अपाङ्गताले नछेकेको ऋषिरामको पढाई

२०८० चैत १९

छत्रकोट गाउँपालिका–४ का १९ वर्षीय ऋषिराम कँडेल ‘क’ वर्गका अपाङ्ग हुनुहुन्छ । उहाँको जन्मजात अपाङ्गता भए पनि आफ्नो पढाइलाई सनैदेखि निरन्तरता दिनुभयो । परिवारले नेपाल र भारतका थुप्रै अस्पतालमा पुर्‍याएर उपचारको प्रयास गरे । तर, उपचार भएन् । शरीरको दाहिने खुट्टाको दुई औँला बाहेक अरु चल्दैँनन् कँडेलको । उहाँले दुई औँलाको भरमा पढ्ने अठोट बोक्नुभयो । परिवारले पनि उपचार सम्भव नभएपछि ऋषिरामलाई पढाईमा केन्द्रित गरे । बुबा लक्ष्मण कँडेल गाउँमा खेतिपाति गर्नुहुन्छ ।

आमालाई ऋषिरामकै स्याहार र सुसार ठिक्क हुन्छ । तीन जनाको सानो कँडेल परिवार मन भित्र पीडा भए पनि बाहिर देखिँदैन । अपाङ्गता भएका कैयौँ व्यक्ति बिस्ताराबाट आफूलाई उठाउन सकिरहेका छैनन् । तर, कँडेल परिवार बौद्धिक छन् । ऋषिरामका पनि हात–खुट्टा मात्रै कम्जोर हुन् । उहाँको बौद्धिक क्षमता र सृजनाशीलता उत्कृष्ट छ । त्यही उर्जाले ऋषिरामलाई १९ वर्षमा टेकायो र उज्यालो मार्ग देखायो । उहाँले खुट्टा र बुबाको भरमा गाउँको प्राविदेखि मावि अध्ययन गर्न सक्नुभयो । कँडेलले देखेको सपना, गरेको सङ्घर्ष र परिवारको साथले एसईई परीक्षा दिने अवसर जुराएको छ ।

कँडेल दम्पती आदर्शवादी छन् । उनीहरूका छोरा ऋषिराम एक्लो सन्तान हुन् । पहिलो सन्तान नै पूर्ण अपाङ्ग जन्मिएपछि कँडेल दम्पती पाँच वर्षसम्म छोराको उपचारका लागि नेपाल र भारतका अस्पतालमा दौडधुप गरे । तर, अवस्थामा सुधार आएन । त्यसपछि निरन्तर स्याहार–सुसार र अध्ययनमा नै परिवारको ध्यान गयो । छोराको अपाङ्गतासँग परिवारलाई पनि कुनै पछुतो छैन । सुरुको उपचारदेखि शिक्षादिक्षासँगै आजको अवस्थामा आउँदाको सङ्घर्ष परिवारको लागि बयान गरिसाध्ये छैन । तर, कहिल्यै छोराको मन दुख्ने गरेर गाली र विद्यालय अनुउपस्थित गराउने काम आफूले नगरेको बुबा लक्ष्मण कँडेलले बताउनु भयो ।

समाजमा धेरै खाले कुराहरू आएपनि आफूहरू छोराको हेरबिचार र शिक्षामा दत्तचित्त भएर लागेकोले फरक सोँच र थप सन्तानको आशा नगरेको कँडेलले बताउनु भयो । कँडेल दम्पतीले गाउँमा खेतिपाती गरेर जीविकोपार्जन गरिरहेका छन् । ऋषिरामले खुट्टको दुई औँलाले लेख्नुहुन्छ । उहाँले चित्र बनाउने र मोवाइल तथा ल्यापटप चलाउन सक्नुहुन्छ । कँडेल श्रृङ्गा जनता माविका उत्कृष्ट मध्येका विद्यार्थी हुनुहुन्छ । बुबा लक्ष्मण कँडेलले ऋषिरामलाई बिहान ठीक १० बजे विद्यालयको गेटमा पुर्‍याउनुहुन्छ । उहाँलाई विद्यालयको गेटबाट साथीहरूले उचारलेर कक्षा कोठामा पुर्‍याउँछन् । कक्षामा खाटमाथि बसेर ऋषिरामले साथीहरूसरह अध्ययन गर्नुहुन्छ ।

उहाँ अरुको स्याहाराबिना केही गर्न सक्नुहुन्न । बुबाआमा र साथीभाईहरूको राम्रो सहयोग पाएकोले घरपरिवार, समुदाय र विद्यालयसम्म आफूलाई कहिल्यै फरक र कमजोर अनुभूति गर्न नपरेको ऋषिरामको भनाई छ । ‘घरको स्याहारदेखि बिहान स्कुल पुर्‍याउने र बेलुका लिन जाने बुबाको दैनिकी हो । सधैँ सबैको माया, सद्भाव र सहयोग पाएँ । मैले जीवनलाई कहिल्यै कमजोर ठानेको छैन’, उहाँले भन्नुभयो । ऋषिरामलाई खुट्टाले कलम छोप्न थालेको सम्झना छैन । अभिभावकको अभ्याससँगै ऋषिराम खुट्टामा अभ्यस्त हुनुहुन्थ्यो । अरु विद्यार्थीले जस्तै कँडेलले पनि खुट्टाले लेख्नुहुन्छ । उहाँले विद्यालय जीवनमा पनि १० औँ वर्ष बटुलेको शाहास र उर्जाले एसईई परीक्षाको चरणमा ल्याएको छ ।

ऋषिराम परीक्षामा सहभागी हुन पाउँदा खुसी र भाग्मानी ठान्नुभएको छ । उहाँले आफूले सकेको मेहेनत गरेकाले राम्रो अङ्कका साथ एसईई उतिर्ण हुनेमा आशावादी हुनुहुन्छ । उहाँलाई परीक्षा केन्द्र नजिक नभएका कारण केही समस्या परेको छ । उहाँ घरबाटै केन्द्रमा पुगेर परीक्षा दिइरहनुभएको छ । घरबाट केन्द्रसम्म पुग्न करिव ३० मिनेट लाग्ने भएकोले बुुबा लक्ष्मण कँडेलले ऋषिरामलाई मोटरसाइकलमा केन्द्रसम्म लैजाने र ल्याउने गर्नुभएको छ । ‘नजिकको विद्यालय जस्तो शारीरिक अवस्थाका कारण नहुँदो रहेछ । व्यावस्थापनमा मुस्किल पर्ने भएकाले घरबाटै आउ-जाउ गराइरहेको हुँ । सरकारको सबैतिर अझै ध्यान पुगेको छैन्’, ऋषिरामको बुबा कँडेलले भन्नुभयो ।

गुल्मीबाट अहिले ४ हजार ९७ जनाले एसईई दिँदैछन् । ती मध्येका एक हुन ऋषिराम कँडेल । जसले खुट्टाले लेखेरै एसईई परीक्षा दिइरहनुभएको छ । श्रृङ्गा जनता माविमा अध्ययनरत कँडेलले रुरुक्षेत्र गाउँपालिका-४ र ५ को जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहनुभएको छ । उहाँलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा दिने व्यावस्था मिलाइएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष बामदेब ज्ञवालीले बताउनु भयो । उहाँले कँडेलले आफू खुट्टाले लेखेर परीक्षा दिने बताएपछि सहयोगी राख्न नपरेको र आवश्यकताको आधारमा डेढ घण्टासम्म थप समय पाउने ज्ञवालीले बताउनु भयो ।

Photo01042024Gulmi

Photo01042024Gulmi1

Photo01042024Gulmi2

- टोपलाल अर्याल