अझै ओभाएनन् मीर्गा बिष्टको आँखाका आँशु

चुलामा खाना पाक्दै थियो । बाहिर निस्कन पो के खोजेकी थिइन् उनी त्यत्तिनै बेला आँगनमा उभिरहेको आफ्नो छोराको छातिमाथि एसएलआर बन्दुक तेर्स्याइएको देखिन् । उनको छोरासहित ३७ जना कामदारहरू मृत्युको पर्खाइमा छन् भन्ने उनलाई किंचित थाहा थिएन ।

कोटबाडा गाविस-३ की ४७ वर्षीया मीर्गा बिष्ट त्यो घटना सम्झेर अहिले पनि भक्कानो फुटाइ अझै पनि रुने गर्छिन । घटना करिब सात वर्षअगाडिको हो । ०५८ फागुन १२ गते सुनथराली बिमानस्थल निर्माणमा खटिएका उनका १९ वर्षीय छोरा टेकबहादुर बिष्ट, सोही गाविस-३ का गंगाबहादुर बिष्ट, भीमबहादुर कठायत, गोविन्द कठायत, लालबहादुर कठायत र गोरखबहादुर कठायतसहित ३७ जना कामदारलाई सेनाले माओवादीको आरोपमा लाइन लगाई हत्या गरेको थियो । जसमध्ये छ जना स्थानीय सर्वसाधरण थिए भने बाँकी धादिङ जिल्लाको जोगिमाराबाट ल्याइएका कामदारहरू ।

छातिमाथि एसएलआर बन्दुक राखेर लाइन लगाई गोली हान्ने सेनाको तयारी देखेर छोरालाई नमारी दिन सुरक्षाकर्मीसँग हारगुहार गरिन मीर्गाले । उनको अनुनय विनयलाई तत्कालीन शाही सेनाले वेवास्ता गर्दै गोली हानेको आवाज आएको केही बेरमा नै रगतको खोलो उनको खुट्टानेर आइपुग्यो । यत्तिकैमा एकजना सेनाको जवान उनको नजिकै आइपुग्यो । ती सेनाका जवानको मुखबाट पुरै मदिराको गन्ध आइरहेको थियो । उनले यो पनि माओवादी हो भन्दै छातिमा गोली तेर्स्याए र मार्नको लागि गोठ भित्र लगे । मीर्गाले भनिन् "तिमिले आज जति जनाको ज्यान लिएका छौ ती सबै सर्वसाधरण हुन अझै तिमिहरू म जस्तो एक सर्वसाधरण महिलालाई मार्दै छौ, तिमिहरू पछि पछुताउने छौ ।" यति भनेपछि सेना केही हिच्किचायो र एक लात्ती हानी यो बुढीलाई नमार भन्दै छाडिदिएको सुनाउँछन् मिर्गा बिष्ट । उनका अनुसार आफूलाई सेनाहरूले मार्न भनेर गोठ भित्र लगेपछि त्यहाँ भित्र पनि एक जनालाई गोली हानी हत्या गरि फालिएको थियो ।

मीर्गा बिष्टका आँखामा आँशु अहिले पनि ओभाएका छैनन् । उनको छोरा माओवादी पनि थिएनन् । उनी मात्र एक सर्वसाधरण किसान थिए । घरमा कमाउने एक मात्र छोरा उही पनि सुरक्षाकर्मीले मारेपछि अहिले घरमा कमाउने कोही पनि नभएको बताउँछिन मीर्गा । धादिङ जोगिमाराबाट कामदारको रूपमा आएका परिवारलाई राज्यले राहत दिएपनि स्थानीयहरू जो यस घटनामा मारिएका थिए, हरूका परिवारले हालसम्म कुनै राहत नपाएको दुखेसो पोख्छन् । जिल्ला सदरमुकाम मान्मबाट पाँच किलोमिटर पश्चिममा पर्ने कोटबाडा गाविसमा सशस्त्र द्वन्द्वको अवस्थालाई सहन नसकेको पीडा खेप्ने मीर्गा बिष्ट मात्र होइनन् । यस अवधिमा यहाँका कतिपय महिलाले आफ्ना खाँउ खाँउ र लाँउ लाउँ भन्ने लालाबाला गुमाएका छन् त कतिपयका सिउँदोको सिन्दुर पुछिएको छ । नेपालको इतिहासमै कोटबाडाबासी बराबर क्षति र पीडा अरु कुनै गाविसले खेप्नु नपरेको स्थानीयहरू बताउँछन्, द्वन्द्वको समयमा । विशेष गरि राज्यको ज्यादतिको रापले पिरोलिएको बस्ती हो यो । यही गाविस घर भएका ५६ जनालाई सशस्त्र द्वन्द्वको क्रममा राज्यले बिभिन्न ठाँउमा निर्मम हत्या गरेको थियो । यसैगरी यहाँका महिलाहरू मकैबारीमा घाँस काट्न जाँदा, जंगलमा दाउरा लिन जाँदा, गाई भैंसी खर्क जाने गोठाला र स्कूलमा जाने बिद्यार्थीले समेत हत्या यातना र बलात्कारको सिकार हुनु पर्žयो । यसै गाविस-३ का नवीन कुमार बिष्ट माओवादी भएको आरोपमा उनको छ महिने नाबालक छोरा दिनेश बिष्टलाई सुरक्षाकर्मीले गोली हानेको घटनालाई सम्झेर स्थानीयबासी अहिले पनि आँखाबाट आँशु झार्छन् ।

राज्यबाट ०५३/५४ सालबाट ०६० सम्म धेरै दुःख पाएको यहाँका बासिन्दाहरू बताउँछन् । यहाँ माओवादी विद्रोहलाई दबाउने नाममा राज्यले चलाएको किलो सेरा वान, सेरा टू, रोमियो अप्रेशन, जंगल र्सच र केराबारी अप्रेशनले सर्वसाधरणले सास्ती नै झल्नु पर्žयो । परिणामस्वरूप यहाँका यूवा, विद्यार्थी, महिला समेतलाई माओवादीको बन्दुक बोक्न बाध्य बनाएको सोही गाविस-४ निवासी पूर्व गाविस अध्यक्ष धनबहादुर बिष्ट बताउँछन् । उनका अनुसार स्थानीय युवाहरूले घरमा बस्दा राज्य र माओवादी दुबै पक्षबाट सास्ती बेहोर्नु पर्ने भएका कारण बरु एकै पक्षको सिकार हुन यस गाविसका माओवादी विद्रोहमा लाग्नु परेको हो । यस गाविसमा मात्र राज्यले माओवादीको आरोपमा सर्वसाधरण २४ जनाका घर तीनतीन पटक ध्वस्त पारिएका थिए । उनीहरूका प्रत्येकको लाखौं लाखको सम्पत्ति नष्ट भएपनि हालसम्म उनीहरूले कुनै क्षतिपूर्ति पाएका छैनन् । केही शिक्षकहरू जागीर त्यागेर माओवादी तिर लाग्नु परेको थियो । सोही आरोपमा तेरो लोग्ने देखा भन्दै सुरक्षा गस्तीले कयौँ पटक कुटपिट गर्ने गरेको र पटकपटक घरमा आगजनी गरि घर सम्पत्ति सबै नष्ट पारेपछि तीन वर्षबालबच्चासहित ओडारमा बास बसेको गुनासो ५३ वर्षीय दुर्गा देवी बिष्टको छ । यस्तो गुनासो गर्ने यस गाविसकी उनी मात्र होइनन् धेरै छन् तर देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई माओवादीको नेतृत्वमा नयाँ सरकार बनिसक्दा पनि उनीहरूले न क्षतिपूर्ति पाएका छन् न त न्याय नै । राज्यद्वारा महिलामाथि गरिएको दमनलाई सहन नसकी यहाँका महिलाहरूले सुरक्षाकर्मीसँग हतियार खोसेर नै युद्ध गर्नुपरेको माओवादी स्थानीय महिला नेतृ गौरीकला बिक बताउँछिन् ।

त्यसो त माओवादीबाट पनि कम सास्ती खेपेका छैनन् यहाँका बासीन्दाले । माओवादीमा नलागेको आरोपमा धेरैले कुटाई खानु परेको स्थानीयबासी सुनाउँछन् । माओवादीबाट दुइ जनाको हत्या गरिएको छ । घरमा बस्दा माओवादीले सुराकीको आरोपमा मरणासन्न हुनेगरी कुटेपछि ०५५ सालबाटै सात जनाको परिवारसहित कैलाली विस्थापित भएका थिए । शान्ति बाहलीपछि पुनः स्थापित भएको सोही गाविस-३ का ४५ वबर्षीय अलिबहादुर बिष्ट बताउँछन् । राज्य र माओवादी दुबैको यातनाबाट अङ्गभङ्ग भएपछि घरमा बस्न नसकी बालबच्चासहित सात जनाको परिवार सदरमुकाममा विस्थापित भएका कोटबाडा-४ का धनराज बिष्ट भन्छन, "मलाई माओवादीले पार्टी नलागेको आरोपमा कुटपिट गरे । अझपछि गाउँमा सुरक्षाकर्मीहरू गस्तीमा आएपछि माओवादी साला भन्दै गिरफ्तार गरी २५ दिनसम्म हिरासतमा यातना दिएका थिए । अहिले अङ्ग्भङ्गको अवस्थामा छु । न राहत पाएको छु न त आहत नै । ०५४ सालबाट अहिलेसम्म पनि सदरमुकाममा विस्थापित अवस्थामै छु ।" उनका अनुसार सोही गाविसमा दुई जना माओवादीद्वारा अपाङ्ग भएका व्यक्तिहरू अझै छन् ।

यस्ता नरसंहारका घटनाहरू गराउने पीडकहरूलाई न्यायको कठघरामा उभ्याइ कारबाही नभएसम्म र पीडितहरूले क्षतिपूर्ति नपाउँदासम्म स्थायी शान्तिको औचित्य र संभावना देखिदैन । त्यसैले अब सशस्त्र द्वन्द्व हुन नदिन बर्तमान सरकारले समयमै सचेत भइ काम गर्न आवश्क छ ।

कालीबहादुर मल्ल

कालिकोट । ०६५ माघ ७ गते

 

-