अदालतको फैसलाले हिंसा पीडित महिलाको आत्मविश्वास बढायो
गत साउनको २२ गते घरायसी काममा व्यस्त हुनुहुन्थ्यो, गुर्भाकोट नगरपालिका–१३ मोतिपुरकी ३५ वर्षीया मिनाकुमारी सार्की । घरमा सासुको मृत्यूभएपछि जुठो चोख्खिने दिन भएकोले पनि उहाँ आएका पाहुनालाई खाना बनाउने र दुना टपरी लगाउनमै व्यस्त हुनुहुन्थ्यो । ३७ वर्षीय पति भिमराज साकीले ताउलोमा तातोपानी तताएर काम गरिरहनुभएकी मिनाको शरीरमा फाले । उक्त तातोपानी परेर उहाँको शरीर पोलियो । पीडा अटाउन नसकेर बेहोस् हुनुभयो । परिवार र छिमेकीले हतार–हतारमा अस्पताल लगेपछि ज्यान जोगियो ।
त्यस अगाडि नै पति सँग उहाँको सम्बन्धमा दरार आएको थियो । कारण थियो मदिरा सेवन गरी पतिले उहाँलाई दिएको मानसिक तथा शरीरिक र मानसिक पीडा । पतिको हिंसा सहन नसकेर आफ्नो ठुलदाईसँग भारतमा काम गर्न जानुभएकी सासुको मृत्यूपछि मात्रै घर फर्कनुभएको थियो ।
पीडितले जिल्ला अदालतमा ०७९ साउन २६ गते ज्यान मार्ने उद्योग, अंश, खाना खर्च र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नुभयो । मुद्दा परेको थाहा पाएपछि पति फरार भए । घटनापछि फरार रहेका पतिलाई डेढ महिनापछि प्रहरीले असोज १० गते गिरफ्तार गर्यो । पुर्पक्षका लागि असोज २८ गते कारागार चलान् भएका पतिलाई फागुन ११ गते जिल्ला अदालतले चार वर्षको कैद सजायको फैसला सुनायो ।
पीडितलाई उक्त मुद्दाका लागि आर्थिकको निकै अभाव थियो । उहाँलाई फोटोकपी, अदालतमा लाग्ने शुल्क लगायतमा समस्या थियो । सो समस्यालाई मध्यनजर गर्दै इन्सेक कर्णाली प्रदेशको मानव अधिकार सहायता कक्षले कानुनी प्रक्रियामा जानका लागि १० हजार रुपियाँ सहयोग गर्यो । उक्त रकमले मुद्दा प्रक्रियामा सहयोग भएर अगाडि बढ्नुभएकी ०८० माघ ३ गते अंश, खाना खर्च र सम्बन्ध विच्छेदको मुद्दा पनि जित्नुभयो । चार वर्ष कैद सजाय पहिल्यै अदालतले सुनाइसकेको थियो । अदालतका न्यायाधिस मनोजकुमार श्रष्ठको इजलासले खाना खर्च स्वरुप मासिक २ हजार ५ सय रुपियाँ पाउने गरी अंशसहित सम्बन्ध विच्छेद हुनेगरी फैसला गरेको छ । आफूले दर्ता गरेका सबै मुद्दा जितेपछि पीडित मिना खुसी हुनुभएको छ ।
‘म एकदमै आर्थिक अभावमा न्यायको खोजी गरिरहेका बेला इन्सेकको सहयोगले मलाई ठुलो मद्दत पुग्यो,’उहाँले भन्नुभयो, ‘त्यही सहयोगबाट मैले अदालतमा शुल्क, यातायात लगायतमा खर्च गरें । मुद्दा पनि जितेकी छु । मेरो दुःखमा सहयोग गर्ने इन्सेकलाई हार्दिक धन्यवाद । यो गुन कहिल्यै बिर्सने छैन ।’
दुई छोरीकी पीडित आमा एक गैरसरकारी संस्थाको सहयोगमा सिलाई कटाई तालिम समेत लिइसक्नुभएको छ । अब आत्मविश्वास बढेकेको छ । समाजमा केही गर्ने आत्मबल बढेको छ । वीरेन्द्रनगरमै सिलाई कटाई गरेर आफ्नो जिविका चलाउने उहाँको योजना छ ।
यसै गरी, वीरेन्द्रनगर नगरपालिका–१६ की २४ वर्षीया लक्ष्मी ज्ञवालीलाई तीन वर्ष अगाडि २८ वर्षीय पति बसन्त ज्ञवालीले कुटपिट गरेर फरार भए । पीडितले ०८० असोज १६ गते शुद्ध सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमा दायर गर्नुभयो । मुद्दा दायर गरेपछि घरमा बस्न उहाँलाई अप्ठारो भयो । चिङ्गाड गाउँपालिका– ४ माइतीमा बस्दै आएकी उहाँलाई काुननी प्रक्रियामा जान समस्या भयो । समस्या भएपछि इन्सेककाे मानव अधिकार सहायता कक्षमा निवेदन दिनुभयो । इन्सेकले ०८० कात्तिक ०२ गते कानुनी प्रक्रियामा जानका लागि पाँच हजार पाँच सय रुपियाँ सहयोग गर्यो । उक्त सहयोगले पीडितलाई स्थानीय यातायात र अदालतको शुल्क तिर्न सहज भयो । जिल्ला अदालत सुर्खेतका न्यायधिस मनोजकुमार श्रेष्ठको माघ २२ गतेको इजलासले सम्बन्ध विच्छेदको फैसला गर्यो ।
फैसला पछि खुसीले अब केही गर्न सक्ने आत्मविश्वास बढ्यो । उहाँका दुई छोराछोरी सासु ससुरासँगै बस्छन् । हालसम्म पतिको समेत अत्तोपत्तो छैन । इन्सेकको सहयोगले आफूलाई धेरै सहज भएको पीडित लक्ष्मीले बताउनुभयो । ‘चिङ्गाडबाट आएर मुद्दा लड्न सम्भव थिएन । म सँग पैसा पनि थिएन । त्यो इन्सेकले दिएको अर्थिक सहयोगले मलाई ठुलो सहयोग पुग्यो,’उहाँले भन्नुभयो, ‘यातायात र अदालतमा लागेको खर्चमा सहज भयो ।’
इन्सेकको मानव अधिकार सहायता कक्षले यस्ता पीडितहरुलाई कानुनी प्रक्रियामा जान धेरै सहज भएको अधिवक्ता गिता कोइरालाले बताउनुभयो । ‘कतिपय पीडतहरु फोटोकपी गर्ने पैसा छैन भनेर आउँछन् । यनीहरुको अवस्था एकदमै दयनीय हुन्छ,’अधिवक्ता कोइरालाले भनिन्, ‘इन्सेकको यो सहयोगले पीडितलाई न्याय पाउन निकै सहज भएको छ ।’
त्यस्तै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले सन् २०२३ मा ३६ जना र २०२४ को हालसम्म ३ जना पीडितहरुलाई कानुनी प्रक्रियामा जान सहयोग गरेको जानकारी दिनुभयो ।
‘हामीले स्थापना गरेको सहायता कक्षबाट समस्यामा परेका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएका छौं । त्यो सँगै वैतनिक वकिल र निशुल्क कानुनी व्यवस्था बारे समन्वय गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘सहायता कक्षबाट र अन्य संघ संस्थासँग समन्वय गरेर समेत आर्थिक र कानुनी सहयोग गर्दै आएका छौं ।’
कर्णालीमा पछिल्लो केही वर्षयता महिलाहरूमाथि हुने घरेलु र पारिवारिक हिंसाको अवस्था निक्कै डरलाग्दो छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ८ सय ७५, २०७८/०७९ मा ८८३ र २०७९/०८० मा ८ सय ५८ गरी २६ सय १६ महिलामाथि परिवार, पति र छिमेकीबाट घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी बिरबहादुर वलीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्रै कर्णालीमा २ सय २८ जना महिलामाथि घरेलु हिंसा भएको छ । जसमध्ये १ सय २२ उजुरी मिलापत्र, ४८ उजुरी सम्बन्धित निकायमा पठाइएको, ५६ ओटा उजुरीको काम हुन बाँकी र २ उजुरीका व्यक्तिहरू सम्पर्कमा आएका छैनन् ।
- जगतदल जनाला विक
सम्बन्धित फिचरहरू
सङ्घर्षले बदलिएको तुलसीको जीवन !
भनिन्छ नि ! दुःखपछि सुख आउँछ । हो त्यस्तै जीवनमा थुप्रै दुःखहरू भोग्दै आइरहनुभएकी वीरेन्द्रनगर नगरपालिका–१ की २८ वर्षीया तुलसी गिरीको जीवन पनि बदलिएको छ । जब उहाँका पति दिनेश…
द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय…
नेता आएर गए व्यथा गएन !
बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नपा–१२ रोशी बजारकी रिता केसी छिमेकीको घरमा बस्दै आउनु भएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा…
गरिब परिवारमै गम्भीर रोगः सम्पत्तिसँगै जीवन सकिँदै !
इस्मा गाउँपालिका–४ का केशव बहादुर मगरले आर्थिक अभावको कारण १६ वर्षीया छोरी कृष्णा मगरलाई गुमाउनुभयो । कृष्णाका हातखुट्टा एक्कासी नचल्ने भए । मगरले छोरीलाई बुटवल र काठमाडौँ धेरै पटक पुर्याउनुभयो…
टाउकोमा डोकाको व्यापारसँगै न्यायको लडाइँमा पदमकन्या !
मगुको खत्याड गाउँपालिका–५ धैनकोटकी ३६ वर्षीया पदमकन्या चौलागाईले जीवनमा धोकै धोका पाउनुभयो । परिवार र पतिको धोकाका कारण उहाँको जीवन सङ्घर्षरत छ । १२ वर्षकै उमेरमा विवाह गरेका पति तिर्थराज…