अप्सराको समस्या नाबालकको आँसुपुछ्नु

कृष्ण प्रसाद अधिकारी

छोरा र छोरीले बाबा कहाँ गए भनेर सोध्छन्, त्यतिवेला आफ्नै बोली घाँटी अडि्कन्छ । जिन्दगीमा कहिले पनि यस्तो होला भन्ने सोचेको थिइन तर आज भाग्य र दैवले कहाँ कहाँ पुर्‍यायो म आफैँलाई थाहा छैन । कहिलेकाहिं लाग्छ, यी नाबालक छोराछोरी नभएका भए मैले यो जिन्दगीलाई एक ठाउँमा गएर टुंग्याइहाल्थें ।

यी आवाजहरू कुनै आख्यानका नभएर एक पीडा र वेदना खेप्दै संघर्षरत विधवा महिलाको हो । उनी हुन् लमजुर्ङ इशानेश्वर गाउँ विकास समिति पैरावनकी दलित सुकुम्वासी महिला अप्सरा विश्वकर्मा । माओवादीको तत्कालीन जनमिलिसियाको एक टोलीले गत वर्षभदौ २२ गते पति सन्तबहादुर विश्वकर्माको हत्या गरेपछि अप्सराको आँखामा अहिलेसम्म आँसु थामिएको छैन । जोकसैले आफ्नो पतिको कुरा कोट्याउने बित्तिकै उनको आँखामा पीडा आँसु बनेर टल्पलाउन थाल्छ ।

लमजुङको नाल्मा गाउँ विकास समितिका स्थायी बासिन्दा सन्तवहादुर उनको परिवारसहित १० वर्षगाडि इशानेश्वरको पैरावनमा सरकारी जग्गामा झुपडी बनाई बस्दै आएका थिए । दैनिक रुपमा माछा मार्दै र अरुको हलो जोतेर परिवार पाल्दै आएका विश्वकर्मालाई चोरीको आरोपमा माओवादीले अपहरण गरी इशानेश्वरको लक्ष्मीवजारस्थित रामकृष्ण परियारको घरमा लगेर कुटपिट गरी निर्मम हत्या गरेका थिए ।

उनको हत्या हुँदा पत्नी अप्सरा ३५ दिनकी सुत्केरी थिइन् । एकातिर पतिको हत्या र अर्कोतर्फसुत्केरीको पीडाले गर्दा उनले निकै संघर्षको सामना गर्नुपर्‍यो । त्यतिबेला उनकी ४ वर्षीया छोरी रोशनी विश्वकर्माले आफ्नो बाबालाई बोलाउँदै आमासामू रुँदाको दृश्यले पूरै इशानेश्वर शोकमग्न बनेको थियो ।

अनपढ अप्सरालाई कुन संस्थामा गएर न्याय पाउने हो थाहा छैन भने अर्कोतर्फछोराछोरीलाई साँझ टरेपछि बिहान के खुवाउने र विहान टरेपछि साँझ के खुवाउने भन्ने समस्याले पिरोलेको छ । पतिको हत्यापछि उनले अहिलेसम्म कतै कुनै निकायबाट सहयोग पाउन सकेकी छैनन् । सुकुम्बासी अप्सरा अहिले आफ्नो भेनाको जग्गामा खर र प्लास्टिकले छाएको झुपडीमा बस्दै आएकी छिन् । मुसलधारे पानी पर्दा उनको परिवार अर्काको पिँढीमा गएर रात बिताउने पर्छ । माओवादीले पतिको हत्या गरेपछि स्थानीयवासीको दवावमा १० हजार रुपैयाँ किरिया खर्च भनी दिएको थियो । त्यसपछि पनि माओवादीले साँवा नमासिने गरी २० हजार दिएको छ, त्यसको सयकडा दुई रुपैयाँको ब्याजले मासिक ४ सय हुन्छ’अप्सरा भावुक हुँदै भन्छिन्, त्यो पैसाले मात्र पुग्ने भए मेरो र मेरा सन्तानको यस्तो अवस्था हुने थियो - उनी प्रश्न गर्छिन् ।

उनी अनपढ भएकोले प्रशासनमा भिज्न नसकेका कारण स्थानीयवासीले भोर्लेटारस्थित सुरक्षा बेसक्याम्प र इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् । त्यति मात्र नभएर जिल्लाका राजनीतिक दलहरूलाई पनि भनेका छन् । तर, त्यसको कुनै सुनुवाई नभएको नेकपा एमाले इशानेश्वर गाउँ कमिटी सचिव ज्ञानप्रसाद अधिकारी बताउँछन् ।

अहिले सन्तवहादुरकी ५ वर्षीया छोरी रोशनी विश्वकर्मा इशानेश्वरस्थित लक्ष्मी प्राथामिक विद्यालयमा शिशु कक्षामा भर्ना भएकी छिन् । उनलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रराज घिमिरेले पढाउँदै आएका छन् । सन्तवहादुरकी पत्नीको दुःख देखेर उनको छोरीलाई पढाउँदै आएको घिमिरेले बताए ।

२२ वर्षो कलिलो उमेरमा विधवा वनेकी अप्सरालाई जिन्दगी नै भार भएको छ । पाँच वर्षहिले १७ वर्षो कलिलो उमेरमा विवाह गरेकी अप्सरा अहिले आफ्ना एक छोरा र एक छोरी हुर्काउन तल्लिन छिन् । पानी चुहिने झुपडीमा भए पनि कहिले आफू भोकै बसेर पनि छोराछोरीलाई भोको पेट भने राखेको छैन, अप्सरा भन्छिन् ।

मुलुकमा १९ दिनको जनआन्दोलनले प्रतिनिधिसभाको पुनर्स्थापना भएपछि लमजुङमा पहिलोपटक माओवादीले सन्तवहादुर विश्वकर्माको हत्या गरेका थिए । मुलुकमा लोकतन्त्र र शान्ति प्रक्रियाको शुरुवात भएपनि सन्तबहादुरले आफ्नो वाँच्ने अधिकार समेत गुमाउनु परेको थियो । सन्तबहादुरको हत्यापश्चात माओवादीले त्यसको जिम्मा लिएर दोषीमाथि कडा कारबाही गर्ने बताएका थिए । मुलुकले एउटा कोल्टे त फेर्‍यो तर, ती दोषीमाथि कुन किसिमको कारबाही चलाइयो, पीडितलाई अहिलेसम्म थाहा छैन ।

देशमा हाल संविधानसभाको चुनावको तयारी हुँदै छ तर आफूले उचित न्याय र पीडकले दण्ड नपाएसम्म संविधान सभाको चुनावमा भाग नलिने पीडितहरूले वताएका छन् । संविधानसभा अगावै उनीहरूको मागलाई सुनुवाई गरेमात्र मुलुकले चाहेको नयाँ नेपाल वन्न सक्छ नत्र फेरि अर्को जनआन्दोलन हुन बेर छैन ।

लमजुङ । ०६४ असोज

 

-