अभावै अभावले खडकिएको जिल्ला अस्पताल (फोटो फिचर)

हुम्ला । ०७९ असोज ११ गते

कहिले सिटामोलको अभाव, कहिले स्वास्थ्यकर्मीको अभाव, कहिले गर्भवती महिलालाई सुत्केरी हुन उज्यालो बनाउने विद्युतको अभाव हुम्लाको जिल्ला अस्पताल अभावै अभावले खड्किएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा हुम्लाका नियमनकारी निकाय, राजनीतिक दल, स्वास्थ्य व्यवस्थापन समिति लगायतका सरोकारवाला निकायको यसतर्फ ध्यान जान सकेको छैन ।

राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्लाका लागि ज्यान बचाउने स्रोत  साधनका रुपमा हवाई जहाज मात्र छ । त्यो पनि पहुँच र पावरको भरमा उडान हुँदै आएको छ । यदि जिल्ला अस्पातलले रिफर गरेका बिरामीहरूले टिकट नपाएपछि अकालमै ज्यान गुमाउनु भन्दा अन्य विकल्प नभएको जिल्ला अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भई उपचाररत रहेका सिमकोट गाउँपालिका–७ का हरिबहादुर सिंहले गुनासो गर्नु भयो ।

विगत दुई वर्षदेखि दमको रोगबाट थला परेका बिरामी सिंह भन्नु हुन्छ दैनिक दिन विद्युत नआउदा अध्यारो रातमा आफ्नै टर्च बालेर आफु लगायत अन्य विभिन्न रोगले थला परेका बिरामीहरूको आफ्नै टर्चबाट चेकजाँच हुने गरेको छ ।

दुर्गम हिमाली जिल्ला हुम्लामा एक मात्रै जिल्ला अस्पताल छ, त्यसैको भरमा जिल्लाका सातओटै गाउँपालिकाका बिरामी तथा सेवाग्राही उपचारको आशामा आउँछन तर उक्त संस्थामा समेत पर्याप्त औषधि र स्वास्थ्यकर्मी हुदैनन् सेवाग्राहीले गुनासो गरेका छन् ।

भिडियो एक्सरे गर्न समेत विद्युतको अभाव झेल्दै आएका ग्रामिण वस्तिका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पतालमा पाउने आशमा पुग्ने गरे पनि झन बढी समस्या खेप्नु परेको स्थानीय जुनदेवी महताराले गुनासो गर्नु भयो ।

नेपाल विद्युत प्राधिकरणको हेल्दुम साना जलविद्युत आयोजना वितरण केन्द्रले नियमित विद्युत सेवा उपलब्ध नगराउँदा अस्पताल पुगेका बिरामीले राम्रोसँग सेवा नपाएको स्थानीयबासी महताराले गुनासो पोख्नु भयो । पाँच सय किलोवाट क्षमता भएको हेल्दुङ विद्युत वितरण प्राद्यिकरण केन्द्रले नियमित आफ्नो सेवा दिन नसक्दा बिरामीहरूले समस्या भोग्नु परेको छ ।

अविरल वर्षाका कारण पहिरो जाँदा भदौ २९ गतेदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राद्यिकरण कार्यालय सिमकोट शाखाका प्रमुख साजन ऐडीले बताउनु भयो । उहाँले भन्नु भयो, विद्युत मर्मत कार्य गर्ने भनेर कर्मचारी खटाएर काम शुरु गरिए पनि लगातारको वर्षाले काम संचालनमा समस्या बनाएको छ । यसले गर्दा सेवाग्राही अझ अध्यारोमा रात कटाउनु पर्ने बाध्यता भएको छ ।

विद्युत प्राधिकरण हुम्लाले प्रत्येक वर्ष नेपालीहरूको महान पर्व दशैँमा विद्युत सेवा मर्मतका नाममा सेवा बन्द गर्दै आउदा यहाँका नागरिकले अध्यारोमा दशैँ मनाउँदै आउनु परेको छ । दशैँमा मात्रै नभएर हिउँद याममा हुम्लाका सेवाग्राहीले १८ घण्टाको लोडसेडिङको समस्या खेप्दै आउनु परेको छ । जिल्ला अस्पताल हुम्लामा डिउटीमा खटिएका स्वास्थ्यकर्मी र बिरामीले आफ्नै टर्च बालेर उपचार गर्न बाध्य भएका छन् ।
विद्युत सेवा बन्द भएपछि इमेरजेन्सी लगायतका अस्पतालमा भर्ना भएका बिरामीले आफ्नै टर्च बालेर सेवा लिएको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा आउने बिरामीहरूले प्रभावकारी उपचार पाउन नसकेको गुनासो आइरहेको छ ।

लोडसेडिङ हुँदा अस्पताल भर्ना भएका बिरामीको काममा बाधा भएको अस्पतालको रात्रिकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीले गुनासो पोखेका छन् । अस्पताल भर्ना भएका बिरामीलाई रात्रीकालीन अवस्थामा आफ्नै टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालकी अनमी केशाङ डोल्मा लामाले गुनासो पोख्नु भयो ।

रातीको समय विद्युत नहुँदा इमरजेन्सी उपचारमा आएका बिरामीलाई भिडियो एक्सरेदेखि अन्य विभिन्न सेवा दिन आफूहरूलाई कठिनाइ भएको अनमी लामाले गुनासो पोख्नु भयो । उहाँका अनुसार अस्पतालमा जडान गरिएको सोलारले काम नगरेका कारण रातभर टर्च बालेर बिरामीलाई उपचार गरेको बताउनु भयो । उहाँले भन्नुभयो, बिद्युतबाट हुने सेवा दिन सकिएन, अन्य सेवा टर्च बालेर दियौं । अझ बिरामीले आफुहरू माथि गुनासो पोख्दै आएका छन् । तर यसको व्यवस्थापन गर्नका लागि अस्पताल व्यवस्थापन समिति र मुख्य कर्मचारीको भूमिका हो ।

यस्तै अक्सिजन दिनुपर्ने बिरामीलाई समयमै अक्सिजन दिन नसकिएको डिउटीमा खटिएका स्वास्थ्यकर्मीले स्वीकार गरेका छन् । ज्येष्ठ नागरिकदेखि अस्पतालमा भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजन दिनु पर्ने तर विद्युत नहुँदा दिन सकिएको छैन् । दिउँसो दिने गरेपनि रातीको समय बिरामीले सेवा नपाउने गरेको स्वास्थ्यकर्मीबाटै खुलासा भएको छ । रातभर बिरामी र डिउटीमा खटिएका स्वास्थ्यकर्मी अध्यारोमा बस्ने गरेका छन् । उज्यालोको सेवा नहुँदा भर्ना भएका केही बिरामीले शौच गर्न जान समेत डर लागेको गुनासो पोख्ने गरेका छन् ।
अस्पतालले मागेको समयमा विद्युत उपलब्ध नहुँदा समस्या भोग्नु परेको जिल्ला अस्पताल हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो । १५ शैयाको जिल्ला अस्पतलामा भर्ना भएका बिरामी कोचाकोच गरेर उपचार गर्दै आएका छन । सेवाग्राहीले यो पटक मात्रै नभएर यो समस्या महिनै पिच्छे भोग्नु परेको छ ।

हाल जिल्ला अस्पतालको इमरजेन्सी वार्डमा कडा खालको ज्वरो, दम, हाड जोर्नीको समस्या लगायत गरेर करिब २५ जना बिरामी भर्ना भएको डा. कैलाश लामाले बताउनु भयो । उहाँले जिल्लामा नियमित विद्युत आपूर्तिका लागि सरोकारवाला निकायले पहल गरिनु पर्नेमा अनुरोध गर्नु भएको छ ।
Photohumla20220927 (1) Photohumla20220927 (2) Photohumla20220927 (3) Photohumla20220927 (4) Photohumla20220927 (5) Photohumla20220927 (6) Photohumla20220927..

- नन्द सिंह