अज्ञात रोगका कारण राउटेको मृत्यु, स्वास्थ्य परीक्षण गर्न सकस (फोटो फिचर)

सल्यान । ०७८ भदौ ९ गते

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका चारजना व्यक्तिहरूको पछिल्लो एक महिनामा मृत्यु भएको छ । अज्ञात रोगका कारण यस समुदायका मानिसहरूले लगातार ज्यान गुमाउन थालेपछि भदौ ५ गते समुदायमै गएर स्वास्थ्य सेवा कार्यालय सल्यान र नेपाली सेनाको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

मृत्युको कारण भने पत्ता लगाउन नसकिएको स्वास्थ्य शिविरमा संलग्न स्वास्थ्यकर्मी डाक्टर भिमकान्त जैशीले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण गर्नको लागि राउटे समुदायमै स्वास्थ्य शिविर सञ्चालन गरिए पनि १२ जनाले मात्रै स्वास्थ्य परीक्षण गरेको जैशीले बताउनुभयो ।

Skt 3

परीक्षणमा एक जनालाई निमोनिया देखिएको र अन्य केहिलाइ ग्यास्टिक, जिउ सुन्निने, घाउ खटिरा लगायतका समस्या देखिएको उहाँले बताउनुभयो । अधिकाँशले स्वास्थ्य परीक्षण गराउन नमानेपछि कुन रोगका कारणले मृत्यु भइरहेको भन्ने बारेमा खुल्न नसकेको शिविरमा गएका स्वास्थ्यकर्मीको भनाई छ ।

केही समयअघि राउटेलाई कोरोना महामारीबाट जोगाउन समुदायका दुई दर्जन बढीको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । सोही कारणले उनीहरू अहिले शिविर मार्फत आफूहरूलाई कोरोनाको खोप लगाउन आए भन्ने ठानेर सशङ्कित भएका कारण स्वास्थ्य परीक्षण गराउन नमानेको राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्ष कृष्णा वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्यानमा बसोबास छाडेको १० वर्षपछि असार ८ गते सल्यान फर्किएका राउटे समुदायमा साउन महिना र भदौको पहिलो साता गरि चार जनाले ज्यान गुमाइसकेका छन् ।

 Skt 2

सल्यानको कालीमाटी गाउँपालिकाको काल्चेडाँडामा बस्दै आएका राउटे समुदायका २ वर्षीया मयो शाही, ३४ वर्षीय दलबहादुर शाही, २१ वर्षीय मानसिंह शाही र ७ वर्षीया डवी शाहीको मृत्यु भएपछि राउटेहरु भदौ ५ गते बिहान सुर्खेतको गुर्भाकोट नरपालिका –१ सिमसारमा सरेका छन् ।

बिरामी भएमा झारफुकबाटै निको हुन्छ भन्ने विश्वासमा रहेको राउटे समुदायको जिवनशैली पछिल्लो समय केहि परिवर्तन भएपनि स्वास्थ्य परीक्षण गराउन अझै तयार हुन नसकेको प्रतिष्ठानका अध्यक्ष वलीले बताउनुभयो । विशेष गरी महिलाहरुले गर्भवती भएको समयमा र सुत्केरी हुनेबेला समेत पालमुनि बस्ने र स्वास्थ्यकर्मीसँग डराउने गरेको उहाँको अनुभव छ ।

Skt 5

‘हामीले गत वर्ष एकजनालाई मात्रै स्वास्थ्य सँस्थामा सुत्केरी गराउनसक्यौं’ अध्यक्ष वलीले भन्नुभयो ‘सुइ लगाउने र औषधि खाने डरले आफूहरूलाइ केही नभएको भन्दै राउटेहरू समस्या लुकाउँछन् ।’

राउटे समुदायका मुखिया सुर्यनारायण शाहीका अनुसार कुनै रोग लागेमा झारफुक र जडीबुटीको औषधि बनाएर रोग निको बनाइन्छ । ‘हाम्रा जनताले सुइ लाउन सक्दैनन्, मर्नेहरू कालगतीले मरे हामीले कर गरेर औषधि खानुहोस भन्न पनि मिल्दैन्’ मुखिया शाहीले भन्नुभयो ।

३० वर्षीय खकेन्द्रबहादुर शाहीले श्रीमती सुत्केरी भएको बेलामा समेत अन्य बेलाको जस्तै खाना खुवाउने गरेको बताउनुहुन्छ । चिसो बढ्न थालेकोले ओढ्नको लागि कम्बल, पाल र चामल चाहिएको उहाँको भनाइ छ ।

Skt 7

राउटेको मृत्युको कारण यही हो भन्ने नभएपनि अत्यधिक मदिरा सेवनका कारण उनिहरूको मृत्यु भएको अधिकारकर्मी बताउँछन् । विगत तीन वर्षदेखी राउटे समुदायमा काम गर्दै आएकी सोसेक नेपालकी सहजकर्ता दुर्गा खत्रीका अनुसार राउटेहरूले अत्यधिक मदिरा सेवन गर्ने गरेका कारण बालबालिका देखि ज्येष्ठ नागरिकलाइ मदिराको लत लागेको छ ।

‘यसरी अकालमा ज्यान जाने हो भने लोपोन्मुख राउटे समुदायको अस्तित्व सङ्कटमा पर्ने देखिन्छ,’ खत्रीले थप्नुभयो ‘राउटे समुदायका बालबालिका र आमाहरूले अत्यधिक मात्रामा मदिरा सेवन गर्दा कुपोषित बन्दै गएका छन् ।’

Skt 6

सामाजिक विकास सेवा केन्द्र सोसेक नेपालले राउटेको नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी समेत खटाएको छ । अहेब बिनोद बिसीले उनीहरूको मृत्युको कारण मदिरा नै भएको दाबी गर्नु भएको छ । युवा तथा ज्येष्ठ नागरिकको शरीरमा खाने कुरा भन्दा पनि मदिरा धेरै भएका कारण सुन्निने समस्या देखा परेको र बालबालिकाहरूको कुपोषणका कारण मृत्यु भएको हुन सक्ने बिसीको ठहर छ ।

आफ्नो समुदायका मानिसको मृत्यु भए पछि बसिरहेको ठाउँ छोडेर अन्यत्र जाने चलन अनुसार सल्यानबाट सुर्खेत गएको र यसपछि कसैको ज्यान गएमा जाजरकोट जाने तयारी रहेको मुखिया मैन बहादुरले बताउनुभयो । उहाँका अनुसार दुई वर्षअघि १ सय ५६ जना रहेका राउटे समुदायको सङ्ख्या अहिले १ सय ४१ रहेको छ ।

Skt 4

Skt 1

Skt 8

 Skt 9

- मिना बुढाथोकी