने काम भएकाले वैशाख ८ गते मरेका पशुहरूको व्यावस्थापनको काम भइरहेको वडाध्यक्ष बस्नेतले बताउनु भयो । दोहलीको न्वाला र रातापानी क्षेत्रमा भिषण डढेलो लागेको छ । डढेकोको कारण इस्मा गाउँपालिका–२ मा पनि १३ घर र २८ गोठमा जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका–२ का वडाध्यक्ष लोकनाथ आचार्यका अनुसार चार दर्जन बढी पशुचौपाय मरेका छन् । सुरक्षाकर्मी, दमकल र स्थानीयको सहयोगमा वैशाख ८ गते राति मात्रै डढेलो नियन्त्रणमा आएको थियो ।
इस्मा गाउँपालिका-१ का वडाध्यक्ष शेर बहादुर कुवँरका अनुसार अहिले पीडितलाई खाद्यान्य तथा पशुचौपायलाई पानी र घाँसको व्यावस्थापन भइरहेको छ । डढेलोले घरका ड्रमहरू र जङ्गलका पाइपहरू पनि जलेपछि गाउँपालिकामा खानेपानीकै सङ्कट देखिएको वडाध्यक्ष कुवँरले जानकारी दिनुभयो । घाँसपात सबै जलेपछि मानिससँगै बाँचेका पशुचौपायहरूको पनि बिजोक भएको कुवँरले बताउनु भयो । ‘हिजो मान्छे बचाउन थाल्यौँ । आश्रय स्थल र खाद्यन्यको जोहो पनि गर्यौँ, आज घाइते पशुचौपायको खानपान र व्यावस्थापनका जुटेका छौँ', वडाध्यक्ष कुवँरले भन्नुभयो ।
अहिले पीडित परिवारलाई दुई स्थानमा क्याम्प निर्माण गरेर खानाको व्यावस्थापन भएको छ । विद्यार्थीहरूका किताबकापी जलेकाले शैक्षिक सत्रकै सुरुमा अर्को बिडम्बना देखिएको छ । धेरै पशुचौपाय पाल्ने ठाउँ भएकाले ठूलो क्षति पनि भएको छ । मरेका पशुहरूको मुचुल्काको काम गरेपछि व्यावस्थापन गरिने वडाध्यक्ष कुवँरले जानकारी दिनुभयो । वैशाख ८ गते इस्मा, रेसुङ्गा, मुसिकोट, गुल्मीदरवार, छत्रकोट, रुरु र मदाने लगायतका स्थानीय तहको विभिन्न ठाउँमा डढेलो लागेको थियो । वैशाख ९ गते पनि जिल्लाका आठ सामुदायिक वनमा आगलागी भएको छ ।
इस्मा गाउँपालिका-१ मा लागेको डढेलोका कारण ट्याक्टर चालक स्थानीय १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७, पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरूको हात, खुट्टा र अनुहार जलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शङ्कर प्रसाद पोख्रेलले जानकारी दिनुभयो । घाइतेको गुल्मी अस्पताल, तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु ४ त ६५३५ नम्बरको ट्याक्टर जलेर पुर्णरुपमा क्षतिग्रस्त भएको हो ।
नजिकैको वनबाट वैशाख ७ गते लागेको आगलागी हावाको कारण भित्र पसेपछि गुल्मी दरवार गाउँपालिका-४, विरवासको विद्युत सवस्टेशन जलेको छ । आगलागीका कारण सवस्टेशनमा करिव दुई करोडको क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलका अनुसार महत्वपूर्ण कन्डक्टर, केवल लगायत सामग्रीहरू जलेकाले प्रारम्भिक रूपमा करिव साढे दुई करोडको क्षतिको अनुमान गरिएको छ ।
आगलागीबाट ठूलो भौतिक क्षति भएको इस्मा गाउँपालिकाका तीन स्थानमा उद्धार र राहतको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । उहाँले अस्थायी बसोबास, खाद्यान्य, लत्ताकपडा, खानेपानी, पशुचौपाय व्यावस्थापनसहित दिर्घकालीन पुर्नस्थापनाको विषयमा काम अगाडि बढाएको बताउनु भयो । अहिले सहयोगलाई एकिकृत गर्न स्थानीय तह र सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय भइरहको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।
- टोपलाल अर्याल
सम्बन्धित फिचरहरू
न्यायको पर्खाइमा द्वन्द्वमा बेपत्ता पारिएकाहरूका परिवार !
वीरेन्द्रनगर नगरपालिका–१२ की ५१ वर्षीय मायादेवी हमाल सशस्त्र द्वन्द्वमा आफूले पाएको पीडा र भाइलाई राज्य पक्षले बनाएको बेपत्ताप्रति राज्यमाथि प्रश्न गर्दै आउनु भएको छ । उहाँको पुरानो घर जुम्ला हो…
कि मुक्ति, कि मृत्यु देउ सरकार !
७० वर्षको वृद्ध शरीर, एउटा हातमा प्ले कार्ड, अर्को हातमा हिँड्ने सहायताका लागि लौरो । माघको चिसोले कठ्याङग्रीएका हात, खुट्टा चलाउन धौ धौ भइरहेका बेला घोराही उमनपा–१४ झिगौँराका प्रभु चौधरीलाई…
सुत्केरी आमाको बिचल्ली, पीडित भन्नुहुन्छ - ‘मेरो पीडाभन्दा बच्चाको भविष्यको चिन्ता रह्यो !’
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…
सङ्घर्षले बदलिएको तुलसीको जीवन !
भनिन्छ नि ! दुःखपछि सुख आउँछ । हो त्यस्तै जीवनमा थुप्रै दुःखहरू भोग्दै आइरहनुभएकी वीरेन्द्रनगर नगरपालिका–१ की २८ वर्षीया तुलसी गिरीको जीवन पनि बदलिएको छ । जब उहाँका पति दिनेश…
द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय…