अधिकारकर्मीले समेत बिर्सिएकावाइवा
गोपीकृष्ण भट्टराई
घडीमा रातको दश बजेको थियो । अचानक ढोकामा ढकढक आवाज आयो । चमेलीले ढोका खोलिन् । बाहिर चारपाँच जनाको एक समूह थियो । 'माणिकलाल जी कहाँ हुनुहुन्छ -' उनीहरूले सोधे । चमेलीले सुतिरहनुभएको छ भन्ने जवाफ दिइन् । 'उहाँसँग काम छ उठाइदिनुस् ।' उनीहरूले भने । चमेलीले माणिकलाललाई मान्छे भेट्न आएका छन् भनी उठाइदिइन् । माणिकलाल घरबाहिर आए । उनीहरूले माणिकलाललाई केही काम छ भनी साथमै लिएर गए । पति आइहाल्लान् भनी चमेली सुतिन् । उनलाई थाहा थिएन माणिकलाल अब कहिल्यै पनि घर फर्किने छैनन् ।
पेशाले शिक्षक भए पनि खेतिपाती नगरी माणिकलाललाई परिवार पाल्न गाह्रो थियो । त्यो दिन पनि उनले दिनभरी बारीमा मकै गोडेका थिए । दिउँसोको कामको थकानका कारण उनी चाँडै खानपीन गरी ओछ्यानमा पल्टेको केही समय पछि ४-५ जनाले आएर माणिकलाललाई लगेका थिए । खेतबारीको कामले थकित चमेलीले एकछिनपछि पति आउलान् भनी ढोका बन्द गरी सुत्न गइन् । थकानका कारण उनीले निदाएको पत्तै पाइनन् । बिहानसम्म पनि मणिकलाल घर फर्केनन् । भोलीपल्ट ११.०० बजे पछिमात्र चमेलीले माणिकलाल हराएको थाहा पाइन् । छरछिमेकीसहित मिलेर खोज्दैजाँदा घट्टे खोलामा पतिको शव पो उनले पाइन् ।
दश वर्षो माओवादी 'जनयुद्ध' को क्रममा शिकार हुने मानवअधिकार रक्षकमध्ये एक हुन् ललितपुर जिल्ला कालेश्वर गाविस-७ का ३२ वर्षीय माणिकलाल वाइवा । इन्सेकको अभिलेख अनुसार उनलाई २०५९ साल कात्तिक १० गते रातको समयमा ४-५ जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले घर नजिकै रहेको घट्टे खोलामा पुर्याइ धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए । उनी नवोदय प्राथमिक विद्यालय कालेश्वर खन्तीकाडाडाँका शिक्षक तथा इन्सेक सम्बद्ध नवज्योति रिलेकका अध्यक्ष समेत थिए ।
माणिकलाल २०५९ कात्तिक ४ गते व्यक्तिगत कामको सिलसिला काठमाडौं गएका थिए । उनी काठमाण्डौं गएको भोलीपल्ट कात्तिक ५ गते सुरक्षाफौजले कालेश्वर गाविसस्थित पानीघाट सामुदायिक वनमा काभ्रे जिल्लाका राजु नेपाल, कुलबहादुर राना, दलबहादुर लामा र २० वर्षीय ऋषेश्वर अधिकारी सहित चारजना माओवादी कार्यकर्ताको गोली हानी हत्या गर्यो । साथै सुरक्षाकर्मीले कृष्णबहादुर दोर्जेलाई पक्राउ गर्यो । आफ्नो काम सिध्याएर माणिकलाल कात्तिक ८ गते कालेश्वर फर्किए । सुरक्षाफौजले चारजना हत्या गरेको घटनाको स्थलगत अध्ययन गर्न "मानवअधिकार तथा शान्ति समाज"का तल्कालीन अध्यक्ष कृष्ण पहाडीको नेतृत्व मानवअधिकारकर्मीको एक टोली कात्तिक ९ गते कालेश्वर पुगेको थियो । माणिलालले सो टोलीलाई घटनास्थल देखाउन लगेका थिए ।
माओवादीले ०५९ मंसिरमा एक कार्यक्रम आयोजना गरी माणिकलालले आर्मी, पुलीसलाई माओवादीको बारेमा सुराकी गरेको, घरमा आर्मीको पर्चा रहेकोलगायतका आरोप लगाउँदै उनको हत्याको जिम्मा लिए । अहिले पनि माओवादीका ललितपुर जिल्ला सचिव हरि दाहाल ' ललित ' ले हत्याको जिम्मेवारी लिएका छन् । सुराकी गरेकै आधारमा तत्कालीन समयमा साथीहरूले वाइवाको हत्या गरेको उनी जिकिर गर्छन् ।
'उनीहरूले सदाको लागि चुडेर लगें ।' गहभरी आँशु पार्दै चमेली भन्ने गर्छिन् 'यी चारजना छोराछोरीलाई कसरी खुवाउने, पढाउने -' बिहान बेलुकीको जोहो टार्न कठिन भएको छ । बारीको नाममा एकहल पाखो बारी छ । चमेलीको लागि त्यो पनि कसले जोतिदिने -
माणिकलालका चारजना छोराछोरी छन् । छोरीहरू हिरा र नीरा क्रमश कक्षा ६ र ४ मा पढ्छन् । त्यस्तै छोरा तिर्थ र राजकुमार क्रमश कक्षा ३ र १ मा पढ्दैछन् । उनको परिवारले हालसम्म क्षतिपूर्ति पाएका छैनन् । रिलेक नेपाल राष्ट्रिय समितिले उनको परिवारलाई ५ हजार नगद र छोराछोरीलाई स्कुल ब्याग, एकजोर कपडा र स्टेशनरी सामग्री उपलब्ध गराएको थियो । त्यो नै उनको परिवारले हालसम्म पाएको राहत हो । घटनाको न्यायिक छानविन र क्षतिपूर्ति ०५९ को लागि रिलेक नेपालले ०६४ असार ७ गते राष्ट्रिय मानवअधिकार अयोगमा र रिलेक नेपाल, रिलेक नेपाल जिल्ला शाखा ललितपुर र इन्सेक ललितपुर जिल्ला प्रतिनिधिले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, ललितपुरमा निवेदन दिएका छन् । प्रमुख जिल्ला अधिकारी आनन्दराज पोख्रेलले सर्वदलीय बैठकमा निवेदन पेश गरी निर्णय गर्ने बताएका छन् ।
मानवअधिकर रक्षक भएकोले अरुले सहयोग नगरे पनि अधिकारकर्मीले सहयोग गर्लान् भन्ने आस चमेलीमा थियो । त्यो पनि किन हो त्यो आशा निराशामा बदलिएको छ । कृष्ण पहाडीको समूहलाई वाईवाले बाटो त देखाए तर उनको परिवारलाई बाटो देखाउन कुनै अधिकारकर्मी पनि वाइवाको परिवारलाई भेटगर्न गएनन् । अधिकारकर्मीहरूले केही कार्यक्रममा उनको बारेमा चर्चा त गरे तर न्यायिक छानविनको लागि आवाज उठाउन कसैले तत्परता देखाएन ।
ललितपुर । ०६४ असार
-
सम्बन्धित फिचरहरू
वैदेशिक रोजगारीमा गएका महिलाको पीडा, बर्वतापूर्ण र दुखद अभिव्यक्ति
कुनै बेला चेलीबेटी बेचबिखन गर्ने जिल्लाको रूपमा चिनिएको सिन्धुपाल्चोक अहिले महिला आप्रवासनका लागि पनि चिनिन थालेको छ । राज्यले स्वदेशमा रोजगारीको सिर्जना गर्न नसक्दा धैरै सङ्ख्यामा महिलाहरू विदेश जान बाध्य…
घरेलु हिंसाबाट ज्यान जोगाएर बाँचेका महिलाहरु
गत वर्षको साउनमा गुर्भाकोट नगरपालिका–१३ मोतिपुरकी ३५ वर्षीया मिनाकुमारी सार्की घरमै काम गरिरहनुभएको थियो । घरमा सासुको मृत्यु भएकोले घरायसी काममै व्यस्त हुनुहुन्थ्यो । त्यस अगाडि उहाँलाई ३७ वर्षीया पति…
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…