शान्ति सम्झाैताका १८ वर्ष
१० वर्ष लामो सशस्त्र द्वन्द्वको विधिवत अन्त्य २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामार्फत भएको थियो ।
शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । इन्सेकको अभिलेख अनुसार २०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) दुवै पक्षबाट १३ हजार २ सय ४८ जना मारिएको र ९ सय ३१ जना नागरिकलाई बलपूर्वक बेपत्ता पारिएको छ । विस्तृत शान्ति सम्झौतामा भनिए अनुसार राजनीतिक मुद्दाहरूको सम्बोधन भएको भएपनि द्वन्द्वपीडितका मुद्दा भने ज्यूँका त्यूँ नै छन् । १८ वर्षमा पनि सम्बोधन नभएका द्वन्द्वपीडितका सवाल तत्कालै समेटिनु आवश्यक छ । सोही सम्झौताका आधारमा अन्तरिम संविधान, दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माणलगायतका काम पूरा भए ।
विस्तृत शान्ति सम्झौताको मुख्य उद्देश्य लामो राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्नु थियो । लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन गर्यो । सरकार र द्वन्द्वरत पक्षबीच शान्ति सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए । दुवै आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेन ।
शान्ति प्रक्रियाका काम सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका संयन्त्र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले गर्ने त भनियो तर यि आयोगले के गरेका छन् भन्ने कुरामा सरोकारवाला नै बेखबर छन् । अहिले आयोग पदाधिकारीविहीन छन् । २०७१ सालको कानुन अनुसार २०७२ सालमा आयोग गठन गरिएको भएपनि ती आयोगले उजुरी सङ्कलन बाहेकका अरू काम गरेको सार्वजनिक जानकारीमा छैन ।
सरकारले पछिल्लो पटक २०८० साल चैत ३० गते सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिवारका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्नका लागि ‘सिफारिस समिति गठन’ गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगका पदाधिकारी सिफारिस गर्नेछ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार ७ सय १८ उजुरी दर्ता भएको छ । तीमध्ये ३ हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो । आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने र पीडितलाई परिपूरणको फाराम भराउने र परिपूरणको सिफारिस गर्ने काम गरे पनि पदाधिकारी नहुँदा काम अघि बढ्न सकेन ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ३ हजार २ सय ४३ उजुरीमध्ये २ सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ । २ हजार ४ सय ९६ उजुरीमा विस्तृत छानबिन भइरहेको छ ।
लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन), २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण भइ कार्यान्वयनमा आइसकेको छ ।
ऐनमा दुई आयोगका सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिसक्नुपर्ने र पदाधिकारीको पदावधि नियुक्ति भएको मितिले चार वर्षको हुने व्यवस्था छ । ऐनले गरेको व्यवस्थाअनुसार सरकारले आयोगको कामलाई तीव्रता दिन जरुरी छ ।
मानव अधिकार उल्लङ्घनका घटनाहरूको उजागर गर्दै त्यसमा संलग्न दोषीहरूलाई कारबाही गरिनु सङ्क्रमणकालीन न्याय व्यवस्थाको प्रमुख कार्य एवम् माग हो । मानव अधिकार उल्लङ्घन तथा अपराधका घटनाको बृहत् सुनुवाइले सङ्क्रमणकालीन न्यायिक प्रक्रियालाई सहज बनाउँछ । अहिले सबैको ध्यान आयोगका पदाधिकारीहरूको चयन गर्न नेपाल सरकारले गठन गरेको सिफारिस समितितर्फ केन्द्रित भएको छ । दलीय भागबण्डा भन्दामाथि उठी शान्ति प्रकृयालाई आत्मसात गर्न सक्ने पदाधिकारी नियुक्त हुनु जरुरी छ ।
उचित प्रक्रियाका आधारमा पीडकको अभियोजन, पीडितलाई सम्मानजनक ढङ्गले क्षतिपूर्ति तथा परिपूरण, पीडितको आत्मसम्मानमा चोट नपुग्ने गरी उनीहरूको सहमतिमा क्षमादान प्रक्रियालाई सङ्क्रमणकालीन न्यायिक प्रकृयाले समेट्न सके नेपालको शान्ति प्रकृयाले सार्थकता पाउनेछ । तर, विगतबाट पाठ सिक्दै अगाडिको बाटो तय गर्न सकिएन भने न्याय र परिपूरणको सवाल ज्युँका त्युँ रहने खतरा विद्यमान छ । मानव अधिकार समुदाय वा नागरिक समाजका निरन्तरको निगरानी र खबरदारी समग्र न्यायिक प्रकृयाका लागि आवश्यक छ । शान्ति प्रकृयाको निरन्तर अनुगमन गर्दै आएको इन्सेकले यस प्रकृयाको निगरानी र खबरदारीको शुरुआत गरिसकेको छ ।
सम्बन्धित विचार मञ्चहरू
सन् २०२४ जुलाइदेखि सेप्टेम्बरसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को जुलाइदेखि सेप्टेम्बर महिनासम्म २ हजार ४ सय ७३ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट तीन जना महिला…
सन् २०२४ अप्रिलदेखि जुनसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को अप्रिलदेखि जुन महिनासम्म २ हजार ६ सय ६८ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट पाँच जना महिला…
इन्सेकअनलाइनका दुई दशक : सामाजिक न्यायकाे खबरदारी
आजबाट इन्सेकअनलाइन २१ वर्षमा प्रवेश गरेको छ । डिजिटल माध्यमबाट मानव अधिकार अवस्थाको समाचार, विचार र सूचना प्रदान गर्ने लक्ष्यका साथ हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ । अनौपचारिक क्षेत्र…
सन् २०२४ जनवरीदेखि मार्चसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को जनवरीदेखि मार्च महिनासम्म १ हजार ९ सय ४३ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट तीन जना महिला…
सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नु सरकारको कर्तव्य
प्रत्येक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइन्छ । आज ०८१ वैशाख २१ गते (मे ३) मा ३१ औँ प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा पत्रकारहरुकै सुरक्षा र स्वतन्त्रताको रक्षा…