सन् २०२४ अप्रिलदेखि जुनसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को अप्रिलदेखि जुन महिनासम्म २ हजार ६ सय ६८ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट पाँच जना महिला र २७ जना पुरुष गरी ३२ जना पीडित भए । राज्यपक्षद्वारा गिरफ्तारीका घटनामा एक जना, कुटपिटका घटनामा ७ जना, बाल अधिकारका घटनामा एक जना, जेलमा मृत्युका घटनामा चार जना, अमानवीय व्यवहारका घटनामा दुई जना, घाइते १५ जना, अभिव्यक्ति भेला तथा संगठित हुने अधिकारका घटनामा एक जना र धम्कीका घटनामा एक जना पीडित भए ।
यस अवधिमा अन्यपक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा २ हजार ४ सय ७३ जना महिला र १ सय ५३ जना पुरुष गरी २ हजार ६ सय २६ जना पीडित भएको अभिलेख भयो । त्यसैगरी भौतिक संरचना तथा सम्पत्ति क्षतिका १० ओटा घटना पनि अभिलेख भयो ।
साथै, यस अवधिमा अन्यपक्षबाट अमानवीय व्यवहार गरिएका घटनामा २९ जना, अपहरणका घटनामा तीन जना, कुटपिटका घटनामा ८० जना र जातीय विभेदका घटनामा पाँच जना, धम्कीका घटनामा पाँच जना पीडित भए। अन्यपक्षबाट भएका हत्याका घटनामा ५१ जना महिला र ३६ जना पुरुष गरी ८७ जनाको हत्या भयो ।
केही प्रतिनिधिमूलक घटना
प्रहरीको गोलीबाट घाइते
मोरङ जिल्ला रतुवामाई नगरपालिका–६ कादुपाडामा ०८१ जेठ १ गते प्रहरीले गोली चलाउँदा नागरिक ३४ वर्षीय भगिरथ हरिजन घाइते भए। घाइतेको सोही दिन अरनिको अस्पताल, उर्लावारीमा उपचार गरिएको इलाका प्रहरी कार्यालय, सिजुवाका इन्स्पेक्टर दीपक खरेलले बताए। लागू औषधको तस्करी गरेको र प्रहरीलाई आक्रमण गरेपछि गोली चलाएको इन्स्पेक्टर खरेलले बताए। ०८१ असार १६ गतेसम्म घटना अनुसन्धानमा रहेको प्रहरीले जनायो।
कुटपिट
पर्सा जिल्ला बहुदरमाई नगरपालिका–८ रामनगरी का ई–रिक्सा चालक २८ वर्षीय रञ्जन साह तेली बिन्दवासिनी प्रहरी चौकीका प्रहरी जवान कौशल चौधरीले ०८० चैत २४ गते कुटपिट गरी घाइते बनाए। वीरगंज महानगरपालिका–१९ तिलावे पुल नजिकै चैत २४ गते बिहान पीडितले चलाएको मधेस प्रदेश ०३–००२ ख १८२२ नम्बरको ई–रिक्सा रोकी प्रहरीले कुटपिट गरेको पीडितले बताए। “पोखरियाबाट वीरगञ्ज तर्फ जाँदै गर्दा तिलावे पुल नजिकै डियूटीमा रहेका प्रहरी जवान चौधरीले ई–रिक्सा रोक्न भनी सिटी बजाएका थिए। प्रहरीको सिटी सुनी पछाडी फर्की हेर्दा प्रहरी जवान चौधरी अर्कै तर्फ फर्केको हुनाले ई–रिक्सा अगाडि बढाउँदै हिँडेको थिएँ” पीडितले बताए। तर, आरोपित प्रहरी बसमा चढी तिलावे पुल पारी तेल ट्याङ्की नजिक ई–रिक्सा रोकाइ “तिमी किन ई–रिक्सा नरोकेको” भन्दै अपशब्द प्रयोग गर्नुको साथै कुटपिट समेत गरेको पीडितले बताए। आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २४ गते उजुरी दिएको पीडितले बताए। आरोपित प्रहरीसँग स्पष्टिकरण सोधिने इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर मोहन बिक्रम केशीले जानकारी दिए। साथै दोषीलाई कानुन बमोजिम कारवाही हुने इन्स्पेक्टर केशीले बताए। पीडितको उपचार स्थानीय स्वास्थ्य चौकीमा चैत २४ गते भयो। आरोपित प्रहरीलाई विभागीय कारबाही गरेको इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर मोहन बिक्रम केशीले जानकारी दिए।
बाल अधिकार
बाल अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा अन्यपक्षबाट ३ सय ९१ जना बालबालिका पीडित भए। जसमध्ये बालविवाहमा चार जना, विद्यालयमा दिइने शारीरिक दण्ड सजायका घटनामा चार जना, बलात्कारका घटनामा २ सय ५५ जना, यौन दुर्व्यवहारका घटनामा ८० जना, बेचबिखन तथा ओसारपसारका घटनामा १० जना, अपहरणका घटनामा दुई जना, यातनाका घटनामा दुई जना, हत्याका घटनामा दुई जनालगायत पीडित भएको अभिलेख भयो ।
महिला अधिकार
यी तीन महिनामा महिलाविरुद्ध भएका ज्यादतीका घटनामा १ हजार ९ सय ९८ जना पीडित भएको अभिलेख भयो। यस अवधिमा सात जना महिलाको परिवारजनबाट हत्या भयो।
यस अवधिमा १ हजार ७९ जना महिला घरेलु हिंसाका कारण पीडित भए। बलात्कारका घटनामा १ सय १५ जना, बलात्कार प्रयासका घटनामा १६ जना, यौन दुर्व्यवहारका घटनामा १२ जना पीडित भएको अभिलेख भयो। महिला बेचबिखनका घटनामा ३ जना, ‘बोक्सी’को आरोपमा आठ जना र बहुविवाहका घटनामा ४९ जना पीडित भए।
निष्कर्ष
७७ जिल्लाका प्रहरी कार्यालयमा रहेका महिला तथा बालबालिका सेवा केन्द्रमा इन्सेक प्रतिनिधिले गरेको अनुगमनका क्रममा अधिकांश घटनामा मिलापत्र भएको पाइयो। घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्थाअनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथमिकता दिनुपरेको प्रहरी कार्यालयहरूले जनाए।
कानुनहरूको कमजोर कार्यान्वयन महिलामाथि हुने हिंसा रोक्न बाधक हुने गरेको तथ्य सबैका सामु छर्लङ्ग हुँदाहुँदै पनि कानुनको प्रभावकारी कार्यान्वयनतर्फ सरकारी सोच बृहत हुन सकेको छैन। समाजमा व्याप्त कुरीति र अन्धविश्वासको उचित सम्बोधन नहुँदा समाजमा महिला हिंसाका घटनामा वृद्धि भइरहेको छ । घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा भएको मेलमिलापको प्रावधानलाई टेकेर हाल देशभरका प्रहरी कार्यालयमा दर्ता भएका घरेलु हिंसाका घटनामा मिलापत्र गर्ने परिपाटी विकास भएको छ।
अन्त्यमा, यसै अवधिमा अधिकांश जिल्लामा आगलागीका घटना र बाढी पहिरोका घटनामा वृद्धि भए । आगलागीका कारण ठूलो धनजनको क्षति भयो । आगलागी पीडित र बाढी पहिरो पीडितको पुर्नस्थापनाका सवालमा खासै काम हुन सकेको पाइएन । अविरल परेको वर्षाले बाढी पहिरो जाँदा विद्यालय, स्वास्थ्य संस्था, बस्ति, सडक, पुलहरुमा क्षति पुगेको छ । यस्ता प्रकारका क्षतिहरुको न्युनिकरण तर्फ सरकारको ध्यान पुगोस् ।
सम्बन्धित विचार मञ्चहरू
इन्सेकअनलाइनका दुई दशक : सामाजिक न्यायकाे खबरदारी
आजबाट इन्सेकअनलाइन २१ वर्षमा प्रवेश गरेको छ । डिजिटल माध्यमबाट मानव अधिकार अवस्थाको समाचार, विचार र सूचना प्रदान गर्ने लक्ष्यका साथ हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ । अनौपचारिक क्षेत्र…
सन् २०२४ जनवरीदेखि मार्चसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को जनवरीदेखि मार्च महिनासम्म १ हजार ९ सय ४३ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट तीन जना महिला…
सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नु सरकारको कर्तव्य
प्रत्येक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइन्छ । आज ०८१ वैशाख २१ गते (मे ३) मा ३१ औँ प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा पत्रकारहरुकै सुरक्षा र स्वतन्त्रताको रक्षा…
वातावरण संरक्षणमा जिम्मेवार बनौँ
संविधानमा नै वातावरणको अधिकारलाई सुनिश्चित गरिएको छ । तर, हाम्रै क्रियाकलापले दिनप्रतिदिन वातावरण बिग्रँदो छ । वातावरण सुधारका लागि संविधान, ऐन कानुनमा मात्रै व्यवस्था गरेर पुग्दैन । हामीले वातावरणमैत्री व्यवहार…
जातका आधारमा हुने भेदभाव अन्त्य गरौँ !
प्रत्येक व्यक्ति जन्मँदा स्वतन्त्र रूपमा जन्मन्छन् । तर, अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् । कुनैपनि जातिका व्यक्तिलाई जातिकै आधारमा गरिने भेदभाव…