अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो

रामेछाप । ०८० जेठ १० गते

रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।

गेलुको सिमलबोटे पँधेरो अहिले पनि ४० घर बढी स्थानीयको पानी भर्ने पँधेरो हो । पहिरी टोल, मिजार टोल लगायतका स्थानीयवासीको खानेपानी समस्या टार्ने थलो हो । मानिसको प्राण धान्ने मात्र होइन पशु बस्तुको आँच भर्ने ठाउँ पनि त्यही पँधेरो र त्यहीँको पानी हो ।

वर्षामा ठूलै हुने सिमलबोटे पँधेरो हिउँदमा सुकेर सानो धारो बन्छ । यस वर्ष त्यही धारो पनि पँधेरो सुधारको लागि भत्काइएको छ । सानो पाइपबाट पानी निकालेर त्राण भर्ने आधार बनाइएको छ ।

Photo_080-2-10_Ramechhap.

स्थानीयवासीको पानी लिन जाने अर्को विकल्प छैन । त्यो पानी पनि सुक्यो भने एक घण्टा तलको मुहानमा जानुपर्छ । धन्न तिर्तिरे भए पनि आएको छ । पानी पुरै सुकेको छैन ।

स्थानीय आधा घण्टा भन्दा बढी धाएर सिमलबोटे पँधेरो पुग्छन् । कतिलाई त ४५ मिनेटसम्म लाग्छ पँधेरोमा पुग्नै । एक जार पानी भरिनै झन्नै आधा घण्टा कुर्नु पर्छ । पँधेरो आउन जानै एक घण्टा, पालो पर्खने त कति कति, कहिले काहीँ दुई/तीन घण्टासम्म पर्खनु पर्छ ।

पँधेरोमा पानी थाप्न लाइन बस्दा स्थानीय सारदा माविको कक्षा १० मा अध्ययनरत अञ्जली अछामीले कयौँ दिन विद्यालयमा कक्षा छुटाउनु भएको छ । कयौँ दिन होमवर्क गर्न नभ्याएर सर म्याडमको गाली खानुभएको छ ।

‘वर्षामा त पानी ठूलो हुन्छ, हिउँदमा पानी सुक्छ, कहिलेकाहीँ लामो समयसम्म लाइन बस्नु पर्छ, त्यस्तो बेला होमवर्क गर्न भ्याइँदैन, कहिलेकाहीँ त स्कुल पनि ढिला पुगिन्छ’, अञ्जलीले भन्नुभयो ।

पँधेरोमा प्रशस्त पानी नहुँदा नुहाई धुवाई सरसफाइमा समेत समस्या छ स्थानीयलाई । ‘पँधेरो यही हो पानी प्रशस्त हुँदैन, खाने पानी नथापी लुगा धुने कुरा भएन, यसो मौका छोपेर नुहाइ धुवाई गर्नुपर्छ’, अञ्जलीले भन्नुभयो ।

Photo_080-2-10_Ramechhap

हिउँदको समयको बिहान एक गाग्री पानीमा नै बित्ने स्थानीय मैयाँ अछामी बताउनु हुन्छ । निद्रा माया मारेर पानी भर्न बिहान तीन नबज्दै महिलाहरू पँधेरोमा पुग्छन् । तै पनि लाइन बस्नु पर्छ । सबैलाई हतारो हुन्छ । ‘घण्टौँ लाइन बस्नु पर्छ, काम बितेको हुन्छ, कहिलेकाहीँ त पानी थाप्ने निहुँमा झगडा पनि पर्छ’, मैयाँले भन्नुभयो ।

पानीको समस्याको सबैभन्दा बढी पीडा महिलालाई हुने मैयाँ बताउनु हुन्छ । महिलाहरू बच्चा च्यापेर पनि पँधेरामा पुग्नु पर्छ । ‘बाख्रा, बस्तु, मान्छे, ट्वाइलेट सबै गर्दा दिनमा १० गाग्री बढी पानी लाग्छ, पँधेरोमा सधैँ लाइन, पानी नहुँदा त ट्वाइलेट पनि ताला लगाएर राखौँ जस्तो, पाहुना पनि कोही नआउन् जस्तो’, उहाँले भन्नुभयो ।

गेलुका स्थानीयको खानेपानीको समस्या अहिलेदेखिको होइन पुस्तौँदेखिको समस्या हो । फरक यत्ति हो पहिला धारो अलि ठुलो हुन्थ्यो, अहिले त्यो पनि सुक्दै गएको छ । पानी बोक्नु पर्ने समस्या पुरानै हो । त्यसमा पालो कुर्न थप समय पख्नु पर्ने समस्या बढेको छ ।

त्यसो त मन्थली नगरपालिकाले एक घर एक धारको अवधारणा अघि सारेको छ । तर पानी नै नभएपछि धारा मात्रै भएर भएन, पहिला त पानी चाहियो । ‘हामीलाई अहिले अरू केही विकास चाहिएको छैन, घरमा नै पानी पुगिदिए हुन्थ्यो, घरमा पानीको धारो झरिदिए हुन्थ्यो’, मैयाँले भन्नुभयो ।

पानीको समस्या कै कारण बाललिकाहरूले राम्रो पढ्न नपाएका मैयाँ बताउनु हुन्छ । ‘पानीको समस्याले बिहान बालबच्चाले पढ्न पनि भ्याउँदैनन्, कतिपय दिन त खाना नै नखाई स्कुल दौडिन्छन्’, मैयाँले भन्नुभयो ।

पानी नहुँदा कतिपय दिन निक्कै अप्ठेरो खेप्नु परेको उहाँले सुनाउनु भयो । ‘घरमा पानी सकिँदा हामी त पानी पैँचो पनि गर्छौँ, बोतलमा पैँचो लियो, पछि लगेर तिर्‍यो, के गर्नु व्यवहार चलाउनै पर्‍यो’, उहाँले भन्नुभयो ।

स्थानीय तहमा निर्वाचन हुँदा त्यहाँको प्रमुख मुद्दा खाने पानीकै बन्छ । चुनावको बेलामा सबै उम्मेदवारले खानेपानीको समस्या समाधान गर्ने बताउँछन् । चुनाव हुन्छ, जनप्रतिनिधि निर्वाचित हुन्छन्, फेरी पानीको कुरा हराउँछ । अनि फेरी अर्को चुनावको एजेण्डा पानी नै बन्छ ।

Photo_080-2-10_Ramechhap..

पानी ल्याउँछौँ भनेर धेरै पटक आश्वासन पाएको भए पनि पानीको समस्या भने जस्ताको तस्तै भएको स्थानीय कमला अछामी बताउनु हुन्छ । ‘चुनावको बेलामा सबैले खानेपानीको समस्या समाधान गर्छौँ भन्नुहुन्छ, हालौँ न त भनेर भोट दियो, चुनाव पनि जित्नु हुन्छ, फेरी अवस्था उस्तै हुन्छ, हामी त झुक्किएको झुक्किएकै भयौँ’, अछामीले भन्नुभयो ।

पानी बोक्ने काम महिलाको नै हो भन्ने धारणा स्थानीय पुरुषमा छ । त्यसैले प्राय पुरुषहरू पानी लिन जाँदैनन् । घरको कामदेखि लिएर पानी पनि महिलाले नै बोक्नु पर्ने भएकोले उनीहरू बढी पीडित छन् ।

‘आराम बिराम जेसुकै होस्, पानी लिन हामी महिला नै आउनु पर्छ, पुरुषलाई यो कुरामा खासै मतलब हुँदैन, कहिलेकाहीँ यसो एक/दुई गाग्री ल्याइदिए भने धन्न, नत्र हामी महिला नै घिस्रनु पर्छ’, अछामीले भन्नुभयो ।

सो वडामा स्थानीय पानीका मूल सुक्दै गएका कारण खानेपानीको समस्या भएको वडाध्यक्ष खिलेन्द्र खत्रीले बताउनु भयो । तामाकोसी नदीको पानी लिफ्ट गरेर गाउँमा खानेपानी पुर्‍याउने योजना अघि बढाएको भए पनि सो योजना पूरा हुन अझै समय लाग्ने खत्रीले बताउनु भयो । सो योजना पूरा नहुँदासम्म स्थानीयले सास्ती बेहोरी रहनु पर्ने अवस्था देखिन्छ ।

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा ४ मा लेखिएको ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ’ भन्ने कुरा संविधानमा नै सीमित भएको छ यहाँका महिलाहरूका लागि ।

आफूहरूको कार्यकाल भरि मन्थली नगरपालिकामा एक घर एक घारो पुर्‍याउने योजनाका साथ काम गरिरहेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताउनु भयो ।

तर उहाँको त्यो योजना उहाँकै कार्यकालमा पूरा होला कि नहोला कुनै निश्चित छैन । किनकि सो गाउँमा लिफ्ट खानेपानी योजनाको काम गर्ने निर्माण व्यवसायी नै सम्पर्क विहीन छन् । काम अलपत्र पारेर हिँडेको निर्माण व्यवसायीले कहिलेबाट काम सुरु गर्छ ठेगान छैन ।

स्थानीयमा पानीको प्यास छ । त्यसैले उनीहरू भन्छन् - डाँडा वारि खाऊँ । योजनाकार र निर्माण व्यवसायी अघाएका छन् । त्यसैले उनीहरू भन्छन् - डाँडा पारि खाऊँ ।

Photo_080-2-10_Ramechhap,

- नवराज पथिक