मानव अधिकार संस्कृति निर्माणमा अविचलित यात्रा

आजबाट हामी १८ वर्षमा प्रवेश गर्‍यौँ । डिजिटल माध्यमबाट मानव अधिकार अवस्थाको समाचार, विचार, चेतना र सूचना प्रदान गर्ने लक्ष्यमा हाम्रो यात्रा निरन्तर छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृति दिवसको अवसर पारेर इन्सेक अनलाइनको सुरुआत गरेको थियो । मानव अधिकार समाचार तथा सरोकारलाई पाठकमाझ प्रस्तुत गर्ने र त्यसमार्फत अधिकार चेतना अभिबृद्धि गर्ने तथा राज्यका निकायहरुको जबाफदेहिताप्रतिको प्रश्नलाई मुखरित गर्ने उद्धेश्यमा इन्सेक अनलाइन अविचलित छ । मानव अधिकारसँग सम्बन्धित समाचार मात्र प्रकाशन गर्ने डिजिटल माध्यामले इन्सेकको अभियानमा १७ बसन्तको यात्रा पुरा गरेको यस क्षणमा हामी हाम्रा समस्त पाठकहरूमा कृतज्ञता व्यक्त गर्दछौँ ।

इन्सेक अनलाइनका प्रतिनिधि देशका सबै जिल्लामा क्रियाशील छन् । उनीहरूले आआफ्नो जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको जानकारी र मानव अधिकारका विविध विषयका समाचारको तथ्य पुष्टि एवम् पुनःपुष्टि गरी सम्बन्धित प्रदेश कार्यालयमा पठाउँछन् भने हाम्रा सातै प्रदेशमा रहेका प्रदेश कार्यालयहरूले आवश्यक सम्पादनसहित त्यस्ता समाचारहरू प्रकाशन गर्छन् । मुलुकको शासन व्यवस्था सङ्घीय संरचनामा छ । त्यस अघिदेखि नै इन्सेकले आफ्ना गतिविधि विकेन्द्रित गर्दै आएको छ । जसका कारण अनलाइन समाचारमा हुनुपर्ने गुणहरू सामयिकता र तथ्यमा हामी अब्बल बन्दै आएका छौँ ।

मानव अधिकारका विविध विषयका समाचार, लेख रचना, समसामयिक विषयमा विभिन्न विधाका विज्ञसँग लिइएको अन्तरवार्ताहरू, फिचर, विज्ञप्ति, तथ्य सङ्कलन प्रतिवेदनहरू तथा इन्सेकको नियमित प्रकाशन नेपाल मानव अधिकार वर्ष पुस्तक लगायतका सामग्री इन्सेकअनलाइनमा उपलब्ध छन् । यि सामग्री राखिएबाट मानव अधिकारका विषयमा चासो राख्ने एक जिज्ञासू वा हाम्रा पाठकले एकै ठाउँबाट धेरै सूचना प्राप्त गर्नु भएको छ भन्ने विश्वास लिएका छौँ । समयसमयमा पाठकले दिनु भएको सुझाव र प्रतिक्रयाले हामीलाई अझै जिम्मेवारीपूर्वक सामग्री प्रस्तुत गर्न हौस्याएको छ । हामी मानव अधिकारसँग सम्बन्धित सामग्री प्रस्तुत गर्न हरदम प्रयत्नशील रहनेछौँ । यो प्रयासलाई हाम्रा प्रबुद्ध पाठकको मायाले तानिरहनेछ । मानव अधिकार अवस्थाको चित्रण गरिने यस अनलाइनमा प्रकाशन गरिने र गरिएका विषय आधिकारिक तथा तथ्यमा आधारित होउन् भन्ने कुरालाई ध्यान दिइन्छ । त्यसैले इन्सेक अनलाइनमा समाचारलाई ब्रेक गर्नेभन्दा अनुगमन तथा तथ्यको विस्तृत विवरणलाई प्राथमिकतामा राखिन्छ । हामीले प्रकाशन गरेका सामग्रीहरूका बारेमा प्रबुद्ध पाठक वर्गबाट रचनात्मक सुझाव तथा सल्लाहको अपेक्षा गर्दछौँ । यहाँहरुबाट प्राप्त हुने सुझाव तथा सल्लाहले हामीलाई परिष्कृत हुन मद्दत पुग्नेछ ।

यसबिचमा राजनीतिक तथा सामाजिक आन्दोलनमा थुप्रै आरोहअवरोह आए । इन्सेक अनलाइन त्यसको साक्षीमात्र रहेन,  यसले तिनीहरुको दस्तावेजीकरणसमेत गरेको छ । मानव अधिकारको उपभोग गर्नबाट वञ्चित नागरिकहरुको पहुँच स्थापना गर्न इन्सेक अनलाइनले भूमिका निर्वाह गरेको छ । समग्रमा भन्नु पर्दा १७ वर्षको यात्रामा इन्सेक अनलाइनले न्याय र समानताका लागि एक जिम्मेवार अनलाइनले खेल्नु पर्ने भूमिका निर्वाह गरेको छ ।

एउटा जिम्मेवार अनलाइनले सूचना मात्रै प्रवाह गर्दैन उसले त संस्कृति निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।इन्सेक अनलाइनले मानव अधिकार संस्कृति निर्माणमा आफ्नो भूमिका प्रस्तुत गर्दै आएको छ । जिम्मेवार निकायलाई जबाफदेही बनाउनका लागि सुशासनको संस्कृति निर्माणमा आफूलाई उभ्याएको छ । मानव अधिकारको विषय राज्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले राज्यका निकायलाई जिम्मेवार र जबाफदेही बनाउन हाम्रो प्रयास निरन्तर छ । यो गौरवपूर्ण विगतले हामीलाई प्रभाकारी भविष्यका लागि सधैँ खबरदारी गरिरहने छ ।  हामी न्याय, समानता, लोकतन्त, विधिको शासन र मानव अधिकारको सुनिश्चितताका लागि थप बल पुग्ने गरी आफूलाई विकाश गर्दै लैजानेछौँ । सामाजिक न्यायका लागि लेखन तथा अभिव्यक्ति स्वतन्त्रताको अभियानमा निरन्तर यात्रा गर्नेछौँ । हाम्रो प्रतिबद्धताप्रति तपाइँको साथ, सहयोग र आलोचनात्मक प्रतिक्रियामा मात्र हामीले जीवनको सपना देखेका छौँ । पाखा पारिएकाहरुको अधिकार रक्षाका लागि चालिएको अभियानमा निरन्तर सहकार्य गरौँ । हामी हाम्रो यात्राको १८ औँ वर्ष प्रवेशको अवसरमा प्रतिनिधि, प्रदेश डेस्क, केन्द्रीय डेस्कका सहकर्मी, शुभचिन्तक, सहयोगीलगायत प्रबुद्ध पाठकसमक्ष खुशी साट्न चाहन्छौँ ।

सम्पादक