अत्याधिक गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दै (फोटो फिचर)
अत्याधिक गर्मी बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा बिरामीहरूको चाप बढेर अस्पतालका वेड भरिभराउ भएका छन् । अत्याधिक गर्मीका कारण भाइरल ज्वरो, टाइफाइड, झाडा पखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकका अनुसार मौसममा आएको परिवर्तनसँगै अस्पतालमा रुघा, खोकी, ज्वरो, झाडा पखाला, बेहोस र श्वासप्रश्वास लगायतका बिरामीको सङ्ख्या बढ्दै गएका छन् । केही दिनयता चलेको तातो सुख्खा हावा र अत्याधिक गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा भाइरल ज्वरो, रुघा, खोकी, झाडा पखाला, बान्ता हुने, बेहोस हुने र श्वासप्रश्वासका बिरामी बढेको उहाँले बताउनु भयो । डा.पाठकका अनुसार दुई सातादेखि बिरामीको चाप बढ्न थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक १ हजार ५ सयदेखि २ हजारसम्मको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गर्छन् ।
मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थालेको छ । अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मक रूपमा बढेकाले एउटै वेडमा दुई/तीन जना बिरामीलाई राखेर उपचार गरिरहेको डा. पाठकले बताउनु भयो ।
लामो समयसम्म वर्षा नहुँदा र सुख्खा तातो हावा चल्ने र अत्यधिक गर्मी बढेका कारण विभिन्न किसिमका बिरामीको चाप बढेको छ । नियमित अस्पताल आउने बाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, बेहोस हुने झाडापखाला बान्ता हुने लगायतका बिरामीहरू बढी मात्रामा छन् । उनीहरूलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको व्यवस्थापनमा विशेष ध्यान दिएको छ । उपचारमा आउनेमा बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।
आकस्मिक कक्षमा बिरामी राख्ने ठाउँ नहुँदा एउटै वेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको छ । ज्वरो, झाडापखाला, दम, प्रेसर, सुगर, मुटु र मृगौला रोगका बिरामीको सङ्ख्या धेरै भएको डा.पाठकले बताउनु भयो । बिरामीको सङ्ख्या बढेको र जनशक्ति अभाव भएपछि आकस्मिक कक्षमै उपचार सहज नभएको स्थानीयले गुनासो गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१३ का घनश्याम तिम्सिनाले प्रतिष्ठानमा भाइको उपचार गर्न नसकेपछि अन्यत्र लैजानुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘ठूलो अस्पताल भनेर उपचार गर्न जान्छौँ तर आकस्मिक कक्षका चिकित्सकले रगत परीक्षणका लागि बाहिरका क्लिनिकमा पठाउने गर्छन्, न त समयमै उपचार पाइन्छ ।'
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका सूचना अधिकारी वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर नेत्र रानाका अनुसार तुलनात्मक रूपमा अहिले बिरामीहरूको सङ्ख्या बढेको बताउनु भयो । डा.राना भन्नुहुन्छ, गत पुसदेखिको वैशाख २५ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने अस्पतालको बहिरङ्ग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ । पुस महिनामा २७ हजार ५ सय ८२ जना, माघमा २६ हजार ६५ जना, फागुनमा ३० हजार ९९ जना, चैतमा ३१ हजार ४ सय ७२ जना र वैशाख २५ गतेसम्म २४ हजार ६ सय ६६ जना बिरामीले सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
लुम्बिनी प्रादेशिक अस्पताल यस क्षेत्रकै उत्कृष्ट अस्पताल हो । यस अस्पतालमा रुपन्देही, नवलपरासी, गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पा, कपिलवस्तु, दाङ, स्याङ्जा लगायतका जिल्लाहरूबाट उपचारका लागि बिरामीहरू आउने गर्छन् । अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ । डा. पाठकले सर्वसाधारणलाई सफा उमालेको पानी प्रशस्त पिउन, नियमित झोलिलो पदार्थ सेवन गर्न, धुम्रपान र मद्यपान नगर्न, फलफुल र हरियो साग सब्जी खान, काँचो खानेकुरा नखान, दिउँसोको चर्को घाममा घर बाहिर ननिस्कन सबैलाई आग्रह गर्नुभएको छ ।
- रीमा बिसी
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…