अभिभावकको बेवास्ताका कारण बालबालिका सडकमा

गुल्मी । ०८१ साउन २० गते

नौ वर्षीया खुसी परियार, उहाँ सधैँ सडकमा दौडिनुहुन्छ । कलिलो ज्यानले घाम, पानी र हुरी सहेको छ । उज्यालो भएपछि राति अवेरसम्म डस्विन फोहोरमा खुसी खानेकुरा खोज्नुहुन्छ । उहाँले साथीहरूकै लहडमा व्यक्ति, होटल र पसलहरूमा पैसा मागेर ज्यान पाल्ने दैनिकी बनाउनुभएको छ । उहाँले जन्मिएपछि नाम मात्रै खुसी पाउनुभएको छ । त्यो बाहेकको खुसी कहिल्यै प्राप्त गर्नुभएन । उहाँको घर प्यूठान जिल्लाको गौमुखी गाउँपालिका-२, अर्खा डाँडागाउँ हो । आमाले सानैमा छोडेर हिँड्नुभयो ।

बुबा रामबहादुर परियारले कान्छी पत्नी लिएपछि खुसी अलपत्र पर्नुभयो । उहाँ दुई वर्षदेखि रेसुङ्गा नरपालिका-८ को खानीगाउँस्थित फुपु दिदिको घरमा बस्दै आउनुभएको छ । उहाँ साथीहरूसँगै तम्घासकै अलपत्र पार्कमा जमेको पानीमा दैनिक पौडी खेल्नुहुन्छ । सोही क्रममा खुसी खुट्टा चिप्लिएर लड्नुभयो । खुसीको छडले छेडेपछि योनी र गुद्धवारहुँदै भित्रसम्म ठूलो चोट लाग्यो । रगताम्य खुसीलाई स्थानीयले गुल्मी अस्पताल पुर्‍याए । उपचार सम्भव नभएपछि थप उपचारको लागि फुपुले बुटवल पुर्‍याउनु भयो ।

बुटवलमा उपचार सम्भव नभएपछि तम्घास फर्किनुभएकी खुसीलाई उपचारमा सहजीकरण गर्न इन्सेकले ०८० असार २० गते १० हजार रुपियाँ सहयोग गरेको थियो । इन्सेकसहितका संस्थाहरूको सहयोगमा खुसीको स्वास्थ्य उपचार काठमाडौँमा भएर फर्किनुभयो । तर, सरसफाई र फ्लोअप नहुँदा समस्या बल्झिरहन्छ । पछिल्लो समय बुबा रामबहादुर परियार तम्घास आउनुभएको छ । खुसी पनि बुबासँग बस्नुहुन्छ । तर, रामबहादुर बिहानै उठेर काममा हिँड्नुहुन्छ । खुसी साथीहरूसँग सडकमा दौडिनुहुन्छ ।

बुबाले दैनिक मजदुरी गरेर मदाक पदार्थ सेवन गर्ने भएकाले खुसी सडक बालबालिका जस्तै बनेर हिँडिरहनुभएको छ । रेसुङ्गा नगरपालिका–८ की मनिषा र सन्दिप रजाली मगर पनि ज्याला मजदुरी गर्छन् । उनीहरूका आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा रुद्र दिनभर गल्लीमा कुँद्छन् । ‘मजदुर नगरे खान पुग्दैन । बिहान उठेर काममा निस्केपछि फर्किँदा रात पर्छ । पहिलो कुरा भोक रहेछ', मनिषाले भन्नुभयो । रजाली दम्पतीका छोराछोरी सानै उमेरबाट सडकमा छन् । उनीहरूसँगै डेढ दर्जन बालबालिका अभिभावले संरक्षण गर्न नसक्दा विद्यालय जाने उमेरमा फोहोरका खानेकुरा खाने, पैसा माग्ने, गाडीहरूमा झुण्डिने र पसलहरूमा सामान झिक्ने काममा सक्रिय छन् । जसका कारण स्थानीय प्रशासन, नगरपालिका र सरोकारवालालाई वर्षौँदेखि व्यावस्थापनको चुनौति रहेको छ ।

तम्घासको बुढाथोकी बसपार्क आसपासमा करिव १७ घरपरिवार मजदुर बस्छन् । ती मध्ये अधिकांश दलित र ढुङ्गा गिट्टी तथा गाडीको सामान लोडअनलोडमा काम गर्ने मजदुर छन् । सोही मध्येका हुन् सुशिल नेपाली । जसका पाँच जना छोरी छन् । उहाँ दिनभर काममा हुनुहुन्छ । सबै बालबालिका सडकमा । सोही ठाउँकै गीता सुनारका वर्षौटे चार छोराछोरी छन् । कसैले पनि बालबालिकालाई विद्यालय पठाउँदैनन् । बजारमा दुई/तीन समूहमा दैनिक १०/१२ जना बालबालिका माग्ने, संरचना तोडफोड गर्ने, गाडीको पछि कुद्ने र झुण्डिने गर्छन् । परिवार र प्रहरीका अनुसार केहिले नशा लिन समेत थालेका छन् । केहिले रक्सी, गाँजा र सुलेक्सन सुँघ्ने लगायतका क्रियाकलाप गर्न थालेका छन् ।

बालबालिकाले बजारका पसलहरूमा चोरी गर्ने र कार्यालय तथा बजारमा आउने नागरिकसँग जबर्जस्ती माग्ने गर्न थालेपछि सबै पक्षबाट बालबालिकाको व्यावस्थापनमा दबाब बढिरहेको छ । बालबालिकाको व्यावस्थापनमा नगर, प्रहरी, प्रशासन र सरोकारवाला नलागेका होइनन् । कैयौँ पटक बालबालिका विद्यालय भर्ना भए, पोशाक बाँडियो र खर्चको जोहो गरियो । तर, परिवार बालबालिकाका विषयमा गम्भीर छैनन् । व्यावस्थापनको नीति, श्रोत साधन र संरचना छैन । जसका कारण केही महिना सुरक्षा निकाय, जिल्ला समन्वय समिति र स्थानीय तहको सहयोगमा मिनि होस्टल सञ्चालन गरेर १७ जना बालबालिकाको व्यावस्थापन समेत गरिएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनु भयो । आफ्नो नगरका बालबालिका नभए पनि बसोबासका हिसाबले व्यावस्थापनमा निकै गम्भीर रहे पनि दिर्घकालीन समाधानको बिकल्प नभेटिएको पन्थीको भनाइ छ ।

केही बालबालिका सुधारिए पनि धेरैले बानी परिवर्तन गरेनन् । स्थायी संरचना नहुँदा सधैँ होस्टेल चलेन । जसका कारण मिनी होस्टेल बन्द गरिएको तत्कालीन बालबालिका व्यावस्थापन समितिका संयोजक तथा शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताउनु भयो । उहाँले अभिभावक जिम्मेवार नभएसम्म सरकारी पहलले मात्रै काम गर्न नसकिने प्रतिक्रिया दिनुभयो ।

जिल्लामा अख्तियारको प्रतिनिधि संस्था जिल्ला प्रशासन कार्यालय हो । जिल्लाका योजनाहरूको अनुगमन गर्ने जिल्ला समन्वय समिति, दुवै कार्यालयको गेटमा ६० लाखको ‘थ्रिडी पार्क’ पटक–पटक अलपत्र हुने गरेको छ । यो योजना दुरुयोगको तमसा चलेको धेरै भए । तर, दुवै कार्यालय, दल र सरोकारवाला मुखदर्शक बनेका छन् । पाँच वर्षअघि रेसुङ्गा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा ‘थ्रिडी पार्क’ निर्माण गरिएको हो । पछि पाँच लाखको पुन काम गरिएको छ । सदरमुकामको मुटु र जिल्लाका ठूला अड्डा अगाडिकै अलपत्र योजना लडेर खुसी परियार र लक्ष्मी रजाली गम्भीर घाइते बने । तर, स्थानीय र सरकारका निकाय अहिलेसम्म चुप रहेको नागरिक समाजमा संयोजक पदमप्रसाद पाण्डेयले गुनासो गर्नुभयो ।

गत वर्ष सडक बालबालिकाको समस्या समाधानको लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले तम्घास बजारका संरक्षण बाहिर भएका बालबालिकाको समस्या समाधानको लागि मध्ये र दिर्घकालीन उपायसहितको प्रतिवेदन जिल्ला समन्वय समितिमा पेश गरिएको छ । समितिले १९ जना बालबालिकाको पहिचान, परिवार भेटघाट, बालबालिकाको स्थायी बासस्थान र व्यावस्थापनसहितका बिकल्पहरूको खोजी गरेको थियो । जसमा समितिले अभिभावलाई रोजगारी, सम्बन्धित स्थानीय तहसँगको समन्वयमा स्थायी बसोबास भएको ठाउँमा फर्कन प्रेरित गर्ने, आंशिक आवसीय सुविधासहितको पठनपाठनको व्यावस्था, पूर्ण आवसीय सुविधासहितको व्यास्था र बालबालिकालाई सीपमूलक तालिमको व्यावस्था गर्न समितिको तर्फबाट सिफारिस गरिएको समिति संयोजक लोकनाथ मरासिनीले बताउनु भयो ।

गत वर्ष बालबालिकाको अल्पकालीन समाधानको लागि आवास, खानपान, मनोरञ्जन र सुरक्षासहितको योजना बनाएर महेन्द्र माविमा मिनि होस्टल सुरु गरिएको भए पनि दिर्घकालीन बनाउन अभिभावकनै बाधक भएको जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले बताउनु भयो । शिक्षा विकास तथा समन्वय एकाई, रेसुङ्गा नगरपालिका, धुर्कोट, मालिका, मदाने र इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा महेन्द्र माविकाले मिनि होस्टल सुरु गरेको थियो । होस्टलमा बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म बालबालिकालाई खानाखाजा, कला, सीपसहित खेलहरू प्रदान गरिएको थियो । तर, अभिभावहरू नै होस्टल आएर बच्चा लैजाने, मादक पदार्थ सेवन गरेर शिक्षकलाई अपशब्द प्रयोग गर्ने र छोराछोरीको खाजा मागेर खाने जस्ता व्यवहार देखाएपछि समस्या भएको खत्रीले बताउनु भयो । फेरि सबै स्थानीय तहसँग समन्वय गरेर सेफ हाउस र बालबालिकाको व्यावस्थापनको विषयमा छलफल गरिने खत्रीको भनाइ छ ।

- टोपलाल अर्याल